पुरुषका पनि पीडा

यस वर्षको हरितालिका तीजको सबै महत्वपूर्ण दिनहरु विदा भएका छन् । श्रीकृष्णा जन्माष्टमीदेखि सुरु भएका नारीहरुको ब्रत अनि पुजाका साथै मीठो मसिनो खाने र आफन्तहरु भेटघाटको क्रम यो वर्षका लागि सकिएको छ । नारीका पिर व्यथाहरुलाई समेटिएका गीत गाउँदै अधिकार अनि कर्तव्यको पनि प्रसंगलाई सबैको माझमा प्रस्तुत गर्दै नारीहरुले आफ्नो पर्वलाई विदाई गरेका छन् । यसपालीको तीजमा देशको समृद्धिका साथै कानुन अनि कानुन कार्यान्वयनको विषय पनि तीजको विषय बन्न पुग्यो । महिला अधिकार अनि अपराधीलाई कानुनी दायरामा ल्याएर कार्वाही गर्नुपर्ने माग समेत यस वर्षको तीजमा विषय बन्न पुग्यो । बलात्कारका पीडितले न्याए नपाएको मात्र नभएर तस्करीहरुको जालोले राज्यलाई सताएको विषयले पनि म्याग्दीमा तीजको भाकामा प्राथमिकता पायो ।
भड्किलो पोशाक प्रदर्शन गर्ने पर्व पो हो की जस्तो देखिन्छ तीज भन्ने आरोपहरु हुँदै गर्दा पनि तीज समग्रमा महिलाहरुको पीडा व्यथालाई पोख्ने चाड नै हो । एक महिना पहिलादेखि सुरु भएको तीजको दरखाने क्रियाकलाप अब भने एक वर्षका लागि सकिएको छ । तीजको मुख्य दिन अर्थात् हरितारिकाको दिनमा बेनीमा धौलागिरी नाट्य समूहले आयोजना गरेको तीजगीत प्रतियोगितामाा महिलाहरुले आफ्नो अधिकार अनि कर्तव्यका साथै स्वास्थ्यलाई केन्द्रमा राखेर गीत प्रस्तुत गरेका थिए । महिलाहरुले सेनेटरी प्याडको प्रयोगदेखि लिएर निर्मला पन्तको हत्यारा पक्राउ नपरेको प्रसंग समेत गीतमा समावेश गरे । बलात्कृत महिला घरमा पीडाले छट्पटाएको र अपराधी कानुनी कठ्घरामा आउन नसक्नुको पीडा पनि गीतको माध्यमबाट पोखिए । महिलाको पीडा मात्र होइन पुरुषका पीडा अनि कर्तव्यको समेत सन्देशसहित सकिएको तीजले यसवर्ष पक्कै पनि देशमा अधिकार अनि कर्तव्यको लागि राम्रो पाठ सिकाएको देखिन्छ ।
सामाजिक सञ्जालको प्रयोग अनि त्यसबाट हुने बिकृतिको पनि यस वर्षको तीज गीतमा चर्चा भएकै हुन् । ‘नाच्दा पनि गाउँदा पनि फेसबुकमा लाइभ, विदेशबाट श्रीमान् आउँदा श्रीमती गायब” जस्ता शब्दले महिला मात्र नभएर पुरुषको पीडालाई पनि तीज गीतमा समावेश गरेको भन्न सकिन्छ । विदेशमा गएर मेहनत गरेर घर फर्कंदा श्रीमती तथा कमाएको पैसा पनि गायब भएको घटनालाई महिलाहरुले नै प्रतिनिधिमूलक गीतका रुपमा प्रस्तुत गरेको अहिलेको प्रसंगले पक्कै पनि महिला मात्र नभएर पुरुषको पनि पीडा पोखिनुपर्छ भन्ने देखाएको पक्कै हो । कुनै पनि अवस्थामा जो कोही पनि पीडित हुन्छन् भन्ने कुरा यस वर्षको तीजमा महिलाहरुले प्रस्तुत गरेको गीतमा देखियो । यस वर्षको तीजमा महिलाहरुले प्रस्तुत गरेका शब्द अनि अधिकार र कर्तव्यका कुराहरु व्यवहारमा लागु हुन सकुन् । व्यवहारमा लागू भएको खण्डमा तीज गीतमा गाइएका शब्द र टुक्काले सन्देश दिएको मान्न सकिएला । त्यसैले गीतले बोलेका सन्देशलाई पूर्ण रुपमा व्यवहारमा उतार्न सकौं । यसपछि मात्रै सन्देशमूलक गीतले साथर्कता पाउनेछ ।

बुधबार, भदौ १८, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...