डेंगु लाग्नबाट बचौं

54 Views

यसवर्ष अहिलेसम्म म्याग्दी जिल्लामा डेंगु भेटिएको आधिकारीक जानकारी नभए पनि पर्वत तथा बागलुङ जिल्लामा डेंगुको संक्रमण देखिएको कारणले गर्दा म्याग्दीमा पनि डेंगुविरुद्ध सचेतनाका साथै डेंगु सार्ने लामखुट्टे तथा त्यसका लार्भा खोज र नष्ट गर अभियान थालिएको छ । सदरमुकाम बेनी आसपासमा मात्र यो अभियान चलाएर डेंगु निर्मुल हुन्छ भन्ने पक्कै पनि होइन । तर, पनि यसरी थालिएको प्रतिकात्मक अभियानले सबैतिर विस्तार भयो भनेचाँही पक्कै पनि डेंगु नियन्त्रण गर्न सकिन्छ । विश्वका धेरै मुलुकहरुमा डेंगुले सताएको हामीले सञ्चारमाध्यमबाट थाहा पाएकै कुरा हो । अहिले नेपालको तराईका जिल्लाहरुमा डेंगु हुने गरेको भनिए पनि पछिल्लो समय पहाडतर्फ डेंगु सार्ने लामुखट्टे उक्लन थालेको जस्तो पनि देखिएको छ काठमाडौ तथा अन्य पहाडी जिल्लाहरुमा पनि संक्रमण देखिएकोले ।
बेनीबजार र आसपासको क्षेत्रमा जिल्ला प्रशासन कार्यालय म्याग्दीको अगुवाइमा डेंगुरोग विरुद्ध सचेतना अभियानसहित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय भएसँगै मङ्गलबार सदरमुकाम बेनीमा बेनी नगरपालिका, जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य कार्यालय म्याग्दीको संयुक्त आयोजनामा डेंगुरोग विरुद्ध सचेतनामूलक कार्यक्रम गरियो । यससँगै डेंगु रोग रोकथामका लागि नागरिक तहमै पनि चेतना जगाउन सूचना सन्देश प्रचारप्रसारको क्रम पनि अगाडि बढेको । डेंगुबाट बच्नका लागि पहिलो भनेकै लामखुट्टे र लार्भा नष्ट गर्नु हो । संक्रमित व्यक्तिलाई टोकेको लामुखट्टेले स्वस्थ मानिसलाई टोक्यो भने डेंगु सर्ने भएकाले लामखुट्टेलाई निर्मुल गर्नु नै डेंगु निर्मुल पर्छ । जबसम्म लामखुट्टेलाई निर्मुल पार्न सकिदैन तबसम्म डेंगु पनि निर्मूल कुनै हालतमा नहुने भएकाले लामखुट्टेको बासस्थानलाई नष्ट गर्नुको उपाय छैन ।
एडिस जातिको लामखुट्टेले डेंगु सार्छ । यो लामुखट्टेले अरु प्रजातिले जस्तो रातीमा नभएर दिउँसोमा टोक्ने अनि सफा स्थानमा बस्ने र सफा पानीमै लार्भा हुर्काउने भएको कारणले गर्दा पनि लामुखट्टे फोहोरमा बस्छ र सरसफाई गर्ने भन्ने मान्यतालाई पनि यसलाई गलत सावित गर्छ । डेंगु लागेपछि एक हप्तासम्म ज्वरो आउने र आँखाको गेडी दुख्नुका साथै मांसपेशी दुख्नु, उच्च ज्वरो लगायतका लक्षणहरु देखिन्छ । शरिरमा डाबरहरु आउने तथा रक्तश्राव अनि जोर्नी दुख्नु पनि डेंगुको लक्षणभित्रै पर्छ । त्यसैले डेंगुबाट बच्नका लागि आफ्नो वरपर सरसफाई गर्नुका साथै कुनै पनि स्थानमा पानीलाई चार दिनभन्दा धेरै समय नराख्नु उचित हुन्छ । लामखुट्टेको टोकाई र त्यसको लार्भा हुर्कने पानीको मात्रा हटाउनुका साथै टोल छिमेकमा पानी जम्ने खाल्डाखुल्डी तथा बट्टाका बिर्को, गाडीका टायर तथा कुनै पनि पानी एक हप्तासम्म रहन नदिनु नै डेंगु विरुद्धको उत्तम उपचार हो । भनिन्छ नि, ‘रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेस’ त्यसैले आफू र आफन्तहरुलाई जोगाउनका लागि लामखुट्टे हुर्कने र जोगिने स्थानहरुको सफाया गरौं ।

बिहिबार, भदौ १९, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...