अपरिचित व्यक्तिको कुटपिटबाट गम्भीर घाइते

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२, रुमस्थित बेली जेम जाने चोकमा आज दिउँसो अपरिचित व्यक्तिको कुटपिटबाट एक युवती गम्भीर घाइते भएकी छन् । अपरिचित व्यक्तिको कुटपिटबाट नेष्डो नेपाल माईक्रो फाईनान्स दरबाङ शाखाका कर्मचारी शुष्मा क्षेत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
तनहुँ जिल्ला घरभई हाल नेष्डो नेपाल माईक्रो फाईनान्स दरबाङ शाखामा कार्यरत क्षेत्री र अनिता गिरी सहकारीको पैसा उठाएर फर्कने क्रममा दुईजना अपरिचित पुरुष व्यक्तिले शुष्मालाई कुटपिट गरेर घाइते बनाएको प्रहरीले जानकारी दिएको छ । घाइते शुष्मा क्षेत्रीको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गरी थप उपचारका लागि एअर डाईनेष्टीकको हेलिकप्टरमार्फत पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पु¥याइएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।
कुटपिटबाट घाइते क्षेत्रीको घाँटी र टाउकोमा काटेको तथा बोल्न नसक्ने अवस्था रहेको प्रहरी निरीक्षक शर्माको भनाइ छ । घटना हुने क्रममा क्षेत्रीसँगै गएकी अनिता गिरी भने उक्त स्थानमा नभएको जनाइएको छ । नेष्डो नेपाल माईक्रो फाईनान्स दरबाङ शाखाका प्रवन्धकले इलाका प्रहरी कार्यालय दरबाङमा जानकारी गराएलगत्तै प्रहरी निरीक्षक रामप्रसाद पाण्डेको नेतृत्वमा ७ जनाको प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।
कुटपिटमा संलग्न व्यक्तिहरुको हुलियासहितको विवरण र कुटपिट हुनुको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट समेत प्रहरी नायव निरीक्षकको नेतृत्वमा समेत थप ६ जनाको प्रहरीको टोली दरबाङतर्फ खटाइएको सूचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक शर्माले जानकारी दिएका छन् ।

शुक्रबार, भदौ २०, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...