फोरजी इन्टरनेट सञ्चालनको तयारीमा टेलिकम

74 Views

हिमाली जिल्ला म्याग्दीमा इन्टरनेटको चौथो पुस्ता अर्थात् फोरजी सेवा सञ्चालनको तयारी सुरु भएको छ । म्याग्दीवासी नागरिकहरुलाई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउने गरी जिल्लामा फोरजी सेवा सञ्चालन गर्न उपकरण जडानको कार्य अगाडि बढाइएको हो ।
म्याग्दीको चारवटा ठाउँमा रहेका टेलिकमको बिटिएस टावरमा फोरजी सेवा सञ्चालन गर्नका लागि अहिले उपकरण जडानको कार्य भैरहेको नेपाल टेलिकम दुरसञ्चार कार्यालय म्याग्दीले जनाएको छ । सदरमुकाम बेनीबजारस्थित टेलिकमको आफ्नै कार्यालय परिसर, क्याम्पसचोक, पुलाचौर र मालिका गाउँपालिकाको देवीस्थानस्थित रुन्मामा रहेको टावरमार्फत फोरजी सेवा सञ्चालन गरिने टेलिकम म्याग्दीका प्रमुख विष्णुदेव शाहले बताए ।
क्याम्पसचोकमा रहेको बिटिएस टावरमा उपकरण जडानको कार्य सकिएको छ भने कार्यालय परिसरमा जडान कार्य भैरहेको उनले जानकारी दिएका छन् । यसैगरी पुलाचौरको टावर र रुन्माको टावरका लागि पनि उपकरण जडानका आवश्यक सामानहरु पठाइसकिएको हुँदा जडानको क्रममा रहेको छ । साविक धौलागिरि अञ्चलको ४ जिल्लाका ३५ ओटा टेलिकमका बिटिएस टावरमा फोरजी सेवा जडान गरी सञ्चालन गर्न लागिएको टेलिकम म्याग्दीका प्रमुख शाहको भनाइ छ ।
म्याग्दीको बेनीमा दशैं अगाडि नै टेलिकमको फोरजी सेवा सञ्चालनका लागि तीव्र गतिमा काम अगाडि बढिरहेको छ । यसैबीच बजारी क्षेत्रमा टेलिकमको उच्च गतिको फाइबर नेट (एफटिटिएच) सेवाको विस्तार कार्य समेत भैरहेको टेलिकम म्याग्दीका सूचना अधिकारी वसन्त पुरीले जानकारी दिएका छन् । फाइबरबाट इन्टरनेट र टेलिफोनका साथै निकट भविष्यमा टेलिभिजन पनि हेर्न मिल्ने हुँदा अहिले फाइबर बिच्छ्याउने कार्य भैरहेको उनले बताए । टेलिकमले फाइबर नेट नयाँ ग्राहकहरुलाई दशैं अगाडि नै उपलब्ध गराउने जानकारी दिएको छ ।
आगामी एक वर्षभित्र देशका ७७ ओटै जिल्लामा इन्टरनेटको फोरजी सेवा विस्तार गर्ने सरकारको लक्ष्य अनुसार फोरजी सेवा सञ्चालनको आवश्यक तयारी अघि बढेको बताइएको छ । फोरजी सेवा भन्नाले इन्टरनेटको चौथो पुस्ताका साथै उच्च गतिको इन्टरनेट मानिन्छ । विदेशी मुलुकहरुमा फाइजीलगायत सेवाको सुरुवात भैसक्दा नेपालमा भने बल्ल फोरजी सेवा सञ्चालन गर्न लागिएको हो ।
टेलिकम म्याग्दीले भने विद्युतीय सेवा पुगेका ठाउँमा इन्टरनेट सेवा सुरु गर्ने, टुजी भएकोमा थ्रीजी र थ्रीजी भएको बिटिएसमा फोरजी सेवा उपलब्ध गराउने गरी काम गरिरहेको छ । म्याग्दी जिल्लामा भने टेलिकमले आगामी ६ महिनाभित्र अधिकांश ठाउँमा फोरजी सेवा सञ्चालन गर्ने बताएको छ ।
नेपाल टेलिकम दुरसञ्चार कार्यालय म्याग्दीको गत आर्थिक वर्षको तथ्याङ्क अनुसार जिल्लाको कुल ९३ हजार ८ सय ८७ जना म्याग्दीवासी सञ्चारको पहुँचमा पुगेका छन् । २०६८ सालको जनगणनाअनुसार म्याग्दीको कुल जनसङ्ख्या एकलाख १३ हजार ६ सय ४१ रहेकोमा ८१ दशमलव ८ प्रतिशत नागरिक सञ्चारको पहुँचभित्र रहेको टेलिकम म्याग्दीले जनाएको छ ।

बिहिबार, अशोज २, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...