त्रिकोणात्मक टी-२० सिरिज : जिम्बाब्वेलाई हराउँदै इतिहास रच्ने दाउमा नेपाल

सिंगापुरमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले आफ्नो तेस्रो खेलमा मंगलबार जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्नेछ । सिंगापुरको इन्डियन एसोसियशन मैदानमा हुने खेल नेपाली समयअनुसार साँझ सवा ५ बजेबाट सुरु हुनेछ ।

हरेक टिमले एक अर्काविरुद्ध दुई-दुई खेल खेल्ने भएकाले नेपालले जिम्बाब्वेविरुद्ध मंगलबार दोस्रो खेल खेल्न लागेको हो । प्रतियोगिताको पहिलो खेलमा नेपालले जिम्बाब्वेसँग ५ विकेटको हार बेहोरेको थियो । टी-२० मा जिम्बाब्वेविरुद्ध ऐतिहासिक जितको नजिक पुगेर पनि नेपाली टिम चुक्न पुगेको थियो ।

त्यस खेलको अधिकांश भागमा नेपाल बलियाे अवस्थामा रहे पनि अन्तिममा लगातार बाउन्ड्री खाँदा नेपाल पराजित हुन पुगेको थियो । जितको नजिक पुगेर पनि हारेको नेपाली टिमले मंगलबार भने त्यसको बदला लिनुका साथै जिम्बाब्वेविरुद्ध टी-२० मा पहिलो जित निकाल्ने लक्ष्यमा रहेको छ ।

जिम्बाब्वेका मुख्य तीन खेलाडी टिममा नरहेका बेला नेपाललाई त्यो अवसर पनि रहेका छ । किनकी जिम्बाब्वे आफ्नो दोस्रो खेलमा सिंगापुरसँग हार्न पुगेको थियो । नेपाल भन्दा अनुभवी टिम भए पनि पछिल्लो पटक जिम्बाब्वे क्रिकेट खस्कँदो अवस्थामा छ । आईसीसीको प्रतिबन्धमा उसको क्रिकेट बोर्ड रहेको छ ।

मंगलबार जिम्बाब्वेलाई हराएमा नेपालले उपाधि जित्ने सम्भावना बलियो हुनेछ । यसका लागि नेपालले अन्तिम खेलमा सिंगापुरलाई हराउनु पर्नेछ । नेपालले सिंगापुलाई नौ विकेटले हराएको थियो भने सिंगापुरले जिम्बाब्वेलाई चार रनले पाखा लगाएको थियो ।

मंगलबारको खेलमा नेपालले टिममा केही परिवर्तन गर्न सक्नेछ । विशेष गरी नेपालले ओपनिङमा र बलिङमा परिवर्तन गर्ने सम्भावना रहेको छ । यसअघिका दुई खेलमा मौका पाएका युवा खेलाडी इशान पाण्डे खासै चल्न नसकेपछि मंगलबार उनको स्थानमा अर्को खेलाडीलाई मौका दिनसक्ने सम्भावना रहेको छ ।

दुवै खेलमा नेपाली टिमले खेलाडी परिवर्तन गरेको थियो । सिंगापुरविरुद्ध कीर्तिमान शतक प्रहार गरेका पारस खड्काको प्रदर्शन सधैँझैँ मंगलबार पनि महत्वपूर्ण हुनेछ ।

यता जिम्बाब्वे नेपालविरुद्ध जितको यात्रालाई कायम राख्न चाहन्छ भने सिंगापुरविरुद्ध बेहोरेको अप्रत्याशित हारको बदला पनि लिने मनसायमा छ । यदि मंगलबार नेपालले जिम्बाब्वेलाई हराएमा अर्को ऐतिहासिक जित हुनेछ ।

मङ्लबार, अशोज १४, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...