टेलिकमको ‘फाइबर टु दि होम’ सेवा

180 Views

नेपाल टेलिकम दुरसञ्चार कार्यालय म्याग्दीले फाइबर टु दि होम सेवाको सुरुवात गरेको छ । बेनी नगरपालिका–९, गलेश्वर बजारबाट यो सेवा सुरु गरिएको हो ।
बुधबार एक कार्यक्रममा टेलिकमले भ्वाइस तथा डाटाका लागि प्रयोग गर्दै आइरहेको तामाको तार (कपर) प्रविधिलाई पूर्ण रूपमा हटाएर फाइबर प्रविधिबाट सेवा शुभारम्भ गरेको जनाएको छ । नेपाल टेलिकम बागलुङ शाखाका प्रमुख केशव शर्मा र म्याग्दीका प्रमु्ख विष्णुदेव शाहले कपर प्रविधिलाई हटाएर फाइबरमार्फत् इन्टरनेट तथा ल्यान्डलाइन टेलिफोन सेवाको सुरुवात गरिएको घोषणा गरेका थिए ।
म्याग्दीबाट टेलिकमले पुरानो तथा नयाँ नम्बरबाटै फाइबरको सेवा लिन सकिने नेपालमै पहिलोपटक सुरुवात गरेको टेलिकम बागलुङका प्रमुख शर्माले बताए । अन्य जिल्लामा नयाँ ग्राहकले यो सेवा पाउने भए पनि म्याग्दीको गलेश्वरमा भने पुरानै नम्बरका ग्राहकको टेलिफोन लाइनमा नयाँ प्रविधि जडान गरी सेवाको सुरुवात गरिएको उनले जानकारी दिएका छन् ।
गलेश्वर बजारमा रहेका ६९ प्रयोगकर्तामध्ये बुधबारदेखि ६४ जनाले एफटिटीएच प्रविधिको सेवाको प्रयोग गरेको बताउँदै केही दिनभित्र बेनीमा रहेका १ हजार २ सय १६ ग्राहकलाई समेत यो सेवा उपलब्ध गराइने टेलिकम म्याग्दीका प्रमुख विष्णुदेव शाहले बताए ।
फाइबरमार्फत् इन्टरनेट तथा ल्यान्डलाइन टेलिफोन सेवासँगै निकट भविष्यमा भिडियो अर्थात् टिभी सेवा समेत सुरु गरेपछि तीनवटै सेवामा टेकिलमले ठूलो बजार हिस्सा ओट्ने दावी गरिएको छ । हाल तामाको तारमार्फत जडिट एडिएसएल इन्टरनेट सेवा दुई एमबिपिएस देखि ५ एमबिपिएस गतिमा मात्र चल्ने भए पनि यो प्रविधि जडानपछि घटीमा आठ एमबिपिएसदेखि ५५ एमबिपिएस गतिमा चल्नेछ ।
सेवा शुभारम्भको कार्यक्रम सञ्चालनमा गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुन, पत्रकार महासंघ म्याग्दीमा अध्यक्ष तारानाथ शर्मासहित जिल्लामा क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।
गलेश्वरपछि बेनीमा नयाँ लाइनमा जडान गरिनेछ । नेपालको २५ जिल्लामध्ये म्याग्दीमा कपरवायर सिस्टम विस्थापित गरी अप्टिकल फाइबर (फाइबर टु दि होम)मा कन्भर्ट गरेर ग्राहकलाई सेवा उपलब्ध गराइएको छ । यो सेवाबाट ग्राहकले भ्वाइस, डाटा र भिडियो सेवा लिन सक्नेछन् । यसको इन्टरनेट सेवा जडानका लागि वार्षिक आठहजार रुपैयाँ शुल्क तिर्नुपर्छ । नयाँ ग्राहकले आठहजार तिरेमा एउटा राउटर (सिपिई) र एकसय मिटरको निःशुल्क फाइबर केबल वायर पाउनेछन् भने पुरानो ग्राहकलाई सिपिई र फाइबर केबल वायर निःशुल्क उपलब्ध गराइने छ ।
यसैगरी टेलिकम म्याग्दीले बेनीको क्याम्पसचोक र आफ्नै कार्यालयबाट फोरजी सेवा सुरुवात गरिसकेको छ । अब बेनी नगरपालिका–५, पुलाचौर र मालिका–५, देवीस्थानस्थित रुन्मामा रहेको टेलिकमको बिटिएस टावरमा फोरजी सेवा सञ्चालनका लागि टावर जडानमा आवश्यक काम भैरहेको टेलिकम म्याग्दीका कार्यालय प्रमुख शाहको भनाइ छ । आगामी एक वर्षभित्र म्याग्दीका अन्य १८ वटा टावरमा पनि फोरजी सेवा जडान गरिनेछ ।

बिहिबार, पुस ३, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...