ट्रम्प विश्वयुद्धकै तयारीमा थिए, तर किन एकाएक पछि हटे

इरानी कमाण्डर कासिम सुलेमानीको मृत्युलगत्तै अमेरिकी गुप्तचर एजेन्सीको एउटा सन्देशले ह्वाइट हाउसमा सनसनी फैलायो । त्यसपछि लगतै ह्वाइट हाउस युद्धमयजस्तै भयो । त्यसलगत्तै अमेरिका ईरानी आक्रमणलाई सामना गर्ने योजना निर्माणमा व्यस्त भयो। तुरून्तै व्हाइट हाउसबाट अमेरिकी सेनाका क्याम्पहरुमा  सन्देशहरू जारी गरियो ।

त्यसपछि ह्वाइट हाउसमा यस्ता दृष्य देखिएका थिए :
चेतावनी दिएको ३ घण्टापछि इरानद्वारा मिसाइल आक्रमण 
दिउँसो २ बजेको थियो । ह्वाइट हाउसमा एक चेतावनी सन्देश प्राप्त भयो। यो अमेरिकी जासूस एजेन्सीहरूको फ्ल्यास सन्देश थियो । यसलाई अमेरिकी सुरक्षा भाषामा ‘स्क्वाक’ भनिन्छ । यस सन्देशमा भनिएको थियो, ‘अमेरिकी सेनाको क्याम्पमा इरानी आक्रमण हुने निश्चित देखियो ।’ यो सन्देशले राष्ट्रपति भवन र पेन्टागनमा हलचल मच्चियो। यस फ्ल्यासमा एउटा सन्देश थियो जसमा लेखिएको थियो, ‘ईरानले मध्यपूर्वमा शक्तिशाली मिसाइल र रकेटमार्फत आक्रमण गर्ने योजना बनाइरहेको छ।’ यसमा थप भनिएको थियो, ‘इरान समर्थित सयौं लडाकूहरूले इराकको अल-असाद एयरबेसमा आक्रमण गर्न खोजिरहेका छन् ।’
यो सूचना आएलगत्तै ह्वाइट हाउसले इराकमा रहेका अमेरिकी सैनिक अड्डाहरूको लागि प्रारम्भिक सतर्कतासहितको चेतावनी  जारी गरेको थियो । इरानी आक्रमणको बीचमा ह्वाइट हाउसमा फेरि गप्तचर एजेन्सीहरुद्वारा एउटा राहत दिने खालको सन्देश प्राप्त भयो । यो समाचारले राष्ट्रपति ट्रम्पले फेरि एकपटक लामो सास फेरे । त्यो सन्देशमा भनिएको थियो, ‘इरानले आफ्नो सेनालाई अमेरिकी सैनिक अड्डा र नागरिकलाई लक्षित नगर्न सन्देश पठाएको छ ।’ यसले राष्ट्रपति ट्रम्पलाई निकै ठूलो राहत मिलेको थियो । त्यो सन्देशले उनले एकपटक फेरि दोधारमा उभ्याइदियो । तैपनि अमेरिकी अधिकारीहरुलाई विश्वास लागिरहेको थिएन ।

अमेरिकी अधिकारीहरुले इरानले मिसाइल हमला गरिहाले आफ्नो सेनाको ठूलो क्षति हुन सक्छ भन्ने आँकलन गरिरहेका थिए । तर अति गोप्य गुप्तचर रिपोर्टबाट उनीहरुमा एउटा झिनो आशाचाहि पलाएको थियो । त्यसले उनीहरुलाई इरानका नेताहरूले मिसाइल हमलाको योजनामा संयमता अप्नाइरहेका छन् कि भन्ने आशा पलाएजस्तो पनि देखिन्थ्यो तर उनीहरुलाई यसमा विश्वास थिएन ।

अमेरिका विश्वयुद्धको तयारीमा थियो 
जतिबेला इरानले मिसाइल आक्रमण गर्दैछ भन्ने निश्चित थियो, त्यसबेला एक हजार अमेरिकी सैनिकहरू मृत्युको मुखमा थिए । गुप्तचरहरुले सन्देश दिएको ३ घण्टापछि इरानी मिसाइल सैनिक अखडामा खस्यो । गुप्तचर एजेन्सीहरुको पछिल्लो रिपोर्टको भ्रम अमेरिकी अधिकारीहरुबाट टुट्यो । आक्रमणमा अल असाद निशानामा परेको थियो । यो क्षेत्रमा करिव एक हजार अमेरिकी सैनिकहरू खटाइएका थिए ।

यदि अमेरिकी सैनिकहरू यस आक्रमणमा मारिए भने यसले ठूलो युद्धको रूप लिन सक्छ भन्ने त्रास फैलिएको थियो । त्यसबेला राष्ट्रपति ट्रम्प आफ्ना सैन्य योजनाकारहरुसँग रणनीति बनाउन व्यस्त थिए ।  इरानले अमेरिकी सेनाहरुमाथि आक्रमण गरेर ठूलै नोक्सान पुर्यायो भने कडा कार्वाहीको तयारीमा उनी जुटिरहेका थिए । उनले त्यसबेला धेरै विकल्पहरुमा छलफल गरेका थिए ।

आक्रमणको सन्देश पाउनेबित्तिकै व्हाइट हाउस युद्ध कोठामा परिणत भयो  

इरानले आक्रमण गरेको भन्ने गुप्तचर एजेन्सीको सन्देशलगत्तै ह्वाइट हाउसमा सन्त्रासजस्तै फैलियो । केही बेरपछि आक्रमणमा सेनाको हताहती नभएको रिपोर्टहरु आए ।  त्यसपछि राष्ट्रपति ट्रम्पले तत्काल बैठकहरूको श्रृङ्खला सुरु गरे । राष्ट्रपति ट्रम्पसँगै उपराष्ट्रपति रोबर्ट ए ब्रायन र व्हाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार वेस्ट विङको गोप्य बैठक बस्यो । आक्रमणको सन्देश पुग्दा राष्ट्रपति ट्रम्प ग्रीसका प्रधानमन्त्रीसँगको बैठकमा भाग लिइरहेका थिए। त्यसलगत्तै राष्ट्रपति ट्रम्प र उपराष्ट्रपतिले डेमोक्र्याटिक र रिपब्लिकन काँग्रेसका नेताहरुसँग कुरा गरे । उनीहरुले ट्रम्पलाई सकभर संकट कम गर्ने प्रयास गर्न आग्रह गरेका थिए ।

श्रृङ्खलाबद्ध बैठकहरुमा  राष्ट्रपति ट्रम्पलाई सल्लाह दिनेमा धेरै अनुभवी राष्ट्रिय सुरक्षा अधिकारीहरू समेत सहभागी रहेका थिए । बैठकमा संयुक्त चिफ अफ स्टाफका अध्यक्ष जनरल मार्क र धेरै सेनाका अधिकारीहरू सहभागी थिए। त्यतिमात्र होइन राष्ट्रिय खुफिया विभागका कार्यकारी निर्देशक र राष्ट्रिय सुरक्षा सल्लाहकारहरु समेत बैठकमा उपस्थित थिए । ती बैठकहरुमा मध्यपूर्वमा अमेरिकी सैनिकको अवस्था, विश्व परिवेश र अमेरिकाले युद्धको घोषणा गर्ने कि नगर्ने भन्ने विषयमा गम्भीर छलफल भएको थियो । उनीहरुकै सल्लाहमा राष्ट्रपति ट्रम्पले सन्तुलित  ढंगले कदम चाल्ने निश्कर्ष निकालेको थियो र इरानले मिसाइल आक्रमण गरेको केही घण्टापछि उनले ह्वाइट हाउसबाट सम्बोधन गरेका थिए ।

कहिलेदेखि सुरु भएको थियो इरान र अमेरिकाबीचको पछिल्लो तनाव ? 

८ अप्रिल, २०१९ः अमेरिकाले इरानको प्रतिष्ठित क्रान्तिकारी गार्डलाई आतंकवादी संगठनको दर्जा दियो। कुद्स फोर्सलाई पनि कालोसूचीमा राखेको थियो ।

मे १२ः खाडीमा अज्ञात समूहको आक्रमणबाट तीन तेल ट्याङ्करसहित चार जहाजलाई क्षति पुर्‍यायो। यो घटनामा अमेरिकाले इरानलाई दोष दिएको थियो ।

मे २५ः इरानको बढ्दो खतरालाई सम्बोधन गर्न अमेरिकाले पश्चिम एसियामा १,५०० थप सेना खटाउने कुरा गर्यो ।

जुन २०ः इरानको क्रान्तिकारी गार्डले एक अमेरिकी ड्रोनमाथि आक्रमण गरेको दाबी गर्‍यो।

२४ जुनः ट्रम्पले खमेनेइ र इरानका वरिष्ठ सैन्य अधिकारीहरूविरुद्ध कडा वित्तीय प्रतिबन्धको घोषणा गरे ।

१४ सेप्टेम्बरः साउदीका दुई ठूला तेल कारखानाहरूले हवाइ हमला । यमनका इरान समर्थित लडाकूहरूद्वारा यस आक्रमणको जिम्मेवारी लिएका थिए ।

२० सेप्टेम्बरः ट्रम्पले इरानमा सबैभन्दा कडा प्रतिबन्ध लगाए, जसले इरानको केन्द्रीय बैंकलाई असर गर्यो ।

डिसेम्बर २९ः अमेरिकाले इराकमा ईरान समर्थक समूहमाथि हवाई हमला गर्‍यो। कम्तिमा २५ लडाकू मारिए ।

३१ डिसेम्बरः इरान समर्थक प्रदर्शनकारीहरूले बगदादमा अमेरिकी दूतावासमा  घेरा हालेका थिए। त्यसलगत्तै ट्रम्पले इरानलाई चेतावनी दिएका थिए ।

जनवरी ०३,, २०२०ः अमेरिकाले बगदादमा ड्रोन हमला गरी इरानका शीर्ष कमाण्डर कासिम सुलेमानीलाई मारिदियो । यो घटनालगत्तै ट्रम्पले बगदादमा अमेरिकी दूतावासलाई बन्धक बनाएको आरोप लगाउँदै सुलेमानीलाई मार्ने आदेश दिएका थिए ।

जनवरी ०७ ः सुलेमानीको अन्त्येष्टिमा सम्मिलित क्रान्तिकारी गार्ड्सका कमाण्डर मेजर जनरल हुसेन सलामीद्वारा ईरानले अमेरिकासँग तत्काल बदला लिने घोषणा ।

जनवरी ०८ ः इरानद्वारा इराकका दुई अमेरिकी सैनिक अड्डामा २२ वटा मिसाइल आक्रमण ।  -न्युयोर्क टाइम्स र जागरण डटकमको सहयोगमा रातोपाटीले तयार गरेको सामग्री

शुक्रबार, पुस २५, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...