मार्क्सवाद : कतै आकर्षण, कतै विकर्षण

370 Views

कृष्णकान्त अधिकारी
कार्ल माक्र्सले प्रतिपादन गरेको सिद्धान्त अर्थात् माक्र्सबाद, समयको क्रम सँगसँगै कतै उदाइरहेको हुन्छ भने कतै अस्ताइरहेको हुन्छ । आफूलाई प्रजातन्त्रवादी भन्न रुचाउनेहरुले यसको प्रतिवाद गर्छन् भने प्रगतिशिल भन्नेहरुले यसको प्रतिरक्षा र वकालत गर्ने गर्दछन् । प्रतिवाद वा प्रतिरक्षा जे गरेपनि यथार्तता के हो भने, संसारमा सबैभन्दा धेरै अध्ययन भएको, विश्लेषण भएको अनि आलोचना भएको कुनै सिद्धान्त छ भने त्यो माक्र्सवाद नै हो भन्दा सायद कुनै अत्युक्ति नहोला । यो यस्तो सिद्धान्त हो, जसले संसारका धेरै सामन्तवादको जरो उखेलेर फाल्यो, साम्राज्यवादीहरुको मुटु हल्लायो, अनि अन्याय, अत्याचार, शोषण, उत्पीडन र परिवर्तन चाहने करोडौं मानिसहरुमा विद्रोहको ज्वाला सल्कायो माक्र्सवादको अध्ययनविना समाजशास्त्र, दर्शनशास्त्र राजनीतिशास्त्रलगायत धेरै शास्त्रहरुको अध्ययन अधुरो र अपुरो रहन्छ । यही माक्र्सवादलाई आधार मानेर संसारका अनेकौं देशहरुमा अभूतपूर्व क्रान्ति भयो, धेरै मानिसहरुले जीवनको बलिदानी दिए तर, विश्वका धेरै देश र स्थानहरुमा यो टिकाउ हुन र रहन सकेन । संसारको एउटा भू–भागमा यो उदाउँदै गर्दा अर्को भू–भागमा सेलाउँदै, शिथिल बन्दै र अस्ताउदै पनि गयो । माक्र्सवादकै कारणले गर्दा संसारका धेरै देशहरुको राजनैतिक, आर्थिक र सामाजिक नक्सा बदलियो, श्रमजीवी, मजदुर, किसान, गरिब, असहाय थिचिएका, दबाइएका लगायतका वर्गहरुमा आशाको दियो बाल्यो, दासताको जीवनबाट मुक्ति दिलायो ।
जसरी माक्र्सवादले मानिसहरुलाई आकर्षण ग¥यो समयको क्रम सँगसँगै यस सिद्धान्तप्रति मानिसहरुमा चरम असन्तोष पनि जन्मायो, फलस्वरुप यस सिद्धान्तको आधारमा स्थापित शासन व्यवस्था वा सरकारहरुको अन्त्यको लागि पनि संसारका धेरै देशहरुमा क्रान्ति र आन्दोलनहरु भयो अनि वामपन्थी शासन गल्र्यामगुर्लुम ढल्न पुग्यो । यसरी संसारलाई नै तरङ्गित पार्ने कार्ल माक्र्सको जन्म ५ मे सन् १८१८ मा जर्मनमा भएको थियो, उनले कानुन र दर्शनशास्त्रको अध्ययन गरे र जेनी भोन वेस्ट्फालेनसँग सन् १८४३ मा विवाह गरे । देशभित्र रहन सक्ने वातावरण नभएपछि उनी आफ्नो श्रीमती र बाल (बच्चासहित लण्डनमा निर्र्वािसत भए, जहाँ उनले फेडेरिक एङ्गेल्ससँग मिलेर आफ्नो विचार र सिद्धान्तको प्रकाशन गर्न थाले । उनको सबैभन्दा प्रख्यात कृति कम्युनिष्ट मेनिफेस्टो र तीन भागमा लेखिएको दास क्यापिटल थियो, उनीद्वारा लेखिएको यी र यस्तै अनगिन्ती कृतिहरुले उनलाई संसार भरी प्रख्यात बनायो । माक्र्सले प्रतिपादन गरेको सिद्धान्तको कारणले उनलाई मानव इतिहासमा सबैभन्दा बढी प्रभावित पार्ने व्यक्तिको रुपमा पनि चिन्ने गरिन्छ । यसरी संसारलाई अमुल्य र युगान्तकारी कृति वा सिद्धान्त पस्कने कार्ल माक्र्सको मृत्यु सन् १८८३ मार्च १४ मा ६४ वर्षको उमेरमा लण्डनमा भयो । मृत्युपश्चात् उनलाई तत्कालीन पूर्वी जर्मनीको हाइगेटमा लगियो र धर्म नमान्ने व्यक्तिहरुको निमित्त छुट्याइएको स्थानमा समाधि गरियो ।

Image may contain: Krishna Kanta Adhikari, sunglasses, sky, ocean, outdoor, water and nature
माक्र्सवादको इतिहासलाई हेर्ने हो भने यस सिद्धान्तबाट प्रभावित भएर फ्रान्सको पेरिसमा सन् १८७१ को मार्च १८ का दिन मजदुर, सर्वहारा वर्ग तथा क्रान्तिकारीहरुले विद्रोह गरे र सत्ता कब्जा गरे, उक्त समयमा पेरिसमा चरम बेरोजगारी, अस्तव्यस्तता, नैराश्यता र शासनप्रति वितिष्णा थियो, धनी र गरिब बिचको दुरी लामो थियो । फ्रान्स युद्धको कारणले जर्जर बन्दै थियो यस्तो समयमा विद्रोह हुनु स्वाभाविक थियो । तत्कालीन समयमा पेरिसमा मात्रै ५ लाखभन्दा बढी औद्योगिक मजदुरहरु थिए । यसको अलावा किसान र अन्य तल्लो वर्गका श्रमजीवीहरु थिए जो राज्यको थिचोमिचो सहन विवश थिए, यस्तै समयमा पिएरे (जोसेफ प्राउडोन र लुइस अगस्ती व्लान्कुई) समेत भई कम्युनको नेतृत्व गरेका थिए । पेरिस कम्युनको समयमा कार्ल माक्र्स लण्डनमा नै रहेका थिए र क्रान्तिलाई नजिकबाट नै नियालीरहेका थिए । दुई महिना र केही दिन मात्र कायम रहेको यो क्रान्ति को सन्दर्भमा माक्र्सले क्रान्तिमा कमी कमजोरी रहेको र श्रमजीवीहरुलाई जुन रुपमा सञ्चालन गरिनुपर्ने हो सो हुन नसकेको भनि उल्लेख गरेको पाइन्छ यसैगरी यो क्रान्तिलाई उनले श्रमजीविबाट भएको सुनौलो क्रान्ति, जो संसारको सबै श्रमिकहरुको मुटुमा अविष्मरणीय रुपमा रहने छ भनि विभिन्न दस्तावेजहरुमा उल्लेख गरेको पाइन्छ । विद्रोह अर्थात् क्रान्तिमा असङ्ख्य मानिसहरुको सहभागिता थियो जम्मा ७२ दिन सम्मको यो शासनकालमा उनीहरुले सुधारको धेरै कदमहरु चाले । त्यसबेलाको सामन्तवादको प्रतिनिधिको रुपमा उँभिएको चर्चलाई राज्यबाट अलग पारियो, सामन्तहरुको ऋणबाट जनतालाई मुक्त गर्ने, कामको समय तोक्ने, मजदुरहरुको पारिश्रमिक बढाउने, महिलाहरुलाई शिक्षाको अधिकार दिलाउने र तदनुरूपका कानुनहरु बनाउने जस्ता कार्यहरु तथा अन्य कतिपय विषयहरुमा युगान्तकारी कदम र निर्णयहरु गर्ने दिशामा अगाडि बढ्दै गर्दा यसउपर चरम दमन गरियो र माक्र्सवादको प्रयोग भैरहेको भूमिमा यसको अन्त्य भयो । पेरिस कम्युनको आन्दोलन र यसको दमनमा कति मानिसहरु को मृत्यु भयो भन्ने बारेमा एकिन तथ्याङ्क भेटिदैन । भनिन्छ, पेरिस कम्युन दमन गर्ने सिलसिलामा २०००० क्रान्तिकारी मारिए, ३८००० लाई पक्राउ गरियो र ७००० जनालाई देश निकाला गरियो, अनि ७ सय ५० जना सरकारी सेनाहरु पनि मारिए । पेरिस कम्युनले विश्व जगतमा कानुनी र अन्तर्राष्ट्रिय मान्यता नपाए पनि यसले विश्वलाई एउटा सन्देश के दियो भने माक्र्सवादलाई समयसापेक्ष रुपमा परिवर्तन गर्दै लगियो भने यसको प्रयोग यसै संसारमा सम्भव छ र संसार बदल्नको लागि आवश्यक पनि छ ।
माक्र्सवादको धरातलमा उँभिएर यसलाई मार्गदर्शक सिद्धान्त मान्दै परिवर्तित परिवेशमा क्रान्ति गर्ने, क्रान्तिलाई सफल पार्ने, कम्युनिष्ट राज्य स्थापना गर्ने र विस्तार गर्ने श्रेय लेनिनलाई दिन सकिन्छ । रसियाको तत्कालीन अवस्था यस्तो थियो की प्रथम विश्वयुद्धको समयमा रसियाको मजदुर, किसान तथा सर्वसाधारणलाई जबर्जस्ती युद्धमा होमिएको थियो । उनीहरुलाई पर्याप्त मात्रामा खाद्यान्न, लुगाकपडा र अन्य उपकरणहरु थिएनन्, मानिसहरुमा चरम असन्तुष्टि र नैराश्यता व्याप्त थियो । तत्कालीन जार शासनले जनताउपर दमन गरिरहेको थियो, सन् १९१७ को फेब्रुअरीमा त्यहाँ क्रान्ति गरियो र जार शासनको अन्त्य भयो अनि प्रोभिन्सियल सरकारको गठन भयो, यसै समयमा देश बाहिर रहेका लेनिन रुसमा फर्के र यो सरकारको पनि विरोध गर्दै क्रान्तिको आवश्यकतामाथि थप जोड दिए । जनताहरु पनि यो सरकारसँग पूर्णतः सन्तुष्ट नभएकोले क्रान्तिकारीहरुलाई गोलबद्ध गर्दै अक्टोबर अर्थात् बोल्सेभिक क्रान्तिको सफल नेतृत्व गर्दै शासन कब्जा गर्न सफल भए । लेनिनको प्रभाव यति सशक्त र प्रभावकारी थियो कि बिसौं शताब्दीमा विभिन्न देशका ख्याति प्राप्त व्यक्तिहरु र सामाजिक अभियन्ताहरु उनलाई भेट्न र प्रेरणा लिन आउँथे । उनी पुरै संसारलाई समाजवादले शासन गरेको हेर्न चाहन्थे । लेनिनले रुस तथा सोभियत संघको सरकारको नेतृत्व गरे अनि माक्र्सवादलाई थप परिमार्जन गर्दै यसको सफल प्रयोग गरे । उनीबाट प्रभावित भएर विश्वको धेरै देशहरुमा क्रान्ति समेत भयो अनि समाजवाद थप मजबुत र बिस्तार हुँदै गयो । लेनिनपछि संसारभर माक्र्सवाद अर्थात् समाजवादी क्रान्तिको लहर नै चाल्यो । माक्र्सवाद वा यसको आदर्शबाट प्रभाबित भएर फिनल्याण्ड, जर्मन, मंगोलिया, एल साल्भडोर, स्पेन, चीन, युगोस्लाभिया, उत्तर कोरिया, क्युबा, कङ्गो, इण्डोनेसिया, भियतनाम, कम्बोडिया, फिलिपिन्स, ईथोयोपिया, अफगाननिस्तान, पेरु, भारतका विभिन्न भू–भाग, बुर्किनाफासो र नेपाललगायत देशहरुमा क्रान्ति भयो यद्यपि सबै क्रान्तिहरु सफल हुन सकेनन र सफल भएका कतिपय क्रान्तिहरु पनि लामो समयसम्म टिक्न सकेन जसका पछाडि अनेकौं कारण र परिस्थितिहरु रहेका थिए ।
संसारमा जे जति साम्यवादी सरकारहरु ढले, उनीहरु मुल रुपमा आ–आफ्नै कारणले गर्दा ढल्ने पुगे, मानिसहरुको विचार, चाहना र मनसाय सधैंभरी एकनास रहँदैन, मानिस जहिले पनि परिवर्तन र विकल्पको खोजीमा रहन्छन् भन्ने कुरा उनीहरुले समयमा नै बुझ्न खोजेनन् । कम्युनिष्ट सरकारका कतिपय शासकहरु माक्र्सवादलाई जडसुत्रको रुपमा प्रयोग गर्ने कोशिस गरिरहे, कतिपय शासकहरु दमनको भरमा शासन गर्ने प्रयत्नमा बसिरहे, जनताको जन चाहना बुझ्ने र सम्बोधन गर्ने प्रयत्न नै गरेनन् । माक्र्सले भने जस्तो सर्वहारा वर्गको शासन यो युगमा सम्भव छ र हुनेछ भनेर अलमलमा परिरहे । जनताको स्वभाविक स्वतन्त्रतालाई कैद गरेर राख्न खोजिरहे, आफ्नो प्रतिरोधी शक्तिको योजना समयमा बुझ्न खोजेनन् । साम्यवादीहरुलाई संसारबाट नै कमजोर पार्न अमेरिका लगायतको शक्ति हात धोएर लागेको अवस्थामा तदनुरुपको योजना बनाउन जानेनन् । संयुक्त राज्य अमेरिकाका तत्कालीन रास्ट्रपति रोनाल्ड रेगनले कम्युनिस्ट सरकार ढाल्न आफ्नो बैदेशिक नीति नै ल्याएका थिए । संसारका राजनैतिक इतिहास बुझेकाहरुले कतिपय देशहरुमा साम्यवादी सरकारहरु ढल्नु र साम्यवादी शक्तिको क्षयीकरण हुनुमा रेगनको डक्ट्रिन पनि एक प्रमुख कारण हो भनि मान्दछन् ।
वर्तमान् विश्वमा जनवादी गणतन्त्र चीन, क्युबा, भियतनाम, लाओस, उत्तर कोरिया जस्ता देशहरु कम्युनिष्ट पार्टीबाट प्रत्यक्ष रुपमा सञ्चालित रहेका छन्भने संसारमा जम्मा ३५ वटा देशहरुमा कम्युनिष्ट पार्टीहरुले सक्रिय रुपमा आ–आफ्ना गतिविधिहरु गरिरहेको देखिन्छ । यसैगरी प्रजातान्त्रिक प्रक्रियाबाट सान मारियो, निकारागुवा, गुयाना, मोल्दाभो, साईप्रस, नेपाल, ब्राजिल र भारत तथा रसियाका विभिन्न प्रान्तहरुमा समय (समयमा यी पार्टीहरुले शासन गरेको देखिन्छ । आजको संसार कार्ल माक्र्सको समय र उनले गरेको कल्पनाको संसारभन्दा बिलकुल फरक छ । पूँजीवाद पनि धेरै हदसम्म वैज्ञानिक गतिशील समयसापेक्ष, जन–भावना अनुकुल बन्दै गैरहेको उदाहरण प्रशस्तै देखिन थालेको छ । पूँजीवादभित्रै श्रमको उचित मूल्य र सम्मान पनि रहेको छ । माक्र्सले उल्लेख गरेजस्तो सामाजिक, आर्थिकलगायत वर्गीय चरित्र अनि सामाजिक खाडल र विभेद आजको युगमा भेटिँदैन । तसर्थ, माक्र्सले सैद्धान्तिक रुपमा उल्लेख गरे जस्तो सर्वहारा वर्गको अधिनायकत्वमा राज्य सत्ता स्थापित हुने अवस्था अबको युगमा प्राय ः सम्भब देखिदैन तथापी राज्यबाट शोषण, दमन तथा जनताको माग सम्बोधन हुन नसकेको अवस्थामा संसारको कुनै कुनाबाट वा संसारको कुनै देशमा कुनै न कुनै रुप वा स्वरुपमा यो उदाउन पनि सक्दछ । माक्र्सले सामाजिक र वर्गीय स्वरुपको जुन चित्रण गरेका छन्, त्यो धेरै हदसम्म वैज्ञानिक र यथार्थको धरातलमा उँभिएको पाइन्छ ।
माक्र्सले तत्कालीन शासकहरुले गरेको दमन, उत्पीडन, शोषण र अत्याचार बुझेर नै आफ्नो सिद्धान्त जन्माएका हुन् । माक्र्सवादलाइ बुझनको लागि तत्कालीन विश्वमा कायम रहेको राजनैतिक, सामाजिक, र आर्थिक पक्ष बुझ्नु पनि जरुरी हुन्छ । उनले विश्वभरीका मजदुर, श्रमिक वर्ग र सामाजको जुन चरित्र देखे त्यो निस्चय पनि सन्तोषजनक थिएन र रुपान्तरण खोजिरहेको थियो । उनले संसारभरीका मानिसहरुको तस्विर र आवाजलाई प्रतिबिम्बित हुने गरी विश्वमा कायम रहेको शासकीय स्वरुपको परिवर्तनको अपरिहार्यतालाई गहन रुपमा बुझेर नै माक्र्सवादको सिद्धान्तको प्रतिपादन गरेका हुन् । उनको विचार लोककल्याणकारी राज्यको स्थापना नै हो । कार्ल माक्र्सले तत्कालीन शासकहरुको दमन र प्रताडना भोग्दै, निर्वासनमा रही जुन सिद्धान्तको प्रतिपादन गरे त्यो निसन्देह युगान्तकारी नै छ भन्नुमा सन्देह गरिरहनुपर्दैन । उनले निर्वासनमा रहेर प्रतिकुल परिस्थितिको सामना गर्दै, कहालीलाग्दो आफ्नो आर्थिक पारिवारीक स्थितिको बाबजुद जुन कृतिहरु संसारलाई पस्केर दिए यो वास्तवमा अद्भूत नै छ । समाजवादी वा पूँजीवादी जस्तोसुकै शासनप्रणाली भएता पनि आज माक्र्सवादकै कारणले संसारका तमाम श्रमजीवी, किसान, मजदुर लगायतका वर्गहरुले आफ्नो मूल्य र कामको सम्मान पाइरहेका छन् । माक्र्सवाद, इतिहासमा लेखिएको यस्तो सिद्धान्त हो, जसलाई चेतनशिल मानव जातिले, सधैं अध्ययन, खोज, विश्लेषण तथा अनुसन्धान गरिरहने छ अनि आलोचना पनि गरिरहने छ ।

सोमवार, माघ ६, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...