आत्महत्या किन हुन्छ र कसरी कम गर्न सकिन्छ

कृष्णकान्त अधिकारी
आत्महत्या भन्ने शब्द आत्म हत्या को मिलनबाट बनेको शब्द हो, जसको अर्थ आफ्नो जिवनको समाप्ति आफैबाट अर्थात आफ्नो जिवनको बिदाई आफैले गर्नु हो भनेर बुझिन्छ । मानव जातीलाई मात्र नभएर संसार भरीका सम्पूर्ण जिवित प्राणीहरुलाई आ–आफ्नो प्राण सदैब प्रिय हुन्छ । प्राणको रक्षाको लागी उसले संघर्ष, प्रतिकार, लडाई र सम्भव भएका सबै उपायहरुको अवलम्वन गर्छ । सबै प्राणिले आ–आफ्नो जिवनको आयु लम्बीयोस् भन्ने चाहन्छ जो स्वभाविक हो ।
आत्महत्या गर्ने मानिसहरुले कहिले एक्लै र कहिले सामुहिक रुपमा पनि आत्महत्या गर्ने गर्दछन । यसरी आत्महत्या गरेर जाने घटनाले मृतकको निजको परीवार, आफन्त, तथा सहपाठीहरुमा जिवनभरी नै पिडा छाडेर गएको हुन्छ । अवस्था यस्तो सम्म हुन्छ कि आत्महत्या गरेर गएको मृतकको पिडाले उसको नजिकको मानिसलाई जिवन भर सताईरहेको हुन्छ । हत्या, आत्महत्या र हींसा मानव जातिको लागि प्रिय बिषय होईन तथापि यस्तो घट्नाहरु मानव बसोवास गर्ने सबै समाजमा बिगत देखि नै हुदै आइरहेको पाईन्छ ।
बिश्व स्वास्थ संगठनले जनाए अनुसार हरेक बर्ष बिश्व भरी झन्डै ८ लाख मानिसहरुले आत्महत्यागर्ने गर्दछन्, जो हरेक २४ सेकेन्डमा एक जना मर्नु हो, यस संगठनले जनाए बमोजिम ७९ प्रतिशत आत्महत्या न्युन तथा मद्य आय भएका देशहरुमा हुने गरेको छ ।
संयुक्त राष्ट्र संघको अपराध सम्बन्धी अनुसन्धान गर्ने र अभीलेख राख्ने निकाय UN Office on Drug and crime अनुसार सन् २०१७ मा बिश्व भरी जम्मा ४,६४,००० मानिसहरुले हत्याबाट ज्यान गुमाउनु परेको थियो, यसरी हेर्दा हत्याबाट भन्दा आत्महत्याबाट बढी मानिसहरुले ज्यान गुमाई रहेको देखिन्छ । मानिसको जिवनको समाप्ति विविध कारणहरुले हुने गर्दछ, कतै प्राकृतिक प्रकोपमा परेर, कतै दुर्घटनामा परेर, कतै रोग लागेर, कतै द्वन्द्व र आतंकबादको मारमा परेर, त कतै आफैले आत्महत्या गरेर । बिश्वका सबै प्राणीहरुको जन्म भए पश्चात मृत्यु हुनु प्राकृतिक नियम हो तर उमेर नपुगीकन, कुनै रोगले ग्रसित नभैकन मर्नु वा मारीनु भनेको प्राकृतिक नियम बिरुद्धको कार्य समेत हो ।
सिएनएनमा ज्याकोलिन हवार्डले सन् २०१९ को जुन ११ मा आफ्नो लेखमा उल्लेख गरे अनुसार संयुक्त राज्य अमेरीकामा सन् १९९९ को तुलनामा सान् २०१९ मा अमेरिकामा ३३ प्रतिशतले आत्म हत्याको घटनामा बृद्धी भएको छ । सन् १९९९ मा प्रति एक लाखमा १०.५ मृत्यु दर रहेकोमा सन् २०१७ मा यो दर १४ पुगेको छ यसरी हुने आत्महत्याहरु मध्ये अमेरिकन इन्डीयन र अलस्काका रैथानेहरुमा यो बृद्धि उच्च रहेको छ ।
बेलायतबाट प्रकाशित हुने द गार्जियन पत्रिकाको सन् २०१९ को सेप्टेम्वर ३ को लेख अनुसार बेलायतमा पनि हालैका बर्षहरुमा आत्म हत्याको दरमा बढोत्तरी भएको देखिन्छ । सन् २०१८ मा बेलायतमा जम्मा ६५०७ जनाले आत्महत्या गरेका थिए जो प्रति लाखमा ११ हो र पुर्व बर्ष अर्थात सान् २०१७ को भन्दा ६८६ जनाले बढी हो ।
हाम्रो छिमेकी देश भारतमा पनि आत्म हत्याको स्थिति कहाली लाग्दो नै रहेको छ । दक्षिण पूर्वि एशिएन देशहरु मध्ये भारतमा आत्महत्याको दर उच्च रहेको छ । त्यस देशमा कृषकहरुले साहु–महाजन तथा बैङ्कको ऋण तिर्न नसकेको कारण आत्महत्या गर्ने गर्दछन् । भारतको नेशनल क्राइम रेकर्ड ब्युरोले जनाए अनुसार सन् १९९५ यता २,९६,४३८ जना कृषकहरुले आत्महत्या गरेका छन् ।
नेपालमा पनि आत्महत्याको स्थिति राम्रो देखिदैन । नेपाल प्रहरीले बार्षिक रुपमा प्रकाशित गर्ने सिआडी म्यागजिनका अनुसार आर्थिक बर्ष ०७५÷०७६ मा देश भर जम्मा ५,७५४ जनाले आत्महत्या गरेका थिए जो प्रति एक लाखमा १९ जना हो । सो आर्थिक बर्षमा नेपालमा प्रति दिन सरदर १६ जनाले आत्महत्या गरेका थिए । यसरी आत्महत्या गर्ने मध्ये १८ बर्ष मुनिका ९ प्रतिशत, १९ बर्ष देखि ३५ बर्ष सम्मका ४० प्रतिशत, ३६ बर्ष देखि ५० बर्ष सम्मका ३० प्रतिशत,५१ बर्ष देखि ६९ बर्ष सम्मका १६ प्रतिशत र ७० बर्ष माथिका ५ प्रतिशत रहेका थिए ।
यसरी गरीने आत्महत्या मध्ये झुन्डिएर मर्नेको संख्या ७३.८५ प्रतिशत, आगो लगाएर ०.४१ प्रतिशत, बिष खाएर २२.८३ प्रतिशत, बिस्फोटक पदार्थ प्रयोग गरेर ०.२ प्रतिशत, दुरुत्साहन बाट १.१३ प्रतिशत, पानीमा डुबेर ०.५१ प्रतिशत, करेन्ट लगाएर ०.०७ प्रतिशत, हाम फालेर ०. ८२ प्रतिशत रहेको देखिन्छ ।
मानिसले गर्ने आत्महत्याको इतिहासलाई अध्ययन र बिष्लेषण गर्ने हो भने यसको इतिहास लामो नै रहेको पाईन्छ । बाह्रौ शताब्दिमा चीनका जिन वंशीय सम्राट आईजोङले मंगोलहरुले बिजय गरेपछी आत्महत्या गरेका थिए । लाखौं लाख यहुदी र अन्य लाखौं निर्दोष मानिसहरु उपर निर्मम र पाशविक तबरले नर संहार गर्ने एडोल्फ हिटलरले सान् १९४५ को अप्रील ३० का दिन साइनाइडको डोज लिए र तत्काल आफ्नो टाउकोमा गोली ठोकी आत्महत्यागरे र यसै समयमा निज संगै रहेकी निजको श्रीमतीले पनि आत्महत्या गरेकी थिइन् । पेरुका पुर्व राष्ट्रपती अलान गार्सियाले सन् २०१९ को अप्रिल १७ को बिहान आफैले टाउकोमा गोलि हानि आत्महत्यागरे उनी उपर भष्टाचारजन्य कसुरमा अनुसन्धान हुदै थियो। उनले कोट अनाकोन्डा नामक रिभल्वरको प्रयोग गरेका थिए, जो उनी दोस्रो पटक राष्ट्रपती निर्वाचित भए पछि पेरुभिएन नाभीले उपहार स्वरुप दिएका थिए ।
आत्महत्या र दुरुत्साहन
हाम्रो देशको मुलुकी अपराध संहिता, २०७४ को दफा १८५ मा कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन भनिएको छ र यस बमोजिम को कसुर गर्नेलाई पाँच बर्ष सम्म कैद वा पचास हजार सम्म जरिवना हुने छ भन्ने कानूनी व्यवस्था गरिएको छ । दुरुत्साहन भन्ने शव्दले कसैले कसैलाई कानूनी वा नैतिक दृष्टीले बिधि विपरितको कार्य गर्न प्रोत्साहन गर्नु भन्ने जनाउछ । आत्महत्या सम्वन्धमा प्रयोग भएको दुरुत्साहन भन्ने शव्दको भाव आपराधिक नियत हो, जो आत्महत्यासंग स्थापीत हुनु पर्दछ । आत्महत्या गर्न दुरुत्साहन गरेको हो वा होइन भनेर निक्र्यौल वा निर्णय गर्ने निकाय भनेको अदालत हो ।
किन हुन्छ त आत्म हत्याका घटनाहरु
हामी बसिवास गरेको भुगोल बिविधताले भरीएको छ । मानिसहरु आ–आफ्नो धर्म, संस्कृति, परम्परा, बिचार, आदर्श, प्रतिष्ठा आदिले बांधिएका हुन्छन् । हरेक मानिसको भिन्दा भिन्दै सोंच, कल्पना, लक्ष्य र चाहनाहरु हुन्छन् । संसारका सबै मानिसहरु आफूले भने बमोजिम वा आफूले चाहे बमोजिम होस् भन्ने इच्छा राख्दछ जो पुरा हुन वा नहुन सक्छ । मानिस मस्तिस्कबाट संचालित हुन्छ, जब मस्तिष्क अस्थिर हुन्छ त्यस पछि अनेक प्रकारका तरंग उत्पन्न हुन पुग्दछ जसको कारण अप्रिय पनि हुन सक्छ । प्रायः गरेर मानिसले बाच्नुको सार्थकता नदेखेको र आफू निराशा, जटिलता लगायतको समस्याले घेरिएको महसुस गर्दै यस प्रकारको यथास्थितीमा बाँच्नुको सार नदेखे पछी यस्तो बाटो रोज्न सक्ने देखिन्छ । आत्महत्याको कारण अर्को व्यक्ति नभएर, मुलरुपमा आत्महत्या गर्ने व्यक्तिमै अन्तरनिहित मानसिक विचलन हो भन्न सकिन्छ ।
आत्महत्या व्याक्तिगत बिषय हो, व्याक्तिको मन भित्र के कस्तो बिचार वा भावना पलाएर बसेको हुन्छ भनेर बुझ्न प्रायः कठिन नै हुन्छ । जिवन, हरेक मानिसको एउटा कथा हो, कसैको कथा सुखमय हुन्छ भने कसैको दुखमय, जिवन एउटा यात्रा हो, हरेक मानिसको जिवन एउटा संघर्ष, चुनौती, र अवसर हो, जसले संघर्ष र चुनौतीलाई अवसरको रुपमा प्रयोग गर्ने जमर्को गर्न डराउछ उसले गलत मार्ग अर्थात आत्म हत्याको बाटो समात्न सक्ने संभावना रहन्छ । आत्महत्या मानसिक, सामाजिक र आर्थिक लगायतको कारणबाट हुने गरेको देखिन्छ ।
आत्महत्यामा अन्य कुराहरुको अतिरीक्त निम्न लिखित कुराहरुले भुमिका खल्ने गरेको बिभिन्न अद्ययनहरुले देखाएको पाइन्छ ।
(क) डिप्रेशन
(ख) लागु औषधको सेवन
(ग) ऋणमा दुबेको
(घ) भ्रष्टाचार जन्य आरोपको कारण
(ङ) मायाँ प्रेममा असफल
(च) असाध्य रोगको कारण
(छ) पारीवारीक सम्वन्ध बिग्रेर
(ज) मानसिक रोगको कारण
(झ) अध्ययनमा असफल भएर
आत्महत्या गर्नु पुर्वका संभावित लक्षणहरु
मानिसले गर्ने आत्म हत्याको लक्षणहरु सामान्यतः बुझ्न सकिदैन, मानिसको मन र मस्तिस्कमा के कस्तो बिचार खेलिरहेको हुन्छ भन्ने कुरा बुझनु निश्चय पनि कठिन हुन्छ । केही समय अगाडि सम्म राम्रो र सामान्य व्यबहार देखाइरहेको मानिसले क्षण भरमै नराम्रो निर्णय लिएको पनि पाइन्छ । आत्महत्या व्यक्तिको स्वेच्छिक निर्णयले हुने कुरा हो जो सामान्यतः पुर्वानुमान गर्न सकिदैन तथापी बिभिन्न अद्ययन अनुसार आत्महत्या गर्नु अगाडि सम्वन्धित व्याक्तिमा निम्नानुसारको लक्षण देख्न सकिन्छ ।
(क) साथी संगती संग निरासाजनक कुराहरु गर्ने ।
(ख) एक्कासी आवेशमा आउने ।
(ग) फरक खलको व्यावहार प्रदर्शन हुने ।
(घ) नजिकको मानिस संग मर्ने कुराहरु गर्ने ।
(ङ) तनावमा रहेको कृयाकलाप गर्ने ।
आत्महत्या रोकथाम गर्ने उपायहरु
नेपालमा मात्र नभएर बिश्व भरी सबै देशहरुमा आत्महत्या एक जटिल सामाजिक समस्याको रुपमा खडा भएको देखिन्छ, र कसरी रोकथाम गर्ने भन्ने बिषय एउटा चुनौतीको रुपमा उभिएको छ । त्यसैले सेप्टेम्बर १० लाई आत्महत्या रोकथाम दिवसका रूपमा मनाउन थालिएको छ । International Association for suicide prevention नाम गरेको संस्थाको आयोजनामा हरेक बर्ष गरिने कार्यक्रममा विश्व स्वास्थ संगठन सह (आयोजकको रुपमा रहने गर्दछ । यसले Working together to prevent suicide भन्ने नारा राखेर कार्यक्रमहरु गर्दछ । गत बर्ष यस संस्थाले बिश्वका ७० देशहरुमा ३०० भन्दा कार्यक्रमहरु गरेको जनाएको छ ।
यदि कुनै मानिसले भित्री मन देखि नै आत्महत्या गर्छु भन्ने सोच लिएको छ भने, कसैले पनि प्रायः रोक्न सक्दैन । आत्महत्या रोकथाम गर्न मुलतःपरीवारको जिम्मेवार सदस्यले आफ्नो परिवारको हरेक सदस्यको बानी–व्यहोराको अनुगमन गर्ने, पारिवारीक बिषयमा सबै सदस्य मिली सामुहिक छलफल गर्ने, छोरा–छोरी बिच समान व्यवहार गर्ने, सकारात्मक सोच लिने (लिन प्रेरीत गर्ने, जवर्जस्ती आफ्नो निर्णय मात्र लागु गर्न नखोज्ने,प्रतिकुल स्थितिमा पनि धैर्यता लिने, ध्यान योगा गर्ने (गर्न लगाउने जस्ता कृयाकलापले पनि सकारात्मक प्रवाभ पर्ने देखिन्छ ।
अनुकुल स्थितिमा धेरै रमाउने र प्रतिकूल परीस्थिति हुनासाथ अत्तिने मानिसहरुमा आत्महत्या गर्न सक्ने संभावना बढी हुन सक्ने अनुमान गर्न सकिन्छ तसर्थ यस्ता प्रवृतिका मानिसहरुलाई धैर्यता नगुमाउने सल्लाह दिने असल मानिसको आवश्यकता पर्दछ। बिभिन्न प्रकारका कुलतमा फसेका मानिसहरुलाई असल व्यावहारका साथ सम्झाउने तथा सकारात्मक सोंचका साथ जिवन जिउन उत्प्रेरणा गर्ने गर्नाले पानि बाटो बिराउन लागेका मानिसहरु सही मार्गमा हिड्न सक्छन् ।
यसै गरी अनावश्यक तनावबाट मुक्त रहने, घर पारिवार र सामाजिक सम्बन्धलाई मैत्रीपुर्ण बनाउने, आशाबादी सोच राख्ने,अनावश्यक आश्वासन नदिने–नलिने, सकभर सबैसंग सौहार्दपुर्ण व्यावहार गर्ने यसै गरी शिक्षा, स्वास्थ लागायत समाजमा कृयासिल संघ–संथाहरुले समय समायमा आत्महत्या रोकथाम गर्ने सम्वन्धमा सचेतना मुलक कार्यक्रमहरु गर्दै गएको अवस्थामा यसमा निशचय पनि कमि आउछ भन्ने आशा गर्न सकिन्छ ।

सोमवार, फाल्गुन ५, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...