हिन्दु धर्म : प्रादुर्भाव र प्रभाव

283 Views

–कृष्णकान्त अधिकारी
धर्म मानिसको आस्था, विचार, व्यवहार र जीवन पद्धतिसँग सम्बन्धित सामाजिक र नैतिक विषय हो । अर्को अर्थमा भन्ने हो भने धर्म भनेको अदृश्य शक्तिमाथि गरिने विश्वास र भक्तिभाव हो । विश्वको कुल जनसङ्ख्यामध्ये ८६ प्रतिशत मानिसहरु कुनै न कुनै धर्मप्रति आस्थावान रहेका छन् । धर्म नै नमान्नेहरुको सङ्ख्या पनि करोडौं रहेको छ, अहिलेको विश्वको जनसङ्ख्या पौने आठ अर्ब भन्दामाथि रहेको छ । यसरी हेर्दा एक अर्ब भन्दाबढी मानिसहरु धर्म नमान्नेहरु पनि रहेका छन् । विश्वमा प्रचलित सबै धर्महरुको आ–आफ्नो इतिहास, मूल्य, मान्यता र परम्पराहरु रहेका छन् । विश्वका मानिसहरुले मान्ने प्रमुख धर्महरुमध्ये हिन्दु धर्म तेस्रो ठूलो धर्ममा पर्दछ । हिन्दु धर्मलाई सनातन धर्म भनेर पनि बुझिन्छ जसको अर्थ परापूर्वदेखि चलिआएको वा मान्दै आएको भन्ने हो ।
प्रादुर्भाव
नेपाली शव्दकोषका अनुसार प्रादुर्भाव भन्नाले कुनै वस्तु वा विषय प्रकट हुने वा देखापर्ने क्रिया, कुनै वस्तु वा विषयको उत्पत्ति वा उद्भव, अस्तित्व भएको तर नदेखिएको कुरो जनसमक्ष आउने काम भन्ने बुझिन्छ । हिन्दु धर्मको उत्पत्ति वा प्रादुर्भावको विषयमा चर्चा गर्दा यो इन्दुस भ्याली अर्थात् सिन्धु घाँटीको मानव सभ्यतासँग गएर जोडिएको बुझिन्छ । यो सभ्यता इशापूर्व ३३०० देखि १७०० सम्म रहेको भन्ने कुरा विभिन्न अध्ययन, अनुसन्धान र खोजले देखाएको पाइन्छ । विश्वको प्राचीनतम् सभ्यताहरु इजिप्ट र मेसोपोटामियाको सभ्यताहरु जस्तै इन्दुस भ्यालीको सभ्यता पनि एक महत्वपूर्ण र परिस्कृत सभ्यता हो । Bronze Civilization को रुपमा पनि बुझिने यो सभ्यताले दक्षिण एसियाको उत्तर पश्चिमी भू–भागहरु समेटेको थियो जो हालको पाकिस्तान, र भारतको भू–भागहरुमा पर्दछ । यो सभ्यताको ठूलो र प्रख्यात शहरहरु मोहेन्जोदारो र हरप्पा रहेका थिए जुन शहरहरुमा ३०,००० देखि ६०,००० मानिसहरु बसोबास गर्दथे यो त्यसबेलाको निकै ठूलो जनघनत्व हो, जो हालको पाकिस्तानमा पर्दछ । यस उपत्यकामा सदियौंदेखि मानिसहरु बसोबास गरेको र यस स्थान तत्कालीन समयमा विश्वको मानव बसोवास गरिरहेको अन्य स्थानहरुका बासिन्दाहरु भन्दा सभ्य भएकोले अन्य स्थानका मानिसहरु यसतर्फ अकर्षित हुन थाले । युरोप लगायतका भू–भागबाट मानिसहरुको बसाई सरी आउने क्रम सुरु भयो, यो उपत्यकामा मानव वस्ती बाक्लो हुन पुग्यो र नयाँ आउनेहरुले विषेशतः पर्सियनहरुले सदियौंदेखि बसोवास गरिरहेकाहरुलाई हिन्द (हिन्दु भनी उल्लेख गर्न थाले । यस सभ्यतामा पुराना देवीदेवताको आकृति जस्तो विभिन्न मूर्तिहरु फेला परेकोले यो स्थानबाट नै हिन्दु धर्म प्रादुर्भाव भएको भन्ने विश्वास पनि गरिन्छ । खोज, अन्वेषण र अनुसन्धान गर्नेहरुले सिन्धु भन्ने शब्दबाट अपभ्रंश भई हिन्दु शब्द भएको भनी उल्लेख गरेका पनि छन् ।
हिन्दु धर्मका स्रोतहरु
ऋग्वेद
हिन्दु धर्मको प्रमुख स्रोतको रुपमा वेदलाई लिइन्छ । वेदहरुमध्ये ऋग्वेद सबैभन्दा प्राचीनतम् ग्रन्थ हो । यसमा देवी–देवताहरुको स्तुति गरिएको छ । वेदहरु सबै श्रुती परम्पराबाट संग्रहित र संरक्षित हुँदै आएको ग्रन्थ हो । ऋग्वेद ऋषी वेदब्यासले लेखेको बताइन्छ, जो मानव सभ्यताको लागि अमूल्य ग्रन्थ र अभिलेख हो । यो वेद विश्वको प्रथम प्रमाणिक ग्रन्थ पनि हो । यसमा आधुनिकतम ज्ञान–विज्ञानका प्राथमिक विषयहरु विश्लेषणात्मक रुपमा प्रस्तुत गरिएको पाइन्छ, जसमा अर्थशास्त्र, समाजशास्त्र लगायतको बिषयहरुमा प्रकाश पारिएको छ । यस वेदमा वैदिक समाज, सभ्यता, सामाजिक संरचना, राज्यका शासकीय पद्धति जस्ता विविध पक्षमा विश्लेषण गरिएको छ । यो वेदलाई मानव सभ्यताको विकासको क्रममा प्राप्त भएको अद्भूत ग्रन्थको रुपमा पनि लिने गरिन्छ किनभने इतिहासको त्यो कालखण्डमा यसको रचना भएको थियो जुन समयमा यसप्रकारको साहित्य वा ग्रन्थको जन्म भएको थिएन ।
यजुर्वेद
यो वेद हिन्दू धर्मको एक महत्त्वपूर्ण श्रुति धर्मग्रन्थ तथा चार वेदहरुमध्ये एक हो । यसमा यज्ञको असल प्रक्रियाको लागि गद्य तथा पद्य मन्त्र समावेश रहेको छ । यो हिन्दु धर्मको चार पवित्रतम प्रमुख ग्रन्थहरु मध्ये एक हो तथा अक्सर ऋग्वेदपछिको दोस्रो वेद मानिन्छ यजुर्वेद मुख्य रूपमा एक गद्यात्मक ग्रन्थ हो । यज्ञमा भनिने गद्यात्मक मन्त्रलाई ‘’यजुस’’ भनिन्छ । यसमा जम्मा ४० अध्यायहरु रहेका छन् । यो वेदमा अधिकांशतः यज्ञ र हवनको नियम र विधानहरु भएको हुनाले यसलाई कर्मकाण्ड प्रधान धार्मिक ग्रन्थ भनेर पनि बुझ्ने गरिन्छ ।
सामवेद
यो वेद, गीत–सङ्गीत प्रधान हो । यस वेदलाई सङ्गीत शास्त्रको मूल मानिएको छ, प्राचीन समयमा पनि मानिसहरु सङ्गीतप्रति अभिरुचि राख्दथे । आकारको दृष्टिले यो सबैभन्दा सानो छ । यसको महत्व धेरै हुनुमा गीतामा कृष्णद्वारा ’वेदानां सामवेदोऽस्मि’ भन्नु पनि हो भनिन्छ । यो वेदमा सबै वेदहरूको साररूप छ र सबै वेदहरूका चुनिएका अंश यसमा सामेल गरिएको छ, यसमा मुख्य तीन शाखा र ७५ ऋचा छन् र सङ्गीत शास्त्रलाई प्रधान बनाइएको छ ।
अथर्ववेद
वेदहरुमध्ये यो चौथो वेद हो । यसमा मन्त्र भाग, देवताहरूको स्तुतिका साथ जादू, चमत्कार, चिकित्सा, विज्ञान र दर्शनका मन्त्र छन् । अथर्ववेद संहिताका बारेमा भनिएको छ, जुन राज्यमा अथर्ववेद जान्ने विद्वान् रहन्छन् त्यो राष्ट्र विना अवरोध निरन्तर उन्नति पथमा अगाडि बढिरहन्छ । जादूदेखि सम्बन्धित मन्त्र–तन्त्र, राक्षस, पिसाच, आदि भयानक शक्तिहरू अथर्ववेदका महत्वपूर्ण विषय छन् । यसमा भूत–प्रेत, जादू–टुना आदिका मन्त्र छन् ।
उपनिषद
उपनिषदमा पनि हिन्दुहरुको मूल आध्यात्मिक बिचार समावेश भएको पाइन्छ । उपनिषद पनि श्रुतिमा आधारित रहेको ग्रन्थ हो, जसको इतिहास निकै पुरानो रहेको छ, यो इशापूर्व ५,००० देखि ४,००० सम्म भएको भनिन्छ । वेदको अन्त भागमा पनि आएको हुनाले यसलाई वेदान्त भनेर पनि मानिन्छ । यसमा मानव जिवनको रहस्यमय बिषयहरु समावेश भएको हुनाले उपनिषदलाई रहस्य विद्दा पनि भनिन्छ । जर्मन दार्शनिक Arthur Schopenhauer ले उपनिषदलाई The production of higher human wisdom अर्थात मानव ज्ञानको ऊच्चतम तह भनी उल्लेख गरेका छन् । प्राचिन समयमा ऋषिमुनीहरु वन–जङ्गल घुमी हिँड्दथे र कुनै निश्चित स्थानमा बसी आफ्ना शिष्यहरुलाई ज्ञानगुनका कुराहरु सुनाउँथे यसरी सुनाइएका कुराहरु समावेश गरी उपनिषद लेखिएको हो भनेर मानिन्छ ।
महाभारत
संसारभरी छरिएर रहेका समस्त हिन्दुहरुको लागि महाभारत एक प्रमुख ग्रन्थ हो, यसमा मौलिक र नैतिक ज्ञानको अथाह भण्डार रहेको छ, जसलाई स्मृति वर्गको ग्रन्थ भनेर पनि बुझिन्छ । यो धार्मिक, पौराणिक, ऐतिहासिक तथा दार्शनिक ग्रन्थ पनि हो, जसलाई वेदहरुपछिको मुख्य ग्रन्थ भनिन्छ । विश्व जगतमा महाभारतलाई सबैभन्दा ठूलो मुल्यवान साहित्यिक कृतिको रुपमा पनि लिइन्छ । यो वैदिक परम्पराको महत्वपूर्ण सार हो । ऋषि वेद व्यासद्वारा व्यक्त वाणीलाई भगवान गणेशबाट लेखिएको हो भनिन्छ किनकी वेदव्यासबाट मात्रै लेखिदा यो उनको जीवनमा पनि सम्भव नहुने भएपछि भगवान गणेश (जो छिटो लेख्न पोख्त थिए)लाई विन्ती गरी लेखाइएको हो भनिन्छ । पान्डव पक्ष र कौरव पक्षको बिचमा भएको धर्म युद्धलाई बिशेष महत्व दिएर लेखिएको यस ग्रन्थमा धर्मको मार्गमा हिँड्ने मानिसको जित जहिले पनि निश्चित हुन्छ भन्ने सन्देश दिइएको छ । यसमा चन्द्रवंशदेखि कुरुवंश सम्मको उत्पत्ति, पान्डुको राज्य अभिषेक, कर्णको जन्म, लाक्षाग्रह षड्यन्त्र तथा द्रौपदी स्वयंवर, इन्द्रप्रस्थको स्थापना, पान्डवहरुको वनवास, भगवान श्रीकृष्णको भूमिका तथा उपदेशहरु, भीष्म, द्रोण, कर्ण, शल्य, दुर्योधन महाभारत युद्धको समाप्ति तथा पान्डवहरुको स्वर्गागमान आदिको विषयमा निकै रोचक रुपमा व्याख्या गरिएको छ । मानिस जहिले पनि असल मार्गमा हिँड्नुपर्छ, कुमार्गमा हिड्नेहरुको नाश निश्चित छ र कार्य गर्दा फलको आशा नगरी निश्वार्थ भावले गर्नुपर्छ भन्ने सन्देश दिइएको छ ।
श्रीमद्भागवत गीता
महाभारत युद्धमा अर्जुन युद्ध नलड्ने मनस्थितिमा पुग्न लागेको छनक पाएपछि अर्जुनलाई धर्म युद्धमा संलग्न गराउने सन्दर्भमा श्रीकृष्णले अर्जुनलाई युद्ध लड्ने निर्णयबाट पछि नहट्नको लागि दिइएको सारगर्भित र दुरदर्शी उपदेशलाई श्रीमद्भागवत गीता भनेर बुझिन्छ ।
रामायण
प्रसिद्ध ऋषि वाल्मिकीद्वारा त्रेतायुगमा संस्कृत भाषामा लेखिएको रामायण हिन्दु धर्मावलम्बीहरुको अर्को महत्वपूर्ण महाकाव्य हो, भगवान विष्णुको अवतार मानिने रामको गौरव गाथामा मुलतः आधारित भएर लेखिएको यस महाकाव्यमा विभिन्न अध्यायहरु समावेश भएको पाइन्छ । बालकाण्ड, अयोध्या काण्ड अरन्य काण्ड, किष्किन्धा काण्ड, सुन्दर काण्ड, युद्धकाण्ड उत्तर काण्डहरु रहेका छन् । रामायणको प्रमुख पात्रहरुमा रामको पिता दशरथ, सीताको पिता जनक, राम, सीता, लक्ष्मण, शत्रुधन, भरत, हनुमान, बाली, सुग्रिप, जटायु, आदि रहेका छन् । रामायण पनि संसारको एक विशाल एवं महान ग्रन्थ भनेर मानिन्छ । अनेकौ प्रकारका ज्ञानबद्र्धक र लोकप्रिय कथाहरुले भरिएको यस ग्रन्थमा सभ्य समाज निर्माण गर्ने दिशामा महत्वपूर्ण कृति पनि हो ।
पुराणहरु
पुराण शव्दको अर्थ पुरानो वा प्राचिन भन्ने हुन्छ । पुराण पनि हिन्दु घर्मावलम्बीहरुको महत्वपूर्ण ग्रन्थ हो तथापी अन्य धार्मिक ग्रन्थहरु जस्तो यसलाई प्रमाणिक ग्रन्थको रुपमा लिइँदैन । पुराणमा देवी–देवताहरु, ऋषिमूनि, राजा–महाराजा, नायक तथा ऋषिमूनिहरुको वर्णन भएको पाइन्छ । पुराणहरुमा धर्मशास्त्र, दर्शन, चिकित्सा, खगोलशास्त्र, खनिज विज्ञान, हाँस्य तथा प्रेम कथाहरु समेत समावेश भएको पाइन्छ । विभिन्न पुराणहरुमा वैदिक कालदेखि चलिआएको सृष्टिसम्बन्धी विचारलगायत काल्पनिक जस्तो लाग्ने अनेक प्रकारको कथाहरु समेत पाइन्छ । पुराणहरु जम्मा अठार वटा रहेका छन्, जो यसप्रकार रहेको छ । (१) ब्रम्हा पुराण (२)पद्य पुराण (३) विष्णु पुराण (४) वायू पुराण (५) भागवत पुराण (कतैकतै देवी भागवात पुराण पनि भनिन्छ) (६) नारद पुराण (७) मार्कण्डेय पुराण (८) अग्नी पुराण (९) भविष्य पुराण (१०) ब्रह्मवैतर्त पुराण (११) लिङ्ग पुराण (१२) बराह पुराण (१३) स्कन्द पुराण (१४) वामन पुराण (१५) कूर्म पुराण (१६) मत्स्य पुराण (१७) गरुड पुराण (१८) ब्रह्मान्ड पुराण ।
प्रमुख देवीदेवताहरु
हिन्दु धर्म देवी–देवताहरुमा अगाध श्रद्धा र भक्ति भाव दर्शाउने धर्म हो, यस धर्ममा तेत्तीस कोटी अर्थात् तेत्तीस करोड देवी–देवताहरु रहेको भनिन्छ । यस धर्मशास्त्रको बिभिन्न ग्रन्थहरुमा जो जसले देवी–देवताहरुप्रति भक्ति, पुजा अर्चना गर्दछन्, उनीहरुले आशिर्वाद प्राप्त गरी मोक्ष प्राप्त गरदछन् र मनले चिताएको कुरा पुरा हुन्छ भनिएको छ । यो धर्मको विशेषता के हो भने भिन्न–भिन्न देवीदेवताहरु भिन्न–भिन्न नाममा भिन्न भिन्न प्रयोजनको लागि पृथ्वीलोकमा प्रकट हुन्छन् अनि सदाचार, नैतिकता र मानवता कायम राख्ने कार्यसम्पन्न भएपछि पुनः अन्तध्र्यान हुन्छन् । मानिसहरु आ–आफ्नो मनोकामना पुरा गर्न पुजा, ध्यान, ब्रत उपवास बस्ने गर्दछन् ।
प्रमुख धार्मिक स्थलहरु
हिन्दु धर्मावलम्बीहरुको लागि चारधाम महत्वपूर्ण तीर्थस्थलहरु हुन् जो भारतको विभिन्न राजयहरुमा पर्दछ । (१) जगन्नाथपुरी–भारतको पुर्वी राज्य उडिसामा (२) द्वारका– भारतको गुजरात (३) रामेश्वरम– भारतको तमिलनाडु (४) बद्रीनाथ– भारतको उत्तर प्रदेशको उत्तराखन्डमा । यसको अलवा चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको कैलास पर्वतलगायत नेपालमा रहेका निम्न स्थलहरु पनि हिन्दुहरुको निमित्त महत्वपूर्ण तीर्थस्थलहरु हुन् (क) पशुपतिनाथ मन्दिर (ख) मुक्तिनाथ (ग) गोसाईकुण्ड (घ) हलेसी महादेव (ङ) चन्दननाथ मन्दिर (च) जानकी मन्दिर (छ) छिन्नमस्ता मन्दिर (झ) बागलुङ कालिका (ञ) मनकामना मन्दिर ।
विश्वमा हिन्दु धर्मको प्रभाव
धर्मको कुनै भौगोलिक सीमा हुँदैन, जो अदृश्य हुन्छ र मानव मस्तिस्कमा समावेश भएको हुन्छ, अनि संसारभरी फैलिरहन्छ । हिन्दु धर्ममा ज्ञान–विज्ञानको अथाह भण्डार समाविष्ट छ । यो यस्तो धर्म हो जसले सधंै सत्य बोल भन्छ, सबैको भलो चिताउँछ, शान्तिको कामना गर्छ, मानिसहरुलाई असल मार्गमा हिँड्न प्रेरित गर्छ, पुनर्जन्ममा विश्वास राख्छ, खराब काम गर्ने हरुले यसको परिणाम भोग्नुपर्दछ भन्छ । यो धर्मले अनेकौं प्रकारका परम्पराहरुलाई प्रतिनिधित्व गर्छ । हिन्दुहरुले मान्ने हरेक चाडपर्वमा अनेक प्रकारका सामाजिक, सांस्कृतिक र परम्परागत मौलिक मान्यता तथा महत्वहरु रहेका छन् ।
शिक्षा, स्वास्थ र नैतिकताको क्षेत्रमा हिन्दु धर्मले देखाएको कतिपय बाटो आज संसारका असङ्ख्य मानिसले अङ्गालेका छन् । विश्वका धेरै देशका कानुन तथा अन्तर्राष्ट्रिय कानुनहरुमा समेत समावेश भएको मानव अधिकार र कानुनको शासन जस्ता प्रजातान्त्रिक मूल्य मान्यताहरु हिन्दु धर्ममा हजारौं वर्ष अगाडिदेखि नै प्रचलित विषय हो । हिन्दु धर्मले परापुर्वकालदेखि नै मानिसलाई योगा गर्न, ध्यान गर्न र असल मानिसको रुपमा जीवन व्यतित गर्न सिकायो जो आजका अन्य धर्मावलम्बीहरुले पनि बुज्दैछन् । हिन्दु धर्मले सकभर युद्द नगर्नु गर्नु नै परेमा सोको कारण खुलाउनु, युद्द सुरु हुनुभन्दा अगाडि शंख बजाएर जनाउ दिनु, सुर्यास्तपछि युद्द नगर्नु, युद्द बन्दीहरुलाई मानवोचित व्यवहार गर्नु भन्ने जस्ता विषयहरु महाभारतमा नै उल्लेख गरेको छ जो हालको युद्दसम्बन्धी नियममा समावेश भएको पाइन्छ ।
हजारौं हजार वर्ष अगाडि संस्कृत भाषामा लेखिएका हिन्दु धर्मका सारहरु विश्व मानव जातिको लागि अमूल्य युगान्तकारी र अमूल्य निधि पनि हो, संस्कृतमा भनिएको छ– सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुः खभाग्भवेत् । अर्थात, सबै सुखी होउन्, सबै निरोगी हिउन, सबैले राम्रो देखुन र कसैलाई पनि दुःख नपरोस् । यसैगरी संस्कृतमा नै लेखिएको छ– असतो मा सद्गमय । तमसो मा ज्योतिर्गमय । अर्थात् असत्यको मार्गबाट सत्यको मार्गमा लैजाउ, अन्धकारको मार्गबाट प्रकाशको मार्गमा लैजाउ । भारत उपमहादिपमा हजारौं वर्ष अगाडि प्रादुर्वाभ भएको हिन्दु धर्म आज संसारका अनेकौं देशहरुमा विस्तार भएको छ । मानिस जहिले पनि नयाँ विषयको खोज गर्ने र ग्रहण गर्ने प्राणी पनि हो । अन्य धर्मको तुलनामा यस धर्मको विषयमा धेरै खोज, अन्वेषण, अनुसन्धानहरु भएको देखिन्छ ।
संयुक्त राज्य अमेरिकामा विभिन्न धर्ममा आधारित भएर गरिएको अनुसन्धानबाट के देखियो भने त्यस देशमा रहेका हिन्दुहरुको सामाजिक, शैक्षिक र आर्थिक हैसियत अन्य धर्मावलम्बीको तुलनामा उच्च रहेको छ । कुल हिन्दु जनसङ्ख्याको ८५ प्रतिशत मानिसहरुले कलेजस्तरको शिक्षा पुरा गरेका छन् । त्यस देशमा झण्डै २० लाखको हाराहारीमा हिन्दुहरु रहेका छन् र हिन्दु धर्म चौथो ठूलो धर्म पनि हो । कुल जनसङ्ख्याको ०.७ प्रतिशत मानिसहरु हिन्दु रहेका छन् । अमेरिकामा रहेका हिन्दुहरुमा अपराध गर्ने प्रवृति निकै न्युन रहेको, उनीहरु तुलनात्मक रुपमा सभ्य, सु–संस्कृत र अनुशासित रहेको भनी डाटाहरुबाट देखाइएको छ । यसैगरी बेलायतमा सन् २०११ को जनगणना अनुसार हिन्दुहरुको जनसङ्ख्या ८,१७,००० रहेको छ, जो कुल जनसङ्ख्याको १.५ प्रतिशत हो । बेलायतको अफिस अफ द नेशनल स्टाटिक्टिसले गरेको सर्भेक्षण अनुसार अल्पसङ्ख्यक समुदायहरुमध्ये हिन्दुहरुको शैक्षिक र आर्थिक स्तर माथि रहेको भनिएको छ । त्यस देशको कुल जनसङ्ख्याको शैक्षिक स्तरभन्दा हिन्दु समुदायको शैक्षिक स्तर निकै राम्रो र प्रशंसनीय रहेको भनिएको छ । बेलायतकै न्याय मन्त्रालयका अनुसार हिन्दुहरु अपराधजन्य क्रियाकलापमा कम (०.५) रहेका छन् । सबैभन्दा कम यहुदी समुदायका (०.३ प्रतिशत) रहेको भनिएको छ । अङ्गेजी भाषाको सबैभन्दा पुरानो भनिएको र विश्वभर प्रसिद्ध रहेको अक्सफोर्ड युनिभर्सिटीले सन् १९९७ देखि अक्सफोर्ड सेन्टर फर हिन्दु स्टडिज भन्ने शाखा खोलेर हिन्दु धर्मको विभिन्न ग्रन्थहरुको अध्यन–अध्यापन गरिरहेको छ, यसैगरी जर्मनीलगायत युरोपका विभिन्न विश्वविद्यालयहरुले संस्कृत भाषाको अद्ययन–अध्यापन गर्ने गराउने गरिरहेका छन् । विश्वमा सबैभन्दा बढी हिन्दुहरु बसोवास गरिरहेको देशहरुमा भारतको नाम अग्रपङ्तिमा आउँछ, जहाँ ८७ करोड हिन्दु आवादी रहेको छ, त्यसपछि क्रमसः नेपाल, बाङ्गलादेश, पाकिस्तान, ईन्डोनेसिया, श्रीलंका, संयुक्त राज्य अमेरीका, मलेसिया, म्यानमार आदि रहेका छन्।
अन्त्यमा
हिन्दु धर्म मानव सभ्यताको विभिन्न काल खण्ड हुँदै आएको र यो मूल रुपमा श्रृति र स्मृतिमा आधारित रहेको हुनाले सभ्यताको कुनै कालखण्डमा कहीँकतै जातीय र वंशका कुराहरु समावेश भएता पनि यसले जात, वंश वा लिङ्गको आधारमा कोही कसैउपर भेदभाव गर्दैन, हिन्दु धर्मको सार भनेको मानवीय धर्म र कर्तव्य नै हो । यो धर्म सदैव शान्तिको पक्षमा रहन्छ । यो धर्मले कर्ममा जोड दिन्छ, कर्म भनेको मानवीय कर्तव्य हो । मानवीय कर्तव्य विपरीत हिँड्नेहरुको पतन अवश्यम्भावी हुन्छ भन्ने मान्यता यो धर्मले राख्दछ । मानिसको कर्तव्य परिणाममा देखिनुपर्दछ, खोक्रो आडम्बरमा गरिने कार्य मानवीय धर्म होइन भन्ने मान्यता समेत यो धर्मले लिएको पाइन्छ हिन्दु धर्म एक जीवन पद्धति पनि हो, यो अगाध विश्वास हो तर अन्धविश्वास होइन । लेखक नेपाल प्रहरीका सेवा निबृत्त अधिकृत हुन् ।

सोमवार, फाल्गुन १२, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...