एउटा अनौठो गाउँ: कुखुरा, बंगुर तथा मदिरा निषेध

45 Views

प्रताप बानियाँ, म्याग्दी । 

कुरा सुन्दै अचम्म लाग्न सक्छ जहाँ कुखुरा, बंगुर र मदिरा चल्दैन भन्दा। हिमाली जिल्ला म्याग्दीमा एउटा यस्तो गाउँ पनि छ, जहाँ कुखुरा, सुंगुर तथा बंगुरपालन र अवैध घरेलु मदिरा उत्पादन नै हुँदैन भन्दा पत्यार नलाग्न सक्छ। स्थानीयबासीले आफ्नो घरमा कुखुरा, सुंगुर र बंगुरपालन गर्दैनन्, मदिरा बनाउँदैनन् भन्नु कतै झुट त होइन ? तर, यो वास्तविक र यथार्थ हो।

२१औं शताब्दीको युग पशुपक्षीपालनबाट मानिसले मनग्य आम्दानी गर्दै आइरहेका छन्। कतिपयले व्यावसायिकरूपमै फर्म दर्ता गरेर कुखुरापालन र बंगुरपालन गरिरहेका छन्। यस्तै मदिरा उत्पादन र बिक्री–वितरणबाट पनि राम्रै कमाइ हुने गरेको छ। अझै गाउँ–गाउँमा त झन् अवैध घरेलु मदिरा दिनानुदिन उत्पादन हुनुका साथै छ्यापछ्याप्ती बिक्री–वितरण हुने गर्दछ।

घरेलु मदिरा स्थानीयको जीविकोपार्जनको एउटा गतिलो माध्यमसमेत बनेको छ। तर, यस्तो अवस्थामा पनि म्याग्दीको एउटा गाउँमा भने व्यवसाय त परै जाओस्, घरायसी कुखुरा, सुंगुरपालन, बंगुरपालन र घरेलु मदिरा उत्पादन नै हुँदैन। उत्पादन नै नभएपछि बिक्री–वितरण हुने त झन् कुरै भएन। यस्तो भन्दा पत्यार नलाग्ला तर, यो वास्तविक अवस्था हो। व्यावसायिक तथा घरायसी कुखुरापालन, बंगुरपालन र मदिरा उत्पादन नहुने गाउँ म्याग्दी सदरमुकाम बेनीबजारदेखि नजिकै पर्दछ। त्यो पनि बेनी नगरपालिकाभित्रै छ, बेनीको शिरैमा।

त्यो गाउँ हो ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको गाजने गाउँ। बेनी नगरपालिका–५, पुलाचौरस्थित रहेको गाजने गाउँमा परापूर्वकालदेखि नै कुखुरापालन र बंगुरपालन हुँदैन भने अवैधरूपमा घरेलु मदिरासमेत उत्पादन गरिँदैन। नेपालमा बाइसे–चौबीसे राज्यका पालामा तत्कालीन राजा दिलीप बम मल्ल (डिम्ब) ले गाजने गाउँमा भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरेसँगै सोही समयदेखि नै गाजने गाउँमा कुखुरा, सुंगुरपालन, बंगुरपालन र मदिरा उत्पादनलाई निषेध गरेको स्थानीय बासिन्दा बताउँछन्। गाजने गाउँमा बजारको रक्सीसमेत बिक्री–वितरण हुँदैन।

बाहिरबाट लगेर कुखुरा तथा बंगुर बिक्री र काटमार पनि गर्न पाइँदैन। यदि कसैले यस्ता गलत कार्यहरू गरेको पाइएमा जगन्नाथ मन्दिर परिसरमा सर्प निस्किएर दृश्य देखाउने गरेको जगन्नाथ मन्दिर निर्माण समितिका अध्यक्ष यामबहादुर बानियाँले जानकारी दिनुभयो।

राजाले बसालेको नियमलाई अहिले पनि स्थानीयले मान्दै आइरहेका छन्। बीचको समयमा केही स्थानीयबासीले कुखुरापालन र मदिरा उत्पादन गर्ने गरेको भए पनि त्यसको परिणाम राम्रो नदेखिएपछि छाडेका थिए। गाउँको बीच भाग हलहलेचौरमा प्रसिद्ध जगन्नाथ मन्दिर रहेको छ। भगवान् जगन्नाथको मूर्ति स्थापना गरी मन्दिर बनाइएको गाउँ गाजनेको गाउँभरि कसैले पनि कुखुरापालन, बंगुरपालन र मदिरा उत्पादन गर्दैनन्।

जगन्नाथ भगवान्ले यी उत्पादनलाई राम्रो नमान्ने भएकाले यसको उत्पादन र बिक्री–वितरण नभएको हो। विशेष गरी भगवान् जगन्नाथकै कारणले गर्दा गाजने गाउँका घर–घरमा व्यावसायिकरूपमा लोकल जातको कुखुरा, व्यावसायिक कुखुरा र बंगुरपालन तथा अन्नपातको सहयोगमा उत्पादन गरिने घरेलु मदिरा बन्दैनन्।

तत्कालीन राजा दिलीप बमले जगन्नाथ मन्दिरको स्थापना गरेसँगै गाजने गाउँमा कुखुरा तथा बंगुरपालन र मदिरा उत्पादन गर्न नहुने किंवदन्ती रहेको जगन्नाथ मन्दिर गुठी व्यवस्थापन समितिका सचिव नीलकण्ठ शर्मा बताउनुहुन्छ। राजाले बसालेको पुरानो नियम भएकाले यसलाई गाउँका सबैले मान्दै आएको र परिवर्तन नगरिएको उहाँले जानकारी दिनुभयो। तत्कालीन समयमा स्थानीयले नभई राजाले नै यस्तो नियम बनाएर लागू गरेको उहाँले भनाइ छ। कसैले अटेर गरेर कुखुरा पाल्ने र मदिरा उत्पादन गर्दा त्यस्तो कार्य गर्नेलाई राम्रो नभएको स्थानीयबासी बताउँछन्। हाल गाजने गाउँमा जम्मा २१ घरधुरीको मात्रै बसोबास रहेको छ।

गाजने गाउँमा कुखुरा, बंगुर र मदिरा त चल्दैन भने जगन्नाथ मन्दिर पूजाआजा गर्नका लागि रातो रङको फूल, टीका र अबिर पनि चल्दैन। जगन्नाथ मन्दिरमा अबिरको सट्टा केसरी र रातो धजा पताकाको सट्टामा पहेंलो र सेतो कपडाको फेटा लगाइन्छ भने पहेंलो र सेतो धजा चढाउने गरिन्छ। तत्कालीन राजा दिलीप बमले १४औं शताब्दीमा भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरी आफू सोही ठाउँमा अलप भएको उनको समाधिस्थलसमेत रहेको हुँदा रातो रङको प्रयोगमा निषेध हुँदै आएको स्थानीय अगुवासमेत रहनुभएका मन्दिर निर्माण समिति अध्यक्ष बानियाँले बताउनुभयो।

जगन्नाथ मन्दिरको जगैदेखि पुनर्निर्माण
यसैबीच म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा अवस्थित ऐतिहासिक र धार्मिक महत्व बोकेको जगन्नाथ मन्दिरको जगैदेखि पुनर्निर्माण भएको छ। आजभन्दा करिब साढे ५ सय २४ वर्ष पुरानो मन्दिर जीर्ण बन्दै गएपछि २०६९ सालमा सप्ताहव्यापी महायज्ञको आयोजना गरी सोबाट संकलित रकमले मन्दिरको पुनर्निर्माण गरिएको हो। ०६९ सालको फागुन महिनाबाट निर्माण शुरू गरी मन्दिरवरिपरि पर्खाल लगाउने, जगैदेखि ढलान गर्ने, रङरोगन तथा वाइरिङ गर्ने, मन्दिरभित्र फिनिसिङ, गजुर राख्नेलगायतका काम सम्पन्न गरिएको थियो।

यसै गरी मन्दिरको भुइँमा ढुंगा छपाइएको छ भने गजुर राखेको भागभन्दा तल रङ लगाउने, पिल्लर निर्माण, चारैतिर ढोका तथा झ्याल राखिएका छन्। मन्दिरको शिरमा तामाको मूल गजुर र चार चोसामा ४ वटा पित्तलको सुनौलो रङका गजुर काठमाडौंदेखि ल्याएर राखिएको छ। मन्दिर शिखर शैली एवं काठमाडौंको पाटन, त्रिपुरेश्वर र भारतको उडिसा राज्यमा अवस्थित कृष्ण तथा जगन्नाथ मन्दिरको आकार र शैलीमा निर्माण गरिएको छ।

उक्त मन्दिर निर्माण कार्यमा ६० लाख रुपियाँ खर्च भएको निर्माण समितिले जनाएको छ। २०६९ सालको मंसिर महिनाको दोस्रो साता लगाइएको साप्ताहिक ज्ञान महायज्ञबाट कुल १ करोड ८ लाख रुपियाँ संकलन भएको थियो। २०७२ सालको वैशाख १२ र २९ गते आएको विनाशकारी भूकम्पले भने जगन्नाथ मन्दिरलाई कुनै किसिमको क्षति पु¥याएको छैन।

वर्षको एकपटक जगन्नाथको रथयात्रा
गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको जगन्नाथ मन्दिरको हरेक वर्षको एकपटक रथयात्रा गर्ने गरिएको छ। जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर भगवान् जगन्नाथको रथयात्रा गरिँदै आएको हो। सो दिन मन्दिरमा जम्मा भएका कार्यक्रमका अतिथिहरू, जनप्रतिनिधि, मन्दिरका पुजारी, सहभागी भक्तजन, गुठी व्यवस्थापन समितिका पदाधिकारी, स्थानीयबासीलगायतले भजनकीर्तन गरी भगवान् जगन्नाथको मूर्ति बोकेर मन्दिर परिसरमा रथयात्रा गर्दछन्।

जगन्नाथको रथयात्रा भजनकीर्तन गरी मन्दिर परिसरमा परिक्रमा गर्ने गरिएको परम्परालाई अहिले पनि निरन्तरता दिइएको हो। सर्वसाधारण सबैले जगन्नाथको प्रत्यक्षरूपमा दर्शन गरुन् भन्ने उद्देश्यका साथ हरेक वर्षको श्रावण शुक्लपक्ष द्वादशीका दिन जगन्नाथको रथयात्रा गराउने प्रचलन रहीआएको छ। सोही दिन जगन्नाथ मूर्तिलाई फेताका रूपमा लगाइएका कपडाहरू झिकेर नयाँ कपडा अर्थात् फेता लगाउने गरिन्छ। उक्त दिनमा मन्दिरमा उपस्थित सबै भक्तजनहरूलाई लक्षित गरी सरकारी भोजको आयोजना गरिन्छ खीर पकाएर खुवाइन्छ। त्यसपछि मात्रै गाउँमा स्थानीयले खीर पकाएर खाने गर्दछन्।

जगन्नाथ मन्दिरभित्र के–के छन् त ?
गाजने गाउँको बीच तथा समथर भू–भागमा जगन्नाथ मन्दिर अवस्थित छ। राजा दिलीप बमले १४औं शताब्दीको मध्यतिर भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरी आफू सोही ठाउँमा अलप भएको किंवदन्ती रहेको पाइन्छ भने मन्दिरभित्र राजाको समाधिस्थलसमेत रहेको छ। मन्दिरभित्र भगवान् जगन्नाथसहित राम, लक्ष्मण, कृष्ण, बलराम, चतुर्बाहु, नृसिंह, गणेश र विष्णुका अवतार मूर्तिहरू रहेका छन्। मन्दिरभित्र रहेका अधिकांश मूर्ति धातुको सहायताबाट बनाइएको छ।

धार्मिक पर्यटन बढाउने तयारी
मदिरा र मासु नचल्ने जगन्नाथ मन्दिर रहेको गाजने गाउँमा धार्मिक पर्यटनको वृद्धि गर्ने तयारी अगाडि बढाइएको छ। जगन्नाथ मन्दिरको आवश्यक प्रचारप्रसार गरेर स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढाउनका लागि सडक विस्तार, भ्युटावर निर्माण जस्ता कार्यलाई जोड दिइएको जगन्नाथ मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ।

गाजने गाउँलाई शाकाहारी गाउँका रूपमा विकास गरी धार्मिक पर्यटनको वृद्धि गर्न र योग शिविर पनि सञ्चालन गर्न सकिने सम्भावना रहेको छ। जगन्नाथ मन्दिरनजिकै १० मिनेटको पैदल दूरीमा रहेको पर्यटकीयस्थल गुफाको डाँडोमा चालू वर्षमा बेनी नगरपालिका र वडा कार्यालयको आर्थिक सहयोगमा भ्युटावरको निर्माणकार्य शुरू भएको छ। गुफाको डाँडाबाट डेढ दर्जन बढी मनोरम हिमशृङ्खलाको अवलोकन गर्न पाइनुका साथै म्याग्दीको साविकका ४१ मध्ये ३६ गाविस प्रत्यक्ष देखिन्छन्।

मन्दिर परिसरमा भौतिक पूर्वाधार थपिँदै
धार्मिक तथा ऐतिहासिक महत्व एवं पर्यटनको उच्च सम्भावना बोकेको प्रसिद्ध जगन्नाथ मन्दिर परिसरमा विकासका पूर्वाधार थपिँदै गएका छन्। म्याग्दीको बेनी नगरपालिका–५, गाजनेस्थित रहेको जगन्नाथ मन्दिरमा पछिल्लो समय विभिन्न पूर्वाधार निर्माण गरिएको हो। गत आर्थिक वर्ष २०७५/०७६ मा सङ्घीय सरकारको पर्यापर्यटन कार्यक्रमको आर्थिक सहयोगमा डिभिजन वन कार्यालय म्याग्दीमार्फत विभिन्न पूर्वाधार बनाइएको जगन्नाथ मन्दिरले जनाएको छ।

स्थानीय पुला–गाजने सामुदायिक वन उपभोक्ता समितिको सक्रियतामा पर्यापर्यटनबाट प्राप्त कुल ५ लाख रुपियाँको लागतमा मन्दिरमा पछिल्लोपटक पूर्वाधार थपिएको छ। मन्दिर परिसरमा महिला पुरुषको छुट्टाछुट्टै कोठासहितको शौचालय निर्माण, मन्दिर जानका लागि प्रवेशद्वार, सुरक्षा गर्न मन्दिरवरिपरि घेराबार तथा हराभरा बनाउन विविध प्रकारका बिरुवा रोपेर वृक्षरोपण गरिएको छ। पर्यापर्यटनबाट प्राप्त बजेटले मन्दिर दर्शन र पूजाअर्चना गर्न आउने श्रद्धालु भक्तजनको सेवा–सुविधाका लागि आवश्यक भौतिक संरचना निर्माणको कार्यलाई जोड दिइएको हो।

कसरी पुगिन्छ जगन्नाथ मन्दिर
समुन्द्री सतहदेखि २ हजार मिटरको उचाइमा अवस्थित जगन्नाथ मन्दिर जानका लागि म्याग्दी सदरमुकाम बेनीबाट सवारीसाधन पाइन्छन्। पैदलयात्रा गरेर करिब ३ घन्टा र सवारीसाधनबाट १ घन्टामा सजिलै पुग्न सकिने दूरीमा जगन्नाथ मन्दिर र गाजने गाउँ रहेको छ। बेनीको हुलाकचोकबाट पदमार्ग हुँदै अर्थु·े–गुफा–पौलस्त्य–पुलहाश्रम–ढोलठान राजदरबार भएर पनि जगन्नाथ मन्दिरसम्म पदयात्रा गर्न सकिन्छ। पछिल्लो समय मन्दिरमा नेपालको विभिन्न जिल्लासहित विदेशबाट पनि भक्तजन र पर्यटक दर्शन गर्न आउने गरेका छन्। मन्दिरमा दैनिकरूपमा पूजाआजा हुँदै आइरहेको छ। जगन्नाथ मन्दिरदेखि आधा घन्टाको दूरीमा तत्कालीन राजा दिलीप बमको ऐतिहासिक डढेकोट दरबारको भग्नावशेषका रूपमा संरचनासमेत रहेका छन्।

केभहिलमा भ्युटावर निर्माण शुरू
प्रसिद्ध जगन्नाथ मन्दिर नजिकै रहेको पर्यटकीयस्थल गुफाको डाँडोमा भ्युटावर निर्माण शुरू गरिएको छ। गत वर्षदेखि बेनी नगरपालिका तथा वडा कार्यालयको ५ लाख रुपियाँको आर्थिक सहयोगमा भ्युटावर निर्माण थालिएको हो। गुफाको डाँडोमा बन्दै गरेको भ्युटावरको नाम ‘जगन्नाथ भ्युटावर’ राखिएको छ।

कुल ३६ फिट उचाइ रहेको भ्युटावरको १ सय ७६ दशमलव ७१ वर्गफिट क्षेत्रफल र भ्युटावरमा ७ वटा ल्यान्डिक (उक्लने र ओर्लने) भाग रहेका छन्। त्यस्तै एकपटकमा भ्युटावरको माथिल्लो भागमा करिब २५ जनासम्म चढेर अवलोकन गर्न सक्ने क्षमता रहेको छ। भ्युटावर निर्माणका लागि फाउन्डेसन (जग) तयार गरी पोल गाड्ने, ल्यान्डिङ (भ¥याङ) जडानसहित हालसम्म भ्युटावर निर्माणको करिब ५० प्रतिशत काम सम्पन्न भइसकेको छ। भ्युटावरका सबै संरचना स्टिल स्टक्चर (फलाम) को प्रयोग गरिने भएको छ।

भ्युटावर निर्माणको लागत स्टमेटअनुसार कुल २० लाख ६९ हजार ५ सय ५६ रुपियाँ रहेको छ। यसअघि भ्युटावर निर्माणका लागि वडामार्फत १ लाख रुपियाँ बजेट विनियोजन गरिएको भए पनि काम हुन नसकेपछि उक्त बजेट फ्रिज भएको थियो। भ्युटावर निर्माणको काम अगाडि बढेको हुँदा अपुग बजेट आगामी आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेट नीति तथा कार्यक्रमबाट १० लाख रुपियाँ विनियोजन गरिएको बेनी नगरपालिका–५ पुलाचौरका वडाध्यक्ष लक्ष्मण बानियाँले बताउनुभयो। वडा तथा नगरपालिकामार्फत नगर क्षेत्रभित्र रहेका धार्मिक, पर्यटकीय र ऐतिहासिकस्थलहरूको संरक्षण, सम्वद्र्धन र प्रचारप्रसारमा जोड दिइएको उहाँको भनाइ छ।

जगन्नाथ मन्दिर र गुफाको डाँडोमा आन्तरिक तथा बात्य पर्यटकको आगमन वृद्धि गर्ने उद्देश्यसहित भ्युटावर निर्माणको काम अगाडि बढाइएको हो। बेनीको शिरमा रहेको पर्यटकीयस्थल गुफाको डाँडो अर्थात् केभहिलमा हालै स्थानीयले हेलिप्याडसमेत बनाएका छन्। प्रसिद्ध जगन्नाथ मन्दिरदेखि १० मिनेटको दूरीमा गुफाको डाँडो र ३० मिनेटको दूरीमा ऐतिहासिक डढेकोट दरबार क्षेत्र अवस्थित छ।

समुन्द्री सतहदेखि २ हजार २ सय मिटरको उचाइमा रहेको गुफाको डाँडाबाट विश्वको सातौं अग्लो चुचुरो धौलागिरि हिमालसहित अन्नपूर्ण, माछापुच्छ«े, नीलगिरि, मानापाथी, गुर्जा, चुरेन, बेहुला–बेहुलीलगायत करिब डेढ दर्जन हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ। गुफाको डाँडाबाट म्याग्दीका ३७ गाउँ तथा पर्वत, बाग्लुङसहित अन्य जिल्लाका डाँडाकाँडासमेत देखिन्छन्।

सोमवार, फाल्गुन २६, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...