‘जनप्रतिनिधिसँग अवसर र चुनौती दुवै छ’

पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका साविकको गूर्जा, लुलाङ, मुना, मुदी, मल्कबाङ, मराङ र ताकम गाविसलाई मिलाएर बनाइएको हो । हिमाली जिल्ला म्याग्दीको झण्डै ४५ प्रतिशत भू–भाग धवलागिरीले मात्रै ओगट्छ । पर्याप्त मात्रामा जडिबुटीको सम्भावना रहेको यस गाउँपालिकाको ४ नम्बर वडा मुदीमा संसारको सातौं अग्लो चुचुरो (८,१६७ मि.) धौलागिरी हिमाल पर्दछ । जडिबुटी उत्खनन् तथा प्रशोधन, तातोपानीका कुण्ड, बन्यजन्तु जनावरको अवलोकन, तालतलैया, झरना, मनोरम हिमश्रृङ्खला र कृषि तथा पशुपालनलगायत धवलागिरी गाउँपालिकाको प्रमुख सम्भावना हुन् । अल्पसङ्ख्य छन्त्याल समुदायको समेत वस्ती रहेको यस गाउँपालिकामा पर्यटनको सम्भावना उच्च देखिन्छ । गाउँगाउँमा होमस्टेमार्फत पर्यटन प्रवद्र्धन गरेर स्थानीयले मनग्य आम्दानी गर्न सक्छन् । तर, विकट र दुर्गम मानिने यस गाउँपालिकामा पर्याप्त सम्भावना हुँदाहुँदै पनि विकासका पूर्वाधारहरु नबन्दा पछाडि परेको छ । नेपालमा सङ्घीयताको कार्यान्वयनसँगै स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएर आएको पनि साढे २ वर्षको समय बितिसकेको छ । यसै सन्दर्भमा धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनसँग रुप्से दैनिकका लागि प्रताप बानियाँले गरेको कुराकानीको सम्पादित अंश:-
आजभोली के काम गर्दै हुनुहुन्छ ?
अहिले चालु आर्थिक वर्षमा गाउँपालिकामार्फत सञ्चालित योजनाहरु तोकिएको समयमै सम्पन्न गर्न लागिएको छ । सञ्चालित योजनाहरुमध्ये कार्यसम्पन्न भएकाको फस्र्यौट र बाँकी योजना सम्झौता गरी निर्माणको कामलाई तीव्रता दिनुका साथै पालिकाबाट गर्नुपर्ने विकास निर्माणका कामहरुको समन्वय, गौरवका योजनाको डिपिआर तयार, ठूला योजनालाई जिल्ला हुँदै प्रदेश र सङ्घीय सरकारमार्फत निर्माणका लागि आवश्यक पहल थालिएको छ ।
गाउँपालिकाको नेतृत्व सम्हालेपछि कुन–कुन काम गर्नुभयो ?
हामी गाउँपालिकामा निर्वाचित भएर आएको साढे २ वर्षको समय बितिसकेको छ । यस अवधिमा खासगरी गाउँपालिकाको केन्द्र कायम गर्नुका साथै कार्यालय व्यवस्थापन, गाउँपालिकाको भवन निर्माणका लागि १० रोपनी जग्गाको व्यवस्थापन, आवधिक योजनाहरु बनाउने, गाउँपालिकाको ७ वटै वडामा हेलिप्याड निर्माण, खेलमैदान व्यवस्थित र निर्माण जस्ता कामहरु गरिएको छ । सडकतर्फ गाउँपालिकाको १ नम्बर वडा गूर्जाबाहेक २, ४, ५ र ६ नम्बर वडालाई कच्ची सडकले जोड्ने काम अगाडि बढेको छ । ७ र ३ नम्बर वडामा सडकको स्तरोन्नतिको काम भएको छ । विद्युततर्फ भने केन्द्रीय प्रसारण लाइन ७ र ६ नम्बर वडाको आधा वस्तीमा बालिएको छ भने लुलाङ, मुदीको बगरा र चेचुङ तथा मराङको बुलमा माइक्रो हाइड्रोका साथै सोलार बत्ती जडान गरिएको छ । बाँकी १, ३ र ५ नम्बर वडामा लघुजलविद्युत योजना सञ्चालन, २ नम्बर वडामा वैकल्पिक ऊर्जा तथा ४ नम्बर वडाको बगरामा गाउँपालिका र गिभ पावरको आर्थिक सहयोगमा सोलार बत्ती जडान गरिएको छ । जनताको आधारभूत आवश्यकतालाई मध्यनजर गरी तत्काल र क्रमिक रुपमा गर्नुपर्ने कामलाई पालिकामार्फत जोड दिइएको छ । साथै धवलागिरी गाउँपालिकाको विद्युत र सडक नपुगेका वडाहरुमा पालिकाको विशेष पहलमा सडकको पहुँच पु¥याउने तथा बिजुली बत्ती बाल्ने योजनालाई जोडतोडका साथ अगाडि बढाएका छौं ।
धवलागिरी गाउँपालिकामा समृद्धिका आधारहरु के–के छन् ?
अन्य पालिकाहरुको तुलनामा धवलागिरी गाउँपालिका दुर्गम र विकट मानिन्छ । हाम्रो गाउँपालिकाको प्रमुख समृद्धिको आधार भनेको जडिबुटी र पर्यटन हो । जडिबुटी सङ्कलन तथा प्रशोधन, हाइड्रोपावर निर्माण, पशुपालन, पर्यटकीय गन्तव्यका क्षेत्रहरु धवलागिरी बेसक्याम्प, गूर्जा हिमाल, ऐतिहासिक ताकम कोत, मुदीको बगरा तथा गूर्जाको तातोपानी कुण्ड, गूर्जा र मल्कबाङका खानी, कृषि तथा पर्यटन नै समृद्धिका आधारहरु हुन् । नेपालको एकमात्र ढोरपाटन शिकार आरक्षले पनि धवलागिरी–१, गूर्जालाई समेट्छ भने धौलागिरी हिमाल समेत हाम्रै गाउँपालिकामा पर्ने हुँदा यसबाट आउने रोयल्टीलाई पनि गाउँपालिकाको विकासमा लगानी गर्न सकिने सम्भावना छ ।
यहाँले धौलागिरी हिमालको रोयल्टीलाई पालिकाको विकासमा लगानी गर्न सकिने बताउनुभयो, हिमालको रोयल्टी वार्षिक कति आउँछ ?
हाम्रो गाउँपालिकाको समृद्धिका आधारहरुमध्ये एउटा आधार धौलागिरी हिमाल पनि हो । तर, सङ्घीयताको कार्यान्वयन भएको यतिका समयसम्म पनि गाउँपालिकालाई एकदमै नगन्य मात्रामा पर्यटनको अर्थात् धौलागिरी हिमालको रोयल्टी आउने गरेको छ । कुल आम्दानीको ६० प्रतिशत सम्बन्धित स्थानीय तहमा आउनुपर्ने भए पनि अहिले वार्षिक करिब ५ प्रतिशत मात्रै आउँछ । यसले गर्दा पर्याप्त सम्भावना र स्रोत हुँदाहुँदै पनि त्यसबाट पाउनुपर्ने हिस्सा नपाउँदा गाउँपालिकामा सोचे अनुसार पर्याप्त बजेट खर्च गरेर काम गर्न सकिएको छैन । अझै पनि पुरानै सोच र प्रणालीका कारण हाम्रो स्थानीय तहले नियम अनुसार पाउनुपर्ने पर्यटन क्षेत्रको रोयल्टी नपाएको यथार्थ हो । ग्रामीण क्षेत्रको विकास र परिवर्तन गर्ने हो भने पुरानो सोच तथा प्रणालीलाई परिवर्तन गर्न जरुरी छ ।
संविधानले स्थानीय तहलाई विभिन्न २२ ओटा अधिकारहरु प्रत्यायोजन गरेको छ, ती अधिकारको कार्यान्वयन गर्न सबै कानुन बनाइसक्नुभयो त ?
संविधानले दिएको अधिकार कार्यान्वयनका लागि हामीले अहिलेसम्म जम्मा ८ ओटा मात्रै कानुनहरु निर्माण गरेका छौं । तीमध्ये भौतिक पूर्वाधार ऐन, शिक्षा ऐन, स्वास्थ्य ऐन, सहकारी ऐन, स्थानीय कर्मचारी सञ्चालन ऐनलगायत रहेका छन् । बाँकी ऐनहरुको सन्दर्भमा भने आवश्यकता अनुसार कार्यविधि बनाएर काम गर्ने गरेका छौं । अन्य ऐनहरु निर्माणको क्रममा रहेकाले तिनलाई पनि छिटै नै बनाएर कार्यान्वयनको पाटोमा ल्याउन जोड दिइएको छ ।
गाउँपालिकामा योजना छनोटका आधारहरु कसरी बनाउनुभएको छ ?
राज्यको पुनर्संरचना भएसँगै अहिले नेपालमा तीन तहका सरकारहरु क्रियाशील छन् । केन्द्रमा सङ्घीय सरकार, प्रदेशमा प्रदेश र पालिकाहरुमा स्थानीय सरकार रहेका छन् । हामी स्थानीय सरकार भएका नाताले स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार पालिकालाई समृद्ध बनाउने अभियानमा लागेका छौं । यही ऐनको आधारमा पालिकाको कामलाई अगाडि बढाएका छौं । यसका साथै स्थानीय जनताको मागका आधारमा समेत कतिपय योजनाहरुलाई छनोट गरी प्राथमिकताक्रम तोकेर विकास निर्माणको कार्यलाई जोड गरिएको छ । भूगोल र जनसङ्ख्यालाई पनि आधार मानेका छौं ।
चालु आर्थिक वर्षको ७ महिना बितिसक्दा, लक्ष्य अनुसार कति प्रतिशत प्रगति भयो ?
चालु आर्थिक वर्षको सात महिना बितिसक्दा लक्ष्य अनुसारको प्रगति हासिल गर्न सकिएको छैन । तैपनि अहिलेसम्म समग्रमा करिब २० प्रतिशत मात्रै लक्ष्य हासिल गरेका छौं । भौगोलिक विकटता, प्राकृतिक चुनौती (वर्षा र हिमपात), सडक अवरुद्ध, पदमार्ग निर्माणमा समस्या, कर्मचारी समायोजनले समस्या, स्थानीय उपभोक्तामा पुरानै सोच, बुझाइको कमी, दुर्गममा शिक्षा तथा स्वास्थ्यको पहुँच नहुनु जस्ता कारणले सोचेजति काम गर्न नसकिएको हो । अब भने कर्मचारी समयोजना भएर आइसकेको हुँदा प्रगतिको पाइला तीव्र बन्नेछ । योसँगै योजना कार्यान्वयनलाई पनि तदारुकताका साथ अगाडि बढाउँछौं ।
गाउँपालिकाको आन्तरिक स्रोतहरु के–के छन् ?
धवलागिरी गाउँपालिकामा आन्तरिक स्रोत भनेको मुख्यतयाः दर्ता र सिफारिस, ढुङ्गा, गिट्टी, बालुवा, व्यवसाय दर्ता नवीकरण (होटल, पसल, कृषि फर्म) रहेको छ । स्थानीयलाई करको दायरामा ल्याउने प्रयत्न भैरहेको छ भने पर्यटन, जडिबुटी र हाईड्रोपावरबाट स्रोत लिने काम गर्न नसकिरहेको अवस्था हो । आन्तरिक स्रोततर्फ वार्षिक आम्दानी २० लाख रुपैयाँ हुने गरेको छ । साथसाथै अन्य स्रोत पहिचानको काम पनि भैरहेको छ ।
जनप्रतिनिधि हुनुपूर्व पहिले तपाईं एउटा सामुदायिक विद्यालयको प्रधानाध्यापक हुनुहुन्थ्यो, शिक्षकको जागिर छाडेर अहिले गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ, शिक्षक र जनप्रतिनिधि भएर काम गर्दा कत्तिको फरक पाउनुभयो ?
यसअघि म शैक्षिक क्षेत्रसँग आबद्ध थिएँ । शिक्षक भएर काम गर्दा सीमित दायराभित्र रहेर मात्रै काम गर्नुपर्ने हुन्थ्यो । पहिला माग्ने ठाउँमा मात्रै थिएँ तर, अहिले दिने ठाउँमा पनि छु । पहिलाको भूमिका फेरिएको छ भने दायरा पनि फराकिलो बनेको छ । सीमित ठाउँमा बसेर काम गर्दा केही सहज भए पनि कतिपय असहज पनि थियो । तर अहिले भूमिका फेरिएर गाउँपालिकामा जनप्रतिनिधि बन्दै गर्दा अवसर पनि छ, चुनौती पनि दुवै छ । अवसर तथा चुनौतीको व्यवस्थापनसहित अगाडि बढेकी छु ।
म्याग्दीको ६ ओटा स्थानीय तहमध्ये तपाईं एउटा गाउँपालिकाको प्रमुख, त्यसमा पनि महिला हुनुहुन्छ, एकजना महिला गाउँपालिकाको प्रमुख हुँदै गर्दा महिलाको क्षेत्रमा कस्ता कार्यक्रमहरु सञ्चालन गर्नुभएको छ ?
हिमाली जिल्ला म्याग्दीका ६ ओटा स्थानीय तहमध्ये धवलागिरी गाउँपालिकाको प्रमुख त्यसमा पनि महिला म मात्रै हुँ । मैले खासगरी आफ्नो गाउँपालिकामा महिलाहरुलाई लक्षित गरेर सचेतनामूलक कार्यक्रमहरुलाई जोड दिएकी छु । वडामार्फत महिलालक्षित कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्न पहल गर्दै आएकी छु । महिला दिदीबहिनीहरुको स्वास्थ्यलाई जोड दिएर सुनौला हजार दिनका आमाहरुसँग अध्यक्ष कार्यक्रमलाई सञ्चालन गरेकी छु । चालु आर्थिक वर्षमा यस कार्यक्रमका लागि पालिकाको सबै वडामा कार्यक्रम सञ्चालन गर्न १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । योसँगै महिनावारी स्वच्छता, वासप्लान, लोकल कुखुरा वितरण कार्यक्रम, किशोरीहरुलाई लक्षित गरेर विद्यालयमा सेनेटरी प्याड निर्माणसम्बन्धी तालिम तथा वितरण, उमेर सान्दर्भिक विवाह उपाध्यक्ष कार्यक्रम जस्ता कार्यक्रमहरु रहेका छन् । दुर्गम र ग्रामीण भेगका महिलाहरुको आर्थिक सशक्तिकरणका लागि आयआर्जन र व्यवसायमूलक कार्यक्रम पनि प्राथमिकतामा रहेको छ ।
बालविवाह न्युनीकरण गर्न के–कस्ता कार्यक्रमहरु छन् ?
अन्य स्थानीय तहको तुलनामा धवलागिरी गाउँपालिकामा धेरै बालविवाह हुने गरेको छ । गाउँपालिका अन्तर्गत अधिकांश वडामा रहेको बालविवाह रोक्न उमेर सान्दर्भिक विवाह उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेका छौं । यसैगरी गल्र्स फस्ट फण्ड कार्यक्रम लागू गरी बालविवाह न्युनीकरणसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रमहरु गरिएको छ । दुर्गम र विकट गाउँमा हुने बालविवाह रोक्न विद्यालयको तहबाट पनि सचेतना फैलाउन आवश्यक पहल थालिएको छ । गाउँपालिकाको उपाध्यक्ष न्यायिक समितिको सभापति रहेकाले न्यायिक समितिको तर्फबाट पनि बालविवाहलगायत अन्य समस्या समाधानमा केन्द्रीत भएर लागेका छौं ।
गाउँपालिका प्रमुख भएर काम गर्दा समस्या र चुनौतीहरु के रहेछन् ?
जुनसुकै काम गर्दा पनि समस्या र चुनौती हुन्छ नै । त्यसमा पनि महिला भएर काम गर्दा धेरै समस्या तथा चुनौतीको सामना गर्नुपरिरहेको छ । समाजमा अझै पनि पितृसत्तात्मक सोच कायमै रहेकाले समस्या छ । स्वयं महिलाले पनि पुरुषले भनेको विश्वास गर्ने र महिलाले भनेको त्यति विश्वास नगरेको पाइएको हुँदा कार्यसम्पादनमा समेत समस्या देखिन्छ । त्यसैले महिला पुरुष समान हो भनेर सँगै मिलेर काम गर्न सक्यौं भने समस्या र चुनौतीलाई सजिलै पार गर्न सकिन्छ । यसका लागि महिला पुुरुष मिलेर अगाडि बढ्नुको विकल्प छैन ।
गूर्जालाई जोड्न गाउँपालिकाको सुरुङमार्ग बनाउने योजना थियो, कार्यान्वयन कहाँ पुग्यो ?
हिमाली वडा गूर्जालाई सुरुङमार्गले जोड्ने योजना बनाइए पनि त्यो स्थानीय सरकारको पहुँचभित्र पर्न सकेको छैन । स्थानीय सरकारको बजेटले भ्याउन नसक्ने भएको हुँदा सुरुङमार्ग बनाउने योजना कार्यान्वयन हुन नसकेको हो । यसका लागि प्रदेश र केन्द्र सरकारले आवश्यक बजेट व्यवस्थापनमा सहयोग गर्नुपर्ने आवश्यकता देखिन्छ । गाउँपालिकामार्फत अहिले लुलाङदेखि गूर्जा जाने गोरेटो बाटोलाई पदमार्ग बनाउन लागिएको छ । गोरेटो बाटोको स्तरोन्नति गरी त्यसलाई पदमार्गमा रुपान्तरण गर्न लुलाङ र गूर्जा दुवै तर्फबाट पदमार्ग निर्माणमा जोड दिइएको छ । अहिले गूर्जा जाने पैदलमार्गलाई व्यवस्थित बनाउने अभियानमा छौं ।
तपाईंसँग भावी योजनाहरु के–के हुन् ?
भावी योजनाहरु त धेरै नै छन् । तैपनि गाउँपालिकामार्फत सुरु गरिएका अधुरा कार्यक्रमहरुलाई आगामी दिनमा पूर्णता दिनेछु । गाउँपालिकाको भवन निर्माणको सुरुवात, गौरवका योजनामध्ये ‘एक घर, एक धारा’को खानेपानी योजना सञ्चालन, सडक तथा विद्युत, कृषि र पर्यटनमा जोड, तातोपानीका कुण्डको संरक्षण एवं व्यवस्थापन जस्ता कार्यक्रमलाई तीव्रताका साथ अगाडि बढाइनेछ । खासगरी धवलागिरी गाउँपालिकाको गूर्जाबाहेक बाँकी सबै वडामा सडक र विद्युतको पहुँच पु¥याउने कामलाई विशेष जोड दिने योजना छ ।
अन्त्यमा केही भन्नु छ की ?
सर्वप्रथम त गाउँपालिकाको विषयमा मलाई कुरा गर्ने अवसर दिनुभएकोमा तपाईं र रुप्से दैनिकलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु । मेरो अन्तरवार्ता पढेर आम पाठक वर्गले सकारात्मक र रचनात्मक सुझावसहितको टिप्पणी गरिदिनुहोला भन्ने अपेक्षासहित पत्रिकालाई फेरि पनि धन्यवाद ।

शुक्रबार, फाल्गुन ३०, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...