जसले १ सय ७३ वर्ष पहिले मान्छेलाई हात धुन सिकाए

78 Views

कोरोना भाइरस संक्रमणबाट बच्ने दुइटा उपाय छन्— कसैसँग हेलमेल नराखी घरभित्रै बस्ने र पटक–पटक साबुनपानीले हात धुने।

अब प्रश्न उठ्छ, साबुनपानीले हात धुँदा भाइरस संक्रमणबाट बच्न सकिन्छ भनेर पत्ता लगाउने व्यक्ति को हो?

तपाईंहरू गुगल चलाउनुहुन्छ भने याद गर्नुभएको होला, केही दिनअघिसम्म गुगलले आफ्नो होमपेजमा जुँगा भएका, कपाल खुइलिएका एक व्यक्तिको तस्बिर राखेको थियो। त्यही तस्बिरमुनि गुगलले हामी सबैलाई हात धुन आह्वान पनि गरेको थियो।

गुगलले जनहितका लागि जारी गरेको सूचनामा सम्मानसाथ राखेको उक्त तस्बिर एग्नस सेमलवाइजको हो। उनी १९ औं शताब्दीका हंगेरियन डाक्टर हुन्। उनले सन् १८४७ मा पहिलोपटक ‘रोग संक्रमणबाट बच्न हात धुनुपर्छ’ भनेका थिए। आजभन्दा १ सय ७३ वर्ष पहिले उनले भनेका यही कुरा आज व्यक्तिगत सरसफाइ निम्ति अपरिहार्य छ।

एग्नसले भियना अस्पतालको प्रसूति वार्डमा काम गर्दा सरसफाइका लागि हात धुनुपर्छ भनेर पत्ता लगाएका थिए। डा. एग्नस जीवित भइदिएका भए आज हात धुने अभियान विश्वव्यापी बनेको देखेर छक्क पर्थे होलान्। अझ कोरोना भाइरस महामारी समयमा डाक्टरहरूले नै हात धुन आह्वान गरिरहेको देख्दा उनको आश्चर्यको सीमा हुन्थेन होला।

किनभने, त्यो समय जब उनले हात धुन आह्वान गरेका थिए, डाक्टरहरू नै त्यसको धुवाँधार विरोध गर्थे। धेरैले त उनको सुझाव टेर्दा पनि टेरेनन्। जब सबैले अनुसरण गरे, त्यति बेलासम्म उनको निधन भइसकेको थियो।

डा. एग्नसको जन्म सन् १८१८ मा हंगेरीमा भएको हो। मेडिकल स्कुलबाट स्नातक गरेपछि उनले १८४६ मा भियना जनरल अस्पतालको प्रसूति क्लिनिकमा काम थाले।

यसै क्रममा प्रसूति क्लिनिकको एउटा वार्डमा मातृ मृत्युदर उल्लेखनीय रूपले बढ्यो। ब्रिटिस मेडिकल जर्नल ‘बिएमजे’ मा प्रकाशित उनको अनुसन्धानअनुसार त्यति बेला उक्त वार्डमा भर्ना भएका १३ देखि १८ प्रतिशत महिलाको प्रसूतिलगत्तै मृत्यु हुने गरेको थियो। उनीहरू बच्चा जन्माएपछि ज्वरोले थला पर्थे र अन्तिम सास फेर्थे। त्यही क्लिनिकको अर्को वार्डमा भने यस्तो मृत्युदर करिब २ प्रतिशत मात्र थियो।

डा. एग्नसले आफ्नो अनुसन्धान क्रममा दुवै वार्डको अवस्था तुलना गरे। मृत्युदर बढी भएको वार्डमा फिजिसियन र मेडिकल विद्यार्थीहरू कार्यरत थिए भने अर्को वार्डमा महिला स्वास्थ्यकर्मीले प्रसूति गराउँथे।

उनले यही आधारमा ती दुई वार्डमा कसरी प्रसूति गराइँदो रहेछ भनेर मिहिन विश्लेषण गरे। त्यहाँको भित्री वातावरण र सरसफाइदेखि काम गर्ने स्वास्थ्यकर्मीहरूको व्यक्तिगत सरसफाइसम्म हेरे।

यो अनुसन्धानबाट डा. एग्नस के नतिजामा पुगे भने, यी दुई वार्डमध्ये एउटामा मृत्युदर कम हुनुको एक मात्र कारण त्यहाँ काम गर्ने महिला स्वास्थ्यकर्मी हुन्।

आखिर ती महिला स्वास्थ्यकर्मीले त्यस्तो के गरेका थिए, जुन डाक्टरहरूले गर्न सकेका थिएनन्?

‘त्यहाँको सबै पक्षमा प्रश्न उठेको थियो, हामीले सबै विषयलाई शंकाको दृष्टि हेरेका थियौं,’ डा. एग्नसले सन् १८६१ मा प्रकाशित आफ्नो किताबमा लेखेका छन्, ‘हामीलाई आमाहरूको मृत्यु के कारणले भइरहेको छ भन्ने पत्ता लगाउनु थियो।’

यसैबीच त्यही क्लिनिकमा काम गर्ने एक जना डाक्टरको त्यस्तै उच्च ज्वरोले मृत्यु भयो। उनको मृत्यु शल्यक्रियामा प्रयोग हुने छुरीले काटिएर भएको थियो। त्यो छुरी एक मृत महिलाको शरीर चिर्न प्रयोग गरिएको थियो।

डा. एग्नसको निम्ति यो घटना आफ्नो अनुसन्धान निष्कर्षमा पुर्‍याउने कडी बन्यो।

त्यो समय चिकित्सकहरूले शल्यक्रिया गर्दा हातमा पञ्जा लगाउने चलन थिएन। उनीहरू मृत शरीरको चिरफार पनि खुला हातले नै गर्थे। त्यही हातले सुत्केरी गराउँथे। सुत्केरी गराउनुअघि हात धुने चलन पनि थिएन।

‘शव चिर्दा डाक्टरको हातमा ब्याक्टेरिया संक्रमण भएको हुन्थ्यो। उनीहरूको हात शवमा लतपतिएको हुन्थ्यो,’ युनिभर्सिटी अफ एरिजोना कलेज अफ मेडिसिनमा अध्यापन गर्ने जोर्न एच पेर्लोले भने, ‘त्यही हातले सुत्केरी गराएर उनीहरू आमाको शरीरमा रोग सारिरहेका थिए।’

त्यति बेलासम्म चिकित्सा विज्ञान ब्याक्टेरिया र भाइरस संक्रमणबारे बेखबर थियो। एग्नस भने आफ्नो निष्कर्षको नजिक थिए।

पञ्जा नलगाई शव चिर्ने डाक्टरको हात ब्याक्टेरिया संक्रमित हुन्छ र त्यही हातले सुत्केरी गराउँदा ब्याक्टेरिया आमामा सर्छ भन्ने उनले तर्क गरे। मृत्युदर कम भएको वार्डमा काम गर्ने महिला स्वास्थ्यकर्मी भने शव चिरफारमा संलग्न थिएनन्। त्यही भएर उनीहरूबाट ब्याक्टेरिया संक्रमणको सम्भावना कम थियो।

डा. एग्नसले प्रसूति वार्डमा काम गर्ने सबैलाई सुत्केरी गराउनुअघि ‘क्लोरिनेटेड लाइम’ ले राम्ररी हात धुन लगाए। शव चिरेर आएका डाक्टरको निम्ति त हात नधोई वार्डका महिलालाई छुन निषेध नै गरियो। डाक्टर र अन्य स्वास्थ्यकर्मीले यो नियम पालना गरेका छन् कि छैनन् भनी कडा निरीक्षण गर्न थालियो।

केही महिनामै सकारात्मक नतिजा आयो। डाक्टरले आफ्नो व्यक्तिगत सरसफाइको यति सानो नियम पालना गर्नेबित्तिकै फिजिसियन र मेडिकल विद्यार्थी काम गर्ने वार्डको मातृ मृत्यदुर १ देखि २ प्रतिशत झर्‍यो। यो महिला स्वास्थ्यकर्मी काम गर्ने वार्डको तथ्यांकसँग लगभग समान थियो।

त्यसो भए हात धुने सामान्य नियमले नै त्यतिका महिलाको ज्यान जोगाउन सम्भव भयो त?

एग्नसलाई आफूले पत्ता लगाएको उपायमा कुनै दुबिधा थिएन। अरू डाक्टरले भने उनको कुरा पत्याएनन्। घरिघरि हात धुनुपर्दा उनीहरू एक किसिमले एग्नससँग असन्तुष्ट नै थिए।

पर्डो विश्वविद्यालयका प्राध्यापक डाना तुलजियकीका अनुसार, त्यति बेलासम्म रोग संक्रमण गर्ने जीवाणु हातकै माध्यमबाट मान्छे–मान्छेमा सर्छ भन्ने अवधारणा विकास भइसकेको थिएन। मान्छे हात त धुन्थे, तर त्यो संक्रमणबाट मुक्त हुन होइन, दुर्गन्ध मेट्न मात्र थियो।

एग्नस भने हात नधोई शल्यक्रिया वा प्रसूति गराउने डाक्टरलाई नै मृत्युदर बढ्नुको मुख्य जिम्मेवार मान्थे। डाक्टरले बिरामी छुनुअघि र पछि राम्ररी हात धोएका भए धेरै आमाको ज्यान जोगाउन सकिन्थ्यो भन्ने उनको विश्वास थियो।

‘प्रसूति वार्डमा महिलाहरूको मृत्युका पछाडि डाक्टर नै जिम्मेवार छन् भन्ने एग्नसको भनाइले कोही पनि खुसी थिएनन्,’ तुलजियकीले भने, ‘उनको यो अवधारणा कसैले रुचाएनन्। डाक्टरहरूलाई यस्तो लाग्यो, मानौं उनीहरूको तुलना सामान्य महिला स्वास्थ्यकर्मीसँग गरिँदैछ। उनीहरू आफूलाई महिला स्वास्थ्यकर्मीको दाँजोमा जान्नेबुझ्ने ठान्थे।’

संक्रमणबाट बच्न नियमित हात धुनुपर्छ भन्ने एग्नस एक्ला थिएनन्। ‘त्यसअघि ओलिभर वेन्डेल होल्म्सले सन् १८४३ मा प्रकाशित एउटा कार्यपत्रमा यसबारे चर्चा गरेका थिए। एग्नसकै समयतिर बेलायतका जेम्स यङ सिम्पसनले पनि यसबारे अध्ययन गरेका थिए,’ तुलजियकीले भने।

एग्नसले आफ्नो तर्क प्रसूति वार्डमा प्रमाणित गरेर त देखाए, तर हात धोएर कसरी यो समस्या समाधान भयो भन्ने वर्णन गर्न सकेनन्।

उनी जर्मन भाषा राम्ररी बोल्दैनथे। त्यही भएर चिकित्सकहरूको सम्मेलनमा आफ्नो निष्कर्ष प्रचारप्रसार गर्न वा मेडिकल जर्नलमा लेखेर यसको कारण प्रस्ट्याउन सकेनन्।

एग्नसले प्रचारप्रसारको जिम्मा आफूसँगै काम गर्ने सहकर्मीलाई सुम्पे, जसले हात धुनुको फाइदा प्रत्यक्ष देखेका थिए।

त्यही अस्पतालका वरिष्ठ डाक्टरले भने उनको तर्क खारेज गर्दै व्यक्तिगत रूपमा हियाउन पनि छाडेनन्। खासगरी आमाको मृत्युको दोष आफ्नै अस्पतालका वरिष्ठ डाक्टरमाथि लगाउनुले सबै एग्नससँग आक्रोशित थिए।

उनले १४ वर्षपछि सन् १८६१ मा मात्र आफ्नो तर्क सविस्तार प्रकाशित गरे। त्यसमा पनि आलोचकबाट ‘वैज्ञानिक तर्कविहीन’ भनी टिप्पणी भयो।

यसले एग्नसलाई व्यक्तिगत रूपमा साह्रै ठूलो पीडा दियो। उनी मानसिक तनावको शिकार भए। सन् १८६५ मा मानसिक रोग लागेर उपचार केन्द्रमा भर्ना भए। त्यसको केही समयमा हातमा लागेको चोट संक्रमित भएर उनको निधन भयो। त्यति बेला उनी ४७ वर्षका थिए।

प्रत्यक्ष रूपले घाउ बल्झिएर निधन भए पनि उनको मृत्युको खास कारण वर्षौंदेखिको मानसिक तनावलाई मानिन्छ। हात धोएर बिरामीलाई संक्रमणबाट बचाउन सकिन्छ भन्ने जुन उपाय उनले पत्ता लगाएका थिए, त्यो कसैबाट स्वीकृत नभएपछि उनी मानसिक रूपले विचलित थिए। त्यही विचलनले भित्रभित्रै खाएर उनको ज्यान लिएको मान्नेहरू धेरै छन्।

डा. एग्नसको मृत्यु भएको १ सय ५५ वर्ष भइसक्यो। आज उनले सिकाएको हात धुने उपाय विश्वव्यापी छ। पछिल्लो समय कोरोना भाइरस संक्रमणबाट जुध्न सारा विश्वले एग्नसको बाटो अझ धेरै पछ्याइरहेको छ।

जीवनकालमा सबैबाट तिरस्कृत भए पनि आज एग्नस सबैतिर स्वीकृत छन्।

बुधबार, चैत्र १२, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...