पत्रिकाविरुद्धको कोरोना आक्रमण

62 Views

डा. कुन्दन अर्याल

संयुक्त राज्य अमेरिकाका सञ्चारविज्ञ प्राध्यापक फिलिप मेयरले एघार वर्षअघि गहिरो अध्ययनका आधारमा आँकलन गरेका थिए, सन् २०४४ को मार्च महिनासम्म पुग्दा अखबारका पाठक शून्यमा पुग्नेछन् । उनले आफ्नो चर्चित पुस्तक द भ्यानिसिङ न्यूजपेपरमा सन् १९६० देखिको अमेरिकी अखबारहरूको प्रसार सङ्ख्याको अध्ययनका आधारमा वैज्ञानिक ढङ्गले यस्तो निष्कर्ष प्रस्तुत गरेका थिए । तर कोभिड–१९ को विश्वव्यापी महामारीले अखबारहरूलाई झण्डै अढाई दशक अगावै एउटा कठिन मोडमा ल्याइपु¥याएको छ ।
अखबारबाट कोरोना भाइरसको सङ्क्रमण हुँदैन तर कोरोनाको आतङ्कबाट बच्दै अखबारहरूलाई घरघरमा पु¥याउने समस्या छ । अझ सारा विश्वको यावत् आर्थिक गतिविधि रोकिएको यो अवस्थामा आर्थिक सङ्कटले पनि कस्दै लगेको छ । राजकीय मामिलादेखि मानव समाजका हरेक व्यवहार अब कोरोना भाइरसबाट बच्ने उपायको खोजी र अवलम्बनमै सीमित हुन पुगेको छ । समाचारका सामग्री र विश्लेषणका विषयवस्तुको विविधतामै खडेरी लाग्न थालेको छ । मानव रुचिको दायरासमेत केवल कोरोनाजन्य विषयवस्तुमा खुम्चिन पुगेको छ । त्यसैले विश्वभरको पत्रकारिताले यतिखेर विगतका दुई महायुद्धको कालखण्डभन्दा पनि कठिन चुनौतीको सामना गर्नुपरेको देखिन्छ । त्यसबेलाभन्दा फरक के छ भने अहिले हामीसँग इन्टरनेटमा आधारित सूचना महामार्ग छ ।
यो महामार्ग कालान्तरमा छापा माध्यमका लागि चुनौती हुने भविष्यवाणी भएकै थियो । अहिले तत्कालका लागि भने यसैले पत्रकार वा पत्रकारिताका संस्थालाई अन्तर्वस्तु पस्किने प्रभावकारी, सहज र सुरक्षित माध्यम उपलब्ध गराएको छ । अनलाइन माध्यमबाट आममानिसका लागि सूचना वा विश्लेषण उपलब्ध गराउन सक्ने अवस्था नभएको भए पनि यतिखेर पत्रकारिता मरिहाल्ने त थिएन । तर सूचनाको यति द्रुत र व्यापक प्रसार सम्भव थिएन । आज हातहातमा अखबार पढ्ने, रेडियो सुन्ने र टेलिभिजन हेर्ने संसारभरका मानिस नयाँ–नयाँ मात्र होइन, तत्कालका सूचनाबाट समेत विमुख छैनन् । दक्ष र फुर्तिला पत्रकारहरूका लागि माध्यम फेरिँदै जान सक्छ, अन्तर्वस्तु माध्यमविहीन हुनै सक्दैन । साधनहरू नयाँ–नयाँ आउँछन्, सूचना र विश्लेषण एकैचोटी असङ्ख्य मानिससम्म पु¥याउने पत्रकारिताको धर्मको निर्वाह भइरहन्छ ।
मानव सञ्चारको विशिष्ट रूप पत्रकारिता हो । मानव सभ्यताका क्रममा इसापूर्व २० हजारदेखि १० हजार वर्षसम्म पहिले सङ्केत वा केही सीमित शब्द अनि भाषाको विकास भयो । इसापूर्व तीन हजार पाँच सय वर्षमा लिपिहरू विकसित भई समयसँगै परिमार्जित हुँदै गए । भोजपत्रमा अक्षरहरू लेखिन थालिएपछि अभिव्यक्तिको अझ प्रसार भयो । पहिले कागज र त्यसपछि पन्ध्रौँ शताब्दीको मध्यमा छापायन्त्रको विकास भएपछि मानव सभ्यताले ज्ञान र विमर्शको नयाँ युगमा पदार्पण ग¥यो । तर उन्नाइसौँ शताब्दीको मध्यसम्म पुग्न लाग्दा पनि सूचनालाई एक ठाउँबाट अर्को ठाउँसम्म पु¥याउनु कुनै सामानको ढुवानी गर्नु जस्तैजस्तै थियो । कतिपय ठाउँमा सानातिना चिठ्ठी ओसारपसार गर्न परेवाको प्रयोग गरिन्थ्यो तर भूगोल र समयको सीमा नाघ्दै सूचनाको प्रसार गर्न अमेरिकाका मोर्सले टेलिग्राफको आविष्कार गरेपछि मात्र सम्भव भयो । उन्नाइसौँ शताब्दीको त्यो आविष्कारले पश्चिमा जगत्मा आमसञ्चारलाई नयाँ उचाइमा पु¥यायो । समाचार संस्था र अखवारको विकासका लागि टेलिग्राफको योगदानलाई आजसम्म पनि महत्वका साथ स्मरण गरिन्छ । क्यानाडाली सञ्चारविज्ञ मक्लुहान टेलिग्राफ र टेलिफोनको विकाससँगै मानव सञ्चार इलेक्ट्रिक युगमा प्रवेश गरेका मान्दछन् । त्यसअघि सीमित अभिजात्य वर्गमा मात्र प्रसार हुने पत्रपत्रिकाको त्यही समयको हाराहारीदेखि नै व्यापक प्रसार हुन थाल्यो । यातायात, साक्षरता र राजनीतिक जागरणको विकासले पत्रकारितामार्फत हुने आमसञ्चारलाई समाजको अभिन्न र अन्योन्याश्रित अङ्गका रूपमा स्थापित ग¥यो । त्यसपछि बीसौँ शताब्दीको दोस्रो दशकसम्म पत्रकारिताको क्षेत्रमा छापामाध्यमको एकछत्र राज्य कायम रह्यो । समयक्रममा तत्कालीन अवस्थाका नयाँ मिडिया रेडियो र टेलिभिजनले सूचना–प्रसारको मुख्य मार्ग पत्रकारिताको क्षेत्रलाई अझ विस्तारित बनाउँदै लगे ।
आदिम मानिसका लागि सञ्चार व्यक्ति–व्यक्तिबीच वा एउटा सानो समूहमा एकै समय र एउटै भूगोलमा मात्र सीमित क्रियाकलाप थियो । लिपिको विकास भएपछि पनि सञ्चार त्यति व्यापक हुन सकेको थिएन । समयान्तरमा सञ्चारका विभिन्न माध्यमको विकास हुँदै गए । हरेक कालखण्डमा नयाँ माध्यमको विकाससँगै पुरानोमा केही परिमार्जन त भयो तर सबै किसिमका माध्यमहरू अघि बढ्दै गए । हरेक चरणले मानिसलाई अघिल्लोभन्दा अझ उन्नत अवस्थामा पु¥याउँदै लग्यो । आज हामी बहुमाध्यमको युगमा छौँ ।
आज मानव जातिकै लागि ठूलो चुनौतीका रूपमा उपस्थित कोरोनाका कारण संसारभरिका सहरहरूमा अखबार वा छापा माध्यमका बिक्री वितरण निकै घटेको छ । पत्रपत्रिकाका बिक्री हुने ठाउँहरू बन्द छन् । बेलायत र अमेरिकामा पनि कतिपय सहरी वा प्रदेशस्तरीय अखबारमा पत्रकारहरूले बिदा पाएका छन् र कैयौँ पत्रकारमाझ बेरोजगार हुनुपर्ने आशङ्का बढ्न थालेको छ । यातायातका साधनहरूमा निकै कटौती भएको छ र सुपर मार्केटहरूमा अखबार र म्यागेजिनहरूको आपूर्ति नगण्यप्रायः छ । विकसित देशका अखबारहरू खेलकुदका आयोजना र गतिविधि नभएपछि सामग्रीकै सङ्कटमा पुगेका छन् । पत्रपत्रिकाका ग्राहक स्वात्तै घटेका छन् ।
नेपालमा वि.सं. २०४६ पछि निजीक्षेत्रबाट सुरु भएको पहिलो ठूलो दैनिकले आफ्नो छापा संस्करण केही समयका लागि बन्द गरी डिजिटल संस्करणलाई निरन्तरता दिएको छ । साना अखबारहरू र काठमाडौँ बाहिरका अखबार बन्द भएका छन् । राजधानीको एक प्रतिष्ठित साप्ताहिक म्यागेजिनले पनि छापा संस्करणलाई कोरोनाकै कारण स्थगित गर्दै डिजिटल माध्यमबाट अन्तर्वस्तु पस्किन थालेको छ । संसारका कतिपय ठूला सहरहरूमा समेत पत्रपत्रिकाले विश्व स्वास्थ्य सङ्गठनलाई उद्धृत गर्दै न्यूजप्रिन्ट कागजले कोरोना फैलाउँदैन भन्ने कुराको जागरण समेत फैलाइरहेका छन् । तर वितरणको मात्र होइन, आर्थिक गतिविधि नै ठप्प भएका कारण ठूलो परिमाणमा विज्ञापनबाट हुने आर्जन पनि रोकिएको छ । यो समस्या द गार्जियन र न्यूयोर्क टाइम्सदेखि हाम्रो देशलगायत संसारभरका देशहरूको साझा समस्या हुन पुगेको छ ।
छापा माध्यमहरू बताइरहेका छन्– वैज्ञानिक तथा स्वास्थ्यसम्बन्धी विज्ञहरूले निक्र्योल गरिसकेका छन्् कि कुनै पनि अखबारका कागज, मसी वा छपाइ प्रक्रियाका कारण कोभिड–१९ को सङ्क्रमण हुँदैन । त्यसैले बरु सबै किसिमका आमसञ्चार माध्यमको प्रयोग गर्दै हरेक नागरिकले महामारीबाट बच्ने उपायका बारेमा जानकार रहनु उपयुक्त हुन्छ । विश्व स्वास्थ्य सङ्गठनकै अनुसार कुनै सङ्क्रमित व्यक्तिले छोएको अखबारलगायत कुनै पनि वस्तुबाट भाइरसको सङ्क्रमण हुने सम्भावना अत्यन्तै न्यून हुन्छ । किनकि यताबाट उता गर्ने क्रममा ती वस्तु फरक–फरक अवस्था र तापक्रममा पुग्दछन् । तर अहिलेको त्रासको परिवेशमा कागजमा छापिने अखबारहरूसँग पनि विश्वभरका मानिस केही न केही डराएकै छन् । अर्को कुरा, अखबार ओसारपसारमा पनि समस्या छ । त्यसैले मानिस इन्टरनेटको माध्यमले हातहातमा पुग्ने डिजिटल माध्यमका अन्तर्वस्तुमा आकर्षित भइरहेका छन् ।
शताब्दीऔँ पूर्व विकसित भाषाका परिमार्जित रूपहरूबाट हामी सञ्चार गरिरहेकै छौँ । कैयौँ शताब्दीदेखि अक्षरहरू लेखिँदै आएका छन् । कहिले भोजपत्र, कहिले कपडा र कहिले कागज हुँदै हामी स्क्रिनमा लेखिएका अक्षर पढ्दैछौँ । दूरसञ्चार र डिजिटल प्रविधिको सम्मिश्रणले हामीलाई आमसञ्चार सम्मिलनको यस्तो युगमा पु¥याइदिएको छ, जहाँ छापा, रेडियो र टेलिभिजन सबै अनलाइन हुँदै गएका छन् । सम्मिलनको यस्तो प्रवृत्तिले मानिसलाई सन्तुष्ट पारिरहेको छ । जुन माध्यमबाट तुलनात्मक रूपमा सस्तो र सुलभ ढङ्गले अन्तर्वस्तुसम्मको पहुँच स्थापित हुन्छ, त्यही माध्यमको बढी चलनचल्ती हुने गर्दछ । आमसञ्चार माध्यमको प्रयोग र सन्तुष्टिसम्बन्धी सिद्धान्तको मूल चुरो नै यही हो ।
नयाँ सहस्राब्दीको सुरुवात हुँदा नहुँदै विश्वभर उपलब्ध इन्टरनेटले समयक्रममा छापा माध्यमलाई विस्थापित गर्दै लैजानेछ भन्ने चर्चा परिचर्चा भइरहेकै थियो तर यति चाँडै अकल्पनीय अवस्था आइपुगेको छ । कतिसम्म भने, अमेरिकाको ओरेगन राज्यमा
द न्यूज रिभ्यू नामको एउटा अखबारको माथिपट्टि नै यस्तो व्यहोराको सम्पादकीय नोट छाप्न थालिएको छ ः कोभिड–१९ महामारीका समयमा पनि अखबार पढ्नु सुरक्षित छ । आशा गरौँ, यो चुनौतीलाई परास्त गर्दै हामीले फेरि सहज परिवेशमा चियाको सर्कोसँगै बिहानीको घाममा दुई हातमा फिँजाएर मजाले अखबार पढ्ने दिन अवश्य आउनेछ ।
(लेखक पत्रकारिता प्राध्यापन गर्नुहुन्छ ।)

गोरखापत्रअनलाइनबाट साभार

शनिबार, चैत्र २२, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...