ह्यारी र मेगनले चारवटा ठुला अखबारलाई कालोसूचीमा राखेको घोषणा

एजेन्सी । केही महिनाअघि दरबार त्यागेर स्वतन्त्र जीवन बिताइरहेका बेलायतका तत्कालीन राजकुमार ह्यारी र उनकी पत्नी मेगन मर्केलले त्यहाँका चारवटा ठुला अखबारलाई कालोसूचीमा राखेको घोषणा गरेका छन् । गलत र आपत्तिजनक समाचार प्रकाशित गरेको आरोप लगाउँदै उनीहरुले बेलायतका ठुला अखबारहरु द सन, डेली मेल, मिरर र एक्सप्रेसलाई कालो सूचीमा राखेका हुन् । उनीहरुले ती अखबारहरुलाई पत्र समेत लेखेका छन् । यो जोडी केही महिना अघिमात्र ब्रिटिश शाही परिवारबाट छुट्टिएको थियो ।

फाइनेन्सियल टाइम्सका रिपोर्टर मार्क डि स्टेफानोले ट्विटरमा उनीहरुको पत्र पोष्ट गरेका छन् । उनले ट्वीटरमा ह्यारी दम्पतिले मिडिया सेन्सरसिप लगाउनुभन्दा पनि व्यक्तिगत स्वतन्त्रतासँग जोडिएर यो कदम चालेको संकेत गरेका छन् । उनले लेखेका छन्, ‘उनीहरुको यो कदम आलोचनाबाट बच्न होइन र मिडियामाथि सेन्सरसिप लगाउन पनि होइन ।’ ह्यारी दम्पतिलाई मिडियामा आएको गलत सूचनाका कारण निकै चोट पुगेको जनाइएको छ ।

त्यसैले उनीहरुले आफ्नै ढंगको प्रेसलाई हेर्ने नयाँ नीति अप्नाएका हुन् । त्यसकारण उनीहरुले यी चार अखबारलाई हटाएका हुन् । यी चार अखबारका सम्पादकहरुलाई लेखिएको पत्रमा उनीहरुले आफुहरुले अख्तियार गरेको यस प्रेस नीति अरु मिडियाहरुका लागि लागू नहुने पनि जनाएका छन् । उनीहरुले विश्वभरका पत्रकारहरुसँग भने मिलेर काम गर्ने जानकारी दिएका छन् । ह्यारी र मेगन जनवरीबाट ब्रिटिश शाही परिवारबाट अलग हुने घोषणा गरेका थिए । उनीहरुले त्यसबेला आर्थिक रुपमा पनि स्वतन्त्र भएको घोषणा गरेका थिए ।

उनीहरु शाही परिवारबाट छुट्टिने प्रक्रियालाई त्यहाँ पलायनको संज्ञा समेत दिइएको थियो । त्यसबेला मेगनमाथि शाहरी जीवनबाट निकै दुःखी भएका भन्ने आरोपसहितका थुप्रै समाचारहरु बाहिर आएका थिए । यी खबरहरुप्रति ह्यारी दम्पतिले आपत्ति जनाउँदै आएका थिए । पछिल्ला दिन ह्यारी र मेगन अमेरिकाको क्यालिफोर्नियामा सामान्य जीवन बिताइरहेका छन् । उनीहरुको क्यालिफोर्नियाको मालिबुस्थित समुद्री तटमा बस्ने गरेको सञ्चारमाध्यामहरुले जनाएका छन् ।–दैनिक भाष्कर

बिहिबार, बैशाख ११, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...