लकडाउनको चर्चित नाटकमा ओलीको मनोरञ्जक प्रस्तुति

59 Views

जतिबेला नेपाली नागरिकले राजनीतिका दाउपेच बुझेका थिएनन्, यो देश त्यसबेला शेरबहादुरले चलाए । उनले बोलेको त बुझिएन तर सांसद खरीद बिक्री भएको र पजेरो भित्रिएको थाहा पाउन उनको बोली बुझ्ने आवश्यकतै परेन ।

राजनीतिका जोडघटाउ बुझेर त्यसको तलतल लाग्न थालेपछि प्रचण्ड र शुशील कोइरालाले राजनीतिमा रमाइला रंग भरे । एकजनाले प्रधान सेनापति हटाउन खोजेर उत्तानो टांग लाए, अर्काले मुखमा आएको राष्ट्रपति पद नखाएर प्रधानमन्त्रीमा हार खाए ।

त्यसपछि आयो पालो ओलीको, जो पहिलेदेखि नै निख्खुर कालो बोका जस्तो बोलीले चर्चित थिए । ओली आएपछि नेपाली नागरिकले राजनीतिका दाउ चाहिनेभन्दा बढ्दा बुझ्न थाले । तर बढ्ता बुझ्न थालेपछि नेपालीले ओलीका कुरा बुझ्न छाडेर ओलीका बोलीको उल्टो अर्थ लाउन थाले ।

ओलीलाई उडाउने काममा ब्यस्त समय खर्च गरे । उखानटुक्का भन्ने ओलीमाथि अहिले नेपाली नागरिक उखान टुक्काको वर्षा गराइरहेका छन् – मच्चियो मच्चियो, थच्चियो । आफू ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो । आफ्नो आङको भैंसी नदेख्ने, अरुका आङको जुम्रो, उत्ताउलो गाई बाघले खाई, आची गर्यो, दैलो देख्यो ।

तर न मच्चिएर थच्चिएको हो, न बञ्चरो घुँडामा लागेको हो, न दैलोमै आची गरेको हो । यो त ओलीले रमाइलो पो गरेको हो । लकडाउनको सदुपयोग र नागरिकलाई राहत । कसरी भन्नुहोला, लौ सुन्नुहोस्, यसरी ।

महिना दिनअघि पनि घरमै, १५ दिनअघि पनि घरमै, हप्ता दिनअघि पनि घरमै, अस्ति पनि घरमै, हिजो पनि घरमै, आज पनि घरमै, भोलि पनि घरमै, पर्सि पनि घरमै । अझै कति दिन यसरी घरमै बस्नुपर्ने हो ठेगान छैन । पहिले बस्न र सुत्न नपाउँदा मान्छे थाकेर लखतरान हुन्थे । अहिले बस्दाबस्दा बसेरै मान्छे थाकेका छन् । सुत्दासुत्दा यति सुते कि सुतेर पनि मान्छे थाकिसके । हुने नहुने, उल्टो सुल्टो हर्कत गरेर भ्याइसके । अब के गर्ने ? गर्ने कुरो नपाएर अब पागल हुन मात्रै बाँकी छ ।

महिना दिन अघि लकडाउन शुरु भएकै ३ दिनमा कुनै एक ज्योतिषिले भनेको थियो “लकडाउन सकिएपछि सैलुन, ब्युटीपार्लर र बसपार्कमा भन्दा बढ्ता भिड मेरीस्टोप क्लिनिकमा हुनेछ ।” भविष्यवाणी सही सावित होला जस्तो छ । चल्ताफिर्ता मान्छेले बोलेको हो, पूरा नहोला भन्न सकिन्न ।

भाषणको बेला भन्न नपाएको उखानटुक्का र रमाइलो कहाँ कसरी सुनाउने त ? प्रधानमन्त्रीलाई नयाँ आइडिया फुर्यो, कोरोनाबाट तर्सिएका नागरिकको दिमाग अन्यत्रै मोड्ने र रमाइलो गर्ने ।

तर लकडाउन सुरु भएलगत्तै झुलका प्वाल, मकैका गेडा, आकाशका तारा, गीतका तुक्का गन्न थालेका मान्छेहरुले यतिका दिन कटाइसक्दा दिमागमा नहुने कुरा के के भरिसके पत्तो छैन । हुनेभन्दा नहुने कुरा धेरै भएपछि दिमागको पेचकिलामा खिया लाग्छ र हल्लिन्छ । दिमागभित्रको पेच खुस्किएपछि ठिक पार्न मानसिक अस्पताल पुग्नुपर्छ । तर त्योभन्दा पहिल्यै ठिक पार्न सकियो भने मानसिक अस्पतालमा लाग्ने भिड रोक्न सकिन्छ ।

मेरीस्टोपतिर लाग्ने भिड रोक्न नसके पनि मानसिक अस्पतालको भिड रोक्न सकिन्छ भन्ने बुद्धि हाम्रा प्रधानमन्त्रीलाई गत साताको शुरुकै दिन पलायो । न आफ्नो काम छ, न नागरिकको ।

पहिले पो सभा समारोह हुन्थ्यो, उद्घाटनमा बोलाउँथे, उखान टुक्का हालेर हँसाउन मिल्थ्यो । अहिले न त्यस्ता कार्यक्रम हुन्छन्, न भाषण गर्न र हँसाउन पाईन्छ । बोल्न मन लागेर पत्रकार बोलायो भने आफूले हानेका छेस्का मात्रै राखेर हेडलाईन बनाउँछन् ।

भाषणको बेला भन्न नपाएको उखानटुक्का र रमाइलो कहाँ कसरी सुनाउने त ? प्रधानमन्त्रीलाई नयाँ आइडिया फुर्यो, कोरोनाबाट तर्सिएका नागरिकको दिमाग अन्यत्रै मोड्ने र रमाइलो गर्ने ।

एक साँझ अचानक अध्यादेश नामक नाटक बालुवाटारमा मञ्चित हुन थाल्यो । भकाभक फोन बजे, तत्काल नाटकको मञ्च बालुवाटारबाट खुमलटार स¥यो । खुमलटारमा नाटक मञ्चन हुँदाहुँदै जनकपुरमा रहेका एक पात्र लिन तीन पात्र काठमाडौबाट हुईकिए ।

दिमागको कोरोना भूत पनि भगाउने र हल्का रमाइलो पनि हुने उपाय फेला पर्यो, दलबदल अध्यादेश । बासुरी बजाएको महिनौपछि पहिलोपल्ट प्रधानमन्त्रीको मन अध्यादेशास्त्र सम्झेर पुलकित भयो । मनमनमा भन्नु भो “यो त ब्रम्हास्त्र नै हो” । लकडाउनले गर्दा देशभरिका फिल्म हल र नाटक घर बन्द भएका बेला देशमा सबै नाटक र चलचित्रलाई माथ गर्ने गरी उहाँले एकाएक अध्यादेश नाटक मञ्चन शुरु गर्नु भो ।

हगनको बेला लगन जुर्यो । रातारात अध्यादेश बन्यो, रातारात पास भयो । रातारात दौडधूप भयो, रातारात राष्ट्रपतिको लालमोहर लाग्यो । लकडाउनको बेला अघिपछि प्रहरी राखेर खाली सडकमा सररर हुईंकिंदै आएर होटलमा बस्नेले आफू राजीखुशीले आएको भने । आयो रे भन्ने सुन्नेहरुले अपहरण भयो भने । न फुटाउन खोज्नेले फुटेको देखे, न फुटाउन खोज्ने नै फुट्छ भन्नेले आफ्नो रहर पूरा गरे । न उसको दाउ मिल्यो, न उसको भाउ मिल्यो । यो त दाउ र भाउको कुरै थिएन, विशुद्ध मनोरञ्जन थियो ।

एक साँझ अचानक अध्यादेश नामक नाटक बालुवाटारमा मञ्चित हुन थाल्यो । भकाभक फोन बजे, तत्काल नाटकको मञ्च बालुवाटारबाट खुमलटार स¥यो । खुमलटारमा नाटक मञ्चन हुँदाहुँदै जनकपुरमा रहेका एक पात्र लिन तीन पात्र काठमाडौबाट हुईकिए ।

मञ्च फेरिदै गए, पात्र थपिदै गए, दर्शकको त झन् ओईरै लाग्न थाल्यो । नाटकको मञ्च घरि भैसेपाटी, घरि मरियट होटल र घरि निर्वाचन आयोग हुँदै फेरि बालुवाटारमै पुगेर टक्क अन्तिम मञ्च तयार भयो । अचानक शुरु भएको अध्यादेश नामक नाटकले पटाक्षेप गर्ने एउटा समय चक्र पूरा ग¥यो । अन्तत यो नाटकको मञ्चन जहाँ शुरु भएको थियो, पर्दा झार्ने बेला त्यही अन्तिम दृश्यको तयारी भयो ।

आफुले शुरु गरेको अध्यादेश नामक नाटकको पर्दा पनि प्रधानमन्त्रीले नै गिराउने विचार गरे । दुई दिनमा यो नाटक हेरेर, गुनेर र सुनेर नागरिकले अभूतपर्व मनोरञ्जन लिन पाए । बल्ल थाहा भयो अध्यादेश त महिना दिनदेखि बहकिएको नागरिकको मन भुलाउने राहत थियो । राहत भनेको धेरै दिनलाई पुग्दैन । त्यसैले दुई दिनमै सकियो, अध्यादेश फिर्ता भयो ।

जे होस् दुई दिनलाई भए पनि नागरिकको दिमागबाट कोरोनाको भूत हरायो । अध्यादेश बनाउने, स्वीकृत गर्ने, अध्यादेशको बहानामा हतारहतार पार्टी एकता गर्ने, अनि यस्तो रमिता हेर्ने सबैलाई रमाइलो भयो । लकडाउन खुलेपछि मानसिक अस्पतालमा घुईंचो बढ्ने सम्भावना टर्यो ।

प्रधानमन्त्रीको लकडाउन प्रहसन देश र नागरिकको हितमै हो । रमाइलोकै लागि भए पनि योपटकको लकडाउनमा एउटा खड्को टर्यो । लकडाउन लम्बिंदै जाँदा यस्ता रमाइला प्रहसन र नाटकहरु बेला बेला देख्न पाईने नै छ, किनकि प्रधानमन्त्री ओलीलाई आफ्ना नागरिकको मानसिक स्वास्थ बिग्रेला भन्ने चिन्ता लागेको लाग्यै छ ।

उज्यालो अनलाइनबाट

शनिबार, बैशाख १३, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...