क्रान्तिको रेखा

89 Views

-शेखर बिकल्प

कुनैदिन
कसैले सोधेथ्यो मलाई –
तँ, कलम रोज्छस् या तरवार ?

केहि बोलिन म त्यो दिन,
हेरेँ आफै संग भएको सिसाकलम
छामे सिसाकलमको टुप्पोलाई !

मलाई थाहा थियो
उड्छ सिसाकलमको रङ
मेटिन्छन अक्षरहरू
सोँचे – आफैमा भएको गुमाएर
के समाउनु अरू ?!

त्यसपछी विस्तारै लेखेँ सिसाकलमले
मान्छेका दुखाईहरू
समाजका पीडाहरू
कोतरेँ केहि मनका आशा र खुशीहरू
कोरेँ देशको सीमाना
र चन्द्र सूर्य ध्वजाको कोण

सोँचे – सरकारले देख्छ
गाउँका दुःखहरू
हेर्छ अध्यारा वस्तीहरू
पहाडको अप्ठ्यारो
तराइको तातो
बुझ्छ हिमालको चिसो !

बुझेन सरकारले ,
सोँचे – सरकारले नदेख्दै
उड्यो सिसाकलमले लेखेका अक्षरको रङ

संझिएँ – कसैले सोधेथ्यो मलाई
तँ, कलम रोज्छस् या तरवार ?
मैले जवाफ नदिए पनि सोँचे –
अब कलम रोज्छु ।

फेरि लेखेँ उसैगरी –
मान्छेका भोगाईहरू
सहर र गाउँ बिचको फरक
सरकारको र जनताको अवस्था

अँह, यसपाली पनि देखेन सरकारले
मसिले लेखेका अक्षरहरू
सुनेन झुपडीका आवाजहरू ।

सरकार – आज सिंहदारवारमा छ
बसेको छ सिंह जसरी !

तर हिजोँ यहि बाटो हिँडेको थियो
उसले टेकेका पाइलाका छापहरू
उस्तै छन् बालुवा र धुलोमा,
यहि छन् उस्ले काटेका भञ्ज्याङ्हरू
जिवीतै छन दुध पिएका चौँरीहरू,
उस्तै छन् अनाज फल्ने खेत र बारीहरू
उस्तै छन् जीवन रक्षामा लुकेका झुप्राहरू
बज्छन् उसैगरी
तराईमा कुदेका साइकलमा घण्टी !

जब उ छिरेर सिंह दरवारमा बस्यो
बिस्तारै, आँखा नदेख्ने भयो
कान नसुन्ने भयो
मात्रै आफूलाई चिन्ने भयो
जम्मा आफूलाई देख्ने भयो !

फेरि अर्को चोटी संझिएँ मैले,
कसैले सोधेथ्यो मलाई –
तँ, कलम रोज्छस या तरवार ?

मलाई चिच्याएर
जवाफ दिन मन लाग्यो यसपाली,
मलाई तरवारले मात्रै पुग्दैन
रोज्ने मन छ बन्दुक र बमहरू
सरकारले सुन्दैन
बन्दुकका गोलीले छेड्नु छ उसको कान
सरकारले देख्दैन
पड्काएर बम
कम्पन दिनु छ उसको शरिरमा
सरकार एक्लै निदाइरहेछ,
बिरामी भएर या चैनले ?
ब्यूझाउनु छ उसलाई ।

बरू,
आफ्नै करङ चोबेर रगतमा
कोर्नुछ सिंहदरबारका भित्तामा –
क्रान्तिको रेखा,
देखाउनु छ जनता र सरकार बिचको फरक ।

शनिबार, बैशाख २०, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...