कोरोना भाइरसबाट बचाउन सक्ने ६ खोपहरु

50 Views

कोरोना भाइरस (कोभिड–१९) को महामारी रोक्न विश्वभरका वैज्ञानिक यसविरुद्धको खोप निर्माणका लागि कडा मेहनत गरिरहेका छन् । विशेषज्ञहरुका अनुसार अहिले जुन गतिमा अनुसन्धान भइरहेको छ, त्यो असाधारण छ ।

कहिलेकाहीँ कुनै खोप निर्माण गर्दा दशकौं पनि लाग्ने गर्छ । उदाहरणको लागि इबोला खोपलाई उदाहरणको रुपमा लिन सकिन्छ । इबोलाको खोपले हालै मात्र प्रयोगको लागि अनुमति पाएको छ ।

यो खोप विकासको लागि १६ वर्ष लागेको थियो । खोप विकासको क्रममा धेरै चरण पार गर्नु सामान्य प्रक्रिया हो । पहिलो चरण प्रयोगशालामा हुन्छ । त्यसपछि यसको प्रयोग जनावरहरुमा गरिन्छ । यसको प्रयोग सुरक्षित छ भन्ने पुष्टि भएपछि मात्र मानिसमा सुरु गरिन्छ ।

खोप निर्माणका आशा

मानिसमा पनि परीक्षणको तीन चरण हुन्छ । पहिलो चरणमा भाग लिने मानिसको संख्या निकै कम हुन्छ र उनीहरु स्वस्थ हुन्छन् । दोस्रो चरणको परीक्षणमा भाग लिने मानिसको संख्या धेरै हुन्छ र कन्ट्रोल ग्रुप हुन्छन्, ताकि यो भाइरस कति सुरक्षित छ भन्ने जाँच गर्न सकियोस् । कन्ट्रोल ग्रुपको मतलब यस्तो समुह हो, जसलाई परीक्षणमा भाग लिने बाँकी मानिसभन्दा छुट्टै राखिन्छ ।

प्रयोगको तेस्रो चरणमा खोप कत्तिको प्रभावकारी हुन्छ भन्ने कुरा पत्ता लगाइन्छ । अहिलेसम्मको खुसीको कुरा कोभिड–१९ को खोप निर्माणको काम गरिरहेको ९० प्रतिशत अनुसन्धान टोलीले तीन महिनाभित्रै मानिसमा परीक्षण शुरु गरिसकेका छन् । यसलाई खोप निर्माणमा निकै महत्वपूर्ण सफलता मानिएको छ ।

कोभिड–१९ विरुद्ध निर्माण चलिरहेका खोप यस्ता छन् :

१. एमआरएनए–१२७३ खोप

मोडेर्ना थेराप्युटिक्स एक अमेरिकी बायोटेक्नोलोजी कम्पनी हो । यसले कोभिड–१९ को खोपको लागि नयाँ अनुसन्धान गरिरहेको छ । कम्पनीको उद्देश्य शरीरको प्रतिरोधी क्षमतालाई कोरोना भाइरसविरुद्ध लड्न सक्रिय बनाउने खोप विकास गर्नु हो ।

यस किसिमको खोप निर्माणको लागि परम्परागत तरिकामा जीवित तर कमजोर तथा निष्क्रिय विषाणुहरुको प्रयोग गरिन्छ । एमआरआरएनए–१२७३ मा भने कोभिड–१९ लगाउने विषाणु प्रयोग गरिएको छैन । यसको परीक्षणलाई अहिले अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थले सहयोग गरिरहेको छ ।

वैज्ञानिकहरुले प्रयोगशालामा कोरोना भाइरसको जेनेटिक कोड तयार गरेका छन् । त्यसको सानो भाग मानिसको शरीरभित्र पठाउनु जरुरी हुन्छ । यसो गर्दा मानिसको रोग प्रतिरोधक क्षमताले संक्रमणविरुद्ध लड्नका लागि प्रतिक्रिया दिनेछ ।

२. आईएनओ–४८०० खोप

अमेरिकी बायोटेक्नोलोजी कम्पनी इनोवियो फर्मास्युटिकल्स पनि रिसर्चको नयाँ रणनीतिमा काम गरिरहेको छ । कम्पनीले विकास गर्न लागेको खोपमा बिरामीको कोषिकामा प्लाज्मिड (एक किसिमको आनुवंशिक संरचना) को माध्यमबाट सोझै डीएनए इन्जेक्ट गरिन्छ । यसबाट बिरामीको शरीरमा संक्रमणबाट लड्न एन्टिबडीको निर्माण शुरु हुने अपेक्षा छ ।

इनोवियो र मोडर्नाको प्रयोग अहिलेसम्मकै नयाँ हो । यी खोपमध्ये एउटा आनुवंशिक संरचना परिवर्तन र अर्को त्यसमा सुधार गर्ने उद्देश्यका साथमा निर्माण गरिएको छ ।

जर्मनीका डाक्टर फेलपे टापिया अहिलेसम्म यी दुवै प्रविधिको माध्यमबाट कुनै खोप नबनेको बताउँछन् । यस्तोमा खोपको नयाँ आशा पलाएको भए पनि यसको प्रयोगमा भने विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । अहिलेसम्म मोडर्नालाई आरएनएमा आधारित खोप निर्माणको अनुमति पनि छैन । त्यसैले कम्पनीले नै उत्पादन र मार्केटिङमा जानु सबैभन्दा ठूलो चुनौती रहेको बताइसकेको छ ।

चीनमा पनि अहिले तीन खोप निर्माणको लागि मानिसमा परीक्षण चलिरहेको छ । चीनमा निर्माण भइरहेका खोपमा भने पारम्परिक तरिकाको प्रयोग भइरहेको छ ।

३. एडी ५–एनसीओभी खोप

१६ मार्चमा मोडर्ना थेराप्युटिक्सले मानिसमा आफ्नो खोपको परीक्षण शुरु गर्दा चिनियाँ बायोटेक कम्पनी केन्सिनो बायोलोजिक्सले पनि आफ्नो परीक्षण शुरु गरेको थियो । यो प्रोजेक्टमा केन्सिनो बायोलोजिक्सको साथ इन्स्टिच्युट अफ बायोटेक्नोलोजी र चाइनिज एकेडेमी अफ मिलिट्री मेडिकल साइन्सेजले पनि काम गरिरहेको छ ।

एडी ५–एनसीओभी खोपमा एडोनोभाइरसको कुनै विशेष भर्जन प्रयोग गर्नुको सट्टा भेक्टर प्रयोग गरिन्छ । एडोनोभाइरस आँखा, श्वासनली, फोक्सो, आन्द्रा र नसामा संक्रमण गराउने कारक हो । यसको समान्य असर ज्वरो आउने, चिसो लाग्ने, पखाला लाग्ने, घाँटी दुख्नेजस्ता समस्या देखिन्छन् ।

भेक्टरको अर्थ भाइरस वा एजेन्ट हो । यसको प्रयोग कुनै पनि कोशिकामा डीएनए पुर्‍याउनका लागि गरिन्छ । वैज्ञानिकका अनुसार उक्त भेक्टरले शरीरमा उक्त प्रोटिनलाई सक्रिय गर्नेछ, जुन संक्रमणबाट लड्न रोग प्रतिरोधक क्षमताको लागि सहयोगी हुन सक्छ ।

४. एलभी–एसएमईएनपी–डीसी खोप

चीनको सेन्जेन जीनोइम्यून मेडिकल इन्स्टिच्युटमा एक एलभी–एसएमइएनपी–डीसीको पनि परीक्षणको काम भइरहेको छ । यसमा एचआईभीजस्ता रोगको कारक मानिएको लेन्टीभाइरसबाट तयार गरिएको त्यस्ता सहायक कोषिकाको प्रयोग गरिन्छ, जसले प्रतिरोधी क्षमतालाई सक्रिय गर्छन् ।

५. वुहानमा निर्माण भइरहेको छ अर्को खोप

चीनको वुहानमा निर्माण भइरहेको तेस्रो खोपमा निष्क्रिय भाइरसको प्रयोग गर्ने प्रस्ताव गरिएको छ । यसबारे वुहान बायोलोजिकल प्रोडक्ट्स इन्स्टिच्युटमा काम भइरहेको छ । यो खोपका लागि निष्क्रिय भाइरसमा केही यस्तो फेरबदल गरिनेछ, जसको कारण भाइरसले मानिसलाई यो बिरामी गराउने क्षमता गुमाउनेछ ।

डाक्टर फेलिपे टापियाका अनुसार खोप बनाउने यो सामान्य तरिका रहेको र धेरैजसो खोप यसै प्रक्रियाबाट तयार गरिन्छ । यो खोप अनुमोदनको लागि धेरै समस्या आउँदैन । त्यसैले १२ देखि १६ महिनाको बीचमा कुनै खोप आउने खोप यसै प्रविधिबाट निर्माण गरिएको हुन सक्ने उनको भनाइ छ ।

६. चाडोक्स १ खोप

बेलायतको अक्सफोर्ड युनिभर्सिटीको जेनर इन्स्टिच्युटमा चाडोक्स १ खोप निर्माणको काम भइरहेको छ । २३ अप्रिलमा युरोपमा यो खोपको पहिलो मेडिकल परीक्षण शुरु भएको थियो । जेनर इन्स्टिच्युटका वैज्ञानिक पनि चिनियाँ कम्पनी केन्सिनो बायोलोजिक्सले रिसर्च गरिरहेको प्रविधिमा काम गरिरहेको छ ।

तर, अक्सफोर्डको टोलीले चिम्पान्जीबाट लिइएको एडेनोभाइरसको कमजोर भर्सनको प्रयोग गरिरहेको छ । मानिसमा यो आफैं विकसित नहोस् भन्नका लागि यसमा केही परिवर्तन गरिएको छ । वैज्ञानिकहरुले यसअघि पनि यस किसिमको प्रविधिको प्रयोग गरिसकेका छन् । यो प्रविधिको सहयोगमा यसअघि मार्स कोरोना भाइरसको खोप पनि विकास गरिएको थियो ।

स्रोत : बीबीसी

बिहिबार, बैशाख २५, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...