लकडाउन अनुभूति : भुइँ छुन नपाएका ४५ दिन

96 Views

मायामितु

देश छाडेपछि देशको माया लाग्छ । आफन्त बिछोड हुँदा आफन्तको यादले सताउँछ । माटो पनि त्यस्तै रहेछ, माथि उक्लेपछि भुईँको याद आउने रहेछ ।

चैत १० गते । म आफ्नै वासस्थानमा कोरोना भाइरससम्बन्धी खबर ध्यान दिएर सुनिरहेको थिएँ । सन् २०१९ को डिसेम्बरको अन्त्यतिरदेखि यो भाइरसका बारेमा सुने पनि यससम्बन्धी सत्यभन्दा बढि हल्लाहरु सुनिरहेको थिएँ । आजको युग सञ्चारको युग भए पनि सत्य हामीबाट धेरै टाढा छ । रेडियोकर्मी भए पनि धेरै खबरहरु मध्ये सत्य खबर छुट्याउन हाम्रा लागि पनि गाह्रो छ ।

यहि मेसोमा सरकारले ११ गतेदेखि लागू हुने गरि लकडाउनको घोषणा गर्यो । लकडाउन हामी सबैका लागि नौलो शब्द थियो । मैले आफूले काम गर्ने रेडियो भिजनमा फोन गरेर यसको गाम्भीर्य बुझ्ने प्रयास गरेँ । रेडियोबाट फर्कँदा समस्या पर्ला कि भन्ने मेरो चिन्ता थियो । रेडियोबाट सहकर्मी दीपा पोखरेलले भन्नुभयो, ‘त्यस्तो समस्या नहोला । आउनु न । समस्या नै भए रेडियोमै बसौँला । काम गरौँला ।’

खासमा यो संवाद साच्चै यथार्थमा परिणत होला भन्ने उहाँले सोच्नु भएको थिएन । न त यसको गाम्भीर्य मैले नै महसुस गरेँ । चैत ११ गते विहान ४ बजे नै उठेर रेडियो जाँदा म खासै तयारी अवस्थामा थिईँन । आफनो नियमित काम सकिएपछि दिनभरी रेडियोमै बसे । अपरान्हतिर सहकर्मी साथीले मेरो वासस्थान सम्म छोडिदिनुभयो । त्यो बेलासम्म कोरोना भाइरस र यसबाट सर्ने रोगका बारेमा म गम्भीर थिईंन । यसरी हिँड्नु जोखिम हुन्छ भन्ने महसुस भएपछि मैले घरी घरी घर आउने र रेडयिो जाने कुरामा असुरक्षा देखेँ । बेलामा सचेत भइएन भने समस्या हुनसक्छ भन्ने लाग्यो ।

भोलीपल्ट बिहान एउटा सानो ब्यागमा केही कपडा र आवश्यक सामाग्री, दाँत माझ्ने ब्रस लगायतका सामान राखेर म ४ बजे मर्निङ वाक गर्दैगर्दै रेडियो आए । त्यसपछि अहिलेसम्म रेडियोमै क्वारेन्टीनमा बसेर काम गरिरहेकी छु । रेडियोमै भएपछि कामको समयतालिका पनि केही परिवर्तन भएको छ । समाचार कक्ष र प्राविधिक रेडियोमै बसेर अन्य साथीहरुलाई लकडाउनपछि आउन भनेर विदा दिइएको छ । यसले कोरोनाको असुरक्षा कम गरेको मात्रै होइन, अनेकथरि अनुभव गर्न पाइएको छ ।

आजको दिनसम्म आउँदा म रेडियोको तेस्रो तल्लामा बस्न थालेको ४५ दिन पुग्यो । वन लागेको डढेलो लागे जस्तै कोरोना भाइरस विश्वभर फैलिरहेको छ । यसको नियन्त्रणको एउटै मात्र उपाय लकडाउन र भौतिक दुरी कायम गर्नु देखिएको छ । त्यही लकडाउनको पालना गर्दै सुचना दिने काम हामी रेडियो मै क्वारेन्टीनमा छौं । हो, गएको चैत १२ गते रेडियोमा आएदेखि मैले जमिन टेकेको छैन ।

बच्चा बेलामा माटोमा खेलेको खुब याद आइरहेको छ यो बेला । माटोमा विभिन्न आकृति बनाउने, भत्काउने गरेको सम्झिराछु । माटो छुनै नपाइने त्यस्तो कुनै बाध्यता छैन । तर तल झर्ने काम नपरेपछि झरिदो रहेनछ । करिब ३० दिनपछि आफूले भूईँ नटेकेको अनुभव भयो । त्यसपछि दिन गन्ती गर्दै कति दिन भुईँ नटेके पनि जीवन चल्छ भन्दै तल झर्ने जाँगर देखाउँन छाडेँ । जति जति सोच्दै जान्छु, त्यति त्यति भूईंको माया लाग्दै गइरहेको छ । हेरैँ, कहिले मेरो धैर्यले ठाउँ छाड्छ ।
तर माटोबाट टाढा भएपछि नै त रहेछ, माटोको माया लाग्ने ।

म सोचिरहेको छु, कुनै बेला केही सोच्नु पर्यो, केही कुराले चिन्तित बनायो या सोचमग्न बनायो भने चोर औंलाले माटो खोस्रिएर सोच्ने क्रम रोकिएको छैन । यसरी माटो खोस्रिएर सोच्दा तनावमुक्त भएजस्तो लाग्छ । माटोमा ध्यान जान्छ र आफुले सहज महसुस गर्छु । यसले पनि अहिले मैले सबै भन्दा धेरै सम्झेको भनेको माटो नै हो । तपाई कुनै न कुनै बेला बाहिर जानु भयो होला, पसल जानु भयो होला, यसो घर बाहिरसम्म निस्कनु भयो होला तर म रेडियो बाहिर निस्केको छैन । जमिन टेकेको छैन । लाग्छ, माटो नै सम्पूर्ण प्रकृतिको आधार पनि हो । हाम्रो शरीर पछि माटोमै मिल्छ । संसारका ति सम्पूर्ण भौतिक कुराहरु अन्ततः माटोमै विलय हुन्छ । यसर्थ माटोसँग हाम्रो जीवन चक्र गाँसिएको छ ।

तपाई कुनै न कुनै बेला बाहिर जानु भयो होला, पसल जानु भयो होला, यसो घर बाहिरसम्म निस्कनु भयो होला तर म रेडियो बाहिर निस्केको छैन । जमिन टेकेको छैन ।

माटो प्रकृतिको सबैभन्दा नजिक हुने भएकाले पनि यतिबेला माटोमा समिझरहेकी छु । जुन चीज हुदैन त्यसको महत्व बढी हुन्छ हामीलाई । हुन त जन्मेदेखि अहिले सम्म माटोमै छौं हामी तर यो बीचमा यतिलामो समय भूई नटेकेको अनुभव भने कहिले थिएन । कतिखेर जाउ र बारी खोस्रिउ जस्तो नभएको पनि होइन । यतिबेला त झन प्रकृति पनि स्वच्छ भएको छ । अरुबेलाको जस्तै कानै खाने गरी गाडी हर्न बज्दैन । आकाश पनि निश्चल छ । हावा पनि स्वच्छ । बिहान झ्यालमै चराहरुको चिरबिर संगीतले झन बेग्लै उर्जा प्रदान गरेको अनुभूति हुन्छ ।

रेडियोमा बसेदेखि कोठाले उसैगरी मेरो बाटो हेरिरहेको होला । मुसाले कति पुस्तक काटिसक्यो होला । अज्ञात चिन्ता छुट्टै छ । तर पनि एक किसिमको उत्साह भने छ । सुरुका केही दिन बाहेक । मैले लकडाउन उल्ङ्घन गरे म मात्रै होइन, मेरो परिवार, समाज हुदै सिंगो देशमा नै महामारी फैलिन सक्ने खतरालाई आत्मसाथ गर्दै आफ्नो पेशागत धर्म रेडियोबाटै निभाइरहेकी छु आज सम्म । र यो क्रम लकडाउन भरी नै चल्नेछ । प्रविधिको प्रयोग गरेर रेडियोका नियमित कार्यक्रमहरु पनि सञ्चालन गरिरहेका छौं ।

सुुरुमा केही दिन भने असजिलो महसुस भयो । रातको अन्धकार भन्दा गहिरो पीडा र सन्त्रास मनमा छायो । विहान उठेदेखि राति १० बजेसम्मका समाचार बुलेटिनमा कोरोनादेखि बाहेक अरु पढ्ने समाचार नै भएनन । सुरु देखि अन्तिम खेलकुदसम्म कोरोना नै कोरोनाको समाचार । सहकर्मी साथीहरुले पनि कोरोनाकै मात्र कुरा गर्ने र टिभीमा पनि कोरोनाकै मात्र समाचार हेर्न थालेपछि । मानसिक रुपमा नै विक्षिप्त जस्तो पनि भयो । आफैलाई पनि एक महिना अघिदेखि लागिरहेको खोकी बिसेक भएकै थिएन । साथीहरुले पनि खोकेको सुनेर तपाईलाई पनि कोरोना भयो क्या हो भन्दा र कोरोनाका लक्षणहरु पनि आफूसँग मिल्दो जुल्दो भएकाले साच्चै मलाई पनि कोरोना त भएन भन्ने लाग्यो । र रेडियोमै पनि केही समय आफूलाई छुट्टै राखे ।

यो बीचमा केही साथीहरुले फोन गर्नु भयो, फेसबुक च्याटमा कुराकानी भए । डरले रेडियोमै बसेको भने केही साथीहरुले, केहीले सुरक्षित रहेर काम गर्नु भने । हामीले अरुलाई सुचना दिदा हामीले पनि त्यसलाई पालना गरौं भन्ने लाग्यो । हामी पास लिएर आउन जान सक्थ्यौं तर कोरोनाले ‘तँसँग पास छ’ भन्ने पक्कै थिएन । फेरि पनि आफू सुरक्षित हुदा परिवारका सदस्यलाई पनि ढुक्क भनेर रेडियोमै बसियो । यतिखेर एक दशक भएछ रेडियोमा काम गरेको । यो बीचमा मलाई रातिको समाचार भन्न खुब रहर थियो । पहिले धेरैपटक कोशिस पनि गरेको तर अवसर मिलिरहेको थिएन । यो पटक भने यो बन्दाबन्दीले त्यो इच्छा पनि पुरा गरिदियो । दैनिक जसो रातिको १० बजेको समाचार पढ्दा आनन्द लाग्थ्यो । समाचार सकिने बितिकै केही साथीहरुले भर्खर रेडियोमा समाचार सुने । अहिलेसम्म रेडियो मै हो भन्दै फोन गर्दा पनि गजब आत्म सन्तुष्टि मिलेको आभाष भयो । उनीहरुलाई वास्तविकता बताए पछि अझ हौसला दिदाँ थप उर्जा मिल्दो रहेछ ।

एक हप्ता त हो नि, एक हप्तामा इमेल इन्टरनेटका माध्यमबाट केही जानकारी लिन्छु, केही फिल्म हेर्छु भन्ने सोचेर पुस्तक नबोकी आएकी थिए । लकडाउन लम्बिन्छ भन्ने त थियो । तर, बीचमा आवश्यक सामान खरिदका लागि केही घण्टा खुलाउला भन्ने थियो र त्यतिबेला घर जाउला भन्ने थियो । त्यस्तो भएन । फेरि लकडाउन थपिएपछि भने चिन्ता थपियो । अब के गरेर समय विताउने ! पुस्तक पनि छैन । निकै तनाब भयो । केही साथीहरुसँग कुरा भयो । पुस्तकको पिडिएफ फायल पठाउनु दिनुभयो । जसजसले पठाउनु दिनु भयो । उहाँहरुलाई धन्यवाद । यदि तपाईहरुले पुस्तक नपठाइ दिनु भएको भए । कस्तो हुन्थ्यो यी दिनहरु ? कसरी बिताउथे मैले यो समय ?

एक हप्ता त हो नि, एक हप्तामा इमेल इन्टरनेटका माध्यमबाट केही जानकारी लिन्छु, केही फिल्म हेर्छु भन्ने सोचेर पुस्तक नबोकी आएकी थिए । लकडाउन लम्बिन्छ भन्ने त थियो । तर, बीचमा आवश्यक सामान खरिदका लागि केही घण्टा खुलाउला भन्ने थियो र त्यतिबेला घर जाउला भन्ने थियो । त्यस्तो भएन । फेरि लकडाउन थपिएपछि भने चिन्ता थपियो । अब के गरेर समय विताउने !

यो बीचमा पुस्तक, फिल्म र गीत संगीत सबैभन्दा नजिकका साथी भए । कति निरस हुने थियो जीवन यी नभएको भए ? हो अनि मैले यो लकडाउनमा एउटा काम पनि सिके । म रेडियोमा काम गर्ने मान्छे । तर समाचार कक्षमा । मलाई इडिट गर्न आउदैन थियो । यो बीचमा मेरो उपलब्धी मैले इडिट गर्न सिके । साथै सेल्फ समाचार पढ्न पनि सिके । अर्थात आफै प्राविधिक, आफै समाचार वाचक । लकडाउनको उपलब्धी हो मेरो यो । जसले मलाई आगामी दिनमा काम गर्न अझ सहज र सरल हुनेछ भन्ने लाग्छ ।

यो बीचमा आएका समाचारहरुले अत्यास नल्याएको भने होइन । कतिपय समाचार हिक्कहिक्क हुदै पनि पढे । सयौं किलोमिटर भोकै गन्तव्य हिडेका मजदुरका खबर पढ्दा सम्हालिन निकै गाह्रो भएको थियो । दुई महिने बच्चालाई छाडेर कोरोना संक्रिमितको उपचारमा संलग्न नर्सले बच्चालाई स्तनपान गराउन नसकेको र छुन नपाएको समाचारले झन बढी गाह्रो बनायो । कतिको बाध्यता थियो होला, कतिपय यतिकै बाहिर निस्किए पनि आम नागरिकले यो लकडाउन हाम्रै लागि हो भनेर राम्ररी बुझेका छन् । त्यसैले त अहिले पनि कतिपयले लकडाउन खुकुलो पार्ने कुरा गरिरहदा जनता आफैले लकडाउन लम्ब्याउनु पर्छ भनिरहेका छन् । अनेक समयमा भएका विभिन्न आन्दोलनमा भएका बन्दहडतालका विरुद्धमा जनता उर्लिए पनि यो पहिलोपटक होला जनता आफैले समर्थन गरेको बन्द ।

००००

घरमा १० वर्षकी भजिती छिन् । उनी फोनमा मलाई कोरोना भाइरसका बारेमा भनिरहन्छिन् । फुपु हात धोइरहनु पर्छ है । स्कुटीमा पनि कोरोना भाइरस धेरै दिनसम्म बाँच्छ रे । कोरोनाले छोयो भने त मरिन्छ है आदि इत्यादि । साना नानीहरुलाई पनि कोरोनाले धेरै असत्य र थोरै सत्य कुरा सिकाएको छ ।

‘हजुर त ठूली भैसक्नु भयो । म त बच्चै छु । मर्न चाहन्न ।’ एक दिन उनले भनिन्, ‘घर आउँदा हिँड्दै आउनू है, गाडीमा पनि नआउनू, सर्छ ।’

यति सानो बच्चालाई पनि जीवनको यति चिन्ता लागेको देखेर छक्क परेँ । यो लकडाउनपछि बच्चाहरुमा गम्भीर मानसिक समस्या आउन थालेको उनको कुराले बुझ्न थालेको छु । अहिले अभिभावकले निकै गम्भीर रुमपा आफ्ना बच्चाको ख्याल राख्नु पर्ने अवस्था आइसकेको मैले बुझेको छु ।

किशोर–किशोरीमा पनि विद्यालय जान नपाएर विभिन्न समस्या आएको हुनुपर्छ । खाने, खेल्ने र डुल्ने अवस्थामा घरको कैदी हुँदा उनीहरुको अवस्था के भइरहेको होला अन्दाज गर्न सकिन्छ । बिहान कमाएर बेलुका खाने मजदुर बर्ग र उनीहरुका परिवारको अवस्था पनि अनुमान गर्न सकिन्छ ।

यो बन्दाबन्दीमा सबैभन्दा सुखी वन्यजन्तु, पशुपंक्षी हुन् । सयौं वर्षदेखि मानिसले यिनीहरुलाई दुःख दिए, आज स्वयं मानिस कैद छन् र उनीहरु स्वतन्त्रताका गीत गाइरहेका छन् । मलाई यति बेला लेखनाथ पौडेलको पिंजडाको सुगा कविता याद आइरहेको छ । अहिले मानिस पिंजडामा छ र सुँगा हामीलाई हेरेर त्यही गीत लेखिरहेको छ ।

बिहिबार, बैशाख २५, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...