बालबालिकालाई हामी विषालु माया दिइरहेका छौँ, यसलाई रोकौँ

64 Views

स्वस्थ रहनका लागि खानपान र जीवनशैलीमा ध्यान दिनैपर्छ । लकडाउनका बेला मात्र होइन अरु बेला पनि यो कुरामा ध्यान दिनैपर्छ । तर, यो बेला मानिस घरमै बसिरहने भएकाले मानिस चलायमान हुन पाउँदैनन् । हिँडडुल बन्द जस्तै छ, भए पनि कम मात्र छ । दिनभरि घरमा वा कोठामा बसिरहँदा तनाव पनि बढ्छ । घरमै बसिरहँदा खाउँखाउँ लागिरहन्छ । पकाइरहँदा गृहिणीलाई थकान र तनाव हुन सक्छ । अर्कोतिर खानेकुरा नपाएर पनि समस्या हुन्छ ।

unn.prixa.net
अहिलेको समयमा ठूला मानिससँगै बालबालिका पनि समस्यामा छन् । विद्यालय जान पाएका छैनन् । बाहिर खेल्न जान पनि पाएका छैनन् । घुम्न जान पाएका छैनन् । यस्तो बेलामा उनीहरुको स्वास्थ्य, सिकाइ र मानसिक अवस्थाकाबारेमा पनि ध्यान दिन जरुरी छ । अहिलेको बेलामा उनीहरुलाई राम्रा र उपयोगी कुरा सिकाउन अभिभावकको भूमिका महत्वपूर्ण हुन्छ ।

बालबालिकालाई पढाइमा मात्र जोड नगरौँ । जतिबेला पनि पढ मात्र नभनौँ । अरु काममा पनि लगाऔँ । खाना पकाउन सिकाऔँ । सरसफाइमा सहभागी गराऔँ । १२र१३ वर्षका बालबालिकाले खाना बनाउन मज्जाले सहयोग गर्न सक्छन् । कोठा सफा गर्न र सामान मिलाउन सक्छन् । ससाना लुगा आफै धुन सक्छन् । यसो गर्दा उनीहरुलाई आफ्नो काम आफै गर्नुपर्ने रहेछ भन्ने थाहा पनि हुन्छ । काम गर्दाको अनुभव पनि हुन्छ अनि मेहनतका बारेमा पनि बुझ्छन् । उनीहरुले पोख्लान् वा फोहर गर्लान् भनेर नसिकाउने हो भने उनीहरुले जीवनभरि केही पनि सिक्न सिक्दैनन् ।

उनीहरुले सक्ने काममा लगाउने हो भने काम सिक्छन् र जिम्मेवार पनि बन्छन् । पानी पोखियो भने पुछ्न सिक्छन् । तरकारीको फोहर कता लगेर फ्याँक्ने भन्ने कुरा सिक्छन् । गाउँघरका बच्चाले यसै गरेर धेरै कुरा सिकेका हुन्छन् भने शहरमा पनि बालबालिकालाई यो कुरा सिकाउन सकिन्छ । यसैगरी सिकाउन सकिन्छ । लकडाउनको समय बालबालिकालाई जीवनोपयोगी कुरा सिकाउने मौका पनि हो ।

यो बेलामा सम्भव भए बालबालिकालाई हजुरबुबा, हजुरआमालगायत बुढाबुढीसँग बसाऔँ । उहाँहरुका पुराना कुराहरु सुनाउने गरौँ । कथाहरु र भोगाइहरु सुनाउने गरौँ । यो निकै नै उपयोगी हुन्छन् । यस्तै, कथा कविता वा उनीहरुलाई मन परेका कुरा लेख्न, चित्र बनाउन, अनुभव लेख्न लगाऔँ । यस काममा उनीहरुलाई सहयोग गर्ने र हौसला दिने गर्न सकिन्छ । उनीहरुलाई कथा पढेर सुनाऔँ, उनीहरुलाई नै पढ भनौँ । सँगै खेलौँ, खेल्न सिकाऔँ ।

बालबालिकालाई स्वस्थ खानेकुरा खुवाउने मात्र होइन स्वस्थ खानेकुराका बारेमा पनि बुझाउनुपर्छ । बालबालिकालाई मीठोमीठो खानेकुरा खान दिउँ भनेर बिस्कुट, चाउचाउ, पाउरोटी, दालमोठलगायत प्याकेटका ुपत्रुु खानेकुरा नखुवाउँ । यसले उनीहरुलाई पोषण पुग्दैन । कब्जियतलगायतका समस्या सुरु हुन सक्छ । त्यसैले स्वस्थ र रेसा भएका खानेकुरा, सागपात, फलफुल प्रशस्त खुवाऔँ ।

भात, रोटी, हलुवा, दूध, दही, मोही, घिउ, अचार, अण्डा, चना, मटर, केराउलगायत खानेकुरा खान दिऔँ । बिहान खानामा दाल भात नै खाए पनि दिउँसो खाजामा के खाने भन्ने धेरैले हेल्चेक्र्याइँ गरेको पाइन्छ । खाजाका रुपमा  चिउरा, अण्डा, गेडागुडी र बिहानको खानामा गेडागुडी र तरकारी मिसाएर खान दिनु एकदमै राम्रो हो ।

बालबालिकालाई मोबाइल र कम्प्युटर दिँदै नदिऔँ । कुनै पनि बहानामा यो कुलतको बानी लगाउँदै नलगाऔँ । यसका लागि सुरुमा त बुबाआमा आफै मोबाइल र टीभीबाट टाढै रहनुपर्यो । अनि बल्ल उनीहरुले पनि यो कुलत सिक्दैनन् । मेरो बच्चाले मान्दै मान्दैन, मोबाइलविना खाना नै खाँदैन भनेर वा रुँदा फकाउने बहानामा पनि बालबालिकालाई मोबाइल कम्प्युटर वा ट्याब दिँदै नदिऔँ । यो विषालु माया हो ।

हामी आफ्ना बालबालिकालाई माया त दिन चाहन्छौँ, तर विषालु माया त पक्कै दिन चाहँदैनौँ । त्यसैले यो विषालु माया उनीहरुलाई नदिऔँ । बच्चाले मोबाइलविना एकछिन मानेन भने पनि केही फरक पर्दैन । उसले नमानेर के भयो र रु एकछिन रोला, कराउला, चिच्याउला, लडिबुडी गर्ला यसले केही नराम्रो गर्दैन ।

बालबालिका र बाँदर बिरामी हुँदा मात्र चुप लाग्छ भनिन्छ । उनीहरु खेल्ने, चल्ने उमेरकै हुन्छन् । चल्छन्, खेल्छन्, लड्छन्, उठ्छन् यो नियमित प्रक्रिया नै हो । धेरे अप्ठ्यारो मान्न हुँदैन यसमा । त्यसैले उनीहरुलाई पनि आफैसँग काममा लगाऔँ न । सजिला कामहरुमा लगाऔँ, सिकाऔँ । काम गर्दा उसको हातमा फोहोर लाग्ला, धुन सिकाऔँ । यसले सामाजिकीकरण पनि गराउन सिकाउँछ । र, यो सिकाइ उनीहरुको जीवनभरका लागि काम लाग्छ ।
(डा. उप्रेतीसँग अर्जुन पोख्रेलले गरेकाे कुराकानीमा आधारित)

बिहिबार, बैशाख २५, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...