अमेरिका र बेलायतमा भेटियो लिम्पियाधुरा नेपालकै भएको नक्सा

अमेरिकाको राजधानी वासिङटनडिसीस्थित लाइब्रेरी अफ कंग्रेस, जोग्राफी एन्ड म्याप डिभिजनमा क्याटलग नम्बर G 7650 s 260.15 मा यो नक्सा संग्रहित छ । यो नक्सामा Kalee R. अर्थात् काली नदी देखिन्छ । त्यसको उद्गम लिम्पियाधुरा हो भन्ने स्पष्ट बुझिन्छ । यो नक्सा प्रकाशित हुनुभन्दा ११ वर्षअघि सन् १८१६ मा भएको सुगौली सन्धिअनुसार काली नदी सीमा नदी भएकोले त्योभन्दा पूर्व नेपाल र पश्चिम भारत हो । नदीभन्दा पूर्व नेपालमा कालापानी हट स्प्रिङ लेखेको देखिन्छ । यो नक्सा भन्छ– नाभी गाउँ पनि नेपाल हो ।

१८५६ को नक्सा : ब्रिटिस म्युजियम लाइब्रेरी, लन्डन : यो नक्सा बेलायतको लन्डनस्थित ब्रिटिस म्युजियम लाइब्रेरीको इन्डिया अफिस रेकर्ड, म्याप कलेक्सन सेफमार्क नम्बर IOR.X/2996/1 मा संग्रहित छ । तर, १८७९ मा ब्रिटिस भारतले अर्को नक्सा निकाल्यो जसमा कार्टोग्राफिक संकेत चिह्नबाट नेपाली भूमि कुटी, नाभी र गुन्जीलाई भारतमा पार्यो। अझ, वर्तमान भारतले त लिपुखोलाभन्दा यता आएर कालापानी पनि कब्जा गरेको छ । गत २ नोभेम्बरमा भारत आफैँले प्रकाशित गरेको नक्सामा पनि लिम्पियाधुराबाट आएको नदीलाई काली नदी भनिएको छ । तर, त्यसको ६ दिनपछि काली लेखेको मेटिएर नयाँ नक्सा सार्वजनिक गरियो ।

सीमाविद्को सीमाहीन खुसी

चीन, बेलायत र अमेरिकाका लाइब्रेरीबाट ऐतिहासिक नक्सा संकलन गरेपछि बुद्धिनारायण श्रेष्ठले लिम्पियाधुरासमेत समेटिएकोे नक्सा कोरेर किताबमा प्रकाशित गरेका थिए । बुद्धिनारायणले ‘चुच्चे नक्सा’ देखाउँदा कतिपय नेता हँसिमजाक गर्थे, तर अहिले त्यही नक्सा देशको आधिकारिक मानचित्र बनेको छ ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठ भन्छन्, ‘यथेष्ठ प्रमाण जुटेका छन्, तर राष्ट्रिय अस्मिताको यति संवेदनशील विषयमा हामीले राजनीतिक दाउपेचका लागि उत्तेजना फैलाउनुहुँदैन, उत्ताउला कुरा गरेर भारतलाई वार्ताबाट भाग्न सजिलो बनाउने होइन, जिम्मेवार बनेर वार्तामा बसाल्नुपर्छ र तथ्यका आधारमा भूगोल फिर्ता ल्याउनुपर्छ’

भारतीय सीमा अतिक्रमणविरुद्ध जनता जगाउँदै उनी मेची–काली हिँडे, कालापानी के हो भन्ने नेता र कर्मचारीलाई प्रशिक्षित गर्न जुटे । नेपालको दाबी बलियो बनाउन नक्सा खोज्दै चीन, बेलायत र अमेरिका पुगे । अन्ततः महाकाली शिर लिम्पियाधुरा समेटेर नेपाल सरकारले नयाँ नक्सा सार्वजनिक गरेपछि सीमाविद् बुद्धिनारायण श्रेष्ठको मनमा सीमाहीन खुसी छाएको छ ।

नापी विभागको महानिर्देशकबाट ०४९ मा निवृत्त भए पनि बुद्धिनारायण देशको सेवाबाट निवृत्त भएनन् । उनले नेपाल सरकारको नियुक्तिको आस गरेनन्, एनजिओ–आइएनजिओको ‘कन्सल्ट्यान्ट’ भएनन् । स्वयंसेवी अभियन्ता बनेर अतिक्रमित क्षेत्रको भ्रमण गरे । चीन, बेलायत र अमेरिकाबाट ऐतिहासिक नक्सा संकलन गरेपछि उनले लिम्पियाधुरा समेटिएको नक्सा कोरेर किताबमा प्रकाशित पनि गरेका थिए । बुद्धिनारायणले ‘चुच्चे नक्सा’ देखाउँदा कतिपय नेता हँसिमजाक गर्थे, तर अहिले त्यही नक्सा देशको आधिकारिक मानचित्र बनेको छ ।

नापी विभागको महानिर्देशक हुँदा नेपाल–भारत संयुक्त प्राविधिक सीमा समितिको १३औँ र १४औँ बैठकमा नेपालको नेतृत्व बुद्धिनारायणले गरेका थिए । आफूमातहतको कार्यसमूहमा कालापानीको नक्सामा विवाद भएको सम्झिन्छन् उनी । ‘कार्यसमूहमा नेपालले लिम्पियाधुराबाट बग्ने नदीलाई काली नदी मान्नुपर्ने तथ्य प्रमाण पेस ग¥यो, भारतले लिपुलेकबाट आएको खोलालाई काली नदी भनेर नेपाली भूमिमा आफ्नो दाबी दोहोर्यायो,’ उनी भन्छन्, ‘नेपालले सन् १८२७ र १८५६ को नक्सा पेस गर्यो, जसमा काली नदी लिम्पियाधुराबाट निस्किएको देखिन्छ । तर, भारतले १८७९ को नक्सा देखाएर लिपुलेकसम्म आफ्नो दाबी प्रस्तुत गर्यो, त्यसैले सहमति हुन सकेन ।’

तत्कालीन सरकारले कालापानीको विषयलाई महत्वपूर्ण एजेन्डाका रूपमा प्रस्तुत गर्ने कार्यादेश दिएको थिएन । त्यसैले कालापानी मुद्दा लामो समयसम्म छायामा पर्यो । तर, नापी विभागबाट अवकाश पाएपछि बुद्धिनारायण सरकारी ढर्राबाट पनि स्वतन्त्र भएका थिए । उनले आफैँ भूमिचित्र नाप–नक्सा कम्पनी स्थापना गरे । त्यहीँबाट उनी नापीसम्बन्धी महासंघको कार्यक्रममा सहभागी हुन लन्डन जाने मौका पाए । सन् १९९८ जुलाई १९ देखि अगस्ट २१ सम्म लन्डन रहँदा श्रेष्ठले सहर–बजार घुम्ने र सपिङ गर्ने समयलाई ब्रिटिस लाइब्रेरी गएर अध्ययनमा सदुपयोग गरे । विशाल लाइब्रेरीमा कैयौँ दिन लगाए, अन्ततः उनले सन् १८५६ अप्रिल २४ मा सर्भे अफ इन्डियाले जारी गरेको नक्सा फेला पारे । सो नक्सामा लिम्पियाधुराबाट निस्किएको नदीलाई रिभर काली भनिएको छ ।

नयाँ पत्रिकाबाट

शनिबार, जेष्ठ १०, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...