काँग्रेसका ८ सांसदले दर्ता गराए संविधान संशोधन प्रस्ताव

प्रमुख प्रतिपक्षी काँग्रेसका ८ सांसदले छुट्टै संविधान संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

तत्कालीन प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा सरकारले २०७४ भदौमा नै दर्ता गराएको संविधान संशोधन प्रस्ताव काँग्रेस सांसदले मंगलबार संसद सचिवालयमा पुनः दर्ता गराएका हुन् ।

संशोधन दर्ता गराउनेहरुमा मधेसबाट निर्वाचित काँग्रेस सांसदहरु प्रदीप गिरी, चित्रलेखा यादव, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, तेजुलाल चौधरी, अभिशेकप्रताप शाह र पद्मनारायण चौधरी र नमिता चौधरी छन् । यसअघि मधेस केन्द्रित दल जनता समाजवादी पार्टीले संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो ।

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर जारी गरेको नयाँ नक्सा निशान छापमा राख्नका लागि संसदमा संविधान संशोधन प्रक्रिया अघि बढाएपछि काँग्रेस र मधेस केन्द्रित दलले पनि आ–आफ्नै संशोधन दर्ता गराएका हुन् ।

यद्यपि प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठकमा राष्ट्रियता मजबुत बनाउन सरकारले संविधान संशोधन गर्न लागेकाले बार्गेनिङ नगरी राष्ट्रिय सहमति प्रदर्शन गर्न ती दललाई आग्रह गरेका थिए ।

ती दुई दलले भने निशान छापसहित मधेसी, जनजाति र अल्पसंख्यक समुदायका असन्तुष्टिसमेत सम्बोधन हुने गरी प्याकेजमै संविधान संशोधन हुनुपर्ने बताएका छन् । काँग्रेस केन्द्रीय समितिको आइतबारको बैठकले सरकारले अघि सारेको संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

मङ्लबार, जेष्ठ २०, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...