१० वर्षे वैदेशिक रोजगारी पछि १४ वर्ष देखि होटल व्यवसायमा

लामो समय सम्मको बैदेशिक रोजगारी पछि होटल व्यवसायमा लाग्नु भएका ताराप्रसाद आचार्य (बाबुराम) आफ्नो व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ । १० वर्ष सम्मको खाडी मुलुकको बैदेशिक रोजगारीबाट फर्केर २०६३ सालबाट होटल व्यवसाय शुरु गर्नुभएका आचार्यलाई अहिले लकडाउनले भने समस्या भएको छ ।
कोरोना भाईरसको महामारीका कारण विश्वभर भएको लकडाउनको प्रत्यक्ष असर पर्यटन व्यवसायीहरुले खेप्नु परेको छ । बेनी बजारको बसपार्क नजिकै रहेको होटल याकका सञ्चालक तथा होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य समेत रहनुभएका आचार्यले तीन दिन अगाडीबाट आफ्नो होटल सामान्य गतीमा शुरु गर्नु भएको छ । लकडाउन सुरु भए सँगै ब्याबसाय पुरै बन्द गरेर आफ्नो जन्मघर मंगला गाउँपालिका–१, पुग्नु भएका आचार्य २ महिना पछि सदरमुकाम बेनी फर्कनु भएको छ ।
उहाँले २०७१ देखि होटल याक शुरु गर्नु भएको हो । म्याग्दी जिल्ला भित्र रहेको उत्कृष्ट मानिने याक होटलमा ३ वटा एसी सहित १९ वटा एट्याच कोठा रहेका छन् । १०० जना क्षमताको कन्फ्रेन्स हल तथा सबै कोठाहरुमा वाइफाइ लगायतका सुविधा प्रयाप्त छन् ।
युवा अवस्थामै १० वर्ष लामो वैदेशिक रोजगार पछि फर्केर २०६३ सालमा बेनीमा उहाँले पहिलो पटक होटल नमस्तेको स्थापना गर्नु भएको थियो । आफ्नै परिवारका तीनभाई तथा बाबु आमाहरु सँगै ४ जना कर्मचारी राखेर होटल व्यवसाय सुरु गर्नु भएको थियो । आचार्य तथा उहाँकी पत्नी विष्णु सहितको खटाइले व्यवासय राम्रै चलेको थियो । आचार्यले २०६८ मा उक्त नमस्ते होटललाई हस्तान्तरण गरेर दुई वर्ष थप तयारी पछि २०७१ मा नयाँ व्यवस्थापनका साथ होटल याक शुरु गर्नु भएको थियो । आचार्यले होटलको शुरुआत गरेको केही समयमै होटल याकलाई केन्द्र बनाएर अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको आयोजना भएको थियो । सो प्रतियोगिताको कारण पनि होटल याकको अन्तर्राष्ट्रिय स्तरमा प्रचार भयो ।
स्वदेशी तथा विदेशी पर्यटकहरुको राम्रो आगमन हुने होटल याकमा लकडाउन हुनु पहिला सम्म १० जना पूर्णकालिन सहित १६ जना कर्मचारी रहेका थिए भने परिवारका तीन जनाले पनि मेहनत गर्नु हुन्थ्यो । आचार्यका पतिपत्नि तथा छोरीपनि होटलको काममा खट्नु हुन्थ्यो । लकडाउनले गर्दा सबै तिरको व्यवसाय चौपट भएको समयमा मेरो होटल चल्ने कुरै भएन– आचार्य भन्नुहुन्छ । आचार्य भन्नुहुन्छ –‘अहिले जिल्लाका सबैजसो होटल व्यवसाय बन्द छन्, व्यवसायलाई उकास्नका लागि राज्यको तर्फबाट केही राहत प्याकेजको व्यवस्थापन भएमा व्यवसायीहरुलाई सहज हुने थियो ।’
विश्वभर कोरोना संक्रमण भएको अवस्थालाई मध्येनजर गर्दै सरकारले गोष्ठी, सभा, सम्मेलन नगर्न सचेत गराएको कारण सबै प्रकारका आन्तरिक पर्यटकसमेत घटेको आचार्यले बताउनुभयो । भूकम्प, नाकाबन्दी, द्वन्द्वकाल कुनै पनि समय पर्यटन व्यवसायीहरुले यस्तो संकटको अवस्था भोग्नु नपरेको होटल व्यवसायी संघ म्याग्दीका अध्यक्ष समेत रहेका आचार्यले बताउनुभयो ।

बुधबार, असार ३, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...