एकल महिलाको सन्दर्भ

हाम्रो समाजले अहिले पनि एकल महिलाहरुलाई हेर्ने दृष्टिकोण प्रायः नकारात्मक राख्ने गर्दछ । कोही पनि महिला एकल हुनका लागि आफूले गरेको सायद केही पनि हुँदैन । तर पनि आफ्नो पतिको वियोगले ग्रस्त महिलाको मनमा समाजले प्रहार गर्ने वचन वाणले गर्दा थिलोथिलो भएको हुन्छ । तैपनि जिन्दगीका आगामी बाटोहरुलाई अगाडि बढाउनका लागि सहेरै भए पनि अगाडि बढ्नुपर्ने हुन्छ नै । समाजले विदुर र विधुवा भनेर दिएको नामकै पछाडि पनि कयौं उपनामहरु जोडिएका हुन्छन् । जब कुनै महिलाले आफ्नो एकल अवस्थामा समाजमा जिउनका लागि प्रयास गरेकी हुन्छिन् उनका पछाडि धेरै कुराहरु उब्जने अनि उनलाई धेरैले औंला उठाउने काम गरेको भने पक्कै पनि हुन्छन् नै । विभिन्न लाञ्छना लगाउँदै जसरी महिलामाथि अपमान गरिन्छ त्यो सह्य हुँदैन तर पनि महिलाले त्यसलाई चिर्दै आफू जिउनका लागि हरदम प्रयास गरेकी हुन्छिन् । पितृसत्तात्मक सोचका कारण अझै पनि महिलामाथि विभिन्न प्रकारका हिंसाहरु हुने गरेका छन् ।
म्याग्दी जिल्लामा रहेका एकल महिलाहरुलाई संगठित गरेर एकल महिला समाज गठन भएको छ । त्यसले पनि धेरै हदसम्म एकलहरुका लागि राम्रा काम गर्नमै खटेको मान्न सकिन्छ । विश्वले पनि एकल महिलाहरुको पीडालाई आत्मसाथ गर्नुपर्छ भनेरै प्रत्येक वर्ष अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाउँदै आएको छ । समाजले हेर्ने र हेप्ने प्रवृत्तिलाई कुनै पनि हालतमा चेन्ज गर्नुपर्छ भन्ने मान्यताका साथ एकल महिला दिवस मनाउनु आजको आवश्यकता हो । तर पनि एकल महिला भन्नु र उनलाई गर्ने व्यवहारका साथै उनीहरुले केही पनि गर्नै सक्दैनन भन्नेसम्मका जुन हाम्रो सामाजिक मान्यता छ त्यसलाई हामीले परिवर्तन गर्नुपर्छ नै । जब समाजले सबैको सम्मान गर्न सक्दैन तब कसैको पनि उन्नति हुन सक्दैन ।
अहिलेको अवस्था हेर्ने हो भने कोही पनि असक्षम हुनै सक्दैनन् । किनभने अहिले देशको नेतृत्व गरिरहेकी राष्ट्रपति पनि एकल महिला नै हुन् । उनले राज्यको बागडोर सञ्चालन गर्न सक्ने अवस्था रहन्छ भने एकल महिलाहरुलाई कमजोर आँक्न कुनै हालतमा हुँदैन । जब कोही पनि मानिसले अर्कोलाई हेयको दृष्टिले हेर्ने गर्दछ तब संसारमा कोही कसैको पनि उन्नति हुन सक्दैन भन्ने कुराको प्रष्टता अहिलेको कोरोना महामारीले पनि देखाएको छ । कोरोना चीनमा देखिँदा हेप्ने पश्चिमा राष्ट्रहरु नै अहिले थलिएका छन् । त्यसैले सबैको हैसियत समान हुन्छ आत्मसम्मान समान हुन्छ । तर क्षमताका आधारमा हामीले कसैलाई पनि भेदभाव गर्नु कदापी हुँदैन । महिला आमा हुन्, जननी हुन्, त्यसैले एकल महिलासहित सबै महिलाहरुप्रति सम्मान गरौं । अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसरमा सबैलाई हार्दिक शुभकामना !

सोमवार, असार ८, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...