प्राकृतिक विपत्तिको सामना

विश्वलाई कोरोनाले थिलोथिलो पारेको वर्तमान अवस्थामा अब हामीले भोग्ने समस्या भनेको वर्षात्को कारण आउने समस्या हो । जब कुनै पनि समस्या आउँछ त्यसले कुनै पनि हालतमा दया देखाउँछ भन्नेचाहीँ होइन । म्याग्दीको रघुगंगा–६, पाखापानीको कोटगाउँमा बाढीपहिरोले गएको जेठ महिनामै हजुरआमासहित नातीनीको ज्यान गैसकेको छ । अन्यत्र पनि पहिरोको श्रृङ्खला सुरु भएको छ । पाल्पाको तानसेनमा सोमबार तीनवटा गाडी नै पहिरोले बगायो । अब नेपालमा मनसुन सक्रिय भएको कारण वर्षा हुने र वर्षात्को कारण पहिरोले गर्दा धेरै धनजनको क्षति हुने पक्का छ । विश्वमा हुने मृत्युमा प्राकृतिक प्रकोपले निकै ठूलो हिस्सा लिने गरेको पाइन्छ । मानिसले प्रकृतिसँगको लँडाई विगतदेखि नै सामना गर्दै आएको छ । विश्वको अवस्था हेर्ने हो भने पनि पछिल्लो वर्षहरुमा कयौं महामारी भोगियो तर कोरोनालाई भने हामीले जित्न सकेका छैनौं ।
सन् २००९ मा अमेरिकाबाट सुरु भएको एचवानएनवान भाइरसबाट लाग्ने स्वाईनफ्लुको महामारीले विश्वलाई त्रसित पारेको थियो । स्वाईनफ्लुका कारण विश्वले १४ हजार जनालाई गुमाएको थियो । सन् २००२ मा सार्सले चीनबाट आफ्नो पञ्जा फिँजाएर ७ सय ७४ जनाको ज्यान लिएको थियो । सार्स संक्रमितमध्ये झण्डै १० प्रतिशतको ज्यान गएको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले देखाउँछ । १९७६ भेटिएको एचआईभी एड्सबाट झण्डै ४ करोड मानिसले ज्यान गुमाएका छन् । त्यस्तै १९६८ मा सुरु भएको हङकङ फ्लुले विश्वका धेरै देशहरुमा आफ्नो प्रभाव देखाएको भए पनि यसको मृत्युदर निकै कम थियो । प्रति २ सय जनामा १ जनाको मृत्यु हुने यस रोगबाट विश्वभरमा १० लाख मानिसले ज्यान गुमाएका थिए । १९५६ को एसियन फ्लुबाट ७० हजारले ज्यान गुमाएका थिए । त्यस्तै सन १९१८ देखि १९२० मा स्पेनीस फ्लुका कारण त्यो समय ५ करोड मानिसको मृत्यु भएको थियो । हैजा, रसियन फ्लु, ब्ल्याक डेथ जस्ता महामारीले धेरैको ज्यान लियो । ब्ल्याक डेथ १४औं शताब्दीको निकै ठूलो महामारी हो । त्यसैले गर्दा तत्कालीन समयमा विश्वका २० करोड मानिसको मृत्यु भएको अनुमान गरिन्छ । मुसाको शरिरबाट सरेको उपियाँबाट सरेको अनुमान गरिएको उक्त रोगले विश्वको अर्थतन्त्र अनि मानव सभ्यतालाई नै अर्कै गति दिएको थियो ।
विश्वभर कोरोनालाई ध्यानमा राखेर लकडाउन गर्ने र सुरक्षा व्यवस्था अपनाउने गरिरहेको अवस्था छ । तर नेपालका स्थानीय सरकारहरुले बजेट, नीति तथा कार्यक्रमहरु ल्याइरहेको अहिलेको अवस्थामा मनसुनपछि हुने बाढी पहिरोबाट सुरक्षित हुनका लागि भने खासै तयारी गरेको देखिदैन । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हुने विपद् व्यवस्थापन समितिले कुन प्रकारको तयारी गरेको छ त्यसैमा स्थानीय तहहरु निर्भर रहेका हुन् वा उनीहरुको ध्यानमा त्यो पुग्न सकेको छैन । देशमा संघ, प्रदेश र स्थानीय गरी तीन प्रकारका सरकार रहेको अवस्थामा हामी सबै सरकार भन्ने तर केन्द्रतिरै आरोप अनि आँखा लगाउने शैलीले कुनै पनि हालतमा हाम्रो जिम्मेवारी पुरा गर्दैन । त्यसैले हामी अब आफू जिम्मेवार हुँदै आफ्नो सुरक्षाका लागि आफैले केही प्रयास गर्नेतर्फ लाग्नैपर्ने भएको छ । वर्षात्को जोखिमबाट जनतालाई जोगाउनका लागि सबैले आ–आफ्नो ठाउँबाट प्रयास गरौं ।

बिहिबार, असार ११, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...