कोरोनाको संक्रमण बढ्यो

नेपालमा कोरोना संक्रमितहरुको संख्या चार अंकमा अर्थात् दश हजारभन्दा माथि पुगेको छ । पहिलोपटक गत डिसेम्बरमा चीनको वुहान सहरमा देखिएको कोरोना भाईरसको संक्रमण अहिले विश्वका २१५ देशमा पुगेको छ भने झण्डै एक करोड मानिसमा संक्रमण पुग्दा नेपालमा संक्रमितहरुको संख्या १० हजार ९९ छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ भने रसुवा जिल्लाबाहेक ७६ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । बागमती प्रदेशको रसुवाबाहेक अन्य सातै प्रदेशका सबै जिल्लामा कोरोनाको उपस्थिति छ । नेपालमा १० हजारमाथि संक्रमित पुग्दै गर्दा विश्वमा ९३ लाखमा संक्रमण भेटिएको अवस्थामा ४ लाख ७५ हजारले कोरोनाको कारण ज्यान गुमाएका छन्भने ४९ लाख ७१ हजारले कोरोना जितेर घर फर्केका छन् ।
नेपालमा मंगलबार मात्रै ५३८ जनामा कोरोना पुष्टि भएको थियो भने १ जनाको कोरोनाकै कारणले मृत्यु भयो । अहिलेसम्म नेपालमा कोरोना जितेर घर फर्कनेहरु २ हजार २२४ जना छन् । ७ हजार ८ सय ५१ जना भने अहिले उपचाररत रहेका छन् । सुरुको समयमा चीनमा जुन गतिमा कोरोना फैलिएको थियो त्यही गतिमा अगाडि बढेको भए के हुन्थ्यो ? भन्ने धेरैले आशंका गरेका थिए । तर चीनले कोरोनालाई नियन्त्रण गरेर बाँकी विश्वलाई सहयोग गर्नतर्फ लाग्यो । तर अन्य पश्चिमा देशहरुले भने कोरोना जित्नेभन्दा पनि त्यो चिनिया भाइरस हो र यो चीनले नै बनायो उही थलिन्छ भन्ने तर्क गर्दै बसे । तर चीनले आफूले नियन्त्रण गरेर जाँदा बाँकी विश्वमा कोरोना बढ्दै गयो । अहिलेको अवस्थामा कोरोना संक्रमणको तथ्य हेर्दा चीन २१ नम्बरमा देखिएको छ । चीनमा मंगलबार २२ जना संक्रमित थपिँदा ८३ हजार ४१८ जना संक्रमित पुगे भने ३७० जना उपचाररत छन् । संक्रमितको हिसाबले हेर्दा अमेरिका पहिलो नम्बरमा छ भने दोस्रोमा ब्राजिल देखिएको छ । अमेरिकामा २४ लाख संक्रमित रहेका छन् भने ब्राजिलमा ११ लाख, रसियामा ६ लाख, भारतमा ४ लाख ४१ हजार संक्रमित छन् । स्पेन तथा ईटालीमा जुन गतिमा बढेको थियो कोरोना अहिले नियन्त्रणमा आएको भन्न सक्ने अवस्था देखिन्छ ।
विश्वभर आफ्नो र परिवार अनि देशका साथै राष्ट्र हुँदै विश्वकै सुरक्षालाई ध्यान दिनुपर्छ भनेरै सुरक्षा व्यवस्था अपनाउने कार्य भैरहेको छ । तर नेपालमा कोरोनाको संक्रमण बढ्दै गएको वर्तमान अवस्थामा आन्दोलनको नाउमा भीड जम्मा गर्ने काम जसरी भएको छ यसले गर्दा युरोप तथा अमेरिका अनि ब्राजिल जस्तै हालतमा हामी पनि पुग्न सक्ने सम्भावना नहोला भन्न सकिदैन । छिमेकी भारतमा समेत ४ लाख ४१ हजारभन्दा माथि संक्रमितहरु भैरहेको अवस्थामा नेपालमा पनि त्यसको प्रभाव पक्कै पर्छ । किनभने नेपाल भारतको खुल्ला सिमानाको कारणले गर्दा नै अहिले कोरोना संक्रमितहरुमध्ये ९५ प्रतिशत भारतबाट आएकाहरु नै देखिएका छन् । भारतबाट आउने संक्रमितहरुको संख्या र उनीहरु निको हुने दर हेर्दा समस्या जटिल हुन सक्नेतर्फ आँकलन गर्न कसैलाई पनि अप्ठ्यारो पर्दैन । तर यदि हामीले सुरक्षा व्यवस्था अपनाउनतर्फ लागेनौं अनि राज्यलाई दोष थोपर्दै गयौं भने नेपालमा पनि ५ वा ६ अंकमा कोरोनाका संक्रमितहरुको संख्या नबढ्ला भन्न सकिदैन ।

मङ्लबार, असार ९, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...