खड्ग गर्बुजा : जीवनमा हार खान नहुने रहेछ !

‘रेडियो नेपाल ।’

काँचको पारदर्शी ढोका अघिल्तिर पुगेर उनको ह्वीलचियर टक्क रोकिन्छ । ढोकामा सिंहदरबार परिसरको प्रतिविम्बलाई छल्दै एउटा अधवैंशे अनुहार देखा पर्छ । त्यही अनुहार, जसले असीमित पीडा लुकाएको छ ।

हिजो हीनताबोधले फतक्कै गलेको त्यो अनुहारमा आज प्रेरणाका आभा पोतिएको छ । सो अनुहारलाई चिनाउने संज्ञा हो, खड्ग गर्बुजा ।

जीवनका कतिपय सपनाहरु जहाँ पुगेर विघटन हुन्छ, त्यही मोडबाट नयाँ आयम उद्घाटित हुनपुग्छ । घाँस काटिरहेको बेला अत्यासलाग्दो भीरबाट गुल्टनु उनको दूर्भाग्य मात्र थिएन, जीवनले अर्को संभावनातर्फ कोल्टे फेर्नु पनि थियो ।

अर्लीभीरबाट झटारिएर लडेका उनी सधैंका लागि अपाङ्ग भए । अपाङ्ग नभएका भए के हुन्थे ?

लाहुरे हुन्थे । गोर्खा राइफल्समा परेड खेल्दै आफ्नो वैंश गुजार्थे । तर, सद्दे ज्यान घिसि्रएर हिँड्नुपर्ने बाध्यतामा फसेपछि उनी गायक बने । रेडियो नेपालभित्र जीवनको लय र धुन खोज्न आइपुगे ।

भरपेट खानै नपुग्ने विपन्न परिवारमा बालवय गुजारेका, ११ बर्षको उमेरमा पहिलो पटक चप्पल लगएका, १५ बर्षको उमेरमा पहिलो पटक गाडी चढेका, १६ बर्षको उमेरमा लाहुरे हुन भनी हिँडेका, सोही उमेरमा भीरबाट लडेर मेरुदण्डको चोटले थलिएका खड्ग गर्बुजा जीवनको कुन कुइनेटाहरुमा ठोक्किदै रेडियो नेपाल प्रवेश गरे ? कसरी आफ्ना गायकीबाट कहलिए ? कसरी गीत सुनाउँदै देश-देशवार फन्को लगाए ? कसरी काठमडौंमा घर-घडेरी जोडे ? कसरी सानो एवं सुखी परिवारको रचना गरे ?

उत्सुकता मेट्न उनको जीवनको पहिलो अध्यायबाट नै पाना पल्टाउनुपर्ने हुन्छ ।

ढुंगामा पछार्दा पनि केही नहुने

२०२६ । म्याग्दी, मराङ-रिख । पुसको कठ्यागि्रने महिना । भैंसीगोठमा जन्मिएका थिए, खड्ग गर्बुजा ।

जन्मदा उनी सन्तानमध्येकै निरोगी । त्यसबेला उनका बा-आमा भन्थे रे, ‘ढुंगामा पछार्दा पनि केही नहुने खालको छ यो ।’

बुवा र दाइसँगै उनको बास हुन्थ्यो, गाइबस्तुको गोठमा । आधा दर्जन दुहुना गाई-भैंसी । दूध मनग्ये हुने । दिउँसो बुवा र दाइ वनपाखातर्फ लाग्ने । गोठ रुँघेर बसेका खड्गलाई अरु मौका के चाहियो ?

दूध तताएर दहीका लागि जमाएको ठेकीमा हात डुबायो । दुधको सतहमा लागेको बाग्लो तर हातभरि आउने । चाटचुट खायो ।

बुवा त्यही दहीबाट मोही बनाउँथे । घिउ लागे पो ?

छोरोले तर, सोहोरेर खाएको भेउ पाएको भए अर्थोक नै उपाय खोज्थे होला । तर, सोझा बुवाले ठाने ‘देवी-देवता लागेर वा बोक्सी-डाइनोले आँखा लगाएर घिउ लागेन ।’ बुवा धूपपाती गर्दै गोठ घुम्थे ।

एकपटक दाइले टुथपेस्ट ल्याएर गोठको कतै घुसारेका रहेछन् । खड्गले फेला पारिहाले । टुथपेस्ट कहिल्यै देखेका थिएनन् । खानेकुरा होला भन्ठाने । ‘यसो निकालेर छामें, हेरें र थोरै निकालेर जिब्रोमा लगाएँ’ खड्ग सम्झन्छन्, ‘खाँदा गुलियो-गुलियो भयो, बास्ना पनि मिठो । दाइले आफूमात्र खान लुकाएको होलान् भनेर सबै खाइदिएँ ।’

गोठमा बस्दा वनजंगलकै खानेकुराले पेट भर्नुपर्ने । कहिले निगुरो, कहिले च्याउ । पासोमा थापेर चरा मार्थे । पोलेर खान्थे । सिम-खोल्सामा पुगेर पाहा मार्थे । पोलेर खान्थे । ‘यसरी मारेको चराको चुच्चो, पाहाको खुट्टा माला बनाएर बुवाले मेरो घाँटीमा लगाइदिने’ खड्ग सम्झन्छन्, ‘म दंग पर्थें ।’

लाहुरे हुन्थे । गोर्खा राइफल्समा परेड खेल्दै आफ्नो वैंश गुजार्थे । तर, सद्दे ज्यान घिस्रिएर हिँड्नुपर्ने बाध्यतामा फसेपछि उनी गायक बने । रेडियो नेपालभित्र जीवनको लय र धुन खोज्न आइपुगे ।

घरको अवस्था कतिसम्म टीठलाग्दो थियो भने, एकमानो चामलका लागि पनि साहुको अगाडि नाङ्गो हात फिँजाउनुपर्ने । आमाले मागेर, ऋण काडेर वा बनजंगल चाहरेर लिएको चामल, कोदोको पीठो, सिस्नुले छाक टार्नै गाह्रो हुन्थ्यो । ढिडो पकाउने भाँडा केही दिनसम्म नमाझी राख्ने गरिन्थ्यो । भोकले रन्थनिएर घर पुगेपछि त्यसैमा टाँसिएको माम्री खान पनि दाजु र भाइको घम्साघम्सी चल्थ्यो । माम्रीमा पानी थपेर आगोमा राख्थे । माम्री उप्किएपछि नुनमा चोपलेर खान्थे ।

सानो छँदा खड्गलाई खुब उपद्रोह गर्नुपर्ने । द तरीसँग लाप्पा खेल्ने, धुत्र्याई गर्ने, चोर्ने, लुकाउने कति गरे, कति । गोदाइ पनि उत्तिकै खाए । कहिले साथीको खाजा लुकाइदिने, कहिले बारीको मुला/कांक्रा चोरेर खाइदिने ।

दाजु-दिदी विद्यालय जान पाएनन् । उनलाई भने पढ्न पठाइयो । तर, पढाइ भन्दा पनि अनेक उटपट्याङ गर्नुपर्ने । विद्यालय जान नमान्दा बुवाले सिस्नोघारीमा पछारिदिए । जेनतेन गाउँकै विद्यालयबाट पाँच कक्षासम्म पढे ।

खड्ग गर्बुजा सानैदेखि रौसे । घुमफिर गर्नुपर्ने, गाउनुपर्ने, नाच्नुपर्ने । कतै नाचगान छ भने पुग्नैपर्ने । उनको गाउँमा अनौठो परम्परा थियो, हाँसखेल गर्नका लागि एउटा गाउँका तन्नेरीले अर्का गाउँका तरुनी थुन्ने । ‘तरुनीले तन्नेरीलाई वा तन्नेरीले तरुनीलाई, जसले थुनेको हो उनीहरुले कुखुरा काटेर मासुभात ख्वाउनुपर्ने’ उनी सुनाउँछन्, ‘रमाइलो गर्नुपर्ने, नाचगान गर्नुपर्ने, माया-पिरतीको कुरा गर्नुपर्ने ।’

खड्ग गर्बुजामा वैंश त चढेको थिएन । तर, उनी यस्ता माहौलमा मिसिन कहाँ चुक्थे ?

मादल भिरेर सालैजो वा झ्याउरे भाखा हाल्न थाल्थे । यसरी छर्लङ्ग रात कटाउथे ।

उमेर बढ्दै गएपछि ढाक्रे बनेर गाउँलेहरुसँग स्याङजाको बाढखोल झर्थे, नुन बोक्न । ढाकरमा भारी बोकेर आउजाउ गर्न ९ दिनको बाटो छिचोल्नुपर्ने । त्यो पनि खाली खुट्टा ।

लाहुरे बन्न गोरखपुर

मगरको छोरो । बलियो-बाङ्गो । लाहुर लागे काइदा हुने । दुःख र अभाव सकिन्थ्यो । यस्तै ठन्थे बुवाआमा ।

घरमा दुई जवान छोरो । तर, घाँस काट्ने क्रममा लडेपछि दाई घाइते भए । उपचारको अभावमा उनी सधैका लागि अपाङ भए । अब लाहुरे बन्नुपर्ने पालो आयो, खड्ग गर्बुजाको । ‘घर छाड्नुअघि बाटो खर्चका लागि म्यग्दीको पाखाखानीमा बालुवा बोक्ने काम गरें’ उनी भन्छन्, ‘पैतला फुटेर चिरिएको थियो । रगत चुहाउँदै खाली खुट्टा बालुवा बोकेर पैसाको जोहो गरियो ।’ यसरी आर्जन गरेको पैसाले बेनीमा गएर जुत्ता-मोज किने । बाँकी बाटोखर्च राखे ।

एक बिहान लाहुरे बन्ने सुरमा उनले घर छाडे । पहिलो पटक नयाँ जुत्ता-मोजा लगाएर ।

म्याग्दीको धारापानी, तातोपानी, पर्वतको ग्यादी, स्याङ्जाको नौडाँडासम्म पैदल हिँडे । ठाउँ-ठाउँमा बास बस्दै । नौडाँडाबाट बस चढे, जीवनमै पहिलोपटक । बुटवलबाट सुनौली हुँदै गोरखपुर पुगे । ‘पहिलो पटक घर छाडेको एकदमै विरक्त लाग्यो’ खड्ग गर्बुजा सम्झन्छन्, ‘घर सम्झेर खुब रोएँ ।’

खासमा गोरखपुरसम्म पुग्नका लागि उनलाई मितबाले हिम्मत दिएका थिए, जो भारतिय सेनामा सुबेदार थिए । हप्तदिनपछि मितबासँग भेट भयो । उनीसँगै क्याम्प गए । बिहानैदेखि लाहुर लग्नेहरुको ताँती थियो । गेट खुल्नसाथ ठेलमठेल गर्दै सबै भित्र पसे । खड्ग गर्बुजा पनि त्यही भिडमा मिसिए ।

भित्र पसेपछि अफिसरले सबैको शारीरिक नापतौल लिए । गठिलो र सद्दे ज्यान भएकाहरुको छातीमा छाप लगइदिन्थे । खड्ग गर्बुजाको छातीमा पनि छाप लाग्यो । अब दोस्रो चरणको तयारी सुरु भयो । लिखित परिक्षा, हाइजम्प, लङ जम्प ।

अर्को दिन गोरखपुरकै फुटबल मैदानमा छानिएकाहरुलई दौडाइयो । बाँकी परीक्षा लिइयो । सबैमा खड्ग गर्बुजाले राम्रो गरे । र, तनिजा कुर्न थाले ।

नतिजा आयो । तर, उनको नाम आएन । कारण रहेछ, उनको उमेर । लाहुरे बन्न १८ बर्ष पुगेको हुनुपर्ने । खड्ग गर्बुजाको उमेर १५ बर्ष मात्र थियो ।

एउटा सपना तुहियो । अब के गर्ने ? घर र्फकनका लागि पैसा थिएन ।

गोरखपुरमै भेटिएका थिए, एक गाउँले दौतरी । उनैसँग मिलेर होटलमा भाँडा माझ्न थाले । ठेलामा गुडाउँदै घर-घरमा कोइला पुर्‍याए । चिकित्सक दम्पतीको घरमा भैंसी नुहाइदिनेदेखि घरधन्दा गरिदिनेसम्म गरे । सेठको खुट्टामा तेल लगाएर मालिस गरिदिए ।

महिना दिनपछि अर्को भर्ती खुल्यो । दौडदै क्याम्पको गेटमा पुगेर हेर्दा सूचना टाँसिएको देखियो, ‘अबदेखि एसएलसी पासलाई मात्र भर्ती लिइनेछ ।’

गोरखपुरमै रल्लिदै हिँड्दा भेटिएका एक आफन्तसँग उनी सर्कस हेर्न पुगे । सर्कस रमाइलो लाग्यो । उनले साहुसँग काम गर्छु भने । काम थियो, सर्कसको सामान मिलाउने । सर्कसमै काम गर्दै उनी इलहावाद, मद्रास हुँदै लखनउ, मुम्बैसम्म पुगे । १० महिना काम गरेर सर्कस छाडे ।

‘जति दुःख गरे पनि केही नहुने, अब पढ्नुपर्छ भन्ने लाग्यो’ खड्ग गर्बुजा सम्झन्छन्, ‘कम्तीमा एसएलसी दिएर लहुरे बन्न आउँछु भनेर घरतर्फ लागें ।’

लखनउबाट घर र्फकदा उनको हातमा भारु पाँच सय रुपैयाँ थियो । गोरखपुरका लागि रेल चढे । गोरखपुर स्टेशन पुग्दा पर्स नै चोरियो । अब कसरी घर पुग्ने ? उनी बेखर्ची भए ।

त्यहाँ एकजना राई थरका रिक्सा चालक भेटिए । उनैलाई भनेर एक महिनाका लागि रिक्सा चलाए । बाटो खर्च भयो । उनी घरतर्फ लागे, ठाउँ-ठाउँमा बास बस्दै ।

बुवाआमाले मख्ख थिए, छोरो लाहुर लागे भनेर । आफु लाहुर नलागेको कुरा उनले चिठी लेखेर बुवाआमालाई पठाएका थिए । तर, चिठीभन्दा अघि उनी पुगे । लाहुरे बन्न गएका छोरो लखर-लखर रित्तै हात फकंदा बुवाआमाको मन निचोरियो । उनीहरु दुःखी भए ।

लाहुरे नभए पनि छोरो फर्केर आएको कुराले भने उनीहरुलाई सन्तोष मिल्यो । अब खड्ग गर्बुजा घाँस-दाउराकै काममा लागे । यस्तैमा एकदिन उनी बेनी झरेका थिए । संयोगले त्यहाँ बि्रटिश आर्मीका लागि गल्ला खुलेको रहेछ । उनी त्यहाँ भिडे । उनको जिउडाल नापजाँच भयो । गल्लावालले छातीमा छाप लगाइदियो । अर्थात उनी पहिलो चरणमा पास भए । अब दुई चरणको परीक्षणपछि बि्रटिश आर्मीको ढोक खुल्थ्यो । यसका लागि उनले अरु एक महिना पर्खनुपर्ने भयो । उनी घर फर्किए ।

एउटा सपनाको अवसान

गाउँ नजिकै थियो, अर्लीभीर । निश्चित समयमा घाँस काट्नका लागि अर्लीभीर खुला गरिन्थ्यो । अरुबेला त्यहाँ काट्न नपाइने भएकाले घाँस लहलह हुन्थ्यो । अर्लीभीर खुल्नसाथ गाउँलेहरु तँछाड-मछाड गर्दै पुग्थे ।

खड्ग गर्बुजाको घरबाट एक घण्टा जतिमा अर्लीभीर पुगिने । दाइ र उनी राति नै त्यहाँ जाने निधो गरे । उनीहरुसँगै मिसिए गाउँले काका पनि । रातको खाना खाएर तीनै जना अगुल्टो बालेर अर्ली भीरतर्फ लागे । बाटोमा एक, एक अंगालो दाउरा खोजे । भीरमा पुगेपछि एउटा ओडारमा आगो सल्काए ।

दाइ र काका सुते । उनी भने रातभर आगो ताप्दै जागा रहे । बिहान हुनेबेला भने झकाए । ब्युझँदा अर्लीभीर खुलेर गाउँभरका गाउँलेहरु घाँस काट्न थालिसकेछन् ।

गर्बुजाले काका र दाइलाई उठाए । हतार-हतार घाँस काट्न थाले ।

भीरमा आउनुअघि आमाले कोदोको रोटी पठाएका रहेछन् । दाईले रोटी खान बोलाए । खड्ग भने काटेको घाँस बटुल्न थाले । यस्तैमा उनको मुखबाट अनायास यस्तो आवाज फुत्कियो, ‘अबुई ।’

उनको खुट्टा चिप्लियो वा टेकेको ठाउँ भत्कियो, उनले भेउ पाएनन् । घाँस काट्नुअघि उनले देखेका थिए, अत्यासलाग्दो पहरा । हेर्दै आङ सिरिङ्ग हुने । त्यही भीरमा उनी लड्न पुगेछन् ।

घाँस काट्न आएकाहरु उनलाई खोज्न थालेछन् । कोही टुप्पोतिर, कोही खोल्सातिर । तर, उनी भने अचेत अवस्थामा रुखमा अल्झिएका रहेछन् । कसैले डोरी लगाउने, कसैले जिउ थाम्ने गरेर उनलाई त्यहाँबाट निकालेछन् ।

ठीक त्यहीबेला आमा घरबाट खाजा लिएर भीरतर्फ आइरहेकी । यताबाट छोरोलाई गाउँलेहरुले अचेत अवस्थमा बोकेर लगिरहेको । बाटोमा भेट भयो । आमा मूर्छा परिन् ।

‘मलाई अबुई भनेको भन्दा केही थाहा छैन’ खड्ग सम्झन्छन्, ‘पछि होसमा आउँदा म लडेको चार दिन भइसकेको रहेछ ।’ भिरमा बजारिएर उनको मेरुदण्डमा नराम्ररी चोट लाग्यो । खुट्टाको हाड भाँचियो । उनी हल न चल भए ।

घाइतेलाई अस्पताल लानुपर्छ भन्ने चेत थिएन, न उपचार-खर्च नै । घरमै राखेर कुम्रोले बाँध्ने, चिप्लेकिरा ख्वाउने, धामीझाँक्री लगाउने काम भयो । छोरो यता असह्य पीडाले छटपटाइरहेका छन् । उता गाउँभरका मन्छे भेला बनाएर धामी झाँक्री रमिता देखाइरहेका छन् ।

अज्ञानता, अभाव, असुविधा र अन्धविश्वासले उनलाई सधैका लागि अपाङ्ग बनाइदियो । जान्नेबुझ्ने हुँदो हो, धन-सम्पति हुँदो हो, सेवा-सुविधा मिल्दो हो त आमाबुवाले छोरोको उपचारमा कुनै कसर बाँकी राख्ने थिएनन् । तर, उनीहरुका निम्ति ती कहिले दाहिना भएनन् । आखिरमा गरिब परिवारको एउटै आशा र भरोसाको पनि अवसान भयो ।

बुवाको वेदना

भीरबाट लडेको दुई महिना बितिसकेको थियो । छिमेकी गाउँमा घुम्ती स्वास्थ्य शिविर आएको रहेछ । डोको काटेर बस्न मिल्ने बनाइयो । बुवा र दाइ मिलेर पालै-पालो बोक्दै उनलाई शिविरतर्फ लगे । आमा पछि लागिन् ।

शिविरमा डाक्टरले जाँच गरे । भने, ‘ढिला भयो । अब घरमै बसेर आरम गर्नु । धेरै बर्षपछि आफै ठिक हुन्छ ।’

घर फर्किएपछि खड्गले बुवालाई भने, ‘मलाई एकपटक अस्पतालसम्म पुर्‍याउनु न ।’ एक छाक खान धौ-धौ । कुन खर्चले उपचार गर्ने ? बुवा झर्किए, पैसा छैन भन्दै । गाउँलेहरुले भने, तातोपानी लगेर पनि निको हुनसक्छ । बुवाले साहुसँग पाँच सय रुपैयाँ ऋण कडे । दाई र बुवाले उसैगरी डोकोमा बोके । आमा पछि लागिन् । चारैजना एउटा ओडारमा बास बसे ।

उनी तातोपानीमा ९ दिनसम्म डुबे । केही सुधार भएन । बुवाले भने, ‘अब घर र्फकनुपर्छ ।’

तर, खड्ग गर्बुजाले अर्को अड्को थापे । उनले बुवालाई भने, ‘अब पाल्पा वा पोखराको अस्पताल पुर्‍याउनु, यहाँसम्म त आइयो ।’ बुवाको खल्ती रित्तो थियो । उनले आँट गरेनन् । खड्ग गर्बुजाले घुर्की लगाए, ‘मलाई अस्पतालसम्म जसरी पनि पुर्‍याउनु, नभए भीरबाट खसेर मर्छु ।’

आखिर बुवाको केही लागेन । उनी गाउँ फर्किए र ठूलीआमाले कानमा लगाएको सुन मागेर बैंकमा धितो राखे । २५ सय रुपैयाँ बोकेर उनी तातोपानी पुगे । त्यहाँ एउटा भरिया खोजियो । उनीहरु पोखरतर्फ लागे, आमा रुँदै घरतर्फ ।

एक साता जति हिँड्र उनीहरु बस चढ्ने ठाउँमा पुगे, नौडाँडा । त्यहाँबाट उनीहरु पोखराको अस्पतालमा पुगे । चिकित्सकले भने, ‘यहाँ उपचार हुँदैन । काठमाडौं लग्नु ।’

जीवनका कतिपय सपनाहरु जहाँ पुगेर विघटन हुन्छ, त्यही मोडबाट नयाँ आयाम उद्घाटित हुन पुग्छ । घाँस काटिरहेका बेला अत्यासलाग्दो भीरबाट गुल्टनु उनको दूर्भाग्य मात्र थिएन, जीवनले अर्को संभावनातर्फ कोल्टे फेर्नु पनि थियो ।

अर्काले लगाइरहेको सुन बेचेर ल्याएको पैसा कति नै बाँकी थियो र ? बुवाले निराशाले फतक्कै गले । तर, छोरोको ढिपी सामु उनी कतिबेर कठोर बन्न सक्थे ? रात्रीबस चढेर बुवा-छोरा काठमाडौं हानिए ।

बीर अस्पताल पुग्दासम्म उनीहरुले ओढ्नका लागि ल्याएको सिरकको खोल मात्र बाँकी थियो । त्यही खोलमा खड्ग गर्बुजालाई राखेर बुवाले घिसार्दै अस्पतालको कोठाहरुमा लैजान्थे । त्यसबेला नेपालकै सबैभन्दा ठूलो अस्पताल भनिएपनि सेवा सुविधा केही थिएन । रिपोर्ट आउनै तीन दिन लाग्थ्यो । तीन दिनसम्म उनीहरु अस्पतालकै छिँडीमा कक्रिएर बसे । ‘अहिले पनि त्यो बाटो हिँड्दा म त्यो छिँडी हेर्छु र त्यसबेलाको दसा सम्झन्छु’ यसो भनिरहँदा गर्बुजाका आँखा रसाउँछन् ।

तीन दिनपछि रिपोर्ट आयो । चिकित्सकले भने, ‘तपाईंहरु ढिला आइपुग्नुभयो । घर गएर आरम गर्नुहोस् । लामो समयपछि आफैं ठीक हुन सक्छ ।’ खड्ग गर्बुजाले बुवाको अनुहार हेरे । बुवाका आँखा आँशुले टिलपिल थिए ।

आमा अँगेनामा रुने, छोरो पिँढीमा

असोज महिना । दशैं लाग्यो । गाउँघर घमाइलो भयो ।

त्यहीबेला अर्को दुःख थपियो ।

अचानक आमालाई पक्षघात भयो । उनी हिँड्न र बोल्नै नसक्ने भइन् । दाइ अपाङ्ग, आमा अशक्त, उनको हालत त्यस्तो छ ।

घरमा खड्ग गर्बुजालाई स्यहार-सुसार गर्ने उनै आमा थिइन् । हल न चल गर्न नसक्ने छोराको दिसा-पिसाब सोहोर्नेदेखि अन्नपानी ख्वाउनेसम्म उनै आमा थिइन् । पिसाब फेर्न बाँसको ढुंग्री राखेका थिए । दिसा गर्न पुरानो थाल राखेका थिए । दिसा-पिसाब लागेको पनि थाहा नहुने ।

एकोहोरो ओछ्यानमा सुतेको-सुतेकै गर्दा खड्ग गर्बुजाको छाला उप्किन, पाक्न र घाउ-खटिरा आउन सुरु गरिसकेको थियो । आमाले नै घाउ सफा गर्ने, झारपातको ओखती लगाइदिने गर्थिन् । अब आमा अगेनाको डिलभन्दा कतै जान नसक्ने भइन् । भित्र उनी सुँक्क-सुँक्क रुन्थिन् । बाहिर पिँढीमा उसैगरी छोरा रुन्थे ।

खड्ग गर्बुजालाई स्यहार-सुसार पुगेन । उनी ओछ्यानको-ओछ्यानमै भए । घाउ पाक्यो । शरीर गन्हाउन थाल्यो । कहिले घरको भत्किएको भित्ता हेर्दै, कहिले प्वाल परेको चुहिने छानो हेर्दै उनको दिनहरु बित्न थाल्यो ।

पट्यारलग्दो दिनमा जीवनको धुन खोज्दै

दिन, हप्ता, महिना, बर्ष । ओछ्यान उही, व्यथा उही । कहिलेसम्म टोलाउने ? कहिलेसम्म रुने ?

एकदिन छिमेकी बाजे आए । उनैले काठको फलेक जोडजाड गरेर खाट बनाइदिए । ठूलीआमाले झारजंगलको ओखती बनाइदिइन् । कुखुराको प्वाङले ओखती लगाएपछि घाउ निको हुन थाल्यो ।

एकदिन घरमा कान्छा बा आए । उनको साथमा रेडियो थियो । कान्छा बाले रेडियो दिदै भने, ‘ल कान्छा तेरो साथी ।’

तर, रेडियो बिगि्रयो । उनले अर्की फुपुलाई रेडियो मागे ।

रेडियो नेपाल ट्युन गर्‍यो, कहिले गीत, कहिले नाटक, कहिले ठट्यौली, कहिले बहस, कहिले समचार । उनको मन बहलउने गजबको साथी भइदियो । साथी मात्र ? जीवनको धुन खोज्ने मेलो भइदियो ।

‘रेडियोमा बज्ने गीत खुब चाख मानेर सुन्थें, त्यसकै नक्कल गर्थें’ खड्ग गर्बुजा सम्झन्छन्, ‘आफूले आफैंलाई भुल्ने बाहना नि ।’

रेडियो सुनिरहँदा उनका अनेक कल्पना तरंगित हुन्थ्यो । सोच्थे, कहाँबाट कसरी बज्छ रेडियो ? त्यहाँ कसरी पुग्ने ? रेडियोमा गएर गाउन पाए कस्तो हुन्थ्यो ?

रेडियोमा उनले के पनि सुनेका थिए भने, शारीरिक अपाङ्गता भएकाहरुलाई काठमाडौंमा खाने-बस्ने व्यवस्था छ । ‘काठमाडौं जान पाए हुन्थ्यो भन्ने लाग्न थाल्यो’ उनी भन्छन्, ‘तर, कसरी जाने ?’

क्रमस गीत-संगीतमा रस भिज्यो । उनले माहुरी बाजा सम्झिए, जो गाउँघरका दाइहरुले बजाउथे । निगालोबाट बनाइएको बाजा गजब बज्थ्यो । बुवा र दाइले गाईबस्तुले घाँस खाएर बाँकी रहेको निगालो ल्याइदिए । उनले जानी-नजानी माहुरी बाजा बनाए ।

त्यसबेला उनलाई रेखदेख गर्न मावली बज्यै आइरहन्थिन् । नातिले माहुरी बाजा बजाएको सुन्दै बज्यै पनि आनन्द मान्थिन् । नातिलाई सुमसुम्याउने, अर्ती उपदेश दिने, सम्झाई-बुझाई गर्ने बज्यै ६ महिनापछि बिते । खड्ग गर्बुजाले आफैंभित्र अर्को सन्नाटा महसुस गरे ।

एक्लै बसिरहँदा उनको मनमा अनेक जुक्ति पनि फुथ्र्यो । एकदिन उनले यताउता घिसि्रने साधन बनाउने उपाय सोचे । काठको फलेक खोजे । त्यसबाट गोलाकार पाङ्ग्रा बनाए । आफू बस्ने काठको पिर्कामा प्वाल बनाएर उक्त पाङ्ग्रा जोडे । अब उनी त्यसमथि बसेर बिस्तारै गुड्न सक्ने भए । गजब भइदियो ।

अब उनी ओछ्यानबाट उठेर आँगनमा यताउता गर्न थाले । नजिकै आफन्तको घरसम्म जान थाले । तास खेलेर दिन कटाउन थाले । अर्का गाउँका युवतीहरु उनलाई भेट्न आउँथे । विरह भाकाका गीतहरु गाउथे । तालमा ताल मिलएर उनी पनि गाइदिन्थे ।

खड्ग गर्बुजा कतिसम्म रौसे भने, त्यस्तो हालतमा पनि भरिया खोजेर, डोकोमा बोकाएर मेलामा गएर रातभर गाइदिने । गाउँघर चाहर्ने । आफन्तकै घरतिर दुई/तीन दिनसम्म बास बस्ने ।

यता हिँड्न र बोल्न नसक्ने आमा भने टुलुटुलु हेरिरहन्थे । उनलाई लाग्दो हो, छोराले यसरी घर छाडेर नहिँडे हुन्थ्यो ।

उनी भने काठको त्यही पिर्कामा घिसि्रँदै एकदिन जिल्लाका जन-प्रतिनिधि भेट्न पुगे, तीन घण्टा लगाएर । उनीहरु एक सिंचाई योजना हेर्न नजिकै गाउँमा आएका थिए । उनीहरुसँग खड्ग गर्बुजाले बिन्ती बिसाए, ‘काठमाडौंसम्म पुर्‍याइदिनुपर्‍यो ।’

जिल्लाका गन्यमान्यहरुले आश्वासन दिए, ‘हुन्छ, हुन्छ । तपाईंलाई हामी काठमाडौं पुर्‍याउने व्यवस्था गर्छौं ।’ फुरुंग भएका खड्ग गर्बुजाले माहुरी बाजा बजाउँदै गीत गाएर सुनाइदिए । उनीहरुले जनही २० रुपैयाँको दरले पैसा दिए । खल्तीभरि पैसा र मनभरि उमंग बोकेर खड्ग घर फर्किए ।

पैसा भएपछि उनी दिनभर, रातभर तासमा जम्न थाले । अलि-अलि झेल गरेर पनि उनले पैसा मारे । अर्को गाउँमा मेला लाग्थ्यो । आफुलाई डोकोमा बोक्न लगाएर उनी मेला भर्न गाए । मेलामा माहुरी बाजा बजाउँदै गाउन थाले । रमितेहरुको मन पग्लियो । सबैले पैसा दिए ।

आमाको बुलाकी चोरेर घर छाडे

दिउँसो घरका सबै मेलापात जान्थे । आमा सिकुवामा लमतन्न । यही मौकामा उनी घरभित्र पसे, आमाको सुनको बुलाकी झिकेर खल्तीमा राखे । अनि घरबाट हिँडे ।

आमा टुलुटुलु हेर्न बाहेक केही गर्न नसक्ने । आँखाभरि टिलपिल आँशु बनाएर छोरालाई हेर्दै टोलाइरहे ।

घिसि्रँदै फुपूको घरसम्म पुगे । त्यहाँबाट भिनाजुलाई डोकोमा बोक्न लगाएर तीन दिनमा बेनी पुगे । उनलाई बोकेर ल्याउने आफन्तहरु घर फर्किए । उनी त्यहीँ बसे । नजिकै सिडियो कार्यालय थियो । उनले सिडियोसँग भेटे र आफूलाई काठमाडौं पुर्याउने बाचा गरेको प्रसंग सम्झाए । सिडियोले आश्वासन दिएर फर्काए । यो क्रम निरन्तर चलिरह्यो ।

बेनीमा बस्दा उनी माहुरी बाजा बजाउँथे, गीत गाउँथे । रमितेहरु झुम्मिन्थे । पैसा दिन्थे । तीन महिना बित्यो । राजा बीरेन्द्र र रानी ऐश्वर्यको भ्रमण हुन्छ भन्ने सुनेका थिए । उनले बिन्तीपत्र दिने विचार गरे । तर, सिडियोले थप आश्वसन दिँदै फर्काए, ‘त्यस्तो गर्नु पर्दैन । तपाईंलाई हामी काठमाडौं पठाउँछौं ।’

आफू बसेका आफन्तलाई उनले आमाबाट चोरेको बुलाकी दिए । तर, उनीहरुले लिन मानेनन् । खड्ग गर्बुजाले उक्त बुलाकी त्यही छाडेर घर फर्के । पछि उनीहरुले बुलाकी आमालाई फर्काइदिएछन् ।

घर बाहिरै हिँड्ने बानी परिसकेको थियो । उनले गाउँका एक दाईलाई अनुनय गरे, ‘मलाई डोकोमा राखेर बोक्नुहोस्, हामी बेनी झरौं ।’ छोराले घर छाड्ने थाहा पाएर आमाले हात समाते र अठ्याइरहे । आँखाभरि आँशु थियो ।

‘आमालाई छाडेर हिँड्न मन थिएन’ खड्ग गर्बुजा सम्झन्छन्, ‘तर, घरमै कहिलेसम्म बस्ने ?’

डोकोमा बोकएर उनै बेनी पुगे । आफन्तकहाँ बसे । दिसा-पिसाब चुहिएर उनी बस्ने कोठा गन्हाउँथ्यो । दिनभर घिसि्रँदै गीत सुनाउथे । त्यहाँ बि्रटि्रश वेलफेयरको अफिस थियो । लाहुरेहरु पेन्सन बुझ्न आउँथे । उनी त्यही गेटमा बसेर गीत गाउन थाले । १२ सय रुपैयाँ सहयोग जुट्यो ।

त्यसपछि उनी बाग्लुङ पुगे । त्यहाँ पनि पेन्सन क्याम्प अघिल्तिर बसेर गाउन थाले । लाहुरेहरुले उनको गीत टेपरेकर्डरमा रेकर्ड गर्थे । खड्ग गर्बुजासँग गीत गाएकै पैसा १०-१२ हजार रुपैयाँ जम्मा भयो ।

उनले त्यहीँबाट रेडियो नेपालमा फोन गरे, ‘मलाई गीत गाउन मन छ, त्यहाँ आएर गीत गाउन पाइन्छ ?’

रेडियो नेपालबाट जवाफ पाइन्थ्यो, ‘गाउन पाइन्छ, आउनुहोस् ।’

अब उनी काठमाडौं जाने सुरमा लागे ।  सहदेव राजभण्डारीले उनलाई पुरानो ह्वीलचियर दिएका थिए । हिँडडुल गर्न केही सहज भएको थियो । उनै सहदेवले काठमाडौं जाने बाटो पनि खुलाइदिए, अपाङ्ग सहायता कोषलाई चिठी लेखेर । बाग्लुङबाट बलेवा हुँदै उनी हवाइजहाज चढेर काठमाडौं आइपुगे ।

गेस्टहाउसको बास, रेडियो नेपालको चक्कर

काठमाडौं आएपछि उनले बागबजारको एउटा गेष्टहाउसमा डेरा जमाए । सोही गेष्टहाउसमा कांग्रेस नेता तारानाथ रानाभाट पनि बस्ने रहेछन् । खड्ग गर्बुजाले माहुरी बाजा बजाउँदै गीत गाएको सुनेपछि उनले रिसेप्सनमा बोलाए । गीत गाउन लगाए । यो क्रम केही रात रह्यो । रानाभाटले पनि उनलाई सहयोग गर्ने आश्वासन दिए ।

गेष्टहाउसमा बसेर साध्य हुँदैनथ्यो । खल्ती रित्तिँदै थियो । उनी दिगो आश्रयको खोजीमा भौंतारिन थाले । कहिले प्रदर्शनी मार्गको अपाङ्ग सहयोग संघ कहिले बूढानीलकण्ठ त कहिले जोरपाटीको खगेन्द्र नव-जीवन केन्द्र । सबैले आश देखाउने । बास नदिने ।

सबैको चिप्लो बोली, तर रुखो व्यवहारले उनी भित्रभित्रै गले ।

एक दिन उनले गेष्टहाउसका कर्मचारीलाईं रेडियो नेपाल कहाँ पर्छ भनेर सोधे । उनले सहज बाटो बताइदिए । खड्ग गर्बुजा पहिलोपटक रेडियो नेपाल सम्मुखमा पुगे । उनमा असीमित उमंग नाचिरहेको थियो । केही समयको पर्खाइपछि रेडियो नेपालभित्र प्रवेश गर्न पाए । त्यहाँ तीर्थबहादुर गन्र्धवलाई देखे । उनलाई ढोग्न मन लाग्यो ।

तीर्थबहादुर गन्र्धवसामु उनले गीत गाउने इच्छा प्रकट गरे । ‘चौतारी’ भन्ने कार्यक्रममा गाउन पाइने भयो । त्यसका लागि एक हप्ता अगाडि नै नाम लेखाउनुपर्ने । नाम लेखाएर उनी गेष्टहाउस फर्किए ।

साता दिनपछि उनी रेडियो नेपाल पुगे । भिड थामिनसक्नु थियो, गाउनेहरुको । गेट खुल्नासाथ सबै हुरुरु पसे । कार्यक्रम सञ्चालक थिए, पाण्डव सुनुवार र युक्त गुरुङ । अरु थुप्रै गायक देखिए, जसको गीत उनले रेडियोमा सुनेका थिए । खड्ग दंग परे ।

चौतारीमा उनले गीत गाइदिए । कति पनि धक लागेन । उनले माहुरी बाजा बजाएको देखेर बमबहादुर कार्की नजिकै आए । भने, ‘यो बाजा निकै राम्रो लाग्यो । भोलि प्रतिभा साँझ कार्यक्रमको रेकर्डिङ छ, आउनुहुन्छ ?’

खड्ग गर्बुजा गद्गद् भए । अर्को दिन उनी माहुरी बाजा लिएर रेडियो नेपाल पुगे । कार्यक्रममा उनको अन्र्तवार्ता लिइयो । लगत्तै प्रशारण पनि भयो । अब पालो थियो, चौतारीको गीत बज्ने ।

गेष्ट हाउसमा फर्केपछि उनले सबैलाई सुनाए, रेडियोमा मेरो गीत बज्छ भनेर । राति ८ बजे गीत प्रसारण पनि भयो । सबैले उनलाई धाप मारे ।

‘रेडियोबाट आफ्नो आवाजमा गीत सुनेपछि हुरुक्कै भएँ’ खड्ग गर्बुजाले उमंगित हुँदै सुनाए, ‘जीवनमा पहिलोपटक म त्यति खुसी कहिल्यै भएको थिइन ।’

अब उनी रेडियो नेपाल धाउन थाले स्वर परीक्षा दिए । पास भए । खुसीमाथि खुसी थपियो ।

फादर थोमस ग्याफ्ने अर्थात देवता

झम्सीखेल । पुरानो शैलीको राणाकालीन घर । सेन्ट जेभियर्स सामाजिक सेवाकेन्द्र ।

‘तपाईं यहाँ बसेर के गर्नुहुन्छ ?’ गोरो, अग्लो, अमेरिकन मूलका फादर थोमस ई ग्याफ्नेले खड्गलाई सोधे ।

जवाफ के दिनुपर्ने हो ? खड्ग गर्बुजालाई थाहा थिएन । उनले भने, ‘तपाईंले जे भन्नुहुन्छ, त्यही ।’

फादरले अर्को प्रश्न गरे, ‘यहाँ बस्ने हो भने एउटा सर्त मान्नुपर्छ ।’

खड्ग गर्बुजाले तुरुन्तै जवाफ फर्काए, ‘मान्छु ।’

फादरले भने, ‘मसँग बसेपछि पढ्नुपर्छ ।’

कस्तो गजब अफर ! बस्न पनि पाइने, पढ्न पनि । सित्तैमा ।

काठमाडौंमा लजको बास लम्बिँदै थियो । खल्ती रित्तिँदै थियो । मन हराभरा भएर के गर्नु ? ओत लाग्ने छानो थिएन । धेरैतिर भौंतारिए । बास पाएनन् । त्यही क्रममा ओम थपलिया भन्ने व्यक्तिको सम्पर्क सूत्रबाट उनी फादर थोमस ई ग्याफ्नेकहाँ पुगेका थिए ।

थोमस अमेरिकी नागरिक थिए, जो नेपालमै बसेर सामाजिक सेवा गरिरहेका थिए । खासगरी अशक्त एवं अपाङ्गलाई उनी आफूकहाँ राख्थे । त्यहाँ बसेपछि एउटा सर्त भने पालना गर्नैपथ्र्यो, पढ्नुपर्ने ।

खड्ग गर्बुजाले आफू गायक बन्न चाहने र रेडियो नेपाल धाइरहने कुरा पनि सुनाए । फादरले भने, ‘राम्रो कामका लागि कुनै रोकटोक छैन । खराब काम गर्नेलाई चाहिँ यहाँ ठाउँ छैन ।’

फादरकहाँ उनीजस्तै असक्त-अपाङ्गहरु बस्थे । खान, बस्न सबै सुविधा । साथीहरुबीच एकअर्कामा सहयोग पनि हुने । खेल्न पाइने । रमाइलो गर्न पाइने । यत्तिका दौडधूपपछि राम्रो विसौनी मिलेको थियो ।

गाउँमा ६ कक्षा पढेका । अब सोही कक्षाबाट पढाइलाई निरन्तरता दिने उमेर थिएन । उनले अब ८ कक्षाबाट पढाइ सुरु गर्ने कुरा बताए, फादरसँग ।

‘अहो, तिमी बुढो मान्छे’ फादरले भने, ‘८ कक्षामा हुँदैन ९ देखि पढ्नुपर्छ ।’ सुरुमा त उनको नौनाडी गल्यो । एकान्तकुनाको महेन्द्र भृकुटी माविमा भर्ना भए । विद्यालय जान थालेपछि भने सहज हुँदै गयो । सहपाठीहरुले दाइ भन्ने । सबैभन्दा अगाडि बसेर पढ्नुपर्ने । ‘पढाइमा निकै मिहेनत गरें’ उनले सम्झिए, ‘९ कक्षा सजिलै पास गरेपछि फादर खुसी भए ।’ १० कक्षामा उनले फस्र्ट ब्वाईलाई उछिने । फादर खुसीले उपि|mए । उनले खड्ग गर्बुजालाई ज्याकेट उपहार दिए ।

पछि फादरको हत्या भयो । फादरले आश्रय दिएका गोकुल खड्का भन्ने व्यक्तिले फादरको हत्या गरेको खुल्यो । त्यसबेला खड्ग गर्बुजा पोखरामा थिए ।

गायन यात्रा र एक वियोगान्त

उनी कलानिधि इन्दिरा संगीत महाविद्यालयबाट संगीतमा शास्त्रीय संगीत सिक्न थाले । रेडियो नेपाल धाउने काम यथावत् थियो ।

दुःखजिलो गरेर एउटा सांगीतिक एल्बम निकाले, ‘दुःखको भुमरी ।’

पहिलो एल्बमले नै उनलाई राम्रो चिनारी दिलायो । ४५ हजार प्रति एल्बम बिक्री भयो । म्युजिक नेपालले उनलाई १६ सय रुपैयाँ पारिश्रमिक दिए । त्यसपछि उनले लगातार दुईवटा एल्बम निकाले । चौथो एल्बम ‘सम्झना मनैमा’ लोकपि्रय भयो । एक लाख प्रतिभन्दा बढी त क्यासेट नै बिक्री भयो ।

गाउँलेहरुले ठानेका थिए, खड्ग जिउँदो छैनन् । तर, रेडियोमा गीत बज्न थालेपछि सबै चकित भएछन् । आमाबुवाले पनि रेडियोमा छोरोको गीत सुनेछन् । हराएको छोरोको आवाज रेडियोमा बजेपछि भक्कानिएर रोएछन् ।

सेवा केन्द्रमा बसिरहेकै बेला एकदिन गाउँले दाईले सुनाए, गाउँमा आमा बितेको खबर ।

त्यतीका दिन बितिसक्दा समेत उनले आमा बितेको भेउ पाएका थिएनन् । घरबाट पनि जानकारी गराइएन, दुःखमाथि दुःख थपिन्छ भनेर । ‘आमाले अन्तिम अवस्थामा मलाई कति सम्झनुभयो होला, खोज्नुभयो होला’ खड्ग गर्बुजा सम्झन्छन्, ‘अहिले सम्झँदा भक्कानो छुट्छ ।’

खुसीको श्रृंखला

उनलाई लागेको थिएन, आफूलाई कसैले प्रेम गर्नेछिन् । विवाह हुनेछ । बालबच्चा हुनेछन् । सानो परिवार हुनेछ ।

नसोचेकै खुसी र सुख मिल्यो ।

एक सांगीतिक कार्यक्रममा भेटिएकी थिइन्, मैना पुन । लामो समयको देखभेटपछि उनीहरुबीच माया बस्यो । मन मिल्यो । पहिलो घरबार बिगि्रएको रहेछ मैनाको ।

उनीहरुबीच चिठी आदान-प्रदान भइरहन्थ्यो । यतिबेलासम्म उनले फादरको सेवा केन्द्र छाडेर छुटै कोठा लिइसकेका थिए । मैनालाई त्यही कोठामा बोलाए । एक पाउ कुखुराको पाङ्ग्रा ल्याएर भुटे । दुबैले स्वाद मानेर खाए ।

त्यसपछि खड्ग गर्बुजाले मैनाको सिँउदोमा सिन्दुर हालिदिए । भने, ‘आजदेखि हामी श्रीमान्-श्रीमती है ।’

मैनाले पहिलो श्रीमानबाट एउटी छोरी पनि जन्माएकी थिइन् । छोरी मामाघरमा बस्थिन् । खड्ग गर्बुजाले ‘अबदेखि छोरीलाई पनि यहीँ ल्याएर राख्नु’ भने । सानी छोरीलाई उनीहरुले कोठामा ल्याएर राखे । बुवाआमाकै संगतमा उनी पनि गाउन थालिन् ।

पछि मैनाको कोखबाट अर्की छोरी जन्मिइन् । खुसीको सीमा रहेन ।

‘म सधैं एक्लो, निसन्तान हुनेछु भन्ने लागेको थियो’ खड्ग गर्बुजा दंग पर्छन्, ‘आफ्नै सुखी र खुसी परिवार भएकोमा म आफुलाई निकै भाग्यमानी ठान्छु ।’

क्यासेट बिक्रीबाट घरखर्च चलेकै थियो । विदेशका सांगीतिक कार्यक्रमहरुबाट निम्तो आउन थालेका थिए । फादरको सेवाकेन्द्रमा रहेकै बेला पहिलो पटक उनी जापान पुगेका थिए । ह्वीलचियर प्रयोगकर्ताहरुबीच हुने दौड प्रतियोगिताका लागि फादरले नै खड्ग गर्बुजासहितका टोलीलाई जापान पुर्‍याएका थिए ।

दोस्रोपटक उनी जापान पुगे, गायक बनेर । जापानमा भएको कार्यक्रमबाट निकै साथ र सहयोग मिल्यो । एक महिनाको बसाइमा १० लाख रुपैयाँ जम्मा भएछ ।

त्यसपछि उनी पटक-पटक जापान पुगे । त्यसपछि बेलायत, हङकङ, अष्ट्रेलिया, बेल्जियम, कोरिया, अमेरिका, मलेसिया, बहराइन, साउदी अरब, कतार जस्ता मुलुकको फन्को लगाए, गीत सुनाउँदै । यसले उनलाई राम्रै फलिफाप भयो ।

आफ्नै कमाइले काठमाडौंको गंगबुमा जग्गा किने, घर बनाए । गाउँबाट बुवालाई ल्याएर काठमाडौंमा राखे ।

फादरकहाँ बसेका बेला उनलाई बमबहादुर कार्कीले रेडियो नेपालमा जागिर खाने भनेर सोधेका थिए । त्यसबेला उनले जागिरप्रति चासो दिएनन् । पछि भने आफैले आवेदन दिए । रेडियो नेपालका निर्देशक शैलेन्द्रराज शर्माले सोधे, ‘के-के बाजा बजाउन आउँछ ?’

उनले माहुरी बाजा, हारमोनियम, मादल, बाँसुरी बजाउन आउने बताए । साथसाथै आफ्नो पारिवारिक दुःख पनि सुनाए । निर्देशकको मन पग्लिएछ ।

उनलाई रेडियो नेपालमा जागिर मिल्यो ।  ‘टेक बेसिसमा जागिर पाएँ’ उनले सम्झिए, ‘त्यसबेला एक टेक बराबर ५० रुपैयाँ पाइन्थ्यो ।’

अहिले उनी रेडियो नेपालकै पूर्णकालीन जागिरे छन् ।

जीवनमा उनले जति सोचे, त्योभन्दा बढी पाएजस्तो लाग्छ ।

खड्ग गर्बुजा दार्शनिक भावमा भन्छन्, ‘जीवनमा हार खान नहुने रहेछ । जीवनप्रति सधंै आशावादी रहनुपर्छ, निरन्तर प्रयास गर्नुपर्छ, सफलता टाढा छैन ।’

अनलाइनखबरका लागि शिव मुखियाले तयार पारेको सामग्री साभार

शुक्रबार, असार १२, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...