छ महिनादेखि तलब नपाएको निजि बद्यालयका शिक्षकको गुनासो

संस्थागत विद्यालयमा कार्यरत शिक्षकको संस्था इष्टुले चैत्र महिनासम्मको तलब तत्काल उपलब्ध गराउन विद्यालय सञ्चालकसँग माग गरेका छन् । संस्थागत विद्यालय शिक्षक युनियन चितवनले बुधबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै जिल्लामा छ महिनादेखि शिक्षकले तलब नपाएको भन्दै दैनिकी सञ्चालन गर्न समेत समस्या परेको जनाएको छ । युनियन चितवनका अध्यक्ष जनकराज घिमिरेले जिल्लामा रहेका १६५ निजी विद्यालयमध्ये ८० प्रतिशतले तलब नदिएको जानकारी दिनुभयो ।

‘हामीले धेरै पटक तलब दिनको लागि माग गरेका छौँ तर दिएको छैन,’  उहाँले भन्नुभयो । संस्थाका अनुसार कतिपय विद्यालयले अघिल्लो शैक्षिक सत्रदेखिको तलब बाँकी रहेको छ । अधिकांश विद्यालयले माघ महिनादेखिको तलब शिक्षकलाई नदिएको उहाँले जानकारी दिनुभयो । पढाइ र परीक्षामा शिक्षकलाई काम लगाउने र अहिले आएर विद्यालय बन्द भएपछि तलब दिन सकिँदैन भन्दै बेवास्ता गरेको उहाँको भनाइ छ ।

विद्यालय नाफामा हुदा शिक्षकलाई भाग नदिने अहिले समस्या आएपछि बहाना बनाउन नहुने युनियनको भनाइ छ । निजी विद्यालयहरू प्रालिमा दर्ता भएकाले नाफामूखी संस्था भएपछि कमाएको बेलाको पैसा अहिले शिक्षकलाई दिनुपर्ने युनियनका केन्द्रीय उपाध्यक्ष केशवराज पाठकले बताउनुभयो । अभिभावकसँग पैसा उठाउनको लागि अनलाइन कक्षाको नाटक मञ्चन गरेको भन्दै तत्काल बन्द गर्न अनुरोध गर्नुभयो ।

तलब नपाएको कारण शिक्षकको चुलो नबल्ने अवस्था आएकाले तत्काल चैत महिनासम्मको र पछि लकाउन अवधिसम्मको तलब उपलब्ध गराउन माग गर्नुभयो । शिक्षकले तलब नपाए देशव्यापीरुपमा आन्दोलन चर्काउने उहाँले चेतावनी दिनुभयाे । चितवन जिल्लामा छ हजार शिक्षक कार्यरत रहेको युनियनले जनाएको छ ।

बुधबार, असार १७, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...