रियलले लियो बार्सिलोनासँग ४ अंकको अग्रता

स्पेनिस ला लिगामा रियल म्याड्रिडले उपाधि जित्ने अभियान बलियो बनाउँदै लगेको छ।

अंक तालिकाको शीर्ष स्थानको रियलले बिहीबार राति भएको खेलमा गेटाफेलाई १-० गोलले पराजित गर्दै दोस्रो स्थानको बार्सिलोनासँगको अग्रता बढायो।

घरेलु मैदानमा खेल सकिन ११ मिनेट बाँकी छदासम्म गोल गर्न नसकेपछि रियल दबाबमा आएको थियो। तर ७९ मिनेटमा गेटाफेका मथियास ओलिभेराले रियलका ड्यानी कार्भान्जललाई फउल गरेपछि रियलले पेनाल्टी पायो।

पेनाल्टीमा रियलका कप्तान सर्जियो रामोसले गोल गरे। रामोस क्लब र देशका लागि पछिल्ला २१ पेनाल्टी प्रहारमा चुकेका छैनन्।

खेलको सुरुवातमा रियलमाथि गेटाफे हाबी देखिएको थियो। रियलका गोलकिपरले केहि प्रहारलाई विफल पारेपछि गेटाफे गोल गर्न भने असफल भयो।

खेलमा दुवै टिमका खेलाडी बढी आक्रमक हुँदा १० वटा पहेँलो कार्ड देखाइएको थियो।

जितसँगै शीर्ष स्थानको रियलले ३३ खेलबाट ७४ अंक बटुलेको छ। दोस्रो स्थानको बार्सिलोनाको समान खेलबाट ७० अंक छ।

अब रियलले बाँकी रहेका पाँच मध्ये चार खेलमा जित हात पारे ला लिगाको उपाधि जित्नेछ।

शुक्रबार, असार १९, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...