बानपाका उप-मेयरद्धारा ठेकेदार माथि हातपात,यस्तो छ विवादको रहस्य

डम्मर बुढा मगर, आदर्श सञ्चार बागलुङ

बागलुङ नगरपालिकाका उप–मेयर सुरेन्द्र खड्काले निर्माण व्यवसायमा क्रियाशिल ऋषिराम रेग्मीलाई हातपात गरेका छन् ।

उप–मेयर खड्काले नगरपालिकाको खानेपानी आयोजनाको निर्माण जिम्मा लिएका ठेकेदार रेग्मीलाई अपशब्द प्रयोग गर्दै हातपात गरेका हुन् । कृषि विकास बैंकमा कार्यरत रहेका रेग्मीले आफ्ना श्रीमतिका नाममा निर्माण कम्पनी दर्ता गरेर ठेक्कापट्टाको काम गर्दै आएका छन् ।

सोमबार साँझ बागलुङको एक रेष्टुरेन्टमा खाजा खाएर बाहिरिने क्रममा रहेका ठेकेदार रेग्मीलाई सोही रेष्टुरेन्टमा बसेर मदिरा पिएका उप–मेयर खड्काले आफूलाई गाली गलौज गर्दै एक्कासी दुव्र्यवहार गरेको शर्माले आदर्श अनलाइनलाई बताए । ‘हामी रेष्टुरेण्टबाट खाजा खाएर निस्किन थालेका थियौँ, त्यही समयमा उपमेयर दाइ आउनु भो । र मलाई अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गर्नु भो, दाइ ड्रिङ्स गरेर आउनुभएको थियो’, रेग्मीले भन्नुभयो ‘दाईले मलाई किन यस्तो व्यवहार गर्नुभयो ? मैले केही बुझेको छैन, म प्रतिक्रिया नदिएर घर तिर लागे । यस बारेमा नगरपालिकामा जानकारी गराएको छु ।’

होटलमा रहेका केही प्रत्यक्षदर्शीले उप–मेयर खड्काले ठेकेदार रेग्मीलाई थर्काउदै एक झापड हानेको बताए । ‘उहाँहरु किन त्यसो गर्नु भयो, हामीलाई थाहा भएन,’ एक प्रत्यक्षदर्शीले भने, ‘के विषयमा झगडा भएको त्यो त थाहा भएन, तर केहि भनाभन पछि उपमेयर खड्काले एक झापड हाने अनि एकछिन धकेला धकेल समेत भएको हो ।’

उप–मेयर खड्काले भने रेग्मीसँग अलिकति छलफल भएको तर अभद्र व्यवहार र गाली गलौज नगरेको दावी गर्नुभयो । उहाँले नगरपालिकाको खानेपानी आयोजनाको आफू संयोजक रहेको र योजना अनुगमन गर्न गएका कर्मचारीलाई रेग्मीले थर्काएकाले सो विषयमा छलफल भएको बताउनुभयो । ‘उहाँले कर्मचारी थर्काउने, बाटो बाटोमा योजनाको पैसा मैलै रोकेको भन्दै हिँड्ने, मैले रोकेको त हैन, जे हो त्यो रिपोर्ट दिएका छौँ हामीले,’ उपमेयर खड्काले भन्नुभयो ‘हामीले रोकेको झै आरोप लगाउने, कर्मचारी थर्काउने गर्छौ तिमी, तिमी पनि एउटा कर्मचारी पनि हो भनेर मैले भनेको हुँ । अरु केही होइन ।’ नगरपालिका लुट्न दिए म ठिक हुने नत्र म बेठीक हुने भनेर आँफुले सिधै भनेको तर अरु त्यस्तो केही नगरेको उप–मेयर खड्काले बताउनुभयो ।

मङ्लबार, असार ३०, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...