मुस्ताङमा यो वर्ष धेरै वर्षा, सडक अबरुद्धहुँदा सम्पर्क रोकियो, ४८ परिवार बिस्थापित

निकै कम वर्षा हुने भनेर चिनिने हिमालपारिको जिल्ला मुस्ताङमा यस वर्ष भने अत्याधिक वर्षाका कारण सडकहरु अबरुद्ध हुदा अन्य जिल्लाबाट मुस्ताङ प्रवेशका लागि सिधा सम्पर्क रोकिएको छ । मुस्ताङ प्रवेशका लागि एक मात्र सडक मार्ग बेनी जोमसोम सडक खण्ड पूर्ण रुपमा अबरुद्ध भए सँगै मुस्ताङ प्रवेश गर्ने र बाहिरीने मार्ग बन्द भएको हो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालका अनुसार सडक यातायात म्याग्दी सँग जोडिएको अवस्थामा काभ्रे भर, घोप्टेभिर, रुप्से झरनामा पहिरो र बाढीले सडक रोकिए सँगै मुस्ताङ प्रवेश गर्ने सबै मार्ग अबरुद्ध भएका हुन् । डोल्पा तथा मनाङबाट प्रवेश गर्ने मार्ग सहज नभएको मुस्ताङका लागि एक मात्र भरपर्दो माध्यम भनेकै सडक थियो त्यो पनि रोकिए पछि अब पुरै सम्पर्क बिच्छेदको अवस्था छ –प्रजिअ अर्यालले भन्नुभयो ।
वर्षात्को कारणले गर्दा आएको बाढी पहिरोले गर्दा मुस्ताङको थासाङ गाउँपालिकाको २ र ४ नम्बर वडाका ४८ परिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको प्रजिअ अर्यालले बताउनुभयो । प्रजिअ अर्यालका अनुसार घाँसाका २ घर र २ गोठ पहिरोले पूर्ण रुपमा क्षती भएको छ । गोठ भत्किँदा १ गाइ र १ भैसी मरेको प्रजिअ अर्यालले बताउनुभयो । अहिले सम्म मानविय क्षती भएको छैन भौतिक क्षति ठूलो मात्रामा भयो अर्यालले भन्नुभयो ।
मुस्ताका प्रदेश सभा सांसद चन्द्रमोहन गौचनका अनुसार बिस्थापित हुनेलाई स्थानिय जनता आधारभूत विद्यालय र छिमेकीहरुको घरमा सुरक्षित तबरले राखिएको छ । कालिगण्डकी तथा अन्य खोलाहरुमा पनि पानीको बहाब बढेकोले जिल्लाका सुरक्षा निकायको टोली सहित क्षतिको स्थलगत अनुगमन शुरु भएको नेकपा मुस्ताङका अध्यक्ष समेत रहुनभएका सांसद गौचनले बताउनुभयो ।
थासाङ गाउँपालिका लेतेका स्थानिय बासिन्दा एवम् मुस्ताङका प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनका अनुसार घाँसा क्षेत्रको खानेपानी तथा विद्युत सेवा अवरुद्ध भएको छ । तुलाचनका अनुसार थासाङ–४ र ३ को सिमानामा पर्ने घैकु खोला बढेर सडक अबरुद्ध भएको छ । त्यस्तै लेते खोला बड्दा आवतजावतमा समेत समस्या भएको छ । साथै बेनी जोमसोम सडकको घाँसा नजिकै कुनाघाटमा रहेको निर्माणाधीन पुल पहिरोले बगाएको छ । निर्माण सम्पन्न हुनै लागेको उक्त पुल पहिरोले बगाएको तुलाचनले बताउनुभयो । बेनी जोमसोम सडक खण्डको घोप्टेभिरमा सडकको बेसै सहित पहिरोले सडक बगाएको छ ।
त्यसैगरी बेनी जोमसोम सडकको म्याग्दी खण्ड तर्फको मुस्ताङको सिमानामा पर्ने काभ्रे भिरमा पहिरोले पुरै बगाएको अन्नपुर्ण गाउँपालिका–३ दानाका स्थानीय इन्द्रसिंह सेरचनले बताउनुभयो । म्याग्दीबाट मुस्ताङ प्रवेश गर्ने म्याग्दीको अन्नपुर्ण गाउँपालिका दानामा पर्ने रुप्से झरनाले पुल बगाउनुका साथै काभ्रे भिरमा पनि सडक अबरुद्ध भएपछि म्याग्दीबाट मुस्ताङ प्रवेश गर्ने रुट पूर्ण रुपमा अबरुद्ध भएको छ ।

गोरखापत्र अनलाइनबाट साभार

मङ्लबार, साउन ६, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...