बुबा–आमाप्रतिको सम्मान

मानिसको पहिलो विद्यालय घर हो र त्यही घरका बुबाआमा हाम्रा पहिलो शिक्षक हुन् । अनि बुबाआमाको आफ्ना सन्तानसँग गर्ने अपेक्षामध्ये सबैभन्दा ठूलो अपेक्षा हो बुढेसकालको साहारा र साथ । दुधभातले माया दर्शाएको छ अनि सन्तानको मोह छ साथमा, यस अर्थमा हामी सबैजना आफ्ना बुबाआमाको जीवन बिमा त हौं, एउटा खाली चेक बुबाआमाका लागि ? अथाह माया अनि प्रेम दर्शाएर हुर्काएर बढाएका तिनै सन्तानले आफ्ना बुबाआमालाई वृद्धाश्रम पु¥याएर फर्किएको अनि तीर्थ, ब्रत वा तिर्थाटनका लागि जाने भनेर मन्दिरमा पु¥याई छाडेर हिँडेका पनि हामीले धेरै पटक सुनेका छौं । आफू भोकै बसेर भए पनि आफ्ना सन्तानको भोको पेट भर्ने ति बुबाआमालाई वृद्धाश्रम लगेर छाड्न कसरी मन मानेको होला सन्तानलाई भन्ने सबैको मनमा हुन्छ तर पनि व्यक्त भने कमैले गरेका हुन्छन् ।
समस्त बुबाआमाहरुलाई नमन आज विश्व बुबाआमा दिवसको अवसरमा । विश्वमा एउटा अजिवको सत्यता छ र त्यो हो हाम्रो प्रजजन क्षमता, महिला या पुरुषको शारिरीक बनावट अनि आफूजस्तै अर्को जीवको सम्भावना जसलाई हामी सरलीकृत रुपमा बुबा या आमा बन्ने क्षमता र सम्भाव्यता भनेर पनि बुझ्न सक्यौं । बुबाआमा बन्नु एउटा जिम्मेवारी अनि कर्तव्य दुबै हो भने छोराछोरी बन्नु पनि स्वभावत एउटा जिम्मेवारी र कर्तव्य हो । काठको कचौराको कथा पनि बडो रोचक छ, जहाँ ३ पुस्ताको मनोवृत्ति वर्णन गरिएको छ । सधैं खाना टेबलमा पोखेर खाने हजुरबुबाको हात काम्ने समस्या हुन्छ जसले गर्दा उनले खाना खाँदा खाना पोखिने अनि कचौरा झरेर फुट्ने गर्दछ । बुबा अर्थात् सानो फुच्चे अनि नाती केटाका बुबा अनि आमाले हजुरबुबा अर्थात् आफ्ना बुबाको यस समस्यालाई जानीजानी गरेको र नाटक भनी सम्बोधन गर्दछन् । यसरी सधैंजसो कचौरा झारेर फुटाउनुभन्दा बरु एउटा नफुट्ने काठको कचौरा बनाएर हजुरबुबालाई टेबलमा खाना नदिई अब बाहिरै खाना दिन थालिन्छ । एकदिन नाति केटो आफ्ना आमाबुबा कार्यालयबाट फर्कंदा काठको टुक्रासँग खेलिरहेको पाइयो, आमाबुबाले के गरेको भन्ने प्रश्न गर्दछन् । नातिले बडो सरल ढंगले तपार्इँहरुको लागि पनि काठको कचौरा बनाइरहेको छु भनी जवाफ दिन्छ । आखिर नयाँ पुस्ताले यस पुस्ताबाटै सिक्ने त हो ? यो जवाफ सुनेपछि उसका बुबाआमा आफ्नो गल्तीको पश्चाताप गर्दै भोलीपल्टैबाट बुबालाई सँगै टेबुलमा राखेर अनि फुटे पनि काँचकै कचौरामा आफूसरह खाना दिन थाल्छन् ।   
हामीले गाउँघरमा देख्ने गरेको माकुराकै उदाहरण पनि हाम्रा लािग पर्याप्त हुन सक्छ । माकुरा जसलाई छोराछोरी हुर्केपछि आफ्नै छोराछोरीहरुले आमालाई खाइदिन्छन् । आफ्नो कोखबाट हुर्केका आफ्नै शरिरका अंशले आफूलाई नै कुटुकुटु गर्दै टुक्राटुक्रा पारेर खाइदिने त्यो पाशविक नियति आजभोली हामी मान्छेमा उदहारणका लागि कतै बढ्दै गैरहेको छ भन्दा फरक नपर्ला ? वृद्धाश्रममा बढ्दै गएका लामहरु, बाटोघाटोमा बेसाहारा अघिल्ला पुस्ताहरु अनि घरघरमा अपहेलना गरेर राखिएका आमाबुबाहरुका आँसुले कतै माकुराको प्रवृत्तिको सार्थकता मानवमा पनि देखाइरहेको त होइन ? हामीले कहीँकतै तिनै माकुरा वा वृद्धाश्रमका कोठा भर्नेहरुको लाममा एक वा दुई संख्या थपेका त छैनौं ? आज विश्व बुबाआमा दिवस । आजको दिनमा विश्वले आफ्ना बुबाआमालाई सम्झने र उनीहरुको महिमाको बारेमा चर्चा गरेर मनाउने गर्दछ । समस्त ती बुबाआमाहरु आजको दिनमा मात्र होइन हामीले सधैं नमन गरौं । विश्व बुबाआमा दिवसको हार्दिक शुभकामना ! 

मङ्लबार, साउन १३, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...