कानुन कार्यान्वयनको आवश्यकता


कुनै समय यस्तो पनि थियो मानिसलाई पशुलाई जस्तै दाम्लोले बाँधेर मोलमोलाई गरी खरिद बिक्री हुन्थ्यो । हुन त दासप्रथाको अन्त्य भए पनि मानिसको बिक्री गर्ने चलन भने अहिले पनि ज्युँका त्यूँ छ भन्दा फरक नपर्ला । खरिद बिक्रीका प्रक्रियाहरु फरक होलान् तर खरिद बिक्री भने जारीरहेको भन्दा फरक पर्दैन । हामीले गर्ने वैदेशिक रोजगारी होस् या नेपाली चेलीहरु विभिन्न मार्ग हुँदै भारत तथा अन्य देशका डान्सबार तथा अन्य क्षेत्रमा हुने बिक्री र त्यहाँ भोग्नुपरेको नारकीय जीवनको बारेमा पनि हामीले धेरै सुनेकै पनि छौं । मानव बेचबिखन एउटा यस्तो अपराध हो जसले महिला, बालबालिका र थुप्रै पुरुषहरुलाई समेत श्रम, यौन जस्ता गलत कार्यहरुमा जबरजस्ती संलग्न गराउँदछ । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने र मनोरञ्जन उद्योगमा लगाउने जस्ता कार्यलाई मात्र मानव बेचबिखन मान्ने परिभाषा निकै पुरानो भैसकेको छ । मानव बेचबिखनको प्रवृत्ति फेरिँदै गएको छ । कुनै पनि व्यक्तिको इच्छा विपरीत धम्कीको प्रयोग, जबरजस्ती तथा धोकाद्वारा कुनै प्रकारको शोषण, घरेलु काम, मानव अङ्ग झिक्ने, वेश्यावृत्ति वा अन्य प्रकारका यौनशोषण गरिन्छ भने त्यो नै मानव बेचबिखन तथा ओसारपसार कार्य हो ।
संसार अहिले आधुनिकीकरणको युगमा छ, तर पनि अझै नेपालसहित विश्वका धेरै देशहरुमा मानव बेचबिखन तथा ओसारपसार निक्कै गम्भीर समस्याको रुपमा रहेको पाइन्छ । रोजगारीको अभाव तथा वैदेशिक रोजगार, गरिबी, शिक्षा र जनचेतनाको कमी, मानव बेचबिखनको प्रमुख कारण बन्दै आइरहेको छ । हरेक वर्ष संयुक्त राष्ट्रसंघले मानव बेचबिखनसम्बन्धी जनमानसहरुमा सचेतना फैलाउन अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवस मनाउँदै आएको छ । प्रत्येक वर्षको जुलाई ३० मा मनाइने यो दिवसको मुख्य ध्येय भनेकै मानिसलाई वैध वा अवैध जुनसुनै माध्यमबाट भए पनि बिक्री वितरण गर्नुहुँदैन भन्ने नै हो । गरिबीको फाइदा उठाउँदै कतिलाई वैदेशिक जागिरको प्रलोभनमा त कतिलाई विवाहको आशा देखाएर मायाजालमा पारेर मानव बेचबिखन र तस्करी गर्ने गरेको सामान्य उदाहरणहरु भेटिने गरेका छन् । मानव बेचविखन अन्त्य गर्न हरेक राष्ट्रको सरकारले गरिबी हटाउने कामलाई विशेष जोड दिने र रोजगारीको अवसर सिर्जना गर्ने नीति अपनाउनुपर्दछ ।
नेपालमा पनि सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी कानुन कार्यान्वयनमा ल्याएको छ तर प्रभावकारी कार्यान्वयन हुन नसक्दा पीडकहरु सजिलै उम्कने र पीडितले न्याय पाउन नसक्ने अवस्थाको अन्त्य हुन सकेको छैन । कहिले सयौं नेपाली बालबालिकाको शरिरबाट बिक्री हुने अंगहरु झिकेर बिक्री गरिएको खबरहरु भने कहिले आकर्षक जागिर लगाइदिने भन्दै भारतको कोठीमा बेचिएका युवतीहरुको खबर सुनेका हुन्छौं । हामी विकास र प्रगतिको प्रयास त गर्दैछौं तर यी र यस्ता थुप्रै सुन्न नसकिने घटनाहरु निर्मुल हुनु नै हाम्रो देशको असल र सफलताको प्रगति हुनेछ । मानव बेचबिखन जस्तो अपराध अन्त्यको लागि आवाज उठाऔं । विदेशमा मात्रै नभएर देशभित्रै पनि स–साना बालबालिकाहरुलाई अवैध तरिकाले कहीँकतै पु¥याएर घरेलु कामदार वा अन्य दासी बनाउने गरेको उदाहरणहरु पनि हामीले सुन्दै आएकै छौं । त्यसैले अबका दिनमा मानव बेचबिखन रोक्नका लागि हामी सबैले आ–आफ्नो ठाउँबाट पहल गरौं ।

शुक्रबार, साउन १६, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...