डोजरे बिकास प्रतिबन्ध गर्नुपर्छ : प्रजिअ ढकाल

म्याग्दी जिल्लाको पश्चिम भेकको मालिका गाउँपालिकाको बिम र धौलागिरी गाउँपालिकाको बिममा बाढी पहिरोले निकै ठूलो क्षति गरेको छ । उत्तरी भेक सडक यातायातबाट पुरै बिच्छेद छ भने हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने यातायात पुरै बन्द छ । यस्तो अवस्थाका बारेमा बिपद्ले सिकाएको पाठ र अबको तयारीका बारेमा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल सँग समग्र अवस्था र आगामी तयारीको बारे अमृत बास्कुनेले गरेको कुराकानीको संक्षीप्त सम्पादीत अंश ः
प्रश्न ः म्याग्दीमा अहिले भएको विपद्को अवस्थाले कस्तो अनुभव बनायो र अव गर्नु पर्ने तयारी के छ ?
उत्तर ः गत असार २६ गते देखि परेको अबिरल वर्षा पछिका बिपद् कारणले म्याग्दीका समग्र अवस्था हेर्दा यो जिल्ला बिपद्को उच्च जोखिममा रहेको पुष्टि भएको छ । निरन्तर वर्षाको कारणले ठूलो धनजनको क्षति भएको छ । २६ गते पछिको अवस्थामा मात्रै पनि ३१ जनाको मृत्यु भएको छ भने ५ जना अझै पनि बेपत्ता छ । बेपत्ता हुनेको खोजी कार्य निरन्तर जारी छ । बिपद्मा राहत र उद्धारका क्रियाकलापलाई एकद्वार प्रणालिबाट पठाइएको छ । पिडीतलाई स्थानिय तहको समन्वयमा सवै संघसंस्थाहरु सँग सहकार्य गरेर विपद्को समयमा खट्ने काम भएको छ । बिम र मराङको बिपद्का समयमा जि.सी. ग्रुपका अध्यक्ष नारायण जि.सी. तथा सामाजिक संस्था ओमकुमारी शान्ति कोषलगायतका संघसंस्थाहरु राहत र उद्धारमा खट्नु भएको छ । जिल्लाका राजनैतिक दलहरु पनि सबैले हातेमालो गर्नु भएको छ । नेकपा, नेपाली काँग्रेस, निजी क्षेत्रलगायतका संघसंस्थाले पनि हातेमालो गरेर राहत तथा उद्धारका लागि खटेको अवस्था छ । अहिले राहत र उद्धारका लागि सडक मार्ग नै मुख्य समस्या भएको छ । बिपद्को समयमा सडक अबरुद्ध हुनु नै निकै ठूलो कारण मान्न सकिन्छ । हालको अवस्थामा ध्यान दिनु पर्ने भनेको सडकलाई कसरी अबरुद्ध नहुने खालको बनाउने भन्ने नै हो । राजनैतिक दल, तीनै तहको सरकार सबैले मिलेर सडकको दिगोपनका लागि सोच्न पर्ने देखिएको छ । म्याग्दीमा हुने बिपद्हरुमा हेलिकोप्टर मात्रै उद्धारको विकल्प देखियो र हेलिउद्धार मात्रै सबैका लागि पु¥याउन पनि सम्भव हुँदैन ।
प्रश्न ः आगामी दिनमा हुन सक्ने बिपद्को अवस्थामा अब तयारी के हुन पर्ला ?
उत्तरः वर्तमानलाई हेर्ने हो भने बिपद् हाम्रो नजिकै छ । बाढी पहिरो, आगालागी, बस्ती स्थान्तरण गर्नु पर्ने जस्ता धेरै छन् विपद् । अब नयाँ तयारीका साथ र संघ, प्रदेश र स्थानीय तहले फरक तबरले सोच्न पर्ने छ । अहिले पनि हजारौं घर परिवार बिस्थापनको खतरामा छन्, मराङ बिम मात्रै होइन धौलागिरी गाउँपालिकाको धारापानी, काफलडाँडा, रघुगंगा गाउँपालिकाको भेडिखाल्टा, बेनी नगरपालिकाको सुर्केमेला लगायतका क्षेत्रमा पनि पुर्नवासको व्यवस्था गर्नु पर्ने छ । नेपालमा हुने गरेका डोजरे बिकासलाई पहाडी क्षेत्रमा अब प्रतिबन्ध नै गर्न पर्ने हो कि जस्तो पनि देखिएको छ अहिलेका बिपद्का घटनाहरुले । दिगो पूर्वाधार विकासका लागि स्थानिय तह, प्राविधिक कार्यालय तथा राजनैतिक दलहरुले पनि गम्भीर भएर सोच्न पर्छ । आवश्यकताका आधारमा भूगर्भविद्हरुलाई नै हेर्न लगाएर गम्भीर अनुसन्धान पछि मात्रै विकास निर्माणका कार्यहरु गर्नु पर्ने देखिन्छ । हालको अवस्थालाई अध्ययन गर्ने हो भने अरु थप खतरा र थप क्षतीको सम्भावना पनि निकै छ म्याग्दीमा ।
प्रश्न ः राहत र उद्धारका लागि के तयारी छ?
उत्तर ः हालमा खासगरी असार २५ भन्दा पहिला बिपद् व्यवस्थापन समितिले २ सय परिवारलाई पुग्ने गरी राहत सामग्रीहरु तयारी गरेका थियौं । बेनी दरवाङ सडक खण्डका स्काभेटर तयारी अवस्थामा राखिएको थियो । तर त्यसले प्रयाप्त भएन । पहिला पनि र हालको अवस्थामा पनि हामीले सबै सरकारी कार्यालयका गाडीहरु तयारी अवस्थामा राखेकै छौं । पहिलाको अवस्थामा भन्ने हो भने हाम्रो तयारी भन्दा ठूलो क्षति भयो र निरन्तरको वर्षाले गर्दा क्षति बढ्यो । अब अहिलेको सन्दर्भमा सबै भन्दा ठूलो कुरा भनेको पूर्वतयारी नै हो । पूर्वतयारीको सन्दर्भमा वर्षा लाग्दासाथ निर्माण सम्बन्धी सामग्री, राहत उद्धार, सुरक्षा निकायलाई स्ट्याण्डबाई राख्ने र स्थानियतह सम्म पु¥याउने र कसरी स्थानिय तहले त्यसलाई ग्रहण गर्ने भन्ने पनि हो । हामीले अझै धेरै गर्न बाँकी देखिन्छ । अहिलेको जोखिमले पूर्वतयारीलाई नै ध्यानमा राख्न पर्ने देखायो । अहिलेको समयमा मौषम पूर्वानुमान शाखाले दिने सूचनालाई पालना गर्दा पनि धेरै हदसम्म सुरक्षीत हुन सकिन्छ । सबै जनतालाई सू–सूचित गराउने र सम्बेदनशिल हिसाबले हामी सबैले तयारी गर्नुपर्ने हुन्छ । मैषम पूर्वानुमान महाशाखाको सूचना अनुसार सबैले सुरक्षित हुनका लागि प्रयास गर्ने हो भने पनि धेरै हदसम्म क्षति कम हुन सक्छ । अबको मार्ग नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीलागायतका सबै उच्च सतर्कताका साथ राख्ने, सरकारी सवारीहरुलाई तयारी अवस्थामा राख्ने, निर्माण सँग सम्बन्धी साधन, डोजर लगायतका साधनहरुलाई पनि तयारी अवस्थामा राख्नु पर्ने देखिन्छ । धेरै ठूलो संख्यामा सबै सामग्रीहरु जस्तोकी खाद्यान्न तथा उद्धारका सामानहरु तयारी अवस्थामा राख्न पर्छ । अहिले जिल्लामा आवश्यक पर्ने राहत तथा उद्धारका सामग्रीहरु तयारी अवस्थामा छन् । सडक केही अबरुद्ध हो तर पनि पश्चिम भेकको दरवाङ सम्म पुगेको छ । मराङमा पनि उनीहरुको माग अनुसारको राहत सामग्री पुगेका छन् । ताकम धारापानी लगायतको क्षेत्रमा पनि १०० सेट भन्दा बढी राहत सामग्रीहरु पठाइ सकिएको छ ।
प्रश्न ः जिल्लामा भएका बिपद्ले राहत र उद्धारका लागि के कस्तो अनुभव देखायो ?
उत्तर ः असार २५ गते बेलुका देखि पानी प¥यो २६ गते बिहान ठूलो विपद् भयो । बिपद् पछि तत्कालै हामी पुग्न सकेनौं । २६ गते बिहान बिपद् भयो त्यो दिन पुग्न सक्ने अवस्था नै देखिएन । त्यसको भोलीपल्ट दिउँसो ३ बजे सबैलाई उद्धार गरी सकेको हो । तुरुन्तै गर्न पर्ने थियो उद्धार त्यसमा हामी सकेनौं । सडकको कारणले गर्दा तत्काल उद्धारका लागि पुग्न नसकेको हो । हेलिकोप्टर पनि पुग्न नसकेको कारणले गर्दा पनि हामीलाई थप समस्या भएको हो । जुन सुकै अवस्थामा पनि पूर्वतयारी नै मुख्य हो । अहिलेको चुनौती भनेको जुन सुकै समयमा पनि क्षति हुन सक्ने नै हो । हामी पूर्व तयारी र सतर्कता मै केन्द्रीत भएर तयारी अवस्थामा रहनेछौं आगामी समयका लागि । सबै पक्षहरु, राजनैतिक दल, निजिक्षेत्र, सञ्चार क्षेत्रले पनि यसकालागि सूचना र सञ्चार प्रदान गरी सबैलाई सचेत गराउन आवश्यक छ ।

मङ्लबार, साउन २७, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...