पाँच हजार शय्याकाे आइसोलेसनदेखि टोलटोलमा निसङ्क्रमण

राजधानीमा कोरोना सङ्क्रमण बढ्दै गएपछि उपत्यकाका तीन वटै जिल्लाका स्थानीय तह पनि सङ्क्रमण निस्तेज पार्न तथा आइसोलेसन सेन्टरहरू निर्माणमा जुटेका छन् ।

स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सरकारसँगको समन्वयमा पूरै राजधानीलाई नै कसरी सुरक्षित बनाउने भन्नेतर्फ आफूहरू केन्द्रित भएको ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले बताउनुभयो । उहाँले एक जिल्लामा भन्दा पनि उपत्यकाको तीन वटा जिल्लामा कोरोनालाई निस्तेज पार्न संयुक्त रुपमा आइसोलेसन सेन्टर स्थापना गर्ने, तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको निर्णयलाई कार्यान्वयन गराउन केन्द्रित भएको बताउनुभयो ।

उहाँले उपत्यकाका मेयरहरूको फोरमले निर्णय गरेअनुसार उपत्यकामा आवश्यक रहेको पाँच हजार शय्याको आइसोलेसन बनाउन अस्पताल, आश्रम र खुल्ला स्थानको खोजीमा लागेको बताउनुभयो । सबै स्थानीय तह, प्रदेश र सङ्घीय सरकारको सहयोगमै बनाउने उहाँले बताउनुभयाे ।

तीन वटा नै जिल्लामा आइसोलेसन साझा रुपमा सञ्चालन गर्ने र मेयर फोरमले निर्णय गरेअनुसारको पाँच हजार शय्याको आइसोलेसन सेन्टर बनाउन महानगरबाट समेत सहयोग हुने उहाँले बताउनुभयो । सङ्घीय राजधानी भएकाले काठमाडाैँ, भक्तपुर र लतिलपुरमा सामूहिक रुपमा कोराना नियन्त्रणको कार्यहरू सञ्चालन गर्न ललितपुर महानगरपालिकाले सहयोग गर्ने प्रवक्ता महर्जनले बताउनुभयो ।

कोरानाको उच्च जोखिम भएका क्षेत्रहरूमा काठमाडाैँ महानगरपालिकाले निसङ्क्रमण कार्यलाई निरन्तरता दिएको छ भने नगर प्रहरी, जनप्रतिनिधिसँगै स्वास्थ्यकर्मीहरूले निगरानी बढाउनुभएको छ ।

महानगरपालिकाकाे सङ्क्रमण देखिएका र जोखिमयुक्त क्षेत्रसँगै सार्वजनिक स्थानहरूमा निसङ्क्रमण गर्ने कार्यलाई निरन्तरता दिएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो । वडामा माग अनुसार र भीडभाड हुने क्षेत्रहरूमा नगरको वातावरण विभागले निसङ्क्रमण कार्यलाई निरन्तरता दिएको प्रवक्ता डङ्गोलले बताउनुभयो । उहाँका अनुसार महानगरपालिकाले टेकु, वीर अस्पताल, कालीमाटी फलफूल बजार क्षेत्रमा पहिलो चरणको लकडाउन सुरुदेखि नै निसङ्क्रमण गर्ने कार्यलाई निरन्तरता दिँदैआएकाे छ ।

डङ्गोलका अनुसार सङ्क्रमण देखिएका ठाउँ, अस्पताल क्षेत्र र सार्वजनिक क्षेत्रमा निसङ्क्रमण गर्ने कार्यलाई निरन्तरता दिइएकाे छ । महानगरले दैनिक १० वटासम्म सवारी र उपकरण परिचालन गर्ने गरिएको पनि प्रवक्ता डङ्गोलले भन्नुभयो ।

कोरोना सङ्क्रमण देखिएको क्षेत्रमा महानगरले हरेक वडासँग समन्वय गर्न पाँच वटा अनुगमन टोलीलाई परिचालन गरेको छ । पहिलो चरणमा महानगरको ३२ वटा नै वडामा पुगेर निसङ्क्रमणको कार्य भएको र थप मागको आधारमा गरिने प्रवक्ता डङ्गोल बताउनुहुन्छ । राजधानीका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकबाट जारी भएको निषेधाज्ञालाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन महानगरले सबै सयन्त्रलाई परिचालन गरेको डङ्गोलले बताउनुभयो ।

शुक्रबार, भदौ ५, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...