सुरक्षा सतर्कतामा ध्यान

नेपालका ७७ मध्ये ३५ जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी भएको छ भने १२ जिल्लामा आंशिक रुपमा निषेधको अवस्था रहेको छ । जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहले आफ्नो क्षेत्रमा देखिएको संक्रमणलाई नियन्त्रण गर्नका लागि गरिएको कडाइले गर्दा जनतालाई असहज भएको भन्ने छ भने अन्य कुराहरु यसले सहज बनाउने देखिन्छ । कोरोनाविरुद्ध लड्न निषेधाज्ञा, लकडाउन वा सटडाउन जस्ता उपायहरु विश्वले अपनाएको अवस्थामा नेपालका जिल्लाहरुमा पनि यही विधि अबलम्बन गरिनु उचित होला । त्यसले गर्दा आम जनताले कति पालना गरे नियम र नियन्त्रणका लागि कतिसम्म प्रयास गरे भन्ने सवाल मुख्य हो । कोरोना विरुद्धको मजबुद र उत्तम उपाय अहिलेसम्मको प्रयोगलाई हेर्दा लकडाउन र भौतिक दुरी नै देखिएको छ । कुनै पनि मानिसले अर्को मानिसको नजिकको सम्पर्कमा पुग्नेहरुमा नै कोरोना संक्रमण देखिएकोले भौतिक दुरी र अनावश्यक भीडभाड नगर्नु नै उचित हो ।
गृह मन्त्रालयको पछिल्लो तथ्याङ्क हेर्दा कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिको निष्कर्षअनुुसार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा लागू गरेका छन् । स्थानीय प्रशासन ऐन, २०२८ र मन्त्रिपरिषदको निर्णय बमोजिम संक्रमण बढी देखिएको स्थानमा प्रजिअहरुले निषेधाज्ञाको आदेश जारी गर्न सक्ने व्यवस्था छ । सरकारले धोषित रुपमा लामो समय लकडाउन गरेको हुनाले अब साधारतयाः सरकारी तवरमा केन्द्रीय स्तरबाट लकडाउन घोषणा नगर्ने र स्थानीय स्तरको अवस्था हेरेर प्रजिअले नै संक्रमण देखिएका ठाउँमा अघोषित रुपमा लकडाउन सरह नै निषेधाज्ञा जारी गर्ने नीति लिइएको छ । पछिल्लो तथ्याङ्कअनुसार गृह मन्त्रालयको सूचनामा आइतबारसम्म सप्तरी, धुनषा, बाँके, पर्सा, बारा, महोत्तरी, सुनसरी, सर्लाही, स्याङ्जा, सिरहा, काठमाडौं, ललितपुर, भक्तपुर, रौतहट, धनकुटा, पाल्पा, रामेछाप, दोलखामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ । नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, कास्की, कैलाली, प्युठान, दैलेख, गुल्मी, कञ्चनपुर, डडेलधुरा, कालीकोट, तेह्रथुम, संखुवासभा, रुपन्देही, चितवन र वैतडीमा पनि जिल्लाभर निषेधाज्ञा छ । आंशिक निषेधाज्ञा लागू गरिएका जिल्लामा नुवाकोट, जुम्ला, मोरङ, दार्चुला, झापा, मकवानपुर, धादिङ, उदयपुर, तनहुँ, सुर्खेत, बागलुङ, रुकुम पश्चिम र जाजरकोट छन् । महामारी नियन्त्रणका लागि भन्दै कपिलवस्तु र नुवाकोटले जिल्ला प्रशासन कार्यालयबाट हुने सबै सेवा बन्द गरेका छन् ।
कोरोनाबाट जोगिन आफ्नो अनुहारलाई पनि सुरक्षित राख्न आवश्यक देखिने भएकोले मास्कको प्रयोगलाई अहिले विश्वले नै अनिवार्य जस्तै गरेको छ । विश्वमा कोरोना संक्रमण दर उच्च भएको क्षेत्रमा निषेधाज्ञा लागू गरिएका छन् । सबै क्षेत्रमा नगरिएको वा निश्चित क्षेत्रमा सर्वसाधारणलाई हिँडडुलमा समेत रोक लगाइएको छ भने अत्यावश्यक सेवा मात्र सुचारु गरिएको छ । नेपालको अवश्थामा पनि आइतबारबाटै लागू हुने गरी काठमाडौं उपत्यकामा खाद्यान्न तथा तरकारी पसल बिहान ९ः१५ बजेसम्म मात्र खोल्न दिने निर्णय भएको छ । धेरै जिल्लाहरुमा यी र यस्तै निर्णयहरु भएका छन् । म्याग्दीमा अन्य जिल्लाबाट प्रवेश गर्नका लागि सम्भव भएसम्म पिसिआर रिपोर्ट नै आवश्यक पर्ने जस्ता निर्णय भएको अवस्थाले कतिसम्म कडाई वा निगरानी राख्नुपर्ने हो भन्ने देखाउँछ । त्यसैले अबका दिनमा आफू र आफ्नालाई जोगाउन राज्यले अबलम्बन गरेका नियमहरुको पूर्ण रुपमा पालना गर्नु नै उचित हुन्छ ।

सोमवार, भदौ ८, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...