चार जना थपिएसँगै म्याग्दीमा डेङ्गु सङ्क्रमित ३७ पुग्यो

चार जनामा डेङ्गु पोजिटिभ भेटिएसँगै म्याग्दीमा सङ्क्रमितहरूको सङ्ख्या ३८ पुगेको छ । पछिल्लोपटक थपिएका सङ्क्रमित दुई महिला र दुई जना पुरुष हुन् ।

शरीरका जोर्नीहरू दुख्ने, उच्च ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्याको कारण उपचारका लागि आएका चार जना बिरामीहरूको बेनी अस्पतालमा परीक्षण गर्दा डे्गु पोजिटिभ भेटिएको हो । अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीका अनुसार म्याग्दीका अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका ३३ वर्षीय पुरुष, अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरका ३३ वर्षीय महिला, रघुगङ्गा गाउँपालिका–२ भगवतीका ६० वर्षिय पुरुष र बेनी नगरपालिका –५ पुलाचौरकी २२ वर्षीय महिला रहेका छन् । सूचना अधिकारी सुवेदीका अनुसार भगवतीका ६० वर्षीय पुरुषलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ भने तीन जनाको बेनी अस्पतालमा चिकित्सकको निगरानीमा उपचार भइरहेको छ ।
वर्षातकाे समयमा पानी परेसँगै सङ्क्रमितहरू बढ्ने गरेको सूचना अधिकारी सुवेदीको भनाइ छ । हालसम्म बेनी अस्पतालमा आएका ३७ जनामा डेङ्गु पुष्टि भएको भएपनि सुरक्षा व्यवस्थामा ध्यान नदिएको कारणले गर्दा थप जोखिम बढ्दै गएको जनस्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।
बेनी–५ की महिला र अन्नपूर्ण-६ का महिलालाई डेङ्गुसँगै स्क्राब टाइफसको समेत सङ्क्रमण रहेको बेनी अस्पतालले जनाएको छ । मुसामा हुने परजीवीको टोकाइबाट लाग्ने टाइफसका बिरामीसमेत म्याग्दीमा बढ्दैगएका छन् । हालसम्म बेनी अस्पतालमा उपचारका लागि आएका ३७ जनामा डेङ्गु र १२ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको बेनी अस्पतालका सूचना अधिकारी सुवेदीले बताउनुभयो ।

मङ्लबार, भदौ ९, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...