आगामी चार वर्ष ट्रम्प कि वाइडेन ?

विश्वको सर्वाधिक पहिलो अर्थतन्त्र र शक्तिशाली देश अमेरिकामा मङ्गलबार (कात्तिक १७) गते हुन गइरहेको राष्ट्रपतीय निर्वाचनमा विश्वका आँखा गाडिएको छ । निर्वाचन नजिकिँदै गर्दा अमेरिकाभित्र मात्रै होइन, विश्वभर यसको जोड घटाउ पनि सुरु भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प वा जोय वाइडेन कसले जित हात पार्लान् भनेर राजनीतिक पण्डितदेखि विश्वसमाज अहिले विश्लेषणमै व्यस्त छन् ।
निर्वाचनको तीन दिन अघिसम्म पनि ट्रम्प वा वाइडेन कसले राष्ट्रपतिको बाजी मार्ला भनेर ठ्याक्कै आकलन गरेर भन्न सक्ने स्थिति नभएको कतिपयको मत छ । राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति वाइडेन चुनावी सभा वा ¥यालीलाई सम्बोधन गर्न अमेरिकी राजनीतिलाई प्रायःजसो काबुमा राख्दै आएका छन् ।
राष्ट्रपति ट्रम्पको रिपब्लिकन तथा वाइडेनको डेमोक्रेट पार्टीमध्ये कुनै पनि पक्षमा असंलग्न रहेका मध्यपश्चिमी राज्यहरू नर्थ क्यारोलिना, मिचिगन, पेन्सिलभेनिया, मिनिसोटा, विस्कन्सिन, फ्लोरिडा, एरिजोना, जर्जिया, टेक्सस र नेभाडा लगायतका राज्यमा आफ्नो शक्ति र स्रोत लगाएर जनमत आफूतिर आकर्षित गर्न तँछाडमछाड गरेर दुवै उम्मेदवार लागिरहनुभएको छ । सम्भवतः पेन्सिलभेनिया तथा मिचिगनले अमेरिकी राजनीतिको पटाक्षेप गर्न सक्ने अनुमान स्वतन्त्र पर्यवेक्षक तथा विश्लेषकहरूले गरेका छन् ।
धेरैजसो सर्वेक्षणले भने वाइडेनको पक्षमा जनमत उर्लिएका कारण उहाँले विजय हात पार्ने कुरा औँल्याएका छन् भने एकाध सर्वेक्षणले मात्र ट्रम्पले जित्ने भविष्यवाणी गरेका छन् । राजनीतिक पण्डितहरूले यसपटक अफ्रिकी अमेरिकनले निर्वाचनमा बढ्ता सहभागिता जनाएको, युवा र नयाँ मतदाताको सहभागिता पनि धेरै भएको, अग्रिम मतदान पनि ज्यादा भइसकेको कारण वाइडेनले जित हात पार्ने अनुमान गरेका छन् किनकि रजिष्टर गरिएका मतदातामध्ये ४३ प्रतिशत डेमोक्रेट र २५ प्रतिशत रिपब्लिकन रहेका छन् ।
अग्रिम मतदानमा डेमोक्रेटको बाहुल्य भए पनि निर्वाचनका दिन अधिकभन्दा अधिक रिपब्लिकनले मतदानमा सहभागिता जनाउने भएका कारण निर्वाचनको भेउ पाउन अझै हम्मेहम्मे परेको हो तर पनि स्वतन्त्र सर्वेक्षणले हालसम्म ट्रम्पको पक्षमा १८८ र वाइडेनको पक्षमा २३३ इलेक्टोरल मत सुरक्षित रहेको दाबी गरेका छन् । ट्रम्प पक्षीय पर्यवेक्षकहरूले सन् २०१६ को नतिजामा जर्जिया र एरिजोनासमेत थपिने दाबी गरेका छन् ।
वाइडेनले ट्रम्पलाई कोरोना सामु आत्मसमर्पण गरेको, रङ्गभेद नीतिलाई बढावा दिएको र देशलाई विभाजनको रेखामा लगेको आरोप लगाएका छन् भने ट्रम्प र रिपब्लिकनले आठ वर्ष उपराष्ट्रपति र ४७ वर्षसम्म सिनेटर बनेका वाइडेनले अमेरिकालाई समुन्नत बनाउन के भूमिका खेले ? भनेर प्रश्न गरिरहेका छन् ।
यद्यपि अग्रिम मतदान भने करिब दुई हप्ताअघि नै सुरु भइसकेको छ । कोरोना (कोभिड–१९) भाइरसका कारण यसपटक अग्रिम मतदान र हुलाकमार्फत गरिएको मतदानमा आधाभन्दा बढी व्यक्तिले भाग लिइसकेको जनाइएको छ । अमेरिकी समय शनिबार रातिसम्ममा करिब आठ करोड ५० लाख मतदाताले मतदान गरिसकेका छन् । जसमध्ये हुलाकमार्फत गरिएको मत सङ्ख्या पाँच करोड ५० लाख छ । चार वर्षअघि सन् २०१६ मा झण्डै १४ करोड मतदाताले मतदान गरेका थिए भने यसपटकको निर्वाचनमा करिब १६ करोड मतदाताले सहभागिता जनाउने अनुमान छ । अमेरिकी इतिहासमा नै मतदानको दिनअघि नै यति धेरै मतदान गरिएको यो पहिलो पटक हो ।
विगत ५० वर्षको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा सरदर ५० प्रतिशतकै हाराहारीमा मतदान हुने गरेकोमा यसपटक भने यो प्रतिशत बढेर ६६ प्रतिशतसम्म पुग्ने पर्यवेक्षकहरूको अनुमान रहेको छ ।

इलेक्टोरल कलेजको निर्णय
अमेरिकी राष्ट्रपति प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुँदैनन् । अमेरिकाका प्रत्येक राज्यबाट दुई दुई जना गरी एक सय सिनेटर, तल्लो सदनका ४३५ र डिस्ट्रिक अफ कोलम्बियाका तीनसमेत गरी ५३८ जनाको कलेज डेलिगेट्स अर्थात् इलेक्टोरल कलेज रहन्छ । यसमध्ये जुन उम्मेदवारले आधाभन्दा बढी अर्थात् २७० मत ल्याउँछ, त्यही व्यक्ति राष्ट्रपति निर्वाचित हुन्छ । यस किसिमको
व्यवस्था अरू देशमा आगामी चार…
पाइन्न । इलेक्टोरल कलेज नै वास्तवमा राष्ट्रपतिका उम्मेदवारको निर्णायक हो ।
अमेरिकी मतदाताले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्दा अप्रत्यक्ष रूपमा इलेक्टोरललाई नै मतदान गरिरहेका हुन्छन् । लोकप्रिय मत पाएर विजयी हुने उम्मेदवारले कतिपय राज्यमा सबै इलेक्टोरल मत पाउँछ । लोकप्रिय मत थोरै पाएर पनि इलेक्टोरल मत धेरै पाउने नै अन्ततः राष्ट्रपतिमा विजयी हुन्छ ।
सन् २०१६ मा राष्ट्रपति ट्रम्पले ३०४ इलेक्टोरल मत पाउनुभएको थियो भने उहाँकी प्रतिस्पर्धी हिलारी क्लिन्टनले लोकप्रिय मत अधिक पाउनुभएको थियो तर पराजय भोग्नुुप¥यो । सन् २००० मा पनि एल गोरभन्दा लोकप्रिय मत कम पाएर पनि इलेक्टोरल मत धेरै पाएको आधारमा जर्ज डब्लु बुस राष्ट्रपति हुनुभएको थियो ।
अमेरिकाको संवैधानिक व्यवस्था अनुसार इलेक्टोरल मत प्रत्येक राज्यका नागरिकको बसोबासको घनत्वको आधारमा निर्धारण गरिएको हुन्छ । अमेरिकाको क्यालिफोर्नियामा सर्वाधिक ५५ इलेक्टोरल मत छ भने टेक्ससमा ३८, न्युयोर्क र फ्लोरिडामा समान २९ छ भने युद्ध मैदान वा निर्णायक राज्यका रूपमा देखिएका मिचिगन र पेन्सिलभेनियामा क्रमशः १६ र २० रहेको छ । अधिकांश राज्यमा तीनदेखि नौ इलेक्टोरल मत छ ।

सुरक्षा सतर्कता
मतदानको दिन र मत परिणाम नआउँदासम्ममा कतिपय राज्यमा हिंसा वा दङ्गा हुनसक्ने सम्भावना औँल्याउँदै सुरक्षा सतर्कता अवलम्बन गरिएको छ । त्यसैले सार्वजनिक तथा सरकारी सम्पत्तिको रक्षाका लागि अमेरिकी सरकारले राष्ट्रिय सुरक्षा बल, सेना, प्रहरीलाई विशेष सतर्कता अपनाउन निर्देशन दिएको छ ।

मत परिणाम कहिले ?
हुलाकमार्फत पनि मतपत्र आउने क्रम जारी रहने भएकोले सोही दिन परिणाम आउँदैन । करिब १६ वटा राज्यको लगभग सबै परिणाम सोही दिन आउने अपेक्षा गरिएको छ भने २४ वटा राज्यको आधाभन्दा बढी परिणाम प्राप्त हुनेछ । अन्य ११ वटा राज्यको मत गणना सुरु मात्र गरिनेछ । त्यसैले सबै राज्यको परिणाम आउन एक हप्तासम्म लाग्ने बताइएको छ ।

सोमवार, कार्तिक १७, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...