बेवारिसे शव जलाउने १८ वर्षीया सपना बिबिसीको प्रभावशाली महिलाको सूचीमा

म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेकी छन्।

बिबिसीले मंगलबार सार्वजनिक गरेकी सपनाले पछिल्लो समय बेवारिसे परेका शव जलाउने काम गर्छिन्।

बिबिसीको उक्त सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको कोरोनाभाइरसविरूद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट पनि छन्।

को हुन् सपना?
सपना रोका मगर म्याग्दीको मंगला गाउँस्थित घरबाट चार वर्षअघि झोला बोकेर निस्केकी थिइन्।

एघार कक्षा पढ्न बेनी बजार हिँड्दा उनको मन रोमाञ्चले भरिएको थियो, जसरी उनको झोला आमाले राखिदिएका चामल, घ्यू र लत्ताकपडाले भरी थियो।

उनै सपनालाई हामीले बुधबार दिउँसो पशुपति आर्यघाटमा फरक अन्दाजमा भेट्यौं।

हामी पुग्दा उनी हातमा पञ्जा लगाइरहेकी थिइन्। छेउकै स्ट्रेचरमा एक युवतीको शव थियो। कामदारहरूले चितामा काठ राखुञ्जेल उनी छेउमा बसिन्। शव जलाउन तयार भएपछि सपना घाटबाट बागमती झरिन्। त्यसपछि दाहसंस्कारको विधि सुरू गरिन्। दागबत्ती दिइन्।

त्यो शव उनका कुनै आफन्तको थिएन। बेवारिसे थियो। उनले अहिलेसम्म यस्ता ३८ बेवारिसे शवलाई दागबत्ती दिइसकेकी छन्।

घरबाट पढ्न हिँडेकी उनले कहाँ सोचेकी थिइन् र यसरी अपरिचितका शवमा दागबत्ती दिँदादिँदै जिन्दगीको अर्थ भेटाउँला भनेर!

२०७३ सालमा गाउँको महेन्द्र रत्न उच्च माध्यमिक विद्यालयबाट राम्रै ग्रेड ल्याएर एसइई पास गरेकी थिइन् सपनाले। पुल्पुलिएकी कान्छी छोरीलाई चाहिएका सबथोक आमाबाले पुर्‍याइदिन्थे। पढाइ राम्रो थियो, त्यसैले उनी सहर गएर पढ्न चाहन्थिन्।

घरबाट बेनी बजार टाढा थियो। तै पनि आमाबाले उनलाई एक्लै पठाए।

गाउँजस्तो थिएन बजार। उनी भने उस्तै फरासिली थिइन्। धेरै साथी बनाइन्। साथीहरूले उनलाई आफ्ना दु:ख देखाउँथे। उनी साथीहरूका दु:ख कम गर्ने कोशिस गर्थिन्।

‘साथीहरूले केही दु:ख परे मलाई भन्थे। म घरबाट दिएको पैसा पनि उनीहरूलाई दिन्थेँ,’ उनले भनिन्, ‘घरमा ढाँटेर साथीहरूलाई मद्दत गर्थें।’

तिनै साथीहरूको लहैलहैमा उनको जिन्दगी कलेज-घरको सिधा बाटो छाडेर अर्कै बाटो हिँड्न थाल्यो।

त्यो समयलाई उनले यसरी सम्झन्छिन्, ‘सहरको रंगीन दुनियाँमा म फसिसकेकी थिएँ। जोशमा होस गुमाएर हराएकी थिएँ। गलत के हो, सही के हो छुट्टयाउन गाह्रो हुने दुनियाँ थियो मेरो।’

यसैबीच उनको एक युवकसँग सम्बन्ध गाँसियो। त्यही सम्बन्धको फेरोमा उनका संघर्षका दिन सुरू भए।

कक्षा ११ को परीक्षा दिएपछि उनी पढाइ छाडेर तिनै युवकसँग भागेर बुटवल आइन्। आमाबासँग राम्ररी कुरा हुन पाएन। उनले आफ्ना कुरा बुझाउन सकिनन्, उनीहरूले पनि छोरीका कुरा बुझ्न सकेनन्। गाउँलेले नै कथा बुनेर सुनाउन थाले- तिम्री छोरी बिग्री।

बुटवल आएपछि ती युवकसँग उनको सम्बन्ध राम्रो हुन सकेन। त्यही रनाहामा बल्ल उनले पछि फर्केर हेरिन्। कहाँबाट गल्ती हुन सुरू भयो थाहा पाइन्।

उनी फर्केर म्याग्दी जान सक्दैनथिन्। पश्चातापले भारीले उनलाई थिचेको थियो। त्यो भारी टाउकाबाट निकालेर हलुङ्गो बनाइदिने आमाबाको अगाडि पर्ने आँट पनि उनमा थिएन। त्यसमाथि समाजले लगाउने लाञ्छना मुटुमा तीरझैं रोपिन्थ्यो। उनी दिनदिनै कमजोर हुँदै थिइन्। समाजबाट बहिष्कृत भएँ भन्ने पीडाले आत्तिएकी पनि थिइन्।

एकदिन ती युवकसँग उनी छुट्टिइन्। जाने ठाउँ नहुनेहरूको बास आखिर सडक नै हो, उनी पनि सडकमा पुगिन्।

‘ती दिनहरू धेरै कठिन थिए,’ उनले सम्झिइन्, ‘बाटोमा बस्ने बालबालिकाहरूसँगै बस्थेँ। त्यहाँ बसिरहँदा सडकमा हिँडिरहेका कोही मान्छे आएर बोलिदिओस् जस्तो लाग्थ्यो।’

उनको बास खुला सडकमा थियो, तर उनलाई आफ्ना लागि सम्पूर्ण बाटा बन्द भएजस्तो लाग्थ्यो।

एकदिन उनलाई मरिदिउँजस्तो लाग्यो। त्यो दिन आफ्नो मन बुझाउन उनलाई निकै सकस परेको थियो। अँध्यारो कथाजस्तो जिन्दगीको त्यो पाना पल्टाउन निकै हम्मे पर्‍यो। तर पल्टियो र जुट्यो हिम्मत।

सकडबाट उठेर उनी म्याग्दी फर्किइन्।

उनी आमाबाले अस्वीकार गर्छन् कि भनेर डराएकी थिइन्। तर आमाबाको मन न हो। उनले गाली मात्रै खाइन्।

घरमा बसेको केही समयमै उनलाई दिदी-दाइझैं विदेश जान मन लाग्यो। त्योभन्दा पहिले त रोकिएको आफ्नो पढाइ सकाउनु थियो। आमाबालाई मनाएर फेरि पोखरा आइन्। त्यहाँको ग्यालेक्सी कलेजबाट १२ कक्षा पास गरिन्।

जापानिज भाषा सिकेर उड्ने उनको विचार थियो। तर जिन्दगीले फेरि बाटो मोड्यो। उनी आमाको सल्लाह मानेर सात महिनाअघि काठमाडौं आइन्। नयाँ सहर, नयाँ सपना!

काठमाडौं आएको दुई महिनापछि सलिनाका बाबा विनयजंगसँग उनको भेट भयो। सलिनालाई उनले पोखरामै चिनेकी थिइन्। उनीहरूको पारिवारिक सम्बन्ध थियो।

सपना पनि महालक्ष्मी नगरपालिकास्थित चाङ्गाथलीमा रहेको विनयजंगको घरमा बस्न थालिन्। उनी विनयलाई बुवा मान्छिन्। विनयजंग बेवारिसे शव दाहसंस्कार गर्ने व्यक्ति हुन्। उनले छ वर्षदेखि यही काम गर्दै आएका छन्। उनले अहिलेसम्म २ सय ७२ बेवारिसे शव जलाइसकेका छन्।

दाहसंस्कार गरिदिने कोही नभए वा मृतकका आफन्त नभेटिए प्रहरीले विनयजंगलाई पुकार्छन्।

प्रहरीले बोलाउँछन्, पत्र दिन्छन् र शव लिएर उनी पशुपति पुग्छन्।

उनले यस्तो काम गर्न थाल्नुको पनि कारण छ। ‘यो काम गर्नुमा मेरा बुवाको हात छ,’ उनले भने।

उनका बुवा बेपत्ता भएका रहेछन्। उनीहरूले धेरै खोजे, भेटेनन्। धेरै समयपछि एकदिन महाराजगन्जस्थित टिचिङ अस्पतालमा उनको शव भेटियो।

‘धेरै दिनदेखि पहिचान हुन नसकेकाले होला, उहाँलाई बेवारिसे भनेर राखिएको थियो,’ विनयले भने, ‘बुबाको शवसँगै अरू धेरै बेवारिसे शव थिए।’

बुवाको दाहसंस्कार उनी आफैंले गरे। हिन्दु धर्ममा दाहसंस्कार गरेपछि मुक्ति मिल्छ भन्ने भनाइ छ। ती बेवारिसे शवहरूको मुक्ति कसले दिलाउला भन्ने प्रश्नले उनलाई निकै दिन घेर्‍यो।

‘मैले नै ती शवहरूलाई मुक्ति दिलाउनुपर्छ भन्ने लाग्यो,’ उनले भने, ‘अनि मैले यो काम सुरू गरेँ।’

विनयको यो कथा सपनाले पनि सुनिन्। किन किन उनलाई यो काम आफूले पनि गर्नुपर्छ भन्ने लाग्यो।

‘म पनि तपाईंजस्तै काम गर्छु,’ सपनाले भनिन्।

‘हुँदैन छोरी,’ विनयले भनेका थिए, ‘तिमी सानै छौ।’

उनको जिद्दको अगाडि विनयको केही लागेन।

‘ल हिँड उसो भए,’ एकदिन विनयले भने।

त्यो दिन उनीहरू सुरूमा टिचिङ अस्पतालको शवदाह गृह गए।

भित्र छिर्दा भान्छा कोठामा भाडाकुँडा छरिएजस्तै जताततै शव थिए। कसैको शव हेर्न नसकिने अवस्थामा थियो। कतिपयका टाउको थिएन, कतिको हातखुट्टा। प्राय: शवहरू दयनीय अवस्थामा थिए।

‘हेर्न नसकेर म बाहिर आएर रून थालेँ,’ सपनाले भनिन्।

त्यो दिन एउटी युवतीको शव उनीहरूले पशुपति आर्यघाट लगे। चिताको लाइनमा राखे। अरू शव वरिपरि आफन्त रोइरहेका थिए। उनीहरूले ल्याएको शव भने एक्लै थियो। उसका लागि रूने पनि कोही थिएन। ऊ को थिई? किन र कसरी मरी होला भन्ने कथा पनि ऊसँगै चुपचाप थियो। सबै सम्झेर सपनालाई नरमाइलो लाग्यो।

ती युवती पहिलो थिइन्, जसको दाहसंस्कार सपनाले गरिन्।

‘मैले पहिलोपटक दाहसंस्कार गरिरहँदा धेरै कुरा सम्झेकी थिएँ। नरमाइलो लागिरहेको थियो। तर कयौं दिन दाहसंस्कार हुन नसकेर भट्किरहेको आत्मालाई मुक्ति दिएँ भनेर खुसी पनि थिएँ,’ उनले भनिन्।

प्रहरीले बेवारिसे शवलाई कम्तिमा ३० देखि ३५ दिनसम्म राख्छ र आफन्त खोज्छ। नभेटाए उनीहरूलाई बोलाउँछ।

‍अहिले सपनालाई शव देखेर डर लाग्दैन। ‘अहिले त दिनदिनैजस्तो शवसँग भेट हुन्छ। को हो भन्ने चिनिन्न। सबै बेवारिसे हुन्छ,’ उनले भनिन्, ‘त्यो लासको भण्डार देखेर पनि होला, अब मलाई डर लाग्दैन।’

डर लाग्न त छाडिसकेको थियो, तर एकदिन उनी अन्जान युवतीको दाहसंस्कार गर्दागर्दै रोइन्।

त्यस दिन विनय र सपनाले १७ बेवारिसे शवहरू जलाउन लाइनमा राखे। पालैपालो दाहसंस्कार गर्दै थिए। त्यहाँ एउटी १८ वर्षीया युवतीको शव  थियो। सानो बच्चाको शव पनि उनीसँगै थियो।

‘ती युवतीको शवलाई दागबत्ती दिँदा मलाई एकदमै गाह्रो भयो,’ उनले सम्झिइन्, ‘त्यो चितालाई हेरेर दागबत्ती दिँदादिँदै एक्कासि रून आयो। उनलाई आफैंसँग दाँजेकी थिएँ।’

उनले त्यति बेला आफ्नो विगत सम्झेकी थिइन्। यस्तै हुनबाट जोगिएकी पो रहिछु भन्ने सम्झेर उनी रोएकी थिइन्। त्यो शवमा उनले आफ्नो विगतको घमण्ड र अहम् देखेकी थिइन्।

‘त्यही खराब आनीबानी, जिद्दीपनामा रमाउन खोजेको भए, रंगीन जिन्दगीको पछि लागेको भए म पनि त्यस्तै अवस्थामा पुग्ने थिएँ कि भन्ने लाग्यो,’ उनले भनिन्।

त्यो दिनपछि आफूले गर्न थालेको काममा उनले गर्व महशुस गरिन्। त्यो शवसँगै आफ्नो विगतलाई दागबत्ती दिएँ भन्ठानेर उनी ढुक्क छिन्।

बेवारिसे शव दाहसंस्कार गर्ने गरेको थाहा पाएपछि घरका मान्छेले भने सपनालाई फरक तरिकाले हेर्न थाले।

‘काममा लागेपछि म्याग्दी फर्किँदा त मलाई तामझाम गरेर स्वागत पो गरे,’ उनले भनिन्।

सपना पूरा गर्न नसकेर बेवारिसे भएकाहरू, पशुपतिमै मागेर खानेहरू, बाटो बिराएर अन्जान ठाउँमा आई मरेकाहरू सबैको मृत्युसंस्कार गरेर उनीहरूको आत्मा शान्त पार्ने काम चानचुने होइन भन्ने उनलाई लाग्छ।

उनी यो काम विस्तार गर्न चाहन्छिन्। उनीहरूले २३ जिल्लामा एक्सन फर सोसियल चेन्ज, बेवारिसे शव व्यवस्थापन तथा पुनर्जीवन केन्द्रको शाखा खोलिसकेका छन्।

‘स्थानीयवासीसँग सहकार्य गरी अहिलेसम्म हामीले २३ जिल्लामा शव व्यवस्थापन गर्ने शाखा खोलिसकेका छौं,’ उनले भनिन्, ‘७७ वटै जिल्लामा यस्ता शाखा विस्तार गर्नुछ।’

शव व्यवस्थापन गर्नु खर्चिलो काम हो। स्थानीय तह र प्रहरी प्रशासनले केही मद्दत गरेकाले सहज भएको छ। यो काममा सरकारको सहयोग हुनुपर्ने विनय र सपना बताउँछन्। हुन पनि बेवारिसे शव व्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकारको हो। तर कतिपयले सहयोग गर्छन्, कतिले गर्दैनन्।

‘स्थानीय सरकारले यस्ता शवलाई फोहोर मैलाको बजेटमा छुट्टयाएर व्यवस्थापन गर्थे,’ विनयले भने, ‘अहिले हामीले सुरू गरेपछि केही नगरले आफैं सहयोग गरेका छन्। पाटन अस्पतालबाट शवहरू लग्दा ललितपुर महानगरले सहयोग गर्छ, भक्तपुरका लागि मध्यपुर थिमी नगरपालिकाले सहयोग गर्छ।’

कसैको सहयोग पाएनन् भने उनीहरू आफ्नै खर्चले दाहसंस्कार गर्ने गरेका छन्।

सपनाले कक्षा १२ सम्म मात्रै पढाइ पूरा गरेकी छन्। कोरोना भाइरसको महामारी अन्त्यपछि पढ्ने योजना पनि बनाइसकेकी छन्। उनको निधो छ- यो काम भने छाड्ने छैन।

बेवारिसे हुनुको मुख्य कारणमध्ये लागुऔषध एउटा रहेछ भन्ने उनीहरूले पत्ता लगाएका छन्। त्यसैले लागुऔषध सुधारगृह पनि खोलेका छन् र यसको विस्तारको योजना बुनेका छन्।

‘अहिले हामीले दुइटा सुधार केन्द्र खोलेका छौं र यो पनि सबै ठाउँमा विस्तार गर्ने योजना बनाएका छौं,’ सपनाले आफ्नो सपना सुनाइन्।

सबै तस्बिरहरू: नारायण महर्जन/

सेतोपाटीबाट साभार

मङ्लबार, मंसिर ९, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...