मुक्तिनाथ मन्दिर खुलेसँगै उपल्लो मुस्ताङका बासिन्दा उत्साही

गत वर्षको चैतदेखि बन्द रहेका मुस्ताङका मन्दिर तथा होटल व्यवसाय सञ्चालनमा आएपछि उपल्लो मुस्ताङका बासिन्दाहरु उत्साहित भएका छन् । विगतका वर्षहरुमा जाडो छल्नका लागि बेसीँ झर्ने गरेको भए पनि यस वर्ष आफ्नै थातथलोमा बसेका मुस्ताङीहरु सामान्य रुपमा आन्तरिक तथा बाह्य पर्यटकका लागि मुस्ताङ खुला गरिएपछि खुशी भएका हुन् ।

प्राचीन मानव सभ्यता तथा सीपको अध्ययन एवं अवलोकन गरी जानकारी लिनका लागि उत्कृष्ट मानिने गुफाहरु यतिबेला पर्यटकको पर्खाइमा छन् । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)का कारण जारी लकडाउनले मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकहरु नपुग्दा त्यहाँका गुफा ओझेलमा परेका थिए ।

हिमालपारिको जिल्लाका रुपमा चिनिने मुस्ताङमा रहेका प्राचीन गुफा आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा पर्ने गर्दछ । विगत केही वर्षयता देशैभर भ्रमण गर्नेहरुको सङ्ख्यामा वृद्धि भएसँगै मुस्ताङ भ्रमणमा जाने आन्तरिक तथा बाह्य पर्यटकहरुको मुख्य रोजाइमा गुफा पर्ने गरेको थियो । खासगरी उपल्लो मुस्ताङको छोसेर, छोन्हुप लगायतका विभिन्न स्थानमा रहेका गुफा अवलोकन गर्नका लागि पर्यटकको आकर्षण बढेको छ ।

होटल व्यवसायी संघले होटल खोल्ने र मन्दिर व्यवस्थापन समितिले कागबेनी र मुक्तीनाथ मन्दीर खुलाउने निर्णय गरेसँगै उपल्लो मुस्ताङका व्यवसायीहरु उत्साहित भएको उपल्लो मुस्ताङको लोमन्थाङका बासिन्दा एवं गण्डकी प्रदेश सांसद इन्द्रधारा विष्टले बताउनुभयो । उहाँ भन्नु हुन्छ – यस वर्ष थोरै संख्यामा बेँसी झरे पनि आफ्नै गाउँघरमा भएका नागरिकहरु आन्तरिक तथा बाह्य पर्यटकको स्वागतका लागि आतुर छन् ।

पछिल्लोपटक नेपालीहरुमा पनि घुम्नुपर्छ भन्ने बानीको विकास भएसँगै मुस्ताङ पुग्ने आन्तरिक पर्यटकहरु बढेका छन् । तिनै पर्यटकहरुले मुस्ताङका विभिन्न ठाउँमा रहेका प्राचीन समयमा मानव निर्मित गुफाहरुको अवलोकन गर्दै आइरहेका छन् । हिमाली जिल्ला मुस्ताङ आफैमा सुन्दर छ । त्यसमा पनि मुस्ताङका गुफा, गुम्बा ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रले सजिएको छ । उत्तर–दक्षिण जोड्ने छिमेकी मुलुक चीनसँगको सिमाना बहुचर्चित कोरला नाका मुस्ताङको गहना हो ।

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाअन्तर्गत छोसेरमा रहेको झोङ गुफा खासगरी पर्यटकहरुको रोजाइमा पर्ने उत्कृष्ट गन्तव्य हो । उक्त गुफाभित्र १ सय ८ ओटा कोठाहरु रहेको सांसद विष्ट बताउनुहुन्छ । तत्कालीन समयमा चिनियाँ र तिब्बतीहरुको आक्रमणबाट बच्नका लागि स्थानीयले ठूलो मेहेनतका साथ गुफा बनाएको भनाइ छ । उनीहरु त्यही गुफाभित्र लुकेर चिनियाँ र तिब्बतीहरुको आक्रमण हुनबाट ज्यान जोगाएर बसेको उनीहरुको भनाइ छ । स्थानीयले घरेलु हातहतियारको प्रयोग गरेर गुफाको निर्माण गरेका हुन् । परम्परागत सीप र प्रविधिमा आधारित रहेर बनाइएका गुफाभित्र रहेका कोठाहरु निकै आकर्षक देखिन्छन् ।

गुफाका हेरालु (कर्मचारी) युटिन गुरुङका अनुसार तत्कालीन समयमा चिनियाँ र तिब्बती नागरिकहरुको आक्रमणबाट बच्न गुफा बनाइएको बताइन् । त्यसबेला तिब्बतीहरु आक्रमण गर्न र स्थानीयले पिउने पानी लैजानबाट रोक्न गुफामूनि कुरेर बसेका थिए । सोही क्रममा गुफाभित्र एकजना महिलाले तेलले नुहाएको चिनियाँ र तिब्बतीहरुले देखेपछि यिनीहरुसँग पिउने मात्रै नभई नुहाउने पानी समेत रहेछ भनी आक्रमण नगरी फर्किएको किम्बदन्ती रहेको हेरालु गुरुङले जानकारी दिइन् ।

सामान्य अवस्थामा गुफा हेर्नका लागि दैनिक १ सयजना पर्यटक पुग्ने गर्दछन् । गुफाको मर्मतसम्भारका लागि स्थानीयले आवश्यक पहल गर्दै आइरहेका छन् भने पर्यटकबाट शुल्क समेत लिने गरिएको छ । निकै आकर्षक देखिने मुस्ताङका गुफाको अवलोकनसँगै पर्यटकहरु कोरला नाकासम्म पुग्छन् । तर यसवर्ष मुस्ताङका गुफाहरुले पर्यटकहरुलाई पर्खिरहेका छन् । कोरोना संक्रमणको जोखिमले गर्दा पर्यटकीय क्षेत्र सुनसान बन्दा यसको प्रत्यक्ष असर विभिन्न क्षेत्रमा परेको छ ।

बुधबार, पुस २२, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...