ल्याब टेक्निसियनले भोगेका चुनौती

सरोज ढुङ्गेल

काठमाडौँ, पुस २६ गते । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा कार्यरत कविता अधिकारीलाई आफैँले काम गरेको संस्था र कामका बारेमा समाज र आफन्तलाई भन्नसमेत डर थियो । त्यो अवस्था कवितालाई मात्र होइन, कोरोना परीक्षण ल्याबमा काम गर्ने सबैजसो जनशक्तिलाई थियो ।
खासगरी सुरु सुरुका महिनामा कोरोना परीक्षण ल्याबका जनशक्तिले आफू दुःख र कष्टमा परेर भए पनि समाजलाई उज्यालो दिने गरी काम गरे । हुन पनि बन्दाबन्दी (लकडाउन)ले गर्दा घरभन्दा बाहिर निस्कन सक्ने अवस्था थिएन । ल्याबमा काम गर्ने कविता भने सधँैझैँ जनस्वास्थ्य प्रयोगशालामा आउनुपर्दथ्यो । जब घर पुग्ने बेला हुन्थ्यो, उहाँ परिचयपत्र घाँटीबाट झिकेर झोलामा हालेर मात्र घर जानुहुन्थ्यो ।
छिमेकी तथा समाजको ठूलो डर थियो । त्यो बेला कवितालाई म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा काम गर्छु भनेर भन्न सक्ने अवस्था थिएन । चैतदेखि मात्र कविताले राष्ट्रिय प्रयोगशालामा काम गर्न सुरु गर्नुभएको थियो । परिवारको पनि यो महामारीमा जागिर छोड्नु, काम गर्नु पर्दैन भन्ने दबाब थियो तर म त एउटा स्वास्थ्यकर्मी कामै नगर्ने भन्ने विषय कल्पनासमेत गर्न सकिँदैन भनेर नियमित काममा जानुभयो ।
“कोरोना भन्नेबित्तिकै अब मरिन्छ भन्ने डर थियो तर काम गरेँ,” उहाँले भन्नुभयो । कोरोना सुरु हुँदा धेरै स्वास्थ्यकर्मीलाई घरबाट निकालियो । अभद्र व्यवहार खेप्नुप¥यो । कतिले कुटाइसमेत खानुप¥यो । स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गरेको रोक्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति निकालेको थियो ।
प्रयोगशालाकर्मी कवितालाई सतुङ्गलबाट स्कुटीमा प्रगोगशालाको परिचयपत्र झुन्ड्याएर निस्कँदा अब कोरोनाले मरिने हो कि भन्ने डर हुन्थ्यो । किनभने कोरोना लाग्नेबित्तिकै मानिस मरिहाल्छ भन्ने भ्रम थियो । चीनमा दैनिक मानिसहरू कोरोनाले गर्दा मरिरहेको समाचार सुनिथ्यो । कोरोना भाइरस (कोभिड–१९) भाइरसको सुरुवात चीनको वुहानबाट भएकाले नेपालमा पनि कोरोना महामारी आउने चिन्ता थियो ।
कवितालाई ‘कन्ट्याक ट्रेसिङ’मा पाँच दिन होम आइसोलेसनमा बस्दा धेरै तनाव भएको थियो । आफूलाई कोरोना लागे त चित्त बुझाउनु हुन्थ्यो तर परिवारका अन्य सदस्यलाई सर्ने हो कि भनेर ठूलो चिन्ता हुन्थ्यो । साथीलाई कोरोना भएपछि होम आइसोलेसनमा रहनुभएकी कवितालाई अब कोरोना लाग्ने हो भनेर तातोपानी धेरै पिउनुभयो । त्यही तातोपानीले घाँटी पोलेर औषधिसमेत खानुपरेको थियो ।
यस्तै टेकुस्थित सरुवा रोग अस्पतालमा कार्यरत वरिष्ठ मेडिकल अधिकृत परमानन्द भण्डारीले पनि कोरोनाको सुरुवाती चरणदेखि आफैँ खटेर काम गर्नुभएको थियो । कोरोना सरेपछि मरिहालिन्छ कि भन्ने त्रासबाट उहाँले काम गर्नुपरेको थियो । उहाँलाई काममा हौसला अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ तथा अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले दिनुभएको थियो । सरुवा रोग अस्पताल हो, हामी डराएर कसरी सङ्क्रमितको सेवा गर्न सक्छाँै भन्दै डा. बास्तोलाले हौसला बढाएको भण्डारीले विर्सनुभएको छैन ।
2021-01-10-29918
चैत, वैशाखका बेला पीपीईसमेत अभाव हुने गरेको थियो । त्यो बेला विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले कोरोनाबाट बच्न सुरक्षाका उपाय अपनाउनुपर्छ भन्नेबाहेक अरू कोरोनाबारे केही पनि ज्ञान थिएन । परिवार भएको व्यक्तिलाई सरुवा रोग अस्पतालमा कोरोनाको महामारीमा काम गर्न धेरै गाह्रोे हुने रहेछ, भण्डारीले भन्नुभयो, “तर हिम्मत नहारी काममा दत्तचित्त भएर लाग्याँैं । ”
कोरोना उपचारमा सबैभन्दा उत्कृष्ट उपचार र सुरक्षा टेकु अस्पतालले मात्र अपनाएको उहाँको भनाइ छ । टेकु अस्पतालले सुरक्षामा समेत विशेष सावधानी अपनाएको थियो । वरिष्ठ ल्याब अधिकृत भण्डारीले पीपीईसमेत नभएको अवस्थामा ७० जनाको स्वाब सङ्कलन गरेको अनुभव रहेको बताउनुभयो । कोरोना परीक्षण गर्न टेकु अस्पताल आउने हुनाले तीन दिनसम्म सर्वसाधारण लाइनमा बस्नुपरेको थियो । हालसम्म टेकु अस्पतालमा ५५ हजार स्वाब सङ्कलन गरेकोमा सात हजार पाँच सय जनालाई कोरोना पुष्टि भएको छ । यस्तै जनस्वास्थ्य प्रयोगशालामा कार्यरत ल्याब टेक्निसियन रमेश थापाको छुट्टै अनुभव रहेको छ । थापालाई टेकुमा काम गर्छु भनेर भन्नसक्ने अवस्था थिएन । एकपटक लगाएको पीपीई दिनभरसम्म लगाएर खोल्दा पसिनाले लुथ्रुक्कै भिजेको हुन्थ्यो ।
यस्तै नेपालगञ्ज प्रयोगशालामा कार्यरत नरेश श्रेष्ठलाई कोरोनाको त्रासमा नेपालगञ्जको अत्यधिक गर्मीमा पीपीई लगाएर काम गरेको तितो अनुभव छ । खुला ठाउँमा तातो घाममा एकै जनाले ७०÷८० जनासम्मको स्वाब सङ्कलन गर्दा धेरै दुःख हुन्थ्यो, श्रेष्ठ भन्नुहुन्छ, “पीपीई लगाएर दिसा, पिसाबसमेत नगरी धेरै दुःखले काम गरियो । ”
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत राजेशकुमार गुप्ताले भन्नुभयो, “आफूले काम गर्न र मिडियालाई सही सूचना दिन चुनौती थियो । ” केही मिडियाले भ्रामक समाचार आफ्नो भनाइ राखेर लेखेको दुःखद अनुभव छ उहाँसँंग । देशभरि प्रयोगशाला थपिएर कोरोना परीक्षण हुन थालेपछि सहज भएको गुप्ताको भनाइ छ ।

यो समाचार आजको गोरखापत्र दैनिकको पहिलो पृष्ठमा प्रकाशित छ ।

आइतवार, पुस २६, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...