हामी अभिभावक सचेत बन्ने की !

संगिता रेग्मी पौडेल
देश निर्माणका आधारस्तम्भ, राष्ट्रका बहुमूल्य, रत्न, सौन्दर्य र उज्यालोका प्रतीक । अझ व्यक्तिगत रुपमा हेर्ने हो भने बुढेसकालका साहारा, हाम्रा आस्थाका केन्द्र, बालबालिकाको चौतर्फी विकास र उन्नतिका लागि बालबालिकाप्रति हाम्रो अहम् भूमिका हुन्छ । आफ्नो जीवनकालमा ऊर्जावान् समयको लगानी बालबालिकाको भविष्यको लागि भनेर खर्चेका हामी अभिभावकले आफ्ना बालबालिकालाई सत्मार्ग र सत्कर्मतर्फ डो¥याउन सक्नुपर्छ । त्यो महत्वपूर्ण जिम्मेवारी हाम्रो काँधमा छ । जब हामी अभिभावक आफ्ना सन्ततिलाई चाहेजस्तो बनाउँछौं, तब मात्र सन्तुष्ट भएर बस्न सक्छौं । ‘जसले मह काढ्छ उसले हात चाट्छ भनेझैं’, जसले परिश्रम गर्छ फल प्राप्तिको आश पनि उसैले गर्छ । ठूलो आश के गर्छन र आमा बाबाले ? छोराछोरीको सानो–सानो खुशीमा खुशी हुने, छोराछोरीको सुखमा आफ्नो सुख खोज्ने त हो नि ।
आफ्ना बालबालिकाको उज्ज्वल भविष्यको लागि रातदिन खटेका छौं तर हामीले अपेक्षित उपलव्धि हात पार्न सकेका छैनौं । बच्चाले चाहेजस्तो स्वतन्त्रता दिएकै छौं, सन्तानको खुशीको लागि भनेर दुखको भूमरीमा हात हालेकै छौं । चाहेको कुरा गर्न दिएकै छौं । खानपानमा त झन् कुनै कसर बाँकी नै राखेका छैनौं । आ–आफ्नो औकात र क्षमताले भ्याएसम्म गरे पनि अपेक्षित प्रगति किन नभएको होला ? कतै हाम्रा बालबालिकालाई प्रत्येक कुरामा उत्कृष्ट, प्रतिभाशाली, लगनशील, राष्ट्रसेवक, चुस्त, दुरुस्त बनाउने चक्करमा जानी नजानी गलत तरिका प्रयोग त गरेका छैनौं ? खै के तालमेल नमिलेको हो यहाँनेर म ताक्छु मुढो बन्चरो ताक्छ घुँडो भनेझैं भएको छ । बालबालिकालाई सभ्य र सुसंस्कृत बनाउने सपना विफल बन्दैछन् । आम अभिभावकको एउटै जस्तो गुनासो मोबाइल फोनले छोराछोरी बिग्रे, पब्जी र फ्रि फायरले भनेको नमान्ने भए एकोहोरो, पढाइमा ध्यानै नदिने भए, आँखा कमजोर त हुन्छ नै अरु स्वास्थ्य समस्या देखिने पो होकी ल न सर÷म्याम सम्झाइदिनुप¥यो । दिनमा ३० मिनेट त म अाँफै दिन्छु, तर आँखा छलीछली खेल्छ । स्कुलमा फोन पूर्ण रुपमा निषेध छ, विद्यार्थीले स्कुलले आयोजना गरेको वनभोज कार्यक्रममा पनि मोबाइल लाने गरेका छैनन् । यहाँनेर सोचनीय कुरा छ विद्यार्थीले पब्जी खेल्दै गर्दा विद्यालयको दोष के ? बच्चा बिग्रेपछि सुधारको आशमा अपिल गर्नु मानवीय स्वभाव हो । समस्या सुधार गर्न सकिन्छ पनि तर त्यसको लागि समस्याको चुरो पत्ता लगाउन आवश्यक छ ।
आफ्ना बच्चालाई धेरै लाडप्याड गर्दै कलिलो मानसपटलमा विषवृक्षको बिज रोप्ने प्रमुख कारक तत्व अभिभावक स्वयं हुनुहुन्छ । बालबालिका अबोध हुन्छन् उचित र अनुचित छुट्याउन सक्ने सामथ्र्य पनि हुँदैन । मातृपितृ वात्सल्यमा चुर्लुम्म भएर आफ्ना छोराछोरीलाई अन्धकारको दलदलमा फसाउँदै हुनुहुन्छ । नत्र किन पब्जी र फ्रि फायर खेल्नको लागि ३० मिनेट म आफैले दिन्छु भन्नुहुन्छ । जसका बेफाइदाका बारेमा जानकार पनि हुनुहुन्छ । खराब कुरालाई थोरै समयका लागि पनि किन दिनुहुन्छ छुट ? आखिर खराब कुरा खराब नै हो । बच्चा सानो छ दुःख मान्ला बाल मस्तिष्कमा आघात पुग्ला भन्दै रुखो बोली गर्न पनि सकिएको छैन । आफ्ना बालबालिकालाई बेलैमाथि सचेत गराउन सकिएन भने भोलि जीन्दगीले झापड हान्नेछ, आफन्तले जिल्याउने छन्, आफ्ना सन्तानलाई कुलतबाट बचाउनुहोस् । जीन्दगीले झापट हान्नुभन्दा पहिले तपाईँले नै झापड हान्नुहोस् । जसले सानैबाट सङ्घर्षको मैदानमा उत्रन सक्ने शक्ति दिँदै अमृतको काम गरोस् । जुनकुनै बाहनामा पनि मोबाइल नदिनुहोस् । कुनै घरायसी काममा अल्झाउने वा व्यक्तित्व विकास हुने काम गराउनुहोस् ।
“बालबालिका काँचो माटो हुन् जसलाई हामीले चाहेजस्तो आकारमा ढाल्न सक्छौं” भन्ने भनाइ पटकपटक सुनेका छौं त्यो काँचो माटोलाई आकारमा बदल्न माटोले जुन चोट सहन्छ र कुमालेको चक्रमा फनफनी घुम्छ आागोको राप सहन्छ र पो मूर्त आकारमा आउँछ । आम अभिभावकले बालबालिकाको खुशीको लागि भन्दै काम रोजाउने र बच्चाको तत्कालीन खुसीका लागि मेहनत गर्न नदिने संस्कारको विकास भयो बालबालिका साना हुन्छन् तर मानवीय गुणबाट अछुतो रहन कहाँ सक्छन् र ? पाएसम्मको सुख भोग गर्ने हुन्छन् । रोजेको काम गर्न पाउँदा कसले पो खोज्ला र दुःख अनि धेरै हुने काम ? हो ! त्यहीँबाट काम ठग्ने बानीको सुरुवात हुन्छ । बच्चालाई मेहेनत गर्न सिकाउनुपर्छ । उमेर, स्तर र क्षमता अनुशारको काम गर्न दिनुहोस् । यसको मतलब शारिरीक तथा मानसिक क्षमताभन्दा माथिको काम गराउने पनि त होइन, जिम्मेवारीबोध र लगनशील बनाउनु मात्र हो । आफ्ना बालबालिकालाई आफ्नो काम आफै गर्ने बनाउनुपर्छ । यो वा त्यो भन्दै बाहना बनाउँदै काममा समस्या मात्र देखाउन थाले भने खुल्ला बजारमा सामान किन्दा व्यापारी र ग्राहकको बीचमा भएको मोलतोलको कुरा जस्तै हुन्छ । अन्त्यमा अल्छिपनले गाँज्दै लान्छ । कुनै यस्ता काम अनिवार्य रुपमा गर्नैपर्छ भन्ने पार्नुहोस् । आज नगरे भोलि गरौला, नराम्रो भए नलगाऊ, नमीठो भए नखाऊ, कुनै पनि कुरा तिम्रा लागि अनिवार्य छैन भन्ने जस्ता कुराको कारणले भनेको नमान्ने काम साँच्ने घुर्काउने भएका छन्, नजानिँदो रुपमा खराब संस्कारले जरा गाढेको छ । बच्चाले गल्ती गर्छन् स्वभाविक हो । बाल मस्तिष्कमा आघात पुग्छ भन्दै गल्तीलाई गल्ती भन्न नसकेर हामीबाट झन् ठूलो गल्ती हुन्छ । अपरिपक्क उमेरका बालबालिकाले सही वा गलत छुट्याउन कहाँ सक्छन् र ? आम बालबालिकालाई खुशी बनाउन निकै सजिलो छ । बिना रोकाबट मोबाइल चलाउन दिनुस् त फक्रँदो फूलझैं खुशीले फूलेका देखिन्छन् अबोध अनुहारहरु । के त्यो खुशीको परिणामले भविष्यमा तपार्इँ हामी खुशी हुन सक्छौँ ? पक्कै पनि हँुदैनौं । यस्ता कलिला मस्तिष्कले उज्ज्वल भविष्यको खाका कसरी कोर्न सक्छन् ? सम्पूर्ण कुरा सन्ततिको हातमा छोड्दा आफ्ना आमा बाबाको सपना साकार पार्ने गरी पढ्लान् त ? अहँ हँुदै होइन मेहेनत धेरै गर्नुपर्ने काम त बच्चाले गर्दैनन् । त्यसले क्षणिक रुपमा हुने फाइदा त होला तर त्यसले दीर्घकालमा नत उनिहरु सक्षम बन्छन् नत बालबालिकाको उपलव्धिमा तपाईँ हामी रमाउन सक्छौ ।
सबै कुरा सजिलो मात्र कहाँ प्राप्त हुन्छ र कठोर परिश्रम बीना जीवन सफल बन्दैन । सफला हासिल गर्नको लागि बाल्यकालदेखि नै कठिन परिश्रम गर्नुपर्छ । जसरी एउटा कलाकारले खाली कागजमा आकृति कोर्दै सुन्दर कलाको सिर्जना गर्छ त्यसरी नै बालबालिकालाई अभिभावकले दाउने, रटाउने, कडा अनुशासन र मर्यादामा बसाल्न सके मात्र बालकले आफ्नो जीवन सजिलै सुधार्न र गुजार्न सक्छ । भनिन्छ बालकको पहिलो पाठशाला घर, पहिलो गुरु आमा, बाबा त्यसैले आफ्ना बालबालिकालाई अभिभावकले जस्तो आनीबानी सिकायो त्यस्तै बन्दछन् । हामी अभिभावक जसले जति आदर्शका कुरा गरे पनि आफ्ना बालकको लगाव र क्षमता बुझ्न सक्ने सामर्थ त्यही अभिभावकको हुन्छ जसले आफ्ना बालबालिकालाई समयमै सहि मार्ग देखाउन सक्छौं, त्यही अभिभावक सफल अभिभावक बन्छौं । अहिलेका हाम्रा साना कोपिला भविष्यका धरोहर हुन्, आधार हुन् । त्यसैले समाज र राष्ट्रका मेरुदण्ड हामीले चाहेजस्तो बनाउनको लागि हामी बेलैमाथि सजग र सचेत बन्नुपर्छ ।

सोमवार, पुस २७, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...