रघुगंगामा भ्रष्टाचार छैन : अध्यक्ष भण्डारी

उत्तरी क्षेत्रको रघुगंगा गाउँपालिका म्याग्दीका छ वटा स्थानीय तहमध्ये एक हो । यो गाउँपालिकामा साविक वेगखोला, भगवती, पिप्ले, दग्नाम, झीँ, पाखापानी, चिमखोला, कुईनेमङ्गले गाविसहरु समेटेर निर्माण गरिएको हो । हिमाली जिल्ला म्याग्दीको अन्य सबै पाँचवटा स्थानीय तह र पर्वत एवं मुस्ताङसँग यो गाउँपालिकाको सिमाना जोडिएको छ । यस गाउँपालिकाको क्षेत्रफल ३७९ वर्ग किलोमिटर छ । २०६८ सालको जनगणनाअनुसार १५७५३ जनसङ्ख्या रहेको यस गाउँपालिका प्राकृतिक, धार्मिक, पर्यटकीय र ऐतिहासिक हिसाबले पनि सम्पन्न छ । यस गाउँपालिकाको अध्यक्षमा गएको २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा स्थानीय क्षेत्रका लोकप्रिय मतसहित नेपाली कांग्रेसका तर्फबाट भवबहादुर भण्डारी निर्वाचित हुनुभएको थियो । स्थानीय सरकारको प्रमुखको रुपमा निर्वाचित भण्डारीसँग स्थानीय क्षेत्रको विकास निर्माण र समसामयिक विषयमा रुप्से दैनिकका लागि अमृत बास्कुनेले गरेको कुराकानीको सम्पादित अंशः
नयाँ अभ्यासको स्थानीय तहको नेतृत्व गर्दाको हालसम्मको अनुभव कस्तो रह्यो ?
रघुगंगा गाउँपालिकाका आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूको अपेक्षा पूरा गर्न सक्ने क्षमता म आफूमा रहेको विश्वाससहित स्थानीय तहको निर्वाचनमा होमिएको थिएँ । निर्वाचित भएर मैले रघुगंगा गाउँपालिकाको नेतृत्व लिएपछि सुरूवाती समयमा स्थानीय तहको सञ्चालनका लागि आवश्यक ऐन कानुनहरूको निर्माण र ती कानूनहरूको अभ्यासमा अनभिज्ञता नै थियो । क्रमशः अभ्यस्त हुँदै आयौं र हालसम्म आइपुग्दा स्थानीय तहको सञ्चालनका लागि आवश्यक सक्षमता प्राप्त भए जस्तो लाग्छ । धेरै कुराहरू सिक्ने, सिकाउने र जनताको नजिकमा रहेर जनअपेक्षा बमोजिम नै काम गर्ने अवसर प्राप्त भयो । यसलाई मैले आफ्नो थप क्षमता विकास मात्र होइन जनताको अझ नजिक पुगेर सेवा गर्ने मौकाको रुपमा पनि लिएको छु ।
गाउँपालिकाको आर्थिक सबलीकरणका लागि के, कस्ता कार्ययोजनाहरु बनाउनुभएको छ ?
हाम्रो गाउँपालिका भौगोलिक रूपले विकट र आर्थिक रूपले पछाडि परेका मानिसहरूको धेरै बसोवास रहेको गाउँपालिका हो । परम्परागत कृषि प्रणालीमा आधारित निर्वाहमुखी जनजीवन रहेकोले आर्थिक विकासमा केन्द्रित योजनाहरू बनाएका छौं । कृषि क्षेत्रको आधुनिकिकरण, यान्त्रिकरण, व्यावसायिक खेती तथा पशुपालनलाई प्रोत्साहन गर्ने योजना समावेश छ । रोजगारी सिर्जनाको लागि सिपमूलक तालिम प्रदान गर्न गण्डकी प्रदेश सरकारसँग साझेदारी गर्दैछौं । बेरोजगारहरूको तथ्याङ्क अध्यावधिक भैरहेको छ, यसबाट ‘एक घर, एक रोजगार’को हाम्रो सपना पूरा गर्न आधार तयार भैरहेको छ । त्यस्तै निजी क्षेत्रसँग सहकार्य र साझेदारीमा विभिन्न आर्थिक विकासका कामहरू भैरहेका छन् । हामीले गरेको समन्वयकै उपज गाउँपालिकाभित्र रघुगंगा नदिमा ४ वटा हाइड्रोपावरहरू निर्माणाधीन अवस्थामा छन् । यसले पक्कै पनि रोजगारी सिर्जना, व्यवसायहरूमा विस्तार गराउँछ । गाउँपालिकाको आर्थिक सबलीकरणका लागि प्राकृतिक स्रोतहरूको दीगो उपयोगको नीतिलाई व्यवहारिक अभ्यास गरिएको छ । करका दायराहरू थप भैरहेका छन् । जलविद्युत निर्माणलाई प्रथामिकता दिँदै आगामी दिनमा थप रोजगार सिर्जना हुने कार्यमा हामी अगाडि बढ्दै छौं ।
स्थानीयको दुःख सुखमा पहिलो उपस्थिति यहाँको हुने गरेको छ, प्रत्येक स्थानमा आफै उपस्थित हुनका लागि यहाँलाई कुन ऊर्जाले काम गर्छ ।
मेरो एक मात्र लक्ष्य गाउँपालिकाको आर्थिक सामाजिक र मानवीय विकास हो । मैले रघुगंगा गाउँपालिकाको टोल, वस्ती कुनाकाप्चा सबैको भौगोलिक, सामाजिक अवस्था राम्रोसँग बुझेको छु । साथै विकासका प्रचुर सम्भावनाहरू देखेको छु । मैले देखेको समृद्धीको सपना, गाउँपालिकावासीहरूको हौसला, जनप्रितनिधिहरूको साथ र सहयोग, कर्मचारी नेतृत्वको सबलताबाट नै म उत्साहित छु । अर्काे कुरा, कामबाट निजी स्वार्थ नराख्ने र जनताको विकासमा के सहयोग पुग्यो भनी मूल्याङ्कन गरी परिष्कृत हुँदै अगाडि बढ्ने तथा कामको सफलताबाट आत्म सन्तुष्टी प्राप्त गर्ने मेरो व्यक्तिगत स्वभावले नै ऊर्जा प्रदान गर्छ ।
रुईसे, धौलागिरी हिमाल, दग्नाम तातोपानी कुण्ड रहेको रघुगंगा गाउँपालिकाको पर्यटन विकासका लागि तपार्इँको योजना के छ आगामी दिनमा ?
पर्यटन क्षेत्रलाई आर्थिक विकासको मुख्य पाटोका रूपमा अगाडि बढाउने नीति लिएका छौं । पर्यटकीयस्थलको पहिचान र विकासमा जोड दिइएको छ । गलेश्वर गायत्री मन्दिरबाट रूइसेडाँडा हुँदै धौलागिरि आइसफलसम्म पुग्ने पर्यटन पदमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भैसकेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट समेत उक्त पदमार्गको लागि बजेट प्राप्त भएको छ । त्यस्तै टोड्केको विकासका लागि पदमार्ग र हरियाली उद्यान निर्माण गर्ने तयारीमा छौं । बेग र बाँदुक जोड्ने लामो झोलुङ्गे पुलबाट पदमार्ग निर्माण गरेका छौं, यो वर्ष पनि २५ लाख बजेट राखेका छौं । रूईसेमा भ्यू–टावर निर्माण भएको छ । टोड्केमा पनि भ्यू–टावर निर्माणको सोच बनाएका छौं । स–साना पदमार्गहरू धेरै छन् । होमस्टे प्रवद्र्धन, होटल व्यवसायको विकास, सभ्य आनीबानीको विकास र फोहोरमैला व्यवस्थापनमा ध्यान दिएका छौं ।
अहिलेसम्म गरेका उल्लेखनीय कामहरु एवं विकास निर्माणका कामहरु के–के हुन् ?
धेरै काम भएका छन् । गाउँपालिकाभित्रका ४ वटा प्रमुख सडकहरू र ११ वटा सहायक सडकहरू निर्माण, १३ वटा खेलमैदानहरू निर्माण, ६ वटा खेलमैदानहरू व्यवस्थित र १६ वटा खेलमैदानहरू स्तरोन्नति गरिएको छ । वडा नं ५ ,६ , ७ र ८ मा विद्युत विस्तारका लागि पहल गरिएको छ । वडा नं १ को लामो झोलुङ्गे पुलबाट वेग गाउँसम्मको पर्यटन पदमार्ग, लगातार ४ वर्ष बजेट विनियोजन गरेर गलेश्वर–मौवाफाँट–दग्नाम–दरमिजा–चिमखोला–घ्याँसीखर्क सडक अन्तरगत दग्नाम दर्मिजा खण्डको कार्यसम्पन्न गरिएको छ । वर्षातले ठूलो धनजनको क्षति पु¥याउने अवस्थामा गलेश्वर वस्तीका २३ घर संरक्षणका लागि पहल भएको छ ।
गाउँपालिकाभित्र गाउँपालिकाको गौरव र राष्ट्रियस्तरमै गौरव गर्न लायकका योजना कस्ता छन् ?
गाउँपालिकाभित्र गौरव गर्न लायकका योजनाहरु गलेश्वर–मौवाफाँट–दग्नाम–दर्मिजा–चिमखोला–घ्याँसीखर्क सडक अन्तरगत अजिङ्गरभित्र फोडेर सडक निर्माण, तिप्ल्याङको वस्ती व्यवस्थित, बेगखोलाको लामो पुलदेखि बेग गाँउसम्म ढलान पदमार्ग निर्माण । दर्मिजा तातोपानी कुण्ड संरक्षण तथा रेलिङ निर्माण, गाउँपालिका भित्रका वस्तीहरुमा १० वटा झोलुङ्गे पुल निर्माण भएका छन् । झीँ र पाखापानीलाई गाउँपालिका केन्द्रसँग सिधा जोड्नका लागि रघुगंगा हाइड्रोसँगको समन्वय गरी बेलीब्रिज निर्माण भएको छ । व्यक्तिगत रुपमा स्वास्थ्य शिक्षातर्फ खर्च गर्नेगरी गाउँपालिका भित्रका असहाय, दलित र अपाङ्गता भएका बालबालिकाहरुको लागि गाउँपालिका अध्यक्ष ‘भवबहादुर भण्डारी कोष’ स्थापना गरी २५ लाख रुपैयाँ राखिएको छ । निजी स्रोतबाट वडा नम्बर ६ को कालोबाङ चोकदेखि उमिखर्कसम्म मोटरबाटो, पुलडाँडादेखि पाखापानी, दोवा भीर तितेखोला सडक स्तरोन्नति, दग्नाम–कान्छीगाउँ जोड्ने बाटो, एकता युवा क्लबको ग्राउण्ड निर्माण र चिमखोला गौडामूनि खलेकुद ग्राउण्ड निर्माण भएको छ । बेग–सेउले बाउनस्वाँरा–लिला मोटरबाटो, पञ्चासे–सीम मोटरबाटो निर्माण । अक्षेता–कलेजाबाङ मोटरबाटो, ज्ञानोदय मावि मौवाफाँट संरक्षण, मौवाफाँट आमा समूहलाई व्यवस्थित गर्ने, मङ्गलेखानी खेलमैदान निर्माण, घ्याँसीखर्क ताराखेल ग्राउण्ड निर्माण र कोभिड–१९ पीडितका लागि राहत उपलब्ध गराउने कार्य पनि भएको छ ।
गाउँपालिकाले गरेका उल्लेखनीय कार्यहरु के–के हुन् ?
प्रशासकीय भवन निर्माणका लागि निःशुल्क जग्गा व्यवस्थापन भएको छ । वर्षात्ले ठूलो धनजनको क्षति पु¥याउने अवस्था भएकोले गलेश्वरको वस्तीका २३ घर परिवार र बेनी–रघुगंगा जोड्ने झोलुङ्गे पुलको संरक्षणका लागि व्लाष्टिङ गरियो । निजी तबरबाट गाउँपालिका भित्रका ५ वटा वडाका १०२ जना व्यक्तिको स्वास्थ्य बीमा गरिएको र अन्यमा पनि विस्तार गर्दैछौं । खानोपानीका संरचनारु निर्माण, ‘एक घर एक धारा’को सुरुआत गरिएको २ नम्बर वडामा र यसलाई सबै वडामा विस्तार गर्ने योजना रहेको छ । त्यस्तै विपद् व्यवस्थापनतर्फ तत्काल उद्दार, राहत र पुनसर््थापनाका लागि विपद् व्यवस्थापन कोषको परिचालन गरिएको छ । प्राकृतिक प्रकोप पीडितलाई पाँच हजारदेखि २५ हजारसम्म तत्काल राहत, रोगबाट ग्रसित र आर्थिक अवस्था कमजोर भएकालाई २५ हजारसम्म राहत प्रदान गर्ने गरिएको छ । दुर्घटनामा परेका तथा प्रसुति अवस्थाका बिरामीहरु १७ जनालाई गाउँपालिकामार्फत हेलिकोप्टरबाट उद्दार गरिएको छ । गाउँपालिका अध्यक्षको हैसियतले एकजना बालिकाको अभिभावकत्व ग्रहण गरी स्नातक तहसम्मको अध्ययन व्यवस्था गर्न लागिएको छ, मौवाफाँटमा रहेको दृष्टिविहिन स्रोत केन्द्रमा सामग्री व्यवस्थापन, आश्रयविहिन बनेका बेगका एक परिवारलाई घर निर्माण गर्ने काम पनि भएको छ । त्यस्तै गाउँपालिका भित्रका नागरिकलाई अत्यावश्यक पर्ने रगतका लागि नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरी माघ १ गतेदेखि निःशुल्क रगत व्यवस्थापन गर्ने कार्य पनि थालिएको छ ।
पुरातात्विक महत्वका स्थलहरुको संरक्षण र संवद्र्धनका लागि के, कस्ता योजनाहरु तर्जुमा गर्नुभयो ?
गलेश्वर गायत्री मन्दिर संरक्षणका लागि गुरूयोजना तयार हुँदैछ । भगवती मन्दिर, टोड्के स्वर्गद्वारी शाखा आश्रम, रिखार मन्दिर, चिमखोला मण्डली, हिमालय गौरीशंकर मन्दिर, मालिका मन्दिर, कोटगाउँ भगवती मन्दिर, पिप्ले भगवती मन्दिर, बेग शिवालय मन्दिर, जस्ता सम्पदाको संरक्षणका लागि पहल गाउँपालिकाले सङ्कल्प लिएको छ । यस्ता महत्वपूर्ण स्थलको संरक्षणका लागि कुनै कसर बाँकी राखिने छैन ।
स्थानीय तहमा भ्रष्टाचार भएको आरोप लाग्ने गरेको छ, तपाई यस विषयमा के भन्नुहुन्छ ?
हाम्रो गाउँपालिकाभित्र भ्रष्टाचार भएको जस्तो लाग्दैन र मत भन्छु यस्तो समस्या नै छैन हाम्रो पालिकाभित्र । मैले व्यक्तिगत सेवा सुविधाको समेत अक्षयकोष खडा गरेको छु । अहिलेसम्मको अवस्था हेर्दा कर्मचारीतन्त्रमा समेत नैतिकता र इमान्दारिताप्रति कटिबद्ध भएको देखिएकोले भ्रष्टाचारको समस्या रघुगंगामा छैन ।
अन्त्यमा केही भन्नु छ कि ?
गाउँपालिका वासीहरूको जनअपेक्षा बमोजिम कार्य गरिरहेको छु, आगामी दिनमा समेत सोही बमोजिम कार्य हुनेछ । गाउँपालिकाको विकासका लागि गाउपालिका बासिन्दाहरूको साथ सहयोगको अपेक्षा गर्दछु । मेरो कार्यकालमा गाउँपालिकाका बासिन्दाले चित्त दुखाउनपर्ने छैन र सकेसम्म दिर्घकालीन रुपमा जाने योजनाहरु र समग्र विकासका लागि नै मेरो ध्याउन्न हुनेछ । मलाई यहाँको पत्रिकामा आफ्नो धारणासहित गाउँपालिकामा भएका गतिविधिहरुको बारेमा कुरा रख्ने अवसर दिनुभएकोमा यहाँ र रुप्से पत्रिकालाई धेरैधेरै धन्यवाद दिन चाहन्छु ।

बिहिबार, माघ २९, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...