प्रेमीप्रेमिकाका लागि विशेष अवसर

शीतल गिरी

फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे’ विश्वभरका प्रेमीप्रेमिकाको विशेष दिन । साँचो र चोखो प्रेमको बलिदानीपूर्ण जित भएको सम्झना गर्ने दिन । यो दिन उपहार र कार्डको आदान–प्रदान व्यापक रूपमा हुने गरेको छ । यो दिनलाई पश्चिमा मुलुकमा मायाको प्रतीकका रूपमा खास महŒवसाथ मनाइने गरिन्छ ।
पश्चिमा संस्कृति अनुशरण गर्नु र नयाँ पुस्ताले प्रणय दिवसलाई महŒव दिनु आफैँमा नराम्रो भने होइन । यो दिवसलाई मनाउने नयाँ पुस्ताले यसको सुरूवात कहिले, कहाँबाट र कसरी भयो भन्ने हेक्का राखेर सही किसिमबाट, सरल तरिकाले, सभ्य बनेर रमाउनुपर्छ । अनि नेपाली समाजले पनि स्वीकार गर्नैपर्छ । नयाँ पुस्ताले आफू कुन धरातलमा कुन संस्कृतिमा हुर्किएको हुँ भन्ने कुरो बिर्सिएर आधुनिक प्रेमीप्रेमिका बनेर स्वच्छन्द यौनलाई प्राथमिकता दिन थाल्यो भने समाजमा विकृति छाउँछ ।
कुनै पनि कुरो अपनाउनुभन्दा पहिले त्यसको तथ्यपूर्ण सत्य थाहा पाउनुपर्छ । अहिले संसारका प्रायः सबै समुदायका नयाँ पुस्ताको साझा दिवस बनेको ‘भ्यालेन्टाइन डे’ सुरुमा रोमन क्याथोलिकहरूको चाडका रूपमा थियो । पश्चिमा साहित्यको इतिहास केलाउँदा सन् २६९ मा रोमका तत्कालीन निरङ्कुश सम्राट क्लाउडियस द्वितीयले त्यहाँको युवा दस्ता प्रेम, यौन र विवाहमा लिप्त रहेर सैनिकमा भर्ना हुन नमान्ने र भर्ना भएकाहरू पनि यस्तो सम्बन्धले गर्दा युद्धका लागि कमजोर बन्दै जाने निष्कर्षसाथ रोमन साम्राज्यका सैनिक तथा अन्य युवामा प्रेम, विवाह तथा यौन सम्बन्ध प्रतिबन्ध लगाए । निरङ्कुश सम्राटको उक्त कदमप्रति अधिकांश मानिस सन्तुष्ट थिएनन् तैपनि मृत्युदण्डको डरले कसैले विरोध गर्ने आँट गरेनन् ।
एकजना धर्मगुरु सेन्ट भ्यालेन्टाइनले ‘युवालाई प्रेम र विवाहमा प्रतिबन्ध लगाउनु ठूलो अपराधमात्र नभएर यसले संसार कुरूप हुने र मानव सभ्यता नै टुट्ने’ अडान राखेर सम्राटको कदमको विरोध गरे । विरोधमात्र गरेका होइनन्, उनले चर्चमा लुकीछिपी प्रेमीप्रेमिकाको विवाह पनि गराए । एकातिर निरङ्कुश सम्राटको आदेश, अर्कोतिर सो आदेशको अवज्ञा सोचौँ कस्तो समय थियो होला । परिणामस्वरूप धर्मगुरु सेन्ट भ्यालेन्टाइन जेल परे । जेलमा रहँदा सेन्ट भ्यालेन्टाइनको प्रेम त्यहाँको जेलरको छोरीसँग बस्न पुग्यो । निरङ्कुश सम्राटलाई सेन्ट भ्यालेन्टाइनको कार्य मन परेको थिएन । अनि १४ फेब्रुअरी सन् २६९ का दिन सेन्ट भ्यालेन्टाइनसहित विवाह गरेका सबै सैनिकलाई फाँसीमा झुन्ड्याएर मृत्युदण्ड दिने निर्णय सुनाइयो । फाँसीमा झुन्डिनुअघि उनले आफ्नो अन्तिम इच्छाका रूपमा एउटा सादा कागज र कलम मागेर आफ्नी प्रेमिकाको नाममा पत्र लेखे । प्रेमपत्रको अन्तिममा ‘उही तिम्रो भ्यालेन्टाइन’ लेखिएको थियो । उनको मृत्युदण्डपछि जनता विद्रोहमा उत्रिएको हुँदा सम्राट आफ्नो निरङ्कुश आदेश फिर्ता लिन बाध्य भयो र प्रेममा लागेको प्रतिबन्ध फुकुवा भयो । सेन्ट भ्यालेन्टाइन जसले प्रेममाथिको प्रतिबन्धविरुद्ध विद्रोह गरे, सच्चा प्रेमको पक्षमा आफ्नो जीवन आहुति दिए उनैको स्मृतिमा यो दिवस मनाउन थालिएको हो ।
नेपालमा यो दिवस कहिलेदेखि मनाउन सुरु गरियो ? यसबारे यही नै साल भनेर भन्न सक्ने अवस्था भने छैन । विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा पहुँच बढ्दै जान थालेपछि यो दिवसले व्यापकता पाएको सत्यलाई नकार्न मिल्दैन । खासगरी कलेजमा अध्ययनरत युवकयुवतीमाझ लोकप्रिय बन्दै गएको छ– प्रणय दिवस । यथार्थ भन्ने हो भने नेपाली समाजमा यो दिवसको प्रयोग बढी देखावटी, अमर्यादित, प्रेमीप्रेमिका बीचको यौन आकर्षणमा मात्रै सीमित हुँदै गएको पाइन्छ ।
प्रेमभाव व्यक्त गर्न र मायालु आशीर्वाद लिने–दिने चलनलाई विपरीत लिङ्गी र भौतिक उपहारसँग मात्र जोड्नुले थप साँस्कृतिक विकृति भिœयाइएको छ किनभने ‘प्रणय दिवस’कै क्रममा खुला पार्क, मैदान एवम् विद्यालय, कलेज प्रेमरूपी मनोरञ्जन स्थल बन्दै गएका छन् । यसरी प्रकट भएको प्रेममा कुनै न कुनै स्वार्थ लुकेको हुन्छ । युवकयुवती मीठो शब्दमा प्रेम जाहेर गर्ने गर्छन्, तिनीहरूबीच व्यवहार र भावनामा भने तीतोपन सहजै देख्न सकिन्छ । प्रणय दिवस हिजोआज काठमाडौँ र केही ठूला सहरमा व्यापार व्यावसायको गतिलो साइत बन्दै गएको छ । उपहारका लागि फूल, खेलौना, कार्ड आदिले सपिङ मल र अन्य पसल रङ्गीचङ्गी र भरिभराउ हुनु त स्वाभाविकै हो । प्रेम दिवस ‘अफर’ भनेर शैक्षिक परामर्श केन्द्रदेखि तारेहोटेलहरू व्यावसायिक अवसर छोप्न सफल भएको पनि पाइन्छ ।
केही निजी कलेजमा त ‘भ्यालेन्टाइन डे’मा सार्वजनिक बिदा नै दिनुपर्ने अनौपचारिक आवाज पनि सुनिन थालेको छ । प्रणय दिवस हृदयको हो, प्रेम गर्ने होइन, हुने कुरा हो । विगत केही वर्षदेखि प्रेमपत्र लेखन प्रतियोगिता, उत्कृष्ट ‘लभ म्यासेज’ प्रतियोगिता, नमुना प्रेम जोडी प्रदर्शनीजस्ता कार्यक्रम चल्दै आइरहेका छन् । यस्ता कार्यक्रमले प्रणय दिवसको अपमान गर्छ कि सम्मान कसले बोल्ने । फेरि विवाहित जोडीहरू पनि प्रेम दिवसको नाममा घरबाहिर घुम्न जानुपर्ने, उपहार साटासाट गर्नुपर्ने, रेष्टुरेन्ट, क्याफेमा गएर खानुपर्ने अनि अग्रिम बुकिङ गरेर भए पनि विभिन्न ट्राभेल प्याकेजमार्फत प्रणय दिवस विशेष रूपमा मनाउन बाहिर जानुपर्ने परिवर्तित मानसिकताबाट निर्देशित हुन थालेका छन् । यसकारण प्रणय दिवसको आगमन र प्रयोगसँगै नेपाली समाज पनि मिश्रित र अर्ध–सहज संस्कृतिको घेराबन्दीभित्र पर्दै गएको छ । यसको निदान–समाधान कसरी गर्न उपयुक्त हुन्छ यो कुरा व्यक्ति, परिवार, समाज या राष्ट्र कसले कहिले सोच्ने ।
प्रेम कुनै अनौठो कुरा होइन, यो त आफैँमा एउटा रङ्गीन अनुभूति हो । कसैसँग पवित्र प्रेमको कल्पनाले मात्र पनि मन र मस्तिष्कमा बेग्लै तरङ्गको सञ्चार हुन्छ, यस्तो हुनु भनेको गलत कुरो होइन । खासगरी युवा मनलाई प्रणय चिन्तनले तरङ्गित बनाउनु स्वाभाविकै हो । त्यसैले, मायालु युवा मनले आफ्नो अव्यक्त प्रेमरूपी मनहरूबीचको पर्खाल भत्काउने उपयुक्त अवसरका रूपमा प्रणय दिवसलाई आत्मसात् गरेको पाइन्छ । प्रेम प्रस्ताव अरू दिन राख्न डराउँछन्, हिच्कि(चाउँछन्, त्यो यस अवसरमा हृदय खोलेर व्यक्त गर्छन्, किनभने प्रेम सबैको आकाङ्क्षा हो, लक्ष्य हो र मीठो कल्पना हो । यसकारण प्रणय दिवसबाट सुरु गरिने हरेक सिर्जनात्मक कार्य भविष्य परिवर्तन र उपलब्धिको सङ्केत पनि हो ।
प्रेम वा प्रणय मानव जातिको कहिल्यै नमेटिने तिर्खा वा भोक हो भने प्रेमको अर्को पाटो दुःख पनि हो । प्रेम मानिसले खुसी प्राप्तिका लागि गर्छ तर धेरै यसबाट दुःखी बन्ने गरेको पाइएको छ । समय, अवस्था र परिस्थितिमा भर पर्छ, यसको परिणाम र प्रभाव । प्रेम गरेर सबैको जीवन सफल नै हुन्छ भनेर भन्न सकिन्न । प्रेम समझदारी, समर्पण, इमानदारी, विश्वास र पवित्रताको प्रतीक हो ।
प्रणय दिवस आयातीत संस्कृति हो । मानिस भन्छन्– आफ्नो संस्कृति छाड्नुहुँदैन । संस्कृतिलाई हामीले रैथाने र आयातीत बनाइदिएका छौँ । तर हामी त्यही संस्कृति अँगाल्छौँ, जसको सन्देश समयसापेक्ष भएको पाउँछौँ । प्रणय दिवसको सन्देश गलत नभएको प्रमाण नै यसको पैmलावट हो । अहिले समग्र विश्व एउटा गाउँमा परिणत भइरहेको समयमा प्रणय दिवस सबै जाति, वर्ग, लिङ्ग, सभ्यता र धर्मको साझा दिवस भएको छ । कुनै पनि दिवसले लोकविश्वास तब प्राप्त गर्छ, जब त्यसबाट लोकको हित हुने देखिन्छ । लोकको हितविपरीतका धेरै संस्कार हाम्रा पुर्खाले र स्वयम् हामीले नै छाडिसकेका छौँ । बचेखुचेका पनि हाम्रा सन्तानले पाखा लगाउनेछन् । अर्थात् लोकको हित गर्ने, लोकको मनमा बस्न सकेको प्रणय दिवसजस्ता संस्कारलाई समयअनुसार सचेत वर्गले स्वीकार गर्दै जानेछ । कुनै पनि नयाँ कुराको सकारात्मक पक्षलाई स्वीकार गर्न डराउनुहुन्न, भद्दा नक्कल भने कदापि गर्न हुन्न । राम्ररी बुझेरमात्र अपनाउने गर्नुपर्छ ।
नेपाल चाडबाडको धनी देश हो । विविध जातजाति, भाषाभाषी, धर्म र सम्प्रदायका मानिसको बसोवास रहेको यो मुलुक परम्परा र संस्कृतिको दृष्टिले पनि सम्पन्न छ । विश्वव्यापीकरण र आधुनिकताको प्रभावस्वरूप हामीकहाँ विदेशका परम्परा र संस्कार पनि भित्रिएका छन् । यसरी भित्रिएका परम्परा र संस्कारलाई खासगरी युवा पुस्ताले आफ्नै चाडका रूपमा मनाउने गरेका छन् । हाम्रो समाजलाई अधोेगतितिर नलैजाने परम्परा र संस्कारमा भने सबै उमेर समूहका व्यक्तिको सद्भाव र सहभागिता रहने गरेको छ । समाजको सद्भाव र सहभागिता रहनु भनेको त्यस प्रचलनको मूल्य मानवीय दृष्टिले उच्च हुनु नै हो । मानवीय मूल्य नभएको अरूको कुरो त्यसै कसैले अपनाउँदैन । यस्ता प्रचलन अरू पनि हुन सक्छ, यहाँ चर्चा प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’को मात्र गरिएको हो ।
प्रणय दिवसको चलन नचलेको भए पनि नेपाली जीवन उत्फुल्ल बन्ने नै थियो । युवा समुदाय कुण्ठित भएर बस्ने थिएन । प्रणय दिवसले समस्या पनि लिएर आएको छ । नेपाली समाजको गहना भनेको ठूलाको आदर, सत्कार र सामाजिक मूल्यको पालना हो । यो खुकुलोमात्र होइन, अहिले भत्किएको छ । यस विषयमा समयमै सचेत हुन सकेको भए प्रणय दिवसको नाममा उछृृङ्खल क्रियाकलाप हुन पाउने थिएन । अनि युवकयुवती एक–अर्काका सहारा हुने थिए, सिकार होइन । शोषणको ठाउँमा स्नेह हुने थियो । सामाजिक चिन्तकका लागि यो टाउको दुखाइको विषय पनि बन्ने थिएन ।
प्रणय दिवस मुख्यतः आफूलाई मन परेको व्यक्तिसँग प्रेम प्रस्ताव राख्ने अवसरका रूपमा चलेको पाश्चात्य प्रचलन हो । यसरी प्रस्ताव राख्दा रातो गुलाफ दिने र उक्त फूल स्वीकार भए प्रस्ताव स्वीकार भएको र अस्वीकार भए प्रस्ताव अस्वीकार भएको ठान्ने गरिन्छ । यो दिनमा युवकयुवती विवाह–बन्धनमा बाँधिने औपचारिकता पूरा गर्ने प्रचलनसमेत छ । यस दिन प्रेमीप्रेमिकाहरू मनोरम स्थानको भ्रमण गर्ने, उपहार आदान–प्रदान गर्ने पनि गर्छन् । राज्यको धन युवकयुवती हुन् । उनीहरूको बल र बुद्धिमा देशको उन्नति र अवनति निर्भर गर्छ । उनीहरूको श्रम देश निर्माणमा लगाउन सकियो भने अवश्य उन्नति हुन्छ । तर, हाम्रो देशका युवकयुवतीको श्रम रेमिट्यान्स भिœयाउने माध्यममात्र बनेको छ । https://gorkhapatraonline.com/saturday/2021-02-13-31921

शनिबार, फाल्गुन १, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...