पाउद्वार–घार जोड्ने मोटरेबल पुलको प्रतिनिधिसभा सा‌ंसद थापाद्वारा शिलान्यास

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, पाउद्वार तथा घार जोड्ने घट्टेखोलामाथि निर्माण हुन लागेको मोटरेबल पुलको शनिबार शिलान्यास भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइमार्फत निर्माण गरिने पुलको शिलान्यास गरिएको हो ।


मोटरेबल पुलको शिलान्यास गर्दै प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापाले जिल्लामा विकास निर्माणका कामहरु गर्न जनप्रतिनिधिको तर्फदेखि आवश्यक भूमिका खेलिएको बताए । उनले राजनैतिक आस्थाभन्दा पनि जनताको आशालाई मूर्त रुप दिनका लागि सबैले काम गर्नुपर्ने र आफ्नो समयमा पनि सोहीअनुरुप काम गरेको बताएका छन् । सरकार राष्ट्र निर्माणको मार्गलाई नै अर्जुनदृष्टि बनाएर अगाडि बढेकाले देशमा पूर्वाधारको विकास निर्माणले गति लिएको प्रतिनिधि सभा सदस्य थापाको भनाइ छ ।


जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले सडक तथा पुल निर्माणका लागि सबैले एक भएर काम गरे मात्र विकास हुने बताए । उनले राजनीति चुनावको समयमा मात्रै गर्नुपर्ने बताउँदै जनताको पक्षमा काम गरेर अगाडि बढ्न सकेको खण्डमा मात्रै सच्चा राजनीति हुनेमा जोड दिएका छन् ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्या. डमबहादुर पुनले आयोजनालाई सफल पार्नका लागि सबैखाले प्रयास गरिने बताउँदै आयोजनाको सफलताका लागि आफूहरुको प्रयास हुने प्रतिबद्धता जनाएका छन् । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले राज्यको तर्फबाट हुनुपर्ने र हुन सक्ने कार्य गर्नका लागि राज्यको निकाय सधैं तत्पर रहेको बताएका थिए ।


नयाँ बन्ने मोटरेबल पुलले स्थानीयवासिन्दालाई केन्द्रीय सडक सञ्जालसँग जोड्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई पनि पर्यटकीय क्षेत्रको भ्रमणका लागि सहज हुने पाउद्वारका युवा प्रदिप तिलिजाको भनाइ छ । तिलिजाका अनुसार निकै लामो समयदेखिको प्रयास भए पनि वर्तमान सरकारको पालामा आएर मात्रै योजनाले मूर्त रुप लिएको छ । विगतमा सरकार भए पनि अहिलेको समयमा आएर मात्र मोटरेबल पुल बन्न लागेकोमा अब जोखिम मोेलेर यात्रा गर्नुपर्ने बाध्यता हट्ने स्थानीयवासीले अपेक्षा गरेका छन् ।
पुलको शिलान्यास कार्यक्रममा सहभागी हुनका लागि पाउद्वार क्षेत्रका आमा समूह, युवा क्लब तथा अन्य स्थानीयवासिन्दाहरु डेढ घण्टाको पैदलयात्रा गरेर घट्टेखोला आएका थिए । जिल्ला आयोजना कार्यान्वयन इकाइका निमित्त प्रमुख मिनबहादुर बानियाँका अनुसार २०७६ माघ १७ गते सम्झौता भए पनि रि–डिजाइन गर्नु परेकोले गएको असोज ८ गते मात्रै कार्य आदेश दिइएको थियो ।


पुरानो सम्झौताअनुरुप आगामी साउन २४ गते सम्पन्न हुनुपर्ने भए पनि केही प्राविधिक समस्या एवं कोभिड–१९ को कारणले काम गर्न ढिला भएको हुँदा आज मात्रै पुलको शिलान्यास गर्न सकिएको निमित्त प्रमुख बानियाँले बताए । कुल तीन करोड २२ लाखको लागतमा निर्माण हुन लागेको पुलको लम्बाई २५ मिटरको रहेको छ । पुल निर्माणका लागि पोखराको फेवा बिएमए जेभीले ठेक्काको जिम्मेवारी पाएको छ ।

आइतवार, फाल्गुन ९, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...