युवा संघको अगुवाइमा मार्फाखोलामा पुल

तीलक बि.क./जोमसोम
राष्ट्रिय युवा संघ जिल्ला कमिटी मुस्ताङले घरपझोङ गाउँपालिका–२ मार्फा खोलामा ग्याविन पुल निर्माण गरेको छ । युवा संघ मुस्ताङका अध्यक्षको नेतृत्वमा गएको टोलीले मार्फा खोलामा ग्याविन बक्स लगाई फलामे ट्रस पाइप राखेर पुल निर्माण गरेको हो ।
मार्फा खोलामा बाढीको कारणले ठुला सवारी साधन वारपार गर्न समेत मुस्किल रहेको अवस्थामा पैदलयात्री एवम् मोटरसाइकललाई आवतजावत गर्नमा कठिनाई थियो । आम जनताले सास्ती खेपेको अवस्थामा युवा संघको नेतृत्वमा र सबै पक्षको सहयोग र सहभागितामा पुल निर्माण गरिएको राष्ट्रिय युवा संघ मुस्ताङका अध्यक्ष बुद्धिमाया गुरुङले बताइन ।
पुल निर्माणका लागि दिनभर भएको जनश्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी मुस्ताङका अध्यक्ष एवम् गण्डकी प्रदेश सांसद चन्द्रमोहन गौचनले पनि दिनभर श्रमदान गरेका थिए । सांसद गौचनले जहाँ समस्या त्यहाँ युवाको सहभागिता भन्ने मूल मर्मको साथ मार्फा खोलामा पुल निर्माण गरी सर्वसाधरण नागरिकलाई आवागमनमा सहजता तुल्याएर युवा देशको सबै क्षेत्रमा सक्रिय हुन पर्छ भन्ने सन्देश दिएको बताए । गौचनले भने युवा संघका नेता कार्यकर्ताहरु धन्यवादका पात्र हुन्, जसले जनताको दुःखलाइ आफ्नै दुख ठानेर सर्वसाधारण जनताको दुखमा केही हद सम्म भए पनि मल्हम लगाउने काम गरेको भन्दै आगामी दिनहरुमा पनि जनताको समस्या समाधानमा सकृयता पूर्वक लाग्न निर्देशन दिएका थिए ।

युवासंघको जनश्रमको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य अमित तुलाचन, फिरोज लालचनले जनताको समस्या भएको ठाउँमा युवा सँघ काँघमा काध हातमा हात मिलाउनका लागि सदा तत्पर रहने बताउँदै जनताको दुःख र समस्यामा युवा संघ सधै साथमा रहने बताएका थिए ।
पुल निर्माण कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, युवा संघका नेता, कार्र्यकर्ता, अनेरास्ववियूका नेता कार्यकर्ता, शुभेच्छुक, डोजर अपरेटर एवं कर्मचारी लगाएतका उल्लेख्य सहभागिता रहेको थियो । निर्माण कार्यमा खटिएका सबैलाई युवा संघको तर्फबाट चिया खाजा र खानाको व्यवस्था गरिएको नेकपा एमाले मुस्ताङका कार्यालय सचिव जीवन गोतामेले बताए ।

बुधबार, साउन १३, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...