नेपालको सबैभन्दा ठुलो राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी एमाले २०७८ भदौं २ मा फेरि एकपटक विभाजित भयो । १५ बर्ष पार्टीको महासचिव रहनुभएका एमालेबाटै निर्वाचन हारेर समेत प्रधानमन्त्री हुनुभएका वरिष्ठ नेता माधव कुमार नेपालले यो विभाजनको नेतृत्व लिनुभयो । उनान्सत्तरी बर्षका नेता नेपालले जीवनको उत्तरार्दमा ऐतिहासिक भूल गर्नुभयो र कम्युनिष्ट आन्दोलनमा यो बिभाजन एउटा कलंक भयो । एमालेको नवौं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा पराजित भएपछि नेता नेपालले त्यसलाई सहज रुपमा स्वीकार्न सक्नुभएको थिएन, त्यही कुण्ठा विकसित हुँदै अहिले विभाजनको रुप लियो । सम्भवत माधव नेपालको राजनीतिक अवसानको यो एउटा प्रस्थान बिन्दु हो ।

झट्ट हेर्दा एमाले विभाजन भएको देखिन्छ तर यसभित्र नेपालको कम्युनिष्ट आन्दोलन मूलत त्यसको नेतृत्व लिएको एउटा मोडरेट लोकतान्त्रिक र अत्यन्तै बलियो सांगठनिक प्रभाब रहेको एमालेलाई सिध्याउने देशी र विदेशी षडयन्त्र देखिन्छ । त्यही घरेलु र विदेशी प्रतिक्रियावादी शक्तिको ‘पपेट’ का रुपमा माधव कुमार नेपाल देखिनुभयो । गाउँ तहसम्म संगठन र बिचारका दृष्टिकोणले प्रभाव रहेको र अध्यन्तै प्रतिवद्ध कार्यकर्तापंक्ती भएको एमालेलाई कमजोर नपार्दासम्म आफ्नो राजनीतिक प्रभाव कायम गर्न नसकिने निष्कर्ष नेपाली काँग्रेस र माओवादी केन्द्रलाई थियो नै । त्यसका लागि कम्युनिष्ट आन्दोलन र मूलत एमाले भित्र खेल्ने, झगडा लगाउने, कसैलाई राक्षसीकरण गर्ने र कसैलाई देवत्वकरण गर्ने राजनीतिक प्रवृतिलाई संस्थागत रुपमै अघि बढाउने काम भयो । ओली एमाले अध्यक्ष रहँदासम्म, एमाले बलियो रहेसम्म आफ्नो राजनीतिक अस्तित्व समाप्त हुने ठान्नुभएका प्रचण्डले नेता नेपाललाई महान करार गर्दै भीरमा पु¥याएर ओलीसँग मिल्नै नसक्ने अवस्था निमार्ण गरि विभाजन गराउनुभयो । प्रचण्डको षडयन्त्र माधव नेपालले बुझनुभयोे वा बुझनुभएन् यो कुनै दिन प्रश्चातापपछि अभिव्यक्त होला नै । तर कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने यो षडयन्त्रको उहाँ एक गोटी भने अबश्य नै हुनुभयो ।

एमाले समाप्त पार्न कतिसम्म षडयन्त्र रचियो भने राजनीतिक दलसम्बन्धी अध्यादेशलाई देउवा, प्रचण्ड र माधव नेपाल सहितको परामर्शमा अत्यन्तै निम्छरो बनाई जारी गरियो । र त्यसैका आधारमा एमाले फुटाईयो । राजनीतिक दल फुटाउन पार्टीको केन्द्रिय समिती र संसदीय दलमा ४० प्रतिशत संख्या हुनुपर्ने व्यवस्थालाई हटाएर केन्द्रिय समिती वा संसदीय दलमा २० प्रतिशत भए पार्टी बिभाजन गर्न सकिने व्यवस्था राखियो । यसको मूल उदेश्य नै एमाले बिभाजन गराउनु थियो । यो कम्युनिष्ट विरोधी पश्चिमा शक्तिको डिजाईनमा भएको थियो । यो डिजाईनका साइड इफेक्टहरु बिस्तारै नेपाली राजनीतिमा देखिने छन् ।

हिजो प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउँदा संविधान विरोधी प्रतिगमनकारी भन्दै राजनीतिक आँधीबेहरी सिर्जना गर्नुभएका देउवा, प्रचण्ड र माधव नेपालहरु ले नै आज त्यही अध्यादेश ल्याएर राजनीतिक दल समेत बिभाजन गर्नुले उहाँहरुको बिरोध के का निम्ती थियो र को द्धारा निर्देशित थियो भन्ने प्रष्टै छ । ओलीले देश र नेपाली जनताका पक्षमा गरेका ऐतिहासिक निर्णय र आम जनतामा थप लोकप्रिय बन्दै गरेको एमालेबाट उहाँहरु त्रसित हुनुहुन्थ्यो एमालेले राष्ट्रियताका सन्दर्भमा  लिएका अडानबाट विदेशी शक्तिपनि आफ्ना स्वार्थ पुरा नहुने ठानिरहेको थियो त्यसैको गठजोडबाट ओलीलाई बिस्थापित गर्ने प्रपञ्च शुरु भएको थियो र त्यसका निम्ती अध्यादेशसम्म ल्याउने संविधान बिरोधी, लोकतन्त्र बिरोधी हर्कत गरियो ।

अध्यादेशका कारण अहिले देशकै सवैभन्दा ठुलो र शक्तिशाली पार्टी फुटाईयो भनेर हर्षबढाईँ र हाईहाई गरेपनि यो २० प्रतिशतवाला प्रावधानका श्रृखलाबद्ध प्रभावहरु देखिनेछन् र नेपाली राजनीतिमा यो २० प्रतिशत देउवा राजनीतिको एउटा विकृत प्रमाणका रुपमा रहिरहने छ । अहिले जसलाई आवश्यकता परयो उसलाई फाइदा भएको जस्तो देखिन्छ तर यसको दीर्घकालिन असर भने सबै राजनीतिक दलहरुले भोग्नुपर्ने हुन्छ नै । यो २० प्रतिशतले आज एमाले फोड्यो, भोलि काँग्रेस फोड्ने छ, माओवादी फोड्ने छ र जसपा पनि फोड्ने छ । किनकी यो राजनीति सक्ता, शक्ति र अवसरको राजनीति हो । मन्त्री पाउँदा, त्यस्तै आकर्षक पद र ठुलै रकम हातपर्दा सम्म देउवा, प्रचण्ड र माधव नेपाललाई उनी पछिका नेताले मान्ने हुन त्यो नपाएपछि २० प्रतिशत पुरयाउदै निर्वाचन आयोगतिर धाउने अन्तहिन श्रृखला शुरु हुनेछ । माधव नेपाल त जानुभयो तर अत्यन्तै कमजोर जगमा र केही स्वार्थी झुण्डहरुलाई लिएर जानुभयो । तिनै स्वार्थी र अवसरवादी झुण्ड मन्त्री नपाउँने बित्तिकै पुन एमालेमा फर्कने छन् र उनै माधव नेपाललाई पार्टी बिभाजनको नेतृत्व गरेको सत्तो सराप गर्नेछन् । देउवा र प्रचण्ड अहिले खुच्चिङ्ग गरेर नबसे हुन्छ, मन्त्री नपाएपछि उनीहरु भित्रकै आकांक्षीले यो २० प्रतिशतको हतियार कुनैपनि बेला उनीहरु बिरुद्ध नै उठाउने छन् र पार्टी फोड्ने छन् । देउवाको विगत कहिल्यै राम्रो थिएन र वर्तमान पनि त्यसकै निरन्तरता हो भन्नलाई अब पर्खनु पर्दैन् । चक्रपथबाट साभार