मुनामा जातिय मुक्ति समाजको पालिका स्तरीय भेला सम्पन्न

 नेपाल उत्पीडित जातिय मुक्ति समाज जिल्ला सम्मेलन आयोजक कमिटिको आयोजनामा म्याग्दीको धौलागिरी गाउँपालिकामा पालिका स्तरीय भेला सम्पन्न भएको छ ।

शुक्रबार गाउँपालिकाको केन्द्र मुनामा आयाजित भेलाले राजु हर्मेलको अध्यक्षतामा ३५ सदस्यीय पालिका कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा राम प्रसाद बिश्वकर्मा, सचिवमा अक प्रसाद बिश्वकर्मा, कोषाध्यक्षमा बाल कुमारी सुनार र सहसचिवमा लाल बहादुर श्रीपाली चयन हुनुभएको जिल्ला सम्मेलन आयोजक कमिटिका सदस्य कुमार किसानले जानकारी दिनुभयो ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य एबँ संबिधान सभा सदस्य नवराज शर्माले समाजमा सांस्कृतिक रुपमा हेपिएको र उत्पीडनमा परेको समुदाय दलित समुदाय भएकाले यी समुदायलाई माथि उकास्न केन्द्र सरकार तथा स्थानीय सरकारले बिभिन्न कार्यक्रम ल्याउन आबश्यक रहको बताउनुभयो । उहाँले हामी सानो, हामी कमजोर, र हामी केही गर्न सकिदैन भन्ने मानसिकताबाट मुक्त हुनका लागि पनि सम्पुर्ण दलितहरुलाई आग्रह गर्नुभयो । शर्माले धौलागिरी गाउँपालिकामा उत्पीडित समुदायको बाहुल्यता भएकाले यो समुदाय एक भएमा अब आउने चुनावमा पनि पालिकामा एमालेकै सरकार बन्ने बिश्वास ब्यक्त गर्नुभयो ।

त्यस्तै नेकपा एमाले म्याग्दीका सचिवालय सदस्य, अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष एबं धालागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनले लक्षित बर्ग अन्तर्गत दलितलाई बिनियोजन भएको रकमबाट सबैलाई समान तरिकाले उपलब्धिमुलक काम गर्नका लागि मुक्ति समाजले नेतृत्वदायी भुमिका निभाउनु पर्ने बताउनुभयो । आर्थिक र शैक्षिक क्षेत्रमा दलितहरु पछाडि नै रहेको भन्दै पुनले आफ्ना सन्ततीहरुलाई शिक्षाबाट बञ्चित नबनाउन पनि आग्रह गर्नुभयो ।

जातिय मुक्ति समाजका केन्द्रिय सदस्य एबँ गण्डकी प्रदेश सह इन्चार्ज पुस्कर बिकले जिल्लामा दलितहरुको एकता बलियो रहको भन्दै छुटफुट भएकाहरुलाई पनि मुक्ति समाजमा आबद्ध हुन अनुरोध गर्नुभयो ।

भेलामा धौलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल, वडा नं २ का अध्यक्ष गम प्रसाद बिक, वडा नं ७ का अध्यक्ष कलानिधि सुबेदी, मुक्ति समाजका पुर्व जिल्ला अध्यक्ष बल बहादुर बिक,जिल्ला सम्मेलन आयोजक कमिटिका सदस्य कुमार थापा किसान, मजदुर संगठनका केन्द्रिय सदस्य देबि राईले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

भेला, जिल्ला संमेलन आयोजक कमिटिका संयोजक खरमाया बिटालुको अध्यक्षता, सदस्य राजु बिकको स्वागत सदस्य कुमार किसानको संचालनमा सम्पन्न भएको थियो ।

आइतवार, अशोज १०, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...