बेमौसमी वर्षाको बितण्डा

पछिल्लो समय देशैभर परेको अविरल वर्षाको कारण आएको बाढी, पहिरो र डुबानमा परी बुधबार साँझसम्म ५८ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परेर १ नम्बर प्रदेशमा ३० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा २० जना गरी ५८ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय तथ्याङ्कअनुसार १ नम्बर प्रदेशमा १४ जना र कर्णाली प्रदेशमा १ जना गरी १५ जना घाइते भएका छन् । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ३ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी २६ जना वेपत्ता छन् । वेपत्ताको नेपाल प्रहरी तथा स्थानीयका साथै सुरक्षा निकायको अगुवाइमा खोजीकार्य जारी छ । देशैभर वर्षाले गर्दा भएको डुबानले पनि निकै ठूलो क्षति पु¥याएको छ । अहिलेको समय वर्षाको समय नभए पनि एक्कासी वर्षा हुँदा भिœयाउने तर्खरमा रहेको धानबाली भिजेर कृषकलाई सास्ती भएको छ ।
बाढीको कारण देशैभर १ हजार २८ वटा घर डुबानमा परेका छन् । ३० वटा घर, २ वटा गोठ, ४ वटा पुल, र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय १ पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा भएका १ सय ३४ वटा विपद्का घटनाबाट १ हजार ५० वटा घर परिवार विस्थापित भएका छन् । कतिपय स्थानमा भएको बाटो अवरोध हटाउने कार्य प्रहरीले जारी राखेको छ । देशैभर नेपाल प्रहरीले अगुवाई गरेर उद्धारको कार्यमा खटेको छ । बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ । सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग र सद्भाव राख्ने कार्य भैरहेको भए पनि प्रहरीको मात्र जिम्मेवारी वा काम नभएर सबैले खट्नुपर्ने अवस्था अहिलेको हो ।
धानको मुख्य उत्पादन हुने क्षेत्र तराई क्षेत्र अहिले डुबानको चपेटामा परेको छ । पाकेर पँहेलपुर भएको धान काटेर सुकाइरहेको अवस्थामा पानी पर्दा पुरै धान भिजेको छ । किसानले वर्षभरी खानका लागि लगाएको बाली करिब–करिब नष्ट प्रायः भएको छ । अहिले भिजेको धानबाली खानलायक हुने हो, होइन कसैलाई पत्तो छैन । नेपालको आर्थिक वृद्धिमा पनि मुख्य भूमिका खेल्ने कृषिले अहिलेको अवस्थामा कता लैजाला भन्न सक्ने अवस्था छैन । सरकारले पनि आफ्नो तबरबाट गर्नुपर्ने काम गर्न सकेको देखिदैन । कर्णालीमा बाढीमा फसेका नागरिकहरुलाई १८ घण्टापछि मात्रै उद्धारका लागि प्रयास गर्छन् भने जनताले आशा गर्ने समय छ छैन मूल्याङ्कन गर्न पक्कै पनि समय लाग्दैन । सरकार गठन भएको झण्डै सय दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाएको अहिलेको अवस्थामा १०० दिनको प्रगति सार्वजनिक गर्दै हामीले गरेका काम भनेर उफ्रनु भन्दा पनि अहिले वर्षाले पीडित कृषकलाई राहत तथा विपद्को समयमा उद्धार गर्नतर्फ लाग्नुपर्ने देखिन्छ ।

बिहिबार, कार्तिक ४, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...