रायो भालेकानोसँग हारेपछि बार्सिलोनाद्वारा प्रमुख प्रशिक्षक कोम्यान बर्खास्त

स्पानिस क्लब बार्सिलोनाले लगातार खराब प्रदर्शनपछि मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको छ ।

ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा रायो भालेकानोसँग १-० ले पराजित भएपछि क्लबले कोम्यानलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

भालेकानोसँग हारपछि बार्सिलोनाले स्टेटमेन्ट जारी गर्दै क्लब अध्यक्ष जोन लापोर्टाले बर्खास्ती बारे निर्णय कोम्यानलाई जानकारी दिएको जनाएको छ । यस्तै कोम्यानले बिहीबार टोलीलाई ‘गुडबाइ’ भन्ने पनि बार्सिलोनाले जनाएको छ ।

क्याम्प नोउमा प्रशिक्षक बनेको १४ महिनापछि नेदरल्याण्ड्सका नागरिक कोम्यान बर्खास्तीमा परेका हुन् ।

यस सिजन बार्सिलोनाले ला लिगामा १० खेलबाट जम्मा १५ अंक जोडेको छ । यस्तै च्याम्पियन्स लिगको समूह चरणमा दुई खेल हारिसकेको छ ।

भालेकानोसँग पछिल्लो हारपछि बार्सिलोना ला लिगाको अंकतालिकामा नवौं स्थानमा छ ।

५८ वर्षीय कोम्यानले बार्सिलोनालाई गत सिजन लिगमा तेस्रो बनाएका थिए ।

कोम्यानको बर्खास्तपछि अब फेरि बार्सिलोनामा को प्रशिक्षक आउने भन्ने प्रश्न उठेको छ । र, यसमा सबैभन्दा अघि आउने नाम क्लबकै पूर्व मिडफिल्डर तथा कप्तान जाभी रहेका छन् । जाभी हाल कतारी क्लब अल शादका प्रशिक्षक छन् ।

बिहिबार, कार्तिक ११, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...